Saturday, August 12, 2023

"अमरज्योति" साहित्यिक त्रैमासिक पत्रिकाको ५९ औं पूर्णाङ्क विमोचित

 


नेपाल विद्युत प्राधिकरणले आफ्नो अठतीसौं वार्षिकाेत्सवकाे अवसरमा प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिता आयोजना गरेको छ।

अठतीसौं वार्सिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता संचालन उपसमितिले संयोजन गरेको सो कार्यक्रम नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयस्थित रूफटप हलमा संचालन भएको हो।

उक्त कार्यक्रममा "अमरज्योति" साहित्यिक त्रैमासिक पत्रिकाको ५९ औं पूर्णाङ्कलाई वरिष्ठ गीतकार एवं कवि विश्वनाथ प्रेम, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष, कृष्ण देव रिमाल, पूर्व अध्यक्षहरू विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक ले विमोचन गरे ।

कविता प्रतियोगितामा विभिन्न भावभूमिका ३४ कविता प्राप्त भएका थिए। वाचित कविताहरूलाई मधुपर्क साहित्यिक मासिकका सम्पादक जयदेव भट्टराई, कवि एवं निबन्धकार नेत्रबहादुर कुँवर तथा छन्द कवि सविता बराल समेतको निर्णायक मण्डलले मूल्यांकन गरी नतीजा सार्वजनिक गरेको थियो।

उक्त प्रतियोगितामा सुभास अधिकारीको ‘रहरको सहर’ प्रथम, समीक्षा अधिकारीको ‘द्रौपदी’ द्वितीय, टीकाराम शर्माको ‘याद’ तृतीय र मुकुन्दप्रसाद प्रसाईंको ‘म भुइँ मान्छे’ कविता चतुर्थ भएकाे थियाे।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवं कविता प्रतियोगिता संचालन उपसमितिका संयोजक कृष्णदेव रिमाल ‘शब्दसेना’को अध्यक्षतामा संचालित सो कार्यक्रमलाई विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ले सहजीकरण गरेका थिए ।

०००



No comments: