Saturday, February 3, 2024

भाषा आयोग र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हरेक महिना भाषासम्बन्धी कार्यक्रम सञ्चालन हुने

 काठमाडौँ । २०८० साल माघ १० गते बुधवार ।


भाषा आयोगको आज मिति २०८० साल माघ १० गते बसेको बैठकबाट भाषा आयोग र नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा शाखाको समन्वयमा हरेक महिना नेपालको संविधान २०७२ अनुसार धारा २८७ मा उल्लेखित सरकारी कामकाजको भाषा, मातृभाषामा शिक्षा, भाषिक अध्ययनअनुसन्धानसम्बन्धी विषयमा कार्यक्रम सञ्चालन हुने भएको छ। आयोगका मा.सदस्य मातृकाप्रसाद पोखरेलकाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभाहलमा मासिक रुपमा सञ्चालन गरिने उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानको तर्फबाट आर्थिक लगायत व्यवस्थापन गर्ने र भाषा आयोगको तर्फबाट प्राविधिक व्यवस्थापन हुने जनाइएको छ।

मा.सदस्य पोखरेलका अनुसार उक्त कार्यक्रमको मोडल चाहिँ प्रत्येक महिना कुनै उल्लेख भएका विषय क्षेत्रको कार्यदिशासहितको कार्यपत्र प्रस्तुति र त्यसउपर समीक्षा कार्यसहित भावी कार्यदिशा तय गरिनेछ । यसमा सम्बद्ध क्षेत्रका नेपाल प्रज्ञा प्रतिष्ठानका र भाषा आयोगका पदाधाकरीसहित भाषाविद, विद्वान एवम् सरोकारवाला भाषिक सङ्घसंस्थाहरूको सहभागिता रहनेछ। स्मरणीय के छ भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट यसअघिदेखि मासिक रूपमा मातृभाषा विषयक कार्यक्रम सञ्चालन हुँदै आएको छ।

000

www.mlenepal.com बाट साभार 

No comments: