Tuesday, December 4, 2018

भारत-नेपाल साहित्य संगम - २०१८ सम्पन्न ।

सिक्किममा साहित्यिक जमघट


काठमाडौं । कला र साहित्यमार्फत नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्यका साथ तीन दिवसीय कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २५ मा पश्चिम सिक्किमको गेजिङमा र २६ मा पूर्वी सिक्किम नाम्चीमा बृहत् काव्य गोष्ठी भएको लु सुन देवकोटा प्रज्ञा प्रतिष्ठानले जनाएको छ । त्यस्तै, २७ नोभेम्बरमा दुई देशका लेखकले प्रसिद्ध पर्यटकीय स्थल छाङ्गु तालको अवलोकन भ्रमण गरेका थिए । प्रतिष्ठानको संयोजनमा नेपालबाट १० जना स्रष्टा सिक्किम पुगेका थिए ।
गेजिङमा भएको गोष्ठीमा बोल्दै समालोचक निनु चापागाईंले नेपाल र भारतबीच साहित्य क्षेत्रमा भएको संवादहीनता अन्त्य गर्न दुई देशबीच निरन्तर सिर्जनात्मक आदानप्रदान हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हरेक वर्ष आउने–जाने गरेर मात्रै पुग्दैन ।’ चापागाईंले साहित्यका माध्यमबाट सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य दुई मुलुकका स्रष्टाको रहेको बताए । उनले भने, ‘हामीले भौतिक रूपमा पनि साहित्यका क्षेत्रमा ठोस काम गर्नुपर्ने छ । सिक्किमका लेखक–पत्रकारले नेपाललाई र नेपालका लेखक–पत्रकारले सिक्किमलाई चिन्न, बुझ्न र एक–अर्काबाट सिक्न यस्तो आदानप्रदानले पक्कै सहयोग पुग्नेछ ।’
कार्यक्रममा भारतका साहित्यकार तथा पद्मश्री केदार गुरुङले दुई भूगोलमा बस्ने भए पनि कला–संस्कृतिका माध्यमबाट सिर्जनात्मक सम्बन्ध बलियो बनाउनुपर्ने विचार व्यक्त गरे । ‘हामी भिन्न परिवेशमा छौँ, आफ्नै मानु खान्छौँ तर साहित्य र संस्कृतिले हाम्रो सम्बन्धलाई बलियो बनाइराख्नेछ’, गुरुङले भने ।
प्रेस क्लब अफ सिक्किमका अध्यक्ष जोसेफ लेप्चाले छिमेकमा हुनुलाई एकअर्काको सहयोगीका रूपमा अथ्र्याउँदै भने, ‘छिमेकमा हुँदा नै न्वागी र बिलो बाँडेर खाने चलन हुन्छ । हामी आगामी दिनमा साहित्य क्षेत्रमा पनि बिलो बाँडौँ र न्वागी पनि बाँडौँ ।’ उनले दुई देशको सांस्कृतिक सम्बन्ध र साहित्यिक आदानप्रदान बलियो बनाउन नवगठित सिक्किम प्रज्ञा प्रतिष्ठान र लु सुन देवकोटा प्रज्ञा प्रतिष्ठानबीच समझदारी गर्ने तयारी भइरहेको जानकारी दिए ।
नाम्चीमा भएको कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघका अध्यक्ष तथा कवि मातृका पोखरलले सिक्किमको नेपाली साहित्य र नेपालको नेपाली साहित्यको सम्बन्धबारे चर्चा गरे । पोखरेलले भने, ‘सिक्किम र नेपालको सामाजिक–सांस्कृतिक सम्बन्ध धेरै पुरानो हो ।
सयौं वर्षअघिदेखि हाम्रा पुर्खाहरूको आउजाउ चलेको कुरा थुप्रै अभिलेखहरूबाट थाहा लाग्छ । गाउँघरमा सुखिम (सिक्किम) जाने कथा अझै सुन्न पाइन्छ ।’ नाम्चीको गोष्ठीमा सिक्किमका साहित्यकार थीरूप्रसाद नेपालले सिक्किम र नाम्चीको साहित्यिक वातावरणबारे बोलेका थिए भने नेपालबाट देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले दुई देशीय साहित्यिक सम्बन्धबारे विचार राखेका थिए ।
दुवै ठाउँमा भएको गोष्ठीमा भारतको पश्चिम बंगाल (दार्जिलिङ), सिक्किम र नेपालका गरी तीन दर्जनभन्दा बढी स्रष्टा सहभागी थिए । नेपालबाट कवि विमल निभा, गायक–संगीतकार जीवन शर्मा, कविहरू मातृका पोखरेल, इन्द्र रेग्मी, सीता शर्मा, रणेन्द्र बराली, सङ्गीत श्रोता, खगेन्द्रा खुशी, पुरुषोत्तम आचार्यले आ–आफ्ना रचना वाचन गरेका थिए । गायक जीवन शर्माले भने दुवै गोष्ठीमा गीत प्रस्तुत गरे ।
२७ नोभेम्बरमा प्रेस क्लब अफ सिक्किमका सदस्यहरूसहित नेपाली प्रतिनिधिमण्डलले सिक्किमको प्रसिद्ध पर्यटकीय स्थल छाङ्गु ताल अवलोकन भ्रमण गरेको थियो । चीन र भारतको व्यापारिक नाका नाथु–ला नाकाछेउको छाङ्गुलगायत क्षेत्रको भ्रमणमा सिक्किमको प्राकृतिक सौन्दर्य, चीन–भारत युद्ध (सन् १९६२), दुई देशबीचको व्यापार आदानप्रदानबारे पनि भ्रमण दललाई जानकारी गराइएको थियो ।
सिक्किमको प्रेस क्लब अफ सिक्किम र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको संयुक्त पहलमा कार्यक्रम भएको थियो । सन् २०१४ देखि दुई संस्थाले साहित्यिक भ्रमण र गोष्ठीसहितको आदानप्रदान समझदारीमा हस्ताक्षर गरेको प्रतिष्ठानका अध्यक्ष चापागाईंले बताए । सन् २०१९ को कार्यक्रम नेपालमा हुने बताइएको छ ।
www.souryadaily.com बाट साभार 



हिमालय दर्पण, सोमबार, २५, नोभेम्बर २०१८ 

Summit Times, 27 November - 2018 






































































































































































































































































































































































































































































==================================
==================================

भारत-नेपाल साहित्य संगम - २०१८ को अवसरमा छाङ्गु Lake माथिको पहाड चढ्दै । 

=======================================================
सिक्किम न्युजमा कार्यक्रमको क्लिप । 

No comments: