काठमाडौँ– पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ।
साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा २०८२ फागुन ३० गते शनिबार काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जानकारी दिए। आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उनले बताए।
सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का रहेका छन्।
विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रले ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ।
यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्रम गर्दै आएको र यस वर्ष ‘प्राडा वासुदेव त्रिपाठीसँग डा. महेश मास्केले पारिजात परिसंवाद’ कार्यक्रम सञ्चालन गरेका थिए ।
यसै वर्ष देखि प्रकाशन गरिएको पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेल सम्पादक रहेको 'पारिजात स्मारिका - २०८२' को पहिलो अङ्क उक्त कार्यक्रममा स्मृति केन्द्रका संरक्षक सुकन्या वाइबा, केन्द्रका अध्यक्ष इन्दिरा दली, प्रा.डा. वासुदेव त्रिपाठी , पूर्व अध्यक्ष डा. महेश मास्के र सम्पादक मातृका पोखरेलले संयुक्त रूपमा विमोचन गरेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यकार, विद्यार्थी, सर्जकलगायत उपस्थिति थियो ।
०००




























































































































































































































No comments:
Post a Comment