कविता, उपन्यास , कथा , नाटक ,संस्मरण र मुक्तक लगायतका विविध विधाका विशिष्ट सर्जक सरुभक्तले आफू जहाँ पुगिन्छ, त्यही कविता भेटिन्छ भन्दै २०५५ सालमा संरक्षण कविता अभियान चलाउँदै मुक्तिनाथको रानीपौवा गाउँमा मुखियालगायत गाउँलेलाई भेला पारेर स्थलगत कविता लेख्दाका अनुभूति सुनाउनुभयो।
सरुभक्तका अनुसार प्रयोगवादी बौद्धिक कविताभन्दा पनि गाउँघरका जनताले पनि बुझ्न सक्ने कविता लेख्नुपर्छ। एउटा कविले बौद्धिक हुँदै सरल र सहज धाराका कविता पनि लेख्न सक्छ। कवि मोहन कोइरालाका प्रयोगवादी कविता लगायतका कविबाट आफू प्रभावित हुनुको प्रष्टिकरण दिनुभयो । यसैगरी वैरागी काइँला र इन्द्रबहादुर राईका आयामेली कविताका जटिलता बारे पनि चिरफार पार्दै आफ्ना कतिपय कविता जटिल भएको समालोचक ,समीक्षकले बताए पनि त्यो भाष्य मात्रै भएको र आफूले सरल र सहज कविता पनि लेखेको जिकिर गर्नुभयो । साथै समालोचकले राम्रो भन्दाभन्दै सँगै जटिल कवि भन्ने गरेको प्रति पनि व्यङ्ग्य प्रस्तुत अहिले रचिएका कतिपय कविका कविता कथा जस्तो भएको र पृथक नभएको बताउनुभयो । कविताका नाममा राजनीति गर्ने र कुण्ठा मात्रै चित्रित गर्ने परिपाटी प्रति चिन्ता प्रस्तुत गर्दै आफ्ना कविता बुझ्न चाहनेका लागि बुझिने खालका सिर्जना भएको बताउनुभयो । समाचारदाताका अनुसार प्रमुख अतिथि सरुभक्तले 'असलम मियाँको सपना' र एकाध मुक्तक प्रस्तुत गरेपछि उपस्थित कविहरू मन्त्रमुग्ध नै बन्न पुगे ।
'कविता एन्ड द कप'का सूत्रधार कवि केशव सिलवाल र उद्घोषक मोक्तान थेबाको तारतम्यमा भएको यस कार्यक्रममा सरुभक्तका चट्टान, पीडादेश, एककिलो अक्षर, इतर समय, प्रयोगशालाभित्र, कवि/ प्रेमी र पागल, क्यानभास र शब्दबिम्ब जस्ता कवितासङ्ग्रहमा सङ्गृहीत कविताको समग्रगाथा "सरूभक्तका कविता"बाट प्रतिनिधिमूलक कविता वाचन भयो । जसमा कवि मातृका पोखरेल, रामगोपाल आशुतोष, मिथोच , उमेश अकिञ्चन, रमेश पौडेल , अनुभव , गीता त्रिपाठी , शकुन्तला जोशी ,सीता तुम्खेवाले कवितावाचन गर्नुभयो। कवि राजु उबरकोट र सजना गोलेले आआफ्ना कविता प्रस्तुत गर्नुभयो । वाचित सरुभक्तका कवितामाथि साहित्यकार कुमारी लामा, गोविन्द गिरी प्रेरणा र नवीन सिंह ठकुरीले आआफ्नो लघुधारणा प्रस्तुत गर्नुभयो। कार्यक्रमको सञ्चालन कवि मोक्तान थेबाले गर्नुभएको थियो ।
000



















No comments:
Post a Comment