Sunday, February 23, 2020

सुनकोशीको तीरैतीर रुम्जाटारको यात्रा - खोमा तरामु मगर

यात्रा जीवनको एउटा किताब रहेछ । जीवन अविरल यात्रा ! यात्रा जीवनको सिङ्गो किताब !


थबाङदेखि फर्कनु अगावै रुम्जाटारको यात्रा तय भइसकेको थियो । एक हप्तासम्म अजम्बरी गाउँ थबाङमा रहँदा साथीहरुसँग रुम्जाटार जाने कि नजाने ? भनेर सामूहिक छलफल भने नभएको होइन ।
नीति निर्माण र वैचारिक दृष्टिकोणले बैठकमा उपस्थित भएर आफ्ना विचारहरु राख्नु र घनिभूत छलफलमा सहभागी हुनु सांस्कृतिक आन्दोलन र सांगठनिक दृष्टिकोणले उपयुक्त हुने निष्कर्षका साथ थबाङको क्रान्तिकारी भट्टीबाट एकदिन अगावै लुसुक्क निस्किएर सोझिएको हो–रुम्जाटार यात्रा ।
यात्रा जीवनको एउटा किताब रहेछ । जीवन अविरल यात्रा ! यात्रा जीवनको सिङ्गो किताब ! जब भोक र उत्पीडनको उच्छवासले जीवन दुर्दान्त अँध्यारो सुरुङ यात्रा गर्छ, तब विद्रोह र संवेदनाको उद्दीप्त आवेगले सगरमाथा चढ्छ । जब आफ्नै पौरखको पर्खालभित्र पसिना होइन, रगतको नदी बग्न थाल्छ, मान्छेले आफैलाई आगो घोषणा गर्छ र डो¥याउँछ अविराम क्रान्तिको यात्रामा । जीवनलाई मैले यस्तै साेंच्छु । फागुन १३ र १४ गते प्रगतिशील लेखक संघ नेपालको राष्ट्रिय परिषद् बैठक ओखलढुङ्गाको रुम्जाटारमा सम्पन्न भयो । यतिखेर म रुम्जाटार यात्राको बयान गर्न खोजिरहेको छु ।
जीवन सुखका मनोरञ्जनपूर्ण लाप्साहरु मात्र होइनन्, जसलाई सबैले सुनेर आनन्द मात्रै प्राप्त गर्न सकुन् । जीवन दुःखका मर्मान्तक भक्कानाहरु मात्रै पनि होइनन्, जसलाई सबैले पढेर आँसु मात्रै झार्न बाध्य होऊन् । जीवन भौतिक परिस्थितिको प्रतिच्छाँया हो । विचार, संवेदना र यथार्थको सन्तुलित लय हो जीवन । क्रान्ति, आदर्श र उद्दाम सपनाहरुले डोरिएको महाकाव्य हो जीवन । आफैभित्र कार्वन उमारेर पनि नुतन सृष्टि र सौन्दर्यको स्वप्निल संसार निर्माण गर्ने अठोट, संघर्ष र प्रतिबद्धताको समीकरण हो जीवन । हामी यही विपरितहरु बीचको घर्षणबाट गुज्रिरहेका छौं । भौतिक जीवन र यात्राको द्धन्द्धात्मक सम्बन्धलाई मैले यहीनेर बुझेको छु । क. लेनिनले भन्नुभएको “निरन्तर क्रान्ति, निरन्तर उत्सव” भनेजस्तै जिन्दगी निरन्तर यात्रा, संकल्प र उत्सव पनि हो ।
झोलाटुम्बा बोकेर फागुन १३ गते विहान ६ बजे चावहिल बसपार्क पुग्दा प्रलेस केन्द्रीय सचिब होमशंकर बास्तोला र केन्द्रीय सदस्य चेतनाथ धमलाले गाडीको चाँजोबाँजो गर्दै हुनुहुन्थ्यो । प्रलेसका केन्द्रीय उपाध्यक्ष एवं अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिब खेम थपलिया सहित मुक्तान थेबा, हरिलाल महतरा, सिद्धबहादुर खड्का, आरसी न्यौपाने, हृदय लेकाली लगायत साथीहरु हामी एउटै गाडीमा बसेर यात्रा सुरु ग¥यौं । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेल, उपाध्यक्षहरु डा. बिन्दु शर्मा, मिश्र बैजयन्ती, डा. कृष्णराज अधिकारी, रामप्रसाद पुरी, पुष्करराज भट्ट, महासचिब आरएम डंगोल, सचिब प्रकाश सिलवाल, कोषाध्यक्ष बिजयराज आचार्य लगायत सचिवालय सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु एवं राष्ट्रिय परिषदका सदस्यहरु गाडीमा क्रमशः लामबद्ध हुनुहुन्थ्यो ।
गाडीको लस्कर लामै थियो । विहानको झुल्केघाममा काभ्रेको धुलीखेल पुगेर हामी चियानास्ता ग¥यौं । धुलिखेलको ओरालोपछि विपी लोकमार्गको पक्की सडक अविराम बगिरहेको सुनकोशीको तीरैतीर काभ्रे, सिन्धुली, उदयपुर हुदै ओखलढुङ्गाका पाखाभित्ताहरुको भूगोल छिचोल्यौं ।

घरि अनकन्टार भीर पहाडहरुमा फूलिरहेको लाली गुराँसका घनाजंगल, घरि आकर्षक र गुजुमुज्ज वस्तीहरुको चौभञ्ज्याङहरु पार गर्दै हामी ओखलढुङ्गाको सदरमुकाम पुग्यौं । त्यहाँको बजार चोकहरुमा स्वागतका ब्यानरहरु झुण्ड्याईएको छ । सोलुखुम्बुको सल्लेरी जाने पक्की सडक छोडेर सदरमुकामदेखि झण्डै दुई घण्टा ओरालो कच्ची सडक छिचोलेपछि हामी साँझ ६ बजेतिर घनावस्ती रहेको सुन्दर गाउँ ओखलढुङ्गाको रुम्जाटार पुग्यौं ।कतै पहाडको साँघुरो खोंच हुँदै त कतै असरल्ल फिजारिदै निर्मल र निर्बाध बगिरहेको थियो सुनकोशी नदी । सुनकोशीको तीरैतीर यात्रारत रहँदा पारिपट्टि रामेछापका पाखाभित्ताहरु फुङ्ग र उदास देखिन्छन् । पतझडको याम सुरु हुँदैछ र उदास देखिने यी अग्ला रामेछापका पाखाभित्ताहरु निर्वस्त्र छन् । नयाँ पालुवा पलाउने समय आउँदैछ र सुदूर क्षितिजको अरुणिमा जस्तै पल्लवीत ती थबाङका क्रान्तिकारी सप्तरङहरुलाई मनभरि च्याप्दै यात्रामा छु म । ओखलढुङ्गाको भूगोल प्रवेशसंगै उकालो चढ्दै गएपछि लिखु र तामाकोशी नदीहरुले घोलिएर हर्लक्क बढेको सुनकोशी नदी साँघुरो खोंच हुदै विस्तारै टाढिदैछ र सम्मुखमा उभिएका छन् खोटाङका अग्ला पाखाभित्ताहरु । हामी सुनकोशी नदिको किनाराबाट देखिने माथि–माथि डाँडापाखाका ती क्षितिजहरुमा दौडिरहेका छौं, जहाँ मौसमको चिसो स्पर्शसंगै गोधुलीसाँझको पश्चिम क्षितिज क्रमशः रातो हुँदै गइरहेको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मगाउँ ओखलढुङ्गाको सदरमुकाम सिद्धिचरण नगरपालिकाको फेंदीमा पुग्दानपुग्दै पाखाभित्ताहरुमा रातै लाली गुराँसहरु फूलिरहेका छन् ।
रुम्जाटार गाउँ निकै आकर्षक बस्ती रहेछ । चारैतिर डाँडाकाँडाले घेरिएको रुम्जाटारको बस्ती विविधताको अनुपम संगम रहेछ । हाम्रो टोलीलाई एयरपोर्ट नजिकै रहेको सनराइज आवासिय स्कूलको प्राङ्गणमा स्वागतको व्यवस्था गरिएको रहेछ । गाडीबाट ओर्लेर हामी सिधै स्कूलतिर प्रवेश ग¥यौं । गेटमा स्थानीयबासीहरुले फूलमाला लगाएर स्वागत गरिरहेका थिए । स्थानीय बुद्धिजीवि सीताराम गुरुङले मकै भटमास र मोही सहित रुम्जाटार बस्तीको परिचय दिदै झण्डै २० मिनेट बोलेर स्वागत गर्नुभयो । हामी स्वागतपछि पद्यमाहलको सभाकक्षतिर लाग्यौं ।
साँझ सात बजेदेखि राष्ट्रिय परिषदको बैठक सुरु भयो । प्रगतिशील आन्दोलनमा सहादत प्राप्त गर्ने कृष्णसेन इच्छुक, घनश्याम ढकाल, रामप्रसाद प्रदीप लगायत ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली गरि सुरु भएको बैठकको अध्यक्षता प्रलेसका केन्द्रीय अध्यक्ष एवं प्राज्ञ मातृका पोखरेलले गर्नुभएपछि महासचिब आरएम डंगोलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विजयराज आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दागर्दै रातीको १० बज्यो र प्रतिवेदन उपर छलफल विहान गर्ने गरि बैठक स्थगित भयो ।
फागुन १४ गते विहानै सात बजे बैठक प्रारम्भ भयो । बैठकको आरम्भमा महिला उपाध्यक्ष एवं प्रदेश इन्चार्ज डा. विन्दु शर्माले प्रतिवेदन उपर आफ्ना धारणाहरु राखि सुरु भएको छलफलमा क्रमशः प्रदेश नं. १ को तर्फबाट मिश्र बैजयन्ती, प्रदेश नं. ३ को तर्फबाट खेम थपलिया, प्रदेश नं. ४ को तर्फबाट डा. कृष्णराज अधिकारी, प्रदेश नं. ६ को तर्फबाट रामप्रकाश पुरी, प्रदेश नं. ७ को तर्फबाट पुष्करराज भट्टले रिर्पोटिङ सहित सुझाबहरु राखेपछि बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य एवं राष्ट्रिय पार्षद सदस्यहरुले संक्षिप्तमा धारणाहरु राख्न सुरु भयो ।
हाम्रो संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ सम्बद्ध केन्द्रीय कार्यसमिति र पार्षदमा प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको तर्फबाट हामीले प्रलेसको प्रतिवेदनउपर केही सुझाबहरु पेश ग¥यौं । प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद विरोधी बामपन्थी स्रष्टाहरुको साझा मोर्चा भएकोले यसमा माक्र्सवाद लागु गर्नुपर्ने, वामपन्थी आवरणमा घुसेका गैरप्रगतिशील सदस्यहरुको सदस्यता तत्काल खारेज गर्नुपर्ने, लेखन सिर्जनामा मुखरित हुँदै आएको भाषिक–सांस्कृतिक आन्दोलनलाई प्रगतिशील आन्दोलनसंग जोडेर लैजानुपर्ने, कला साहित्य एवं लेखनमा देखिएको उपभोक्तावादी चिन्तन, बजारीकरण र सबैखाले विचलन विरुद्ध दृढतापूर्वक उभिनुपर्ने, दलाल संसदीय पूँजीवादले पैदा गरेको सांस्कृतिक अराजकताका विरुद्ध सिर्जनात्मक प्रतिरोध गर्नुपर्ने, अन्यायपूर्ण युद्धको विरुद्ध गरिने कुनैपनि राष्ट्रिय÷अन्तर्राष्ट्रिय न्यायपूर्ण युद्धको समर्थन गर्नुपर्ने, कम्युनिष्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी वैचारिक विचलन र माक्र्सवादको भ्रष्टीकरण विरुद्ध सिर्जनात्मक प्रतिवाद गर्नुपर्ने, अन्तर्राष्ट्रिय साहित्यको अनुवाद एवं वैचारिक प्रकाशन, प्रशिक्षण र गतिविधिलाई जोड दिनुपर्ने आदि बिषयहरु हामीले राख्यौं ।
बैठकमा उठेका सुझाबहरुको जवाफ महासचिब आरएम डंगोल, कोषाध्यक्ष बिजयराज आचार्यले दिएपछि प्रमुख अतिथि प्रलेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवं प्राज्ञ नर्मदेश्वरी सत्याल र अध्यक्ष मातृका पोखरेलले विचारधारात्मक तथा सिर्जनात्मक पक्षमा केही चुनौति भएकोले सम्बद्ध स्रष्टाहरुले वैचारिक प्रतिबद्धता र लेखकीय जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
बैठकले संगठनका नीतिगत र कार्यक्रमिक योजनाहरु सहित १० बुँदे रुम्जाटार घोषणापत्र जारी गर्दै बैठक समापन भयो । बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय दलाल एकाधिकार पुँजीवाद विरोधी साहित्यिक सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा एकीकृत ढंगले अगाडी बढाउने, संस्कृतिमा थोपरिएका सवैखाले हस्तक्षेप विरुद्ध सिर्जनात्मक अभियानमार्फत प्रतिवाद गर्ने, समकालिन बुर्जवा तथा उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा उत्तरआधुनिकवादको विरुद्ध वैचारिक एवं सिर्जनात्मक अभियान सञ्चालन गर्ने, चार्डपर्व एवं संस्कृतिलाई प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक एवं प्रशिक्षणमूलक अभियानका लागि पहलकदमी गर्ने, साहित्यिक सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार तथा सम्मानका नाममा हावी भएको विकृति विरुद्ध छलफल बहस सञ्चालन गर्ने आदि बिषयहरु समेटिएको छ । परिषद बैठकको अवसरमा युवराज दाहालको अध्यक्षतामा १३ सदस्यीय ओखलढुङ्गा जिल्ला शाखा समेत घोषणा भयो ।
प्रलेसको बैठक समापनपछि सनराइज बोर्डिङ स्कूलको प्राङगणमा नेपाल प्रज्ञा प्रतिष्ठान र स्थानीय साहित्यिक संघ÷संगठनहरुको संयुक्त आयोजनामा आख्यान÷बालसाहित्य विचार गोष्ठी र स्थानीय स्रष्टाहरुबीच कविता प्रतियोगिता सम्पन्न भयो । विचारगोष्ठीमा “बालसाहित्यमा प्रगतिशील चिन्तन” र “नेपाली लघुकथामा समाजवादी यथार्थवाद” बिषयक विचारगोष्ठीमा बिजयराज आचार्य र पुष्करराज भट्टले कार्यपत्र पेश गर्नुभयो । कार्यपत्रमाथि डा. विन्दु शर्मा र प्रलेस महासचिव आरएम डंगोलले टिप्पणी गर्नुभयो । कार्यक्रममा स्थानीय परम्परामा आधारित सांस्कृतिक झाँकीहरु देखाइएको थियो ।
हामी दुईदिने रुम्जाटार बसाईपछि सदरमुकाममा रहेको युगकवि सिद्धिचरण श्रेष्ठको प्रतिमा, ओखलको ढुङ्गा र बजारबस्तीहरुको अवलोकनपछि रुम्जाटार नेपालको बौद्धिक–सांस्कृतिक मानचित्रमा कहिल्यै नबिर्सने ‘लोकेसन’ को रुपमा मनभरि साँचेर फागुन १५ गते काठमाडौं फर्कियौं ।

No comments: