Tuesday, August 20, 2024

विद्युतकर्मी साहित्यिक समाजको ‘स्रष्टासँग परिसंवाद’ कार्यक्रम सम्पन्न



नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले २०८१ भाद्र २ गते  ‘स्रष्टासँग साहित्यिक परिसंवाद’ कार्यक्रम सम्पन्न गरेको छ।

क्यानडाबाट जन्मभूमि नेपाल आएका  साहित्यकार कुसुम ज्ञवाली (नेपाल विद्युत प्राधिकरणका पूर्व इन्जिनियर एवम् विद्युतकर्मी साहित्यिक समाजका प्रथम निर्वाचित कार्यसमितिका सहसचिव) र विद्युतकर्मी साहित्यिक समाज परिवार बीच बागबजारस्थित युनिटी फुड क्याफेमा साहित्यिक साक्षात्कार भएको हो।

अनौपचारिक र अन्तरक्रियात्मक शैलीमा करिब दुई घन्टासम्म सन्चालन भएको सो कार्यक्रममा अतिथि स्रष्टा कुसुम ज्ञवालीका साथै भाषा आयोगका माननीय सदस्य एवम्  विद्युतकर्मी साहित्यिक समाजका सल्लाहकार मातृका पोखरेल,विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू -कुलप्रसाद पराजुली, केशव प्रसाद रुपाखेती, विष्णुबहादुर सिंह, वीरेन्द्रकुमार पाठक, पुण्यप्रसाद घिमिरे र रामेश्वर राउत ‘मातृदास’, सोही संस्थाका पूर्व उपाध्यक्ष राजु शर्मा, पूर्व सचिव मन्जुलाल श्रेष्ठ लगायतका महानुभावहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी विद्युतकर्मी साहित्यिक समाज सातौं कार्यसमितिका पदाधिकारीहरू-कृष्णदेव रिमाल ‘शब्दसेना’, शारदादेवी भट्टराई पोखरेल, विष्णु आचार्य ‘अतृप्त’, शारदा पराजुली, मुकुन्दप्रसाद प्रसाईं,सङ्गीता अधिकारी पौडेल, बलराम पुडासैनी, रीता चालिसे खनाल, भोला शर्मा, राम राजा ओझा लगायतको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

सो अवसरमा भेला भएका सहभागीहरूले नेपाली साहित्यको स्तरीकरण र  अन्तर्राष्ट्रियकरणका साथै नेपाली भाषाको  मानकीकरण र आधुनिकीकरणमा सम्बद्ध पक्षहरूले खेल्नु पर्ने र खेल्न सक्ने भूमिकाका बारेमा छलफल र अन्तरकृया गरेका थिए।

कार्यक्रमका विशेष वक्ता कुसुम ज्ञवालीले आस्तिक षड्दर्शन (महर्षि पतञ्जली प्रणित योगदर्शन ,महर्षि कपिल प्रणित सांख्यदर्शन , महर्षि गौतम प्रणित न्यायदर्शन, महर्षि कणाद प्रणित वैशेषिकदर्शन र महर्षि व्यास प्रणित वेदान्तदर्शन ) र बौद्ध चार्वाकादि नास्तिक दर्शनको महत्त्वमाथि प्रकाश पार्दै  विदेशमा पुगेपछि पूर्वीय दर्शनको आवश्यकता आफूलाई अझै खड्किएको बताए ।

उनले  नयाँ पुस्ताले पनि विश्व साहित्यमा देखिएका पात्रहरूमध्ये महाभारतका मुख्य पात्र कृष्णको  चरित्रलाई  अतुलनीय ठान्ने गरेको  दृष्टान्त सो समारोहमा प्रस्तुत गरेका थिए। जीवन्त साहित्य रचना गर्न आञ्चलिक भन्दा विश्वजनीन सारवस्तुलाई कलामय ढङ्गले साहित्यमा समेट्न सक्नु पर्ने धारणा समेत उनले सो कार्यक्रममा राखेका थिए।

सो समारोहमा मन्तव्य राख्दै  विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले नेपाली र नेपालमा बोलिने अन्य विभिन्न भाषाका साहित्यिक रचनालाई विश्वका प्रतिष्ठित भाषामा अनुवाद गर्ने संस्थागत प्रयासको अपरिहार्यता औंल्याए। उनले यसप्रकारको अन्तरक्रिया, भेटघाट र छलफलले विश्वसाहित्य र नेपाली साहित्यलाई जोड्ने सेतुको कार्य गर्न सक्नेमा आफू विश्वस्त रहेको धारणा समेत व्यक्त गरेका थिए।

सो अवसरमा साहित्यकार मातृका पोखरेल, विद्युतकर्मी साहित्यिक समाजका पूर्व पदाधिकारी तथा  वर्तमान सातौं कार्यसमितिका पदाधिकारीबीच विश्व साहित्यको स्तर, नेपाली साहित्यको अवस्था, नेपाली साहित्यको स्तरवृद्धि गर्न अवलम्बन गर्नुपर्ने उपाय, नेपालमा देखिएको  युवा पलायनको समस्या, आदिका बारेमा परिसंवाद भएको थियो ।

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजको साहित्यिक प्रकाशन ‘अमरज्योति’, चेरव स्मृति प्रतिष्ठानको साहित्यिक प्रकाशन ‘हिमाद्रि’,पुण्यप्रसाद घिमिरेकृत नियात्रा सङग्रह ‘पछाडि फर्केर हेर्दा’, विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्कने तिर्खा’ लगायतका पुस्तकहरू अतिथि सर्जक कुसुम ज्ञवालीलाई हस्तान्तरण गरिएको थियो।

गुल्मीमा जन्मिएका फणिन्द्र ज्ञवालीको साहित्यिक उपनाम कुसुम ज्ञवाली हो। उनी दक्ष इन्जिनियर त हुँदै हुन्, यसका साथै साहित्य लेखन र सम्पादनका साथै सन्चारकर्ममा पनि त्यत्तिकै सक्रिय व्यक्ति हुन् । उनले साहित्य सन्ध्या, जनसाहित्यिक मंच, विद्युतकर्मी साहित्यिक समाज लगायतका संघ संस्थाहरूमा आबद्ध भएर काम गरिसकेका छन् ।

000

https://sahityapost.com बाट साभार 


































No comments: