Sunday, March 22, 2026

कविता महोत्सव- २०८२ सम्पन्न

 


साहित्य सदन नेपालले विश्व कविता दिवस (मार्च २१)का अवसरमा  चैत्र ७ गते आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगिता सहितको कविता महोत्सव- २०८२ अत्यन्त भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवमा प्रतियोगिताका निम्ति प्राप्त भएका १७१ ओटा कविताबाट उत्कृष्ट पाँचमा पर्न सफल कविताको वाचनपछि पाँचथरकी देवु लुइटेलको 'मातृभूमि अर्चना' कविता प्रथम, मोरङकी शारदा भट्टराईको 'झुक्दैन नेपाल यो' द्वितीय र सिन्धुपाल्चोकका सुन्दर शिरीषको 'सभ्यताको शोकधुन' दैलेखकी गरिमा पाण्डेयको 'यहाँ जन्माउनु छ नयाँ बुद्ध' तथा चितवनकी शोभा अधिकारीको 'आदिम हस्ताक्षर' कविता तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । मूल्याङ्कन कर्ताद्वय कवि खेमराज निरौला र ज्ञानु अधिकारीले मूल्याङ्कनको परिणाम घोषणा गरेपछि पुरस्कृत कविहरूलाई क्रमश: ३० हजार, २० हजार र तृतीय हुने तीन जनालाई रु.दश दश हजार राशिको पुरस्कार प्रदान गरिएको छ । 

महोत्सवमा अतिथि कविहरू विष्णुविभु घिमिरे, जयन्ती सत्याल 'स्पन्दन'' कणाद महर्षि, भगवती बस्नेत, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, विजय सुब्बा, अमृता स्मृति, लक्ष्मी माली, आस्था घिमिेरे, हिरामणि दुखी, राजेन्द्रप्रसाद अधिकारी, आर एम डङ्गोल, नन्दीश अधिकारी, प्रमोद ढकाल, सविता बराल, जीवराज घिमिरे, ज्योति जङ्गल, विन्दु शर्मा, कृष्ण प्रसाईँ, गौरी देवकोटा, कोशराज न्यौपाने, पुरुषोत्तम दाहाल, शान्ति शर्मा, जगत् उपाध्याय 'प्रेक्षित', लक्ष्मी रुम्बा, भुवनहरि सिग्देल, बाजुराम पौडेल, सुरेश पोखरेल र खेमराज निरौलाले आआफ्ना कविता वाचन गर्नुभएको थियो । सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलका अध्यक्षतामा सम्पन्न उक्त महोत्सवको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.वासुदेव त्रिपाठीले पानसमा दीपप्रज्वलन तथा कविता वाचन गरी प्रारम्भ गर्नुभएको थियो । उक्त महोत्सवमा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व उपकुलपति विष्णुविभु घिमिरे, पूर्व  सदस्य सचिवहरू प्रा.डा.जीवेन्द्र देव गिरी र प्रा.जगत् उपाध्याय 'प्रेक्षित' पूर्व मन्त्री शान्ता मानवी, साझा प्रकाशनका पूर्व अध्यक्ष विजय सुब्बा, वरिष्ठ पत्रकार एवं कवि पुरुषोत्तम दाहाल  विशेष अतिथिका रूपमा र सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानी उपस्थित हुनुहुन्थ्यो । सदनका सचिव प्रह्लाद पोख्रेलले विश्व कविता दिवसका साथै कविता महोत्सवका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त महोत्सवमा सदनका संस्थापक, पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक अमिर थापाको यही चैत्र १ गते भएको निधनमा उहाँका सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको थियो । कार्यक्रम सदनकी सदस्य सीता भट्टराईले सम्पूर्ण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । विशेष अतिथि र प्रमुख अतिथिको मन्तव्यपछि सभाध्यक्ष पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै महोत्सवको समापन गर्नुभएको थियो । कार्यक्रम साहित्यकारहरूको सघन उपस्थितिका बिच ११:३० बाट सुरु भई ३:३० सम्म सञ्चालन भएको थियो ।

000

www.facebook.com (साहित्य सदनको फेसबुक वालबाट)
















No comments: