Saturday, June 20, 2026

सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयक गोष्ठी सम्पन्न

सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयमा भाषा आयोगले यही २०८३ असार ५ गते शुक्रबार विद्वत प्रवचनको कार्यक्रम आयोजना गऱ्यो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमको विषयवस्तु र औचित्यमाथि माननीय सदस्य डा. पुष्करराज भट्टले धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयमा भाषा आयोगका पूर्व अध्यक्ष डा. गोपाल ठाकुरले विचारपत्र प्रस्तुत गर्नुभएको थियो । विचारपत्रमाथि भाषा आयोगका सल्लाहकारद्वय रामावतार यादव, जीवेन्द्रदेव गिरीसहित भाषिक अभियन्ताहरू इन्द्रजित सहनी (बज्जिका), उमेश स्थापित (नेपाल भाषा), धनमान गुरुङ ( गुरुङ भाषा ), निरन्ती तुम्बापो ( याक्थुङ लिम्बु), लगायतका वक्ताहरूले आफ्ना जिज्ञासा एवम् कार्यान्वयनको अवस्थाका बारेमा आफ्ना विचारहरु राख्नुभएको थियो ।

कार्यक्रमको संचालन भाषा आयोगका उपसचिव विमला काफ्लेले गर्नुभएको थियो ।

ooo



























जरा फाउन्डेसनद्वारा ज्ञानु राणाको सम्मान; सावित्री गिरीको ‘छाल ओढेर’ माथि विमर्श सम्पन्न

 


-जयराम बिडारी

२०८३ असार ४,काठमाडौँ

जरा फाउन्डेसन नेपाल र शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा एक विशेष साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई विशेष सम्मान गरिनुका साथै गजलकार सावित्री गिरी ‘सुकु’को नवीन गजलसङ्ग्रह ‘छाल ओढेर‘ माथि परिचर्चा र बहुभाषिक गजल प्रस्तुति समेत गरियो ।

फाउन्डेसनका अध्यक्ष एवं प्रखर साहित्यकार कृष्ण प्रसाईको अध्यक्षता तथा वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

राष्ट्रिय धुन र दीप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रममा शान्ति साहित्य परिवारका अध्यक्ष कृष्णराज अधिकारीले स्वागत मन्तव्यका साथ संस्थागत गतिविधि बारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा उनले साहित्य समाजको ऐना भएको र यसले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । यसै गरी, कवि प्रज्वल अधिकारीले ‘जरा फाउन्डेसन’को ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्दै वि.सं. २०४६ देखि साहित्यिक यात्रा सुरु गरी २०७२ मा दर्ता भएर यस संस्थाले ओगटेको आयाम र साहित्यिक उत्थानमा पुर्‍याएको योगदानबारे चर्चा गरे ।

उक्त अवसरमा गजलकार सावित्री गिरी ‘सुकु’को गजलसङ्ग्रह ‘छाल ओढेर’ कृति उपर परिचर्चा गरिएको थियो । संग्रहको समीक्षा गर्दै समीक्षक सुधीर ख्वविले कृतिभित्र संग्रहित १०१ वटा गजलहरूले जीवनका यथार्थ, संघर्ष र भावनालाई कलात्मक रूपमा समेटेको बताए गजलमा काफिया र रदिफको सन्तुलित प्रयोग निकै सुन्दर रहेको चर्चा गर्दै उनले यी गजलहरूमा आत्मपरकता र जीवनका भोगाइहरू जीवन्त रूपमा आएको उल्लेख गर्दै सुधार गर्नुपर्ने कतिपय पाटोमा ध्यान दिन सुझाए ।

सो अवसरमा नेपाली, हिन्दी र उर्दू भाषाका गजलहरूको विशेष प्रस्तुतिले हललाई गुञ्जायमान बनाएको थियो । कार्यक्रममा गजलकारहरू देवेन्द्र केसी ‘देबु’, मुमताज अन्जुम, तबासुर मिकरानी, बिटु केसी, फुरकान फैजी, शीतल कादम्बिनी, समा श्री, दिया गिरी, सुमित्रा सुमी र नानीबाबा अधिकारी लगायतले सुकुकृत उत्कृष्ट गजलहरू वाचन गरेका थिए । कार्यक्रममा गजल वाचन गरिएका गजलकारहरूलाई विभिन्न अतिथिहरूद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि तथा वरिष्ठ गायिका ज्ञानु राणालाई आयोजकका तर्फबाट माला, दोसल्ला र सम्मान पत्रद्वारा विशेष सम्मान गरिएको थियो । प्रमुख अतिथि राणाले गजलकार सावित्री गिरीको लेखन यात्रा र समर्पणको प्रशंसा गर्दै ‘छाल ओढेर’ गजलसङ्ग्रह नेपाली गजल साहित्यका लागि एउटा महत्त्वपूर्ण प्राप्ति भएको धारणा व्यक्त गरिन् । उनले आफ्ना पिताजी जनकवि केशरी धर्मराज थापाको हात समाएर १४ वर्षको उमेरदेखि रेडियो नेपाल पुगेको पनि साठी वर्ष व्यतीत भइसकेको पत्तै नपाएको धारणा व्यक्त गरिन् । त्यही यात्राको निरन्तरता स्वरूप आज यो सम्मान प्राप्त गर्न सकेकी हुँ । यसको श्रेय सरस्वतीको कृपा र मातापिताको योगदानलाई जान्छ भन्दै आयोजकप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा वरिष्ठ गायक शिशिर योगी, भाषा आयोगका सदस्य मातृका पोखरेल, मदनराज थापा, मनोविद् निर्मला फुयाल र पत्रकार महेशजंग कुँवर लगायतले स्रष्टा गिरीको सिर्जनशीलता र कृतिको सफलताको कामना गर्दै आ-आफ्नो धारणा राखेका थिए ।

सिर्जना शर्माद्वारा सहजीकरण गरिएको कार्यक्रमको समापन गर्दै सभापति कृष्ण प्रसाईले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले जरा फाउन्डेसन सधैँ ओझेलमा परेका प्रतिभा र गुणस्तरीय साहित्यको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

000

https://shabdasarovar.com बाट साभार 





















Saturday, June 13, 2026

जनसांस्कृतिक महासंघ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन सम्पन्न

 


काठमाडौं २०८३ जेठ ३० गते ।

जनसांस्कृतिक महासंघ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन भव्य रूपमा आज सम्पन्न भएको छ। जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा मण्डला ब्याङ्कवेटमा सम्पन्न सम्मेलनको अध्यक्षता महासंघ नेपालका इन्चार्ज कमरेड चिरन पुनले गर्नुभएको थियो।

वीर सहिदहरूप्रति मौन धारण गर्दै सुरु भएको सम्मेलनमा कलाकारहरूले अन्तर्राष्ट्रिय गीतसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कलाकारहरूले गीत तथा कवितामार्फत जनसांस्कृतिक आन्दोलनका भावनाहरू प्रस्तुत गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीले देश र जनताको रक्षा गर्ने बताउनुभयो। उहाँले कम्युनिस्टहरू परिवर्तनका बाहक भएको उल्लेख गर्दै आन्दोलनभित्र रहेका कमजोरी र विकृतिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो।

“अहिले व्यक्तिवाद हावी भइरहेको छ। नयाँ पुस्तालाई विचार र भावनाले ओतप्रोत गर्दै आन्दोलनप्रति जिम्मेवार बनाउन आवश्यक छ,” नेपालले भन्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्यसंयोजन समितिका सदस्य गंगा नारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति र नेपाली समाजवादी संस्कृति अहिले रक्षात्मक अवस्थामा रहेको उल्लेख गर्दै अब त्यसलाई प्रभावकारी र आक्रामक दिशातर्फ अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले कला, साहित्य र संस्कृतिलाई सामाजिक परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा भाषा आयोगका सदस्य एवम्  पूर्व इन्चार्ज  डा. गोपाल ठाकुर, जनसांस्कृतिक महासंघ नेपालका सह–इन्चार्ज उदय श्रेष्ठ, प्रमुख जनवर्गीय संगठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, भाषा आयोगका सदस्य तथा पूर्व अध्यक्ष मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो।

पूर्व अध्यक्ष मातृका पोखरेलले शुभकामना मन्तव्य दिँदै थोरै कुरा बोकेर पनि प्रभावकारी काम गर्न सकिने बताउनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनमा कामभन्दा बढी कुरा हुने प्रवृत्तिबाट सचेत हुनुपर्ने धारणा राख्नुभयो।

सम्मेलनले जनसांस्कृतिक महासंघ नेपालको संगठनलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व संरचना निर्माण गरेको छ। सम्मेलनबाट कमरेड भीम कुमाखी संयोजक र कमरेड अष्ट लामा सह–संयोजक रहेको ५१ सदस्यीय कार्यालय टिम, सचिवालय तथा केन्द्रीय समिति निर्माण गरिएको जनाइएको छ। त्यस्तै सम्मेलनले ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति समेत गठन गरेको छ।

कार्यक्रममा प्रस्तुत गरिएको विधान तथा प्रतिबद्धता पत्र इन्चार्ज चिरन पुनले प्रस्तुत गर्नुभएको थियो। सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको छ।

००० 

https://toptenkhabar.com बाट साभार