काठमाडौं । प्रगतिशील लेखक सङ्घ,केन्द्रीय समितिले यही साउन ४ गते नियमित रूपमा गरिने ७३ औँ परिसंवाद बागबजार स्थित सङ्घको कार्यकक्षमा सम्पन्न गरेको छ ।
मार्क्सवादका दृष्टिकोणमा धर्म र संस्कृति विषयक परिसंवादका प्रस्तोता प्रलेस केन्द्रीय सल्लाहकार प्रा. डा. बद्री विशाल पोखरेल हुनुहुन्थ्यो ।
डा. पोखरेलले कार्लमाक्र्सले फायरबाख र हेगेलको अधिभौतिकवादी / अध्यात्मवादी भौतिकवाद तथा द्वन्द्ववादलाई सविस्तार भौतिकवादी वैज्ञानिक व्याख्या र विश्लेषण गर्नु भयो । र यो विचार समयक्रममा मार्क्सवादी सिद्धान्त बन्न गयो । त्यसैले मार्क्सवादी चिन्तकहरू टाउकोले टेकेको भौतिकवाद र द्वन्द्ववादलाई मार्क्सले खुट्टाले टेकाएको बताउँछन् ।
माक्र्स क्याथोलिक धर्मका तुलनामा प्रोटेस्टियन धर्मलाई सकारात्मक ठान्नुहुन्थ्यो भन्ने कुरा बताउँदै डा. पोखरेलले मार्क्सले धर्मलाई अफिमसित तुलना गरेका कुरामा कम्युनिटहरु नै चरम भ्रममा रहेको बताउनुभयो । उहाँले समाजको विकास,निर्माण र उत्थानमा अलौकिक अद्वितीय भनिने ईश्वरको भूमिकमा र योगदान भन्नु र त्यसमा विश्वास गर्नु भनेको अफिम खाएसरह हुन्छ भन्नु भएको हो । यस बाहेक मार्क्सले धर्म बारे मार्क्सले केही उल्लेख गरेकाे पाइन्न । अझ मार्क्सले वैदिक सनातन,बौद्ध ,किरात,मुन्धुम लगायत धर्म र संस्कृतिका बारेमा अध्ययन गर्न पाउनु भएको भए यस सम्बन्धमा उहाँका धारणा बुझ्न अरु सहज हुन्थ्यो ।
वैदिक सनातन धर्म संस्कृतिमा निहित चार्वाक, साङ्ख्य लगायत दर्शन धारालाई मार्क्सले अध्ययन गर्न पाउनु भएको भए यसमा नवीन निष्कर्ष आउन सक्थ्यो । डा. पोखरेलका अनुसार मार्क्सले वादे वादे जायते तत्त्व बोधजस्ता वस्तुवादी द्वन्द्वात्मक चिन्तनको अध्ययन गर्न पाउनु भएको भए यी कुरा मार्क्सवादमा समाहित हुन सक्थे होलान् । सकारमा नकार र नकारभित्र सकार हुन्छ र यस विषयमा निधार खुम्च्याएर अध्ययन गर्नु पर्छ भन्दै संस्कृतिविद् डा. पोखरेलले फोहरमा मोहर हुन्छ भन्ने नजान्दा कतिपय अनमोल पक्षहरू ओझेल परेको बताउनु भयो ।
धर्मका नकारहरूको व्यापक प्रचार प्रसार भएकाले यस सम्बन्धमा सकारात्मक धारणा बेलैमा बन्न नसकेको हो भन्दै डा. पोखरेलले प्रकृतिका सेवा, सहयोग र समर्पण केन्द्रित उदात्त पक्षबाट आदि मानव समाज अत्यन्त प्रभावित भयो ।
डा. पोखरेलका अनुसार उपर्युक्त सेवा भाव केन्द्रित प्रकृतिका गहन तथा मार्मिक पक्षबाट अभिप्रेरित भएर धर्मको आविष्कार भएको हो । त्यसैले नेपालका कम्युनिस्टहरूले धर्म सम्बन्धी अनेक चरम भ्रममा नपरी सन्तुलित धारणा बनाउन पोखरेलले परिसंवादमा उल्लेख गर्नुभयो ।
उहाँले धर्म र संस्कृतिका क्षेत्रमा पुनर्व्याख्या,पुनररचना र परिष्कार अपरिहार्य रहेको बताउनु भयो । त्यसैले देवता भगवान्,ईश्वर,आत्मा परमात्मा, आदि अनेक विषयको अब वस्तुनिष्ठ व्याख्या गर्नु अपरिहार्य रहेको सहभागी वरिष्ठ,स्रष्टा,समालोचक तथा संस्कृतिविद् हरुका बिच उल्लेख गर्नु भयो । जसले समाजलाई आफूलाई मिटाएर दिन्छ,सहयोग गर्छ र बढीभन्दा बढी दिन्छ उही देवता हो,ईश्वर,भगवान् देवताका पर्यायवाची शब्द रहेको पोखरेलले सप्रमाण उल्लेख गर्नु भयो । चल वा अचल प्रकृतिले मानव समाजका लागि आफूलाई समर्पित गरेकाले मानवपुर्खाले सूर्य देवता,चन्द्र देवता, जल देवता,अन्न देवता,पृथ्वी देवता, भनेका हुन् अब यही अर्थ आम जन समाजमा प्रवाह गर्नु पर्ने डा. पोखरेलले उल्लेख गर्नु भयो ।
जनताको पुराण अर्वाचीन पुराणका सम्पादक लेखक डा. पोखरेलले धर्म संस्कृति अन्तर्गतका अनेक जीवनोपयोगी समाजोपयोगी पक्षहरूको संरक्षण र संवर्द्धन गरी देशीय मौलिक पक्षलाई जगेर्ना गर्न ध्यान केन्द्रित गर्ने कुरा बताउनु भयो । कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष प्रा.डा.मधुसूदन गिरी,उपाध्यक्ष द्वय नमुना शर्मा र समिर सिंह,प्रलेस पूर्व अध्यक्षहरू प्रा.डा. जीवेन्द्र देव गिरी,मातृका पोखरेल, प्रतिनिधि सभाका सभासद् बिजुला रायमाझी,वरिष्ठ सर्जकहरू नर्मदेश्वरी सत्याल,आर.सी . न्यौपाने,बाबा बस्नेत लगायत विभिन्न प्रदेश र जिल्लाका सर्जकहरूका बीच अन्तर्क्रियामूलक परिसंवाद सम्पन्न भएको थियो ।
000
https://chakrapath.com बाट साभार
No comments:
Post a Comment