Friday, August 4, 2023

प्रगतिशील साहित्यलाई प्रविधिसँग जोडिनुपर्दछ : पोखरेल

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार मातृका पोखरेलले प्रगतिशील साहित्यलाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

प्रलेस केन्द्रीय समितिको आयोजनामा २०८० साउन १९ गते आयोजित “इन्टरनेट र प्रगतिशील साहित्य” छयसट्ठिऔँ परिसंवादमा धारणा राख्दै उहाँले यसतो बताउनुभएको हो ।

इतिहासको विभिन्न कालखण्डमा छापा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै पूर्व अध्यक्ष पोखरेलले अहिलेको सन्दर्भमा इन्टरनेटलाई साध्यको रूपमा होइन, साधनको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

‘विभिन्न बेबसाइटको प्रयोग अलि खर्चिलो हुने हुँदा भारतीय प्रगतिशील स्रष्टाहरूको समेत सिको गर्दै नेपालमा पनि प्रगतिशील सृष्टाहरूले ब्लगको सञ्जाल निर्माणको दिशामा अगाडि बढ्नुपर्ने’ उहाँले भन्नुभयो ।

भारतमा प्रगतिशील युवाहरूले प्रगतिशील ब्लग लेखक सङ्घ बनाएर पाँचौँ राष्ट्रिय सम्मेलनसमेत गरिसकेको बताउँदै सङ्घका सल्लाहकार पोखरेलले नेपालका प्रगतिशील स्रष्टाहरूले साहित्यिक अभियानलाई नयाँ उचाइमा पुराउनुपर्ने धारणा राख्नुभयो ।

नयाँबानेश्वरस्थित मनिप्लान्ट सहकारीको कार्यालयमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीले गर्नुभएको थियो ।

उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विषयवस्तुको बारेमा कार्यक्रमका संयोजक समीर सिंहले प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा रणेन्द्र बराली, गोपाल अश्क, डा. पुष्करराज भट्ट, शेखर अर्याल, इन्दिरा ढकाल, प्रा.डा. राजेन्द्रप्रसाद पोखरेल, सुधा मैनाली, चेतनाथ धमला, डा. कौशिल रिसाल, समीर सिंहलगायत हुनुहुन्थ्यो ।

ooo

www.yugdarshan.com बाट साभार
































No comments: