मातृका पोखरेल नेपाली प्रगतिशील कथा र कवितामा निकै रुचिका साथ पढिने नाम हो । उहाको नयाँ कविता सङ्ग्रह भर्खरै बजारमा आएको छ सुटुक्क । यो कहाँ पाइन्छ मलाई पनि थाहा छैन ।
उनी बिद्रुप हुँदै गएको कम्युनिस्ट आन्दोलनको आदर्श रक्षा गर्नुपर्छ निरन्तर लेखिरहेका छ्न । कवितामा ससाना बिषयलाई पनि गहिरो कला र बिचारको रङ भर्न सक्नु उनको खुबी हो । मलाई मन परेको उनको एउटा कविता यहाँ प्रस्तुत छ ।
------------------------------------------
शहरमा मार्क्स
शहरबाट मार्क्स हराएको केही समयपछि
मैले उनलाई अस्ति एक्कासी बागबजारको श्रेष्ठ टेलरिङ्ग छेउमा भेटें ।
उनले मलाई पुरै बिर्सिसकेका रहेछन्
उनै पुराना कार्ल मार्क्स हुन भन्ने थाहा पाएपछि
मैले लालसलाम कमरेड भने,
र हात मिलाउन खाेजेँ
उनले अफ्ट्यारो मान्दै हात मिलाए ।
मैले उहिले भेट्दा उनले दारी पालेका थिए
हिजोआज जुँगामात्र राखेर दारी काटेछन
मनमनै लाग्यो- बुढा दारीमैं सुहाउँथे
राम्रो गरेनछन ।
आरामविरामका केही औपचारिक कुरा भए
उनले मलाई सोधे
श्रेष्ठ टेलरिङ्ग कहाँनेर पर्छ ?
मैले हातको इसाराले श्रेष्ठ टेलरिङ्ग देखाइ दिएँ ।
‘त्यहाँ दौरासुरुवाल राम्रो सिलाउँछ भन्ने सुनेको थिएँ ‘
ऊनी स्पष्टीकरण दिँदै श्रेष्ठ टेलरिङ्गतिर गए
ऊनी गएको बाटो लामो समय मैले हेरिरहेँ ।
आज मैले फेरि उनलाई इन्द्रचोकनेरको एउटा गल्लीमा भेट्टाएँ
आज उनी दौरासुरुवालमा सजिएका थिए
घनिष्टता वोध गरेर हात मिलाउन खाेजेँ
मैले बढाएको हात नदेखेझैं गरे उनले
त्यसपछि मैले नमस्कार गरेँ
उनले खुसीका साथ नमस्कार फर्काए
कुनै पसलको खोजीमा थिए उनी
उनले खोजेको पसल मैले जान्न चाहेपछी
एकछिन अक्माकिए ऊनी
बिर्के टोपी पाइने दुकान कता होला बाबू ?
निकै अफ्ट्यारो मान्दै उनले फेरि सोधे ।
शहरबाट मार्क्स हराएको केही समय पछि
मैले उनलाई आज एक्कासी इन्द्रचोकको एउटा पुरानो गल्लीमा भेटें
उनी बिर्के टोपीको दुकान खोज्दै थिए ।
000
No comments:
Post a Comment