Thursday, March 5, 2020

कविता : नक्कली हावा

 - मातृका पोखरेल

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने  हल्ला 
र, बगाईरहेको छ तातो हावा । 

कस्तै गर्मीमा पनि
छालाले स्पर्श गर्दैन
चिसो बतासको स्वाद
नाकका पोराहरूमा
कुनै सुगन्ध आउँदैन माटोको

यो तातो हावामा मच्छरहरू हराउन जरुरी थिएन 
हराएन पनि, 
बच्चाहरूको शरीरमा घमौरा  हराउन जरुरी थिएन 
हराएन पनि,
खेतबारीमा काम गरिरहेका मानिसहरूको 
पसिना ओबाउन जरुरी थिएन 
ओबाएन पनि, 
कसले कहाँबाट र किन पठाइरहेछ 
यो नक्कली तातो हावा ?
हिजोआज सबै चौतारोहरूमा 
चिया पसलहरूमा 
निधार खुम्च्याएर  
यही कुरा सोचिरहेका छन् मानिसहरू ।

हावा त आखिर सल्लाघारी छिचोलेरै आएको थियो
ठुलाठुला अक्करहरू नाघेरै आएको थियो
हिमालका चिसा भन्ज्याङ्गहरू छिचोलेरै आएको थियो
ऊ आउने सूचना
ठुलै हल्ला बनेर आएकै थियो।

हल्ला त,
गाउँ हुँदै  सहर गएकै हो
जसको केही उड्नु थिएन र उडाउनु पनि थिएन
तिनीहरू स्वागत  गर्न बसेकै हुन्
हुन्डरीले जसका केही टपरा र दुनाहरू उडाउँदै थियो
तिनीहरू बिरोधमा बसेकै हुन्

आँधी र हुन्डरीले केही नउडाए पछि
बिरोधमा बसेकाहरू
सारै खुसी छन् यतिबेला,
आँधी र हुन्डरीले केही नउडाए पछि
स्वागतमा बसेकाहरू 
सारै दुःखी छन् यतिबेला,

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने  हल्ला 
र, बगाइरहेको छ तातो हावा ।



हिमाली गुराँस द्वैमासिक, पूर्णाङ्क – ५९, माघ–फागुन २०७२

----------------------------------------------------------------------
कवि श्रवण मुकारुङ्को आवाजमा मातृका पोखरेलको कविता - नक्कली हावा


No comments: