- मातृका पोखरेल
इतिहास भएका ती दिनहरू
तिम्रो हत्याको केही महिनाअघि
हामी एकसाथ बसेर
तिम्रा एकजोडा भूमिगत हातहरूले
अनिँदा सपनाहरू कोरेको यो ठाउँ
स्वयम्भूको त्यही आँखामुनि
म यतिबेला
स्मृतिमा खोजिरहेछु ।
प्रिय कवि "इच्छुक"
जब तिम्रो हत्याको खबर
कुनै वेगवान हुण्डरीझैं
गाउँ र शहर पुग्यो
उज्यालो आकाश खोज्नेहरूका
एकसाथ परेला भिजे,
अभावले थाकेका गाऊँहरू
एकसाथ मसँगै रोए,
तिम्रो हत्याको खबरमा
अखबारहरू बिके,
तिमीले जसको भविष्य
कालीगण्डकीमा शालीग्राम खोजेझैं
मृत्युपर्यन्त खोजिरह्यौ,
हो, त्यसदिन
तिम्रै हत्याको खबरमा
गरिबी आँसुहरू एक गण्डकी बगे
साना नानीहरूले शोकगीतहरू गाए
प्रिय कवि "इच्छुक"
हो, यो सबै तिम्रो हत्याको खबरमा ।
मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पुरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू ।
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ?
000
कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ
कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ






No comments:
Post a Comment