Sunday, January 2, 2022

महाधिवेशनमा सिर्जनात्मक हस्तक्षेप - देवेन्द्र थुम्केली

 ‘चित्र त प्रतीकात्मक हो’





काठमाडौं । नेपाली नागरिकको एक दिनको ज्याला दश हजारको परिकल्पना गरिएको चित्रले जोकोहीको ध्यान खिच्नु स्वभाविक हो । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको कला प्रदर्शनीमा कलाकार राजकुमार राना मगरले बनाएको उक्त चित्रले नागरिक सम्पन्न हुन सके देश समृद्ध बन्ने भाव प्रस्तुत गरेको छ । देशमा राजनीतिका धेरै कुरा भए तर, आमजनताको जीवनस्तर उकास्ने योजना सुरु गर्नुपर्ने तर्क गर्दै कलाकार राजकुमार भने समृद्ध देश बन्न जनता सबल बन्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘चित्र त प्रतीकात्मक हो । यसमा नेपालको मौलिक संस्कृति तथा सामाजिक जीवनलाई समेत देखाइएको छ । हामी सांस्कृतिक, सामाजिक, आर्थिकरुपमा सम्पन्न बन्दै समानतामूलक, न्यायपूर्ण तथा विभेदरहित समाज निर्माण लाग्नुपर्छ । यसमा कलाकारको योगदान भनेको सिर्जनामार्फत आलोचनात्मक रुपमा घच्घचाउनु हो ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार पाइसकेका उनले नेपालको आमूल परिवर्तनमा माओवादीको योगदान विशिष्ट रहेको जनाउँदै देशको आर्थिक समृद्धिमा अग्रसर हुने योजनासहित अगाडि आउनुपर्ने तर्क गर्छन् । उनले उक्त प्रदर्शनीमा दुईवटा चित्र राखेका छन् । अर्को चित्रमा राजकुमारले क्रान्तिमार्फत नै जनतामा चेतना अभिबृद्धि भएको विषयलाई कलात्मक रुपमा उधिन्दै परिवर्तनको झण्डालाई झुक्न नदिने जनता, जनमुक्ति सेना तथा कलाकारलाई चित्रण गरेका छन् । उनले कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रुपमा उतारेका छन् ।

प्रदर्शनीमा पौभा कलाकार अमिर शाक्यले क्रान्ति, शान्ति र पवित्रताले मात्रै देशलाई अग्रगामी दिशामा लैजान सक्छ भन्ने भावको चित्र राखेका छन् । उनले नेपालको मौलिक परम्परागत शैलीलाई समसामयिक विषय र राजनीतिक आन्दोलनमा जोडेर चित्र बनाएका जुन नितान्त नौलो र सापेक्षित पनि छ । शाक्य भन्छन्, ‘समाज रुपान्तरणका लागि कलाकारले सिर्जनामार्फत घच्घचाइरहनुपर्छ भन्ने उद्देश्यले चित्र बनाएको हुँ । स्रष्टाको काम बाटो देखाउने हो । हामीले हाम्रो सिर्जनामार्फत समाज रुपान्तरणका पक्षमा आवाज उठाइरहेका छौं ।’ ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारले बनाएका कलाकृति प्रदर्शनीमा राखिएको प्रदर्शनीको संयोजन गरिरहेको अखिल नेपाल ललितकला संघले जनाएको छ ।



समग्रमा नेकपा (माओवादी केन्द्र) को महाधिवेशनमा कलाकारले सिर्जनात्मक रुपमा राजनीतिक नेतृत्वप्रति हस्तक्षेप गर्दै जनमुखी बन्न नेतृत्वलाई झक्झकाएका छन् । साथै आफ्ना राजनीतिक मुद्दा नबिर्सन र खराब विचार तथा पक्षसँग नफस्न सचेत गराएका छन् ।

पाँचदिनसम्म चल्ने प्रदर्शनीमा जनआन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, दलाल पुँजीवादको रुप, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ । प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकारले २०२५ सालमै बनाएको गरिब परिवार शीर्षकको कलाको सार्थकता अहिले पनि उत्तिकै रहेको छ । उनले चित्रमा गरिबीका कारण आहत परिवारको विषयलाई निकै सापेक्षित र यथार्थपरक रुपमा उधिनेका छन् ।

यस्तै अग्रज कलाकार नारदमणि हार्तम्छालीले नेपालको राजनीतिक आन्दोलनको कष्टपूर्ण यात्रालाई निकै ओजिलो रुपमा प्रस्तुत गरेका कलाकृति प्रदर्शनीमा राखेका छन् । उनले नेपालमा भएका आन्दोलन र रुपान्तरणका लागि जनताको बलिदानको विषयलाई निकै ओजपूर्ण रुपमा प्रस्तुत गरेका छन् । उनका प्रस्तुतिले राजनीतिक नतेृत्वलाई जनताको आधारभूत कुरालाई नबिर्सन भन्ने भाव सम्प्रेषण गरेको छ ।

अग्रज थाङ्का कलाकार लालमान लामाले नारी, किसान, नेपालका विभिन्न जातजाति तथा समुदायको बलिदानले अहिलेको अवस्था आएको विषयलाई उठान गरेको छ । समानता, न्यायपूर्ण समाज र विभेदरहित सामाजिक संरचनाको परिकल्पना गर्दै आफूले देश निर्माणका लागि माओवादीले अग्रगामी सोचका साथ नेतृत्व गर्नुपर्ने पक्षलाई चित्रमा उतारेको कलाकार लामाले बताए । उनले नेपालको वर्गसंघर्ष या अन्य राष्ट्रभक्तिका आन्दोलन र युद्धमा नारीको सहभागिता र उनीहरुको योगदानको विषयलाई समेत चित्रमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान रहेको छ । मैले चित्रमा त्यो प्रसंगलाई उतार्ने जमर्कोसमेत गरेको हुँ ।’

प्रदर्शनीमा अग्रज मिथिला कलाकार एससी सुमनले अतिथि कलाकारका रुपमा समृद्ध देश निर्माणमा हिमाल, पहाड, तराई–मधेशका जनता एकजुट हुनुपर्ने सन्देशको चित्र राखेका छन् । उनले चित्रमा सबै नेपाली मिलेर सुनौलो युग निर्माण गर्न लाग्नुपर्ने भाव रहेको सुनाए । कलाकार केशव राज खनालले बनाएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्रयाक्टर चलाइरहेको चित्रले सबै दर्शकको ध्यान तानेको छ । नेपाल ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका खनालले आर्थिक क्रान्तिका लागि कृषि र औद्योगिक क्रान्तिलाई प्राथमिकता दिनुपर्ने सन्देश चित्रमार्फत दिन खोजेको बताए । उनले नेपालमा कृषि त्राmन्ति नगरी समृद्धि आउन कठिन हुने तर्क गर्दै त्यसको नेतृत्व प्रचण्डलगातका नेताले गर्नुपर्ने जिकिर गरे । खनालल भन्छन्, ‘दलाल, माफिया, विचौलिया, भ्रष्टाचारीको घेरा टोड्दै नेता अब जनताको घरआँगनमा पुग्नुपर्छ । उनीहरुका दुःख–सुखमा साथ दिनुपर्दछ । साथै जनमुखी योजनासहित देशको दीर्घकालीन विकासमा नेताले ध्यान दिनुपर्छ भन्ने सन्देशका साथ कला प्रदर्शनी गरिएको र कलाकारले पनि त्यही अपेक्षा राखेका छन् ।’



अखिल नेपाल ललितकला संघका अध्यक्ष पाल्साङ्मो लामाले सांस्कृतिक रुपान्तरणविना राजनीतिक आन्दोलन सफल बन्न नसकेको विषयलाई कलामा उतारेका छन् । कलाकार कमानसिंह लामाले सामूहिकताविना समृद्धिको परिकल्पना फिक्का हुने चित्र प्रदर्शनीमा राखेका छन् । उनले पार्टीहरु पनि सामूहिक सोच र विवेकमा चलेमा राम्रो परिवेश बन्ने विचार चित्रमार्फत प्रस्तुत गरेको सुनाए । कलाकार प्रदीप अधिकारीले महिला विद्रोहको विषयलाई प्रतीकात्मक रुपमा क्यानभासमा उतारेका छन् । संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका अधिकारीले सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरेको बताए । उनले भने, ‘नेपालको प्रगतिशील तथा समाजवादी कला आन्दोलनका लागि यो प्रदर्शनी कोशेढुंगा सावित हुनेछ । साथै यसप्रकारको प्रदर्शनी नेपालमा पहिलो पटक भएको हो ।’

चर्चित युवा कलाकार रविन्द्र श्रेष्ठले नेपाली सेना र जनमुक्ति सेनाको रगतबाट शान्ति समायोजन र बृहत शान्ति सम्झौतालाई टुंग्याउनुपर्ने भावको चित्र बनाएका छन् । उनको चित्रले देशलाई अगाडि बढाउन क्रान्तिपछिको सामाजिक मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने पक्षलाई समेत उठान गरेको छ । कलाकार श्रेष्ठ शान्ति समायोजनपछि नेपाली समाजले समृद्धिको यात्रामा फड्को मार्ने भएकाले त्यस दिशामा अग्रसर हुन राजनीतिक दललाई आग्रहसमेत चित्रमार्फत गरेका छन् ।

पाल्पाका कलाकार राजकुमार बिकले नेपालको परम्परागत सीप र सिर्जनालाई सबल बनाउँदै न्यायपूर्ण समाजले मात्रै देशलाई समृद्ध बनाउने कला प्रदर्शनीमा राखेका छन् । उनको कलाले श्रम, सीप र सिर्जनालाई सम्मान गर्न सकेमात्रै मानिस सभ्य र समृद्ध बन्न सक्ने विचारलाई कलात्मक रुपमा उधिनेको छ । दाङका कलाकार लिलाधर केसीले नवयुगको आव्हान गर्दै नेपालको राजनीतिक आन्दोलनपछिको जनअपेक्षा पूरा गर्न नेताले विशिष्ट भूमिका निर्वाह गर्नुपर्ने चित्र राखेका छन् । बुटवलका कलाकार अमर परियारले क्रान्तिपछिले मात्रै आमूल परिवर्तन संभव छ भन्ने भावको चित्र राखेका छन् भने कलाकार खेम बिकेले खराब तत्वलाई निमिट्यान्न नपारी देश र जनताको भलो नहुने विषयको चित्र प्रदर्शनीमा राखेका छन् ।

मुगुका कलाकार झिग्मे लामाले समाजवादको यात्रा शीर्षकमा बनाएको चित्रले आफ्नै स्रोत र साधन प्रयोग गर्नुपर्ने र त्यसको विकासमा राज्यले ध्यान दिनुपर्ने पक्षलाई उठाएको छ । संघको कर्णाली प्रदेश सहसंयोजकसमेत रहेका झिग्मेले ‘समाजवादी यात्राको पदचाप’ शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राखेको बताए । उनले नेपाललाई शान्ति र समृद्धिको दिशामा लैजाने राजनीतिको नेतृत्व गरेको पार्टीको महाधिवेशनमा कलाकारलाई कला प्रदर्शनीको अवसर दिएर माओवादीले राम्रो काम गरेको सुनाए ।
म्याग्दीका कलाकार शिव शेर्पालीले ‘राता मान्छे’, कलाकार निरीमाया लामाले ‘लक्ष्य’, रञ्जु पुलामी मगरले ‘समानता’ को विषयमा चित्र बनाएका छन् । यस्तै, पोखरेली कलाकार पूर्णिमा पौडेलले मजदूरको तागत र विद्रोहलाई निकै आकर्षक रुपमा क्यानभासमा चित्र कोरेकी छन् ।


संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएका कलाकृति राखिएको जानकारी दिए । उनले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उतार्न सफल भएको जिकिर गरे । लामाले समाज रुपान्तरणका लागि कलाकारले कलामार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिएको बताए । उनले भने, ‘नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक प्रदर्शनीमा राखिएका कलाकृतिमा आएको छ ।’

पाल्साङ्मोले प्रदर्शनीमा तराई मधेश, पहाड तथा हिमाली परिवेशका विविध आयाम झल्किने कलाकृति राखिएको जानकारी दिए । उनले नेपालको समाजवादी यात्राका लागि यो कला प्रदर्शनी कलाका दृष्टिले कोशेढुंगा सावित हुने जिकिर गरे । उनले नेपालमा समाजवादी कलाको यो प्रदर्शनी पहिलो भएको दावीसमेत गरे ।



यस्तै, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नेपालमा समाजवादको विषय लिएर गरिएको पहिलो कला प्रदर्शनी रहेको जिकिर गरे । उनले कलामार्फत राजनीतिक दिशा र परिवर्तनको विषयलाई कलाकारले कलाकृतिमार्फत प्रस्तुत गर्न सफल भएको विचार व्यक्त । खनालले थपे, ‘देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देश कलामा आएको छ ।
जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणमा हृदय परिवर्तन गर्ने कुराले महत्व राख्ने बताउँदै प्रदर्शनीमा राखिएका कलाले तिनको सिर्जनात्मक पाटोलाई केलाएको बताए । उनले भने, ‘हृदय परिवर्तन नै सांस्कृतिक रुपान्तरणको दीगो र दीर्घकालीन पक्ष हो । यस्ता प्रदर्शनीले मानिसहरुको हृदय परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।’ पोखरेलले प्रदर्शनीमा राखिएका कलामा जनयुद्ध, नेपालको गणतान्त्रिक यात्रा, समानता, न्याय र विभेदरहित समाजको परिकल्पना गरिएको विषय आएको सुनाए । यस्तै, प्रदर्शनीको मुख्य पाटो भनेकै परम्परागत थाङ्का तथा पौभा शैलीमा समाज परिवर्तन र सामाजिक न्याय लगायतका समसामयिक विषयलाई समेत कलात्मक रुपमा चित्रण गरिएको छ । शैलीका दृष्टिले नयाँपनको झल्को दिने गरी कलाकारले चित्र बनाएका छन् ।

यस्तै, थाङ्का कलाकार लालमान लामा, पाल्साङ्मो लामा, झिग्मे लामा, कमानसिंह लामा तथा निरीमाया लामाले थाङ्का शैलीमा नयाँ कला शैलीको आरम्भ गरेका छन् । संघका केन्द्रीय सचिव निरीमाया लामाले महाधिवेशनले नेपाली कलामा नयाँ बहस छेडेको जिकिर गरिन् । उनले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि योगदान दिने सबै सहिद, बेपत्ता तथा घाइते योद्धाको सम्मान गर्दै आगामी दिनमा सिर्जनामार्फत संघले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । समग्रमा हेर्दा नेकपा (माओवादी केन्द्र) को महाधिवेशनमा कलाकारले सिर्जनात्मक रुपमा राजनीतिक नेतृत्वप्रति हस्तक्षेप गर्दै जनमुखी बन्न अभिप्रेरित गर्न नेतृत्वलाई झक्झकाएका छन् । साथै आफ्ना राजनीतिक मुद्दा नबिर्सन र खराब विचार र पक्षसँग नफस्न सचेत गराएका छन् ।


www.souryaonline.com बाट साभार 



सौर्य दैनिकबाट 

-------------------------------------------------------


माओवादी महाधिवेशनमा ‘समाजवादी यात्रा’ कला प्रदर्शनी

काठमाडौं । ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा पाँचदिने प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ । प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशव राज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लिलाधर केसी अमर परियार, अमिर शाक्य, खेम बिक, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेल लगायतका कलाकारका तीन दर्जन बढी कलाकृति रहेका छन् ।


अखिल नेपाल ललितकला संघको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको छ । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उधिनेको बताए । उनले भने, ‘समाज रुपान्तरणका लागि कलाकारले कलामार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिएका छन् । साथै नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको छ ।’


नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नेपालमा समाजवादको विषय लिएर गरिएको पहिलो कला प्रदर्शनी रहेको धारणा व्यक्त गरे । उनले कलामार्फत राजनीतिक दिशा र परिवर्तनको विषयलाई कलाकारले कलाकृतिमार्फत प्रस्तुत गर्न सफल भएको जिकिर गरे । खनालले थपे, ‘देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देश कलामा आएको छ । साथै प्रदर्शनीमा राखिएका कलामा नेपालको गणतान्त्रिक यात्राको प्रसंगलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।’

प्रदर्शनीका लागि बुटवलबाट आएका कलाकार तथा अखिल नेपाल ललितकला संघ लुम्बिनी प्रदेश अध्यक्ष खेम बिकले सामाजिक न्यायसहितको समाजको परिकल्पना गरिएका कलाकृति प्रदर्शनीको मुख्य आकर्षक रहेको बताए । उनले नेपाली समाजमा चेतना भर्ने माओवादी आन्दोलनको विषयलाई कलाकारले निकै गहनताका साथ उठान गरेको विचार व्यक्त गरे । प्रदर्शनीमा परम्परागत थाङ्का तथा पौभा शैलीमा समाज परिवर्तन र सामाजिक न्यायको समसामयिक विषयलाई समेत कलात्मक रुपमा चित्रण गरिएको छ । शैलीका दृष्टिले नयाँपनको झल्को दिने गरी कलाकारले चित्र बनाएको सोफाजका अध्यक्ष खनालले बताए । उनले नेपालमा चलिरहेका कलाका शैलीमा यसरी सामाजिक न्यायका विषयलाई थाङ्का पौभा शैलीमा उतारेर कलाकारले नयाँपन दिन खोजेको जिकिर गरे । प्रदर्शनीमा अग्रज थाङ्का कलाकार लालमान लामाले उज्यालो यात्रा शीर्षकमा तयार पारेको चित्र प्रदर्शनीको आकर्षण बनेको छ । उनले नेपालको वर्गसंघर्ष या अन्य राष्ट्रभक्तिका आन्दोलन र युद्धमा नारीको सहभागिता र उनीहरुको योगदानको विषयलाई समेत चित्रमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान रहेको छ । मैले चित्रमा त्यो प्रसंगलाई उतार्ने जमर्को गरेको हुँ ।’

० प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ
० कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रुपमा उतारिएको छ
० सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरिएको छ

पौभा शैलीमा राजनीतिक तथा सामाजिक विषयमा कलाकार राजकुमार राना मगर, अमिर शाक्यले निकै आकर्षक चित्र बनाएका छन् । उनीहरुका कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रुपमा उतारिएको छ । यस्तै, कलाकार पाल्साङ्मो लामा, झिग्मे लामा, कमानसिंह लामा तथा निरीमाया लामाले थाङ्का शैलीमा नयाँ कला शैलीको आरम्भ गरेका छन् । यो महाधिवेशनले नेपाली कलामा नयाँ बहस छेडेको प्रदर्शनीमा सहभागी कलाकार तथा संघका केन्द्रीय सचिव निरीमाया लामाले बताइन् । उनले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि योगदान दिने सबै सहिद, बेपत्ता तथा घाइते योद्धाको सम्मान गर्दै आगामी दिनमा सिर्जनामार्फत संघले काम गर्ने प्रतिबद्धता जनाइन् ।


मुगुका कलाकार तथा संघका कर्णाली प्रदेश सहसंयोजक झिग्मे लामाले समाजवादी यात्राको पदचाप शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राखेको बताए । उनले नेपाललाई शान्ति र समृद्धिको दिशामा लैजाने राजनीतिको नेतृत्व गरेको पार्टीको महाधिवेशनमा कलाकारलाई कला प्रदर्शनीको अवसर दिएर माओवादीले राम्रो काम गरेको सुनाए । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले प्रदर्शनीमा तराई मधेश, पहाड तथा हिमाली परिवेशका विविध आयाम झल्किने कलाकृति राखिएको जानकारी दिए । उनले नेपालको समाजवादी यात्राका लागि यो कला प्रदर्शनी कलाका दृष्टिले कोशेढुंगा सावित हुने जिकिर गरे । उनले नेपालमा समाजवादी कलाको यो प्रदर्शनी पहिलो भएको दावीसमेत गरे ।

संघका केन्द्रीय उपाध्यक्ष प्रदीप अधिकारीले सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरेको विचार राखे । उनले भने, ‘नेपालको प्रगतिशील तथा समाजवादी कला आन्दोलनका लागि यो प्रदर्शनी कोशेढुंगा सावित हुनेछ । साथै यसप्रकारको प्रदर्शनी नेपालमा पहिलो पटक भएको हो ।’ प्रदर्शनीमा कलाकार रविन्द्र श्रेष्ठले जनमुक्ति सेना र नेपाली सेनाको रगतबाट बनाएको चित्रले शान्ति समायोजनको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । कलाकार श्रेष्ठ शान्ति समायोजनपछि नेपाली समाजले समृद्धिको यात्रामा फड्को मार्ने भएकाले त्यस दिशामा अग्रसर हुन राजनीतिक दललाई आग्रहसमेत चित्रमार्फत गरेका छन् ।

000

www.souryaonline.com  बाट साभार 

सौर्य अनलाइन२०७८ पुष १२ गते  प्रकाशित


































































































































नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम नेतृत्वमा रहनुभएका  कमरेडहरू द्वारा प्रदर्शनी अवलोकन 


No comments: