Saturday, October 1, 2022

भोजपुरी व्याकरण सार्वजनिक

 काठमाडौँ — भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबुन का साथे)’ पुस्तक सार्वजनिक भएको छ । बबरमहलमा लेखक ठाकुरसहित माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्राडा. माधवप्रसाद पोखरेल, दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेललगायतले पुस्तकको संयुक्त रूपमा सार्वजनिक गरे ।


ठाकुरले एक दशक लामो खोज अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएका हुन् । उनले भोजपुरी व्याकरण प्रकाशनपछि यसले भाषा संरक्षणसँगै यसको महत्त्वलाई अझै बढाउने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले कृतिका बारे बोल्दै कृतिमार्फत भाषा र संस्कृतिको उठान गरेको बताए । ‘आफ्नो मातृभाषालाई जगेर्ना गर्ने लक्ष्य कृतिकार डा. ठाकुरले राख्नुभएको छ,’ उनले भने, ‘भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’ भाषाशास्त्री पोखरेलले भाषाशास्त्रीय कोणबाट उक्त कृतिको चर्चा गर्दै कृति अन्तर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा प्रकाशित नेपालकै पहिलो ग्रन्थ भएको जिकिर गरे । उनले अझै पनि भाषालाई मात्र सञ्चारमाध्यमका रूपमा व्याख्या गरिने जनाउँदै लेखक ठाकुरले व्याकरणलाई समेत सञ्चारमाध्यमका रूपमा व्याख्या गरेको ठहर गरे ।

www.ekantipur.com बाट साभार 

 www.souryaonline.com  बाट साभार                                              







No comments: