Thursday, February 25, 2021

साहित्यिक संस्था लेकालीको ‘कब्जा’ - राजकुमार बानियाँ

 



कालो गेटबाट पस्नेबित्तिकै छिँडीमा पार्किङ लट । त्यसकै भित्तानेर काठका पुराना दराज । सँगसँगै सुल्टोमाथि उल्टो खप्टिएका केही थान मेच । दुई कुनाका सलाईका बट्टाजत्रा कोठामा असरल्ल किताब, कागजपत्र र प्रमाणपत्र ।

नेपालका प्रतिष्ठित साहित्यिक संस्थाका कार्यालय यहीँ थन्किएका छन् । आधा शताब्दीको इतिहास बोकेको साहित्यिक पत्रकार संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को डायस्पोरा डेस्क, शंकर लामिछाने प्रतिष्ठान आदि संस्थालाई त्यस्तो हालतमा देख्दा मनमा एकखाले चिसो पस्यो ।

खासमा म अनामनगरको अक्सिडेन्टल स्कुलनजिक साढे पाँच तलामाथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको ‘२४ घन्टे साहित्यिक सक्रियता’ बारे अन्तर्वार्ता गरेर फर्किंदै थिएँ । उनले नै गौरवसाथ देखाए, अप्रिय स्थितिमा रहेका तत्तत् संस्थाका कार्यालय । र, त्यहाँ भएका एकुन्टा किताब मेरो हातमा थमाउँदै उनले आफ्नो ‘महानता’ देखाए, ‘एउटा संस्थाको कार्यालय राख्न मासिक भाडा १० हजार लाग्थ्यो, मैले आफ्नै घरमा बिनाभाडा चार वर्षदेखि राखिदिएको छु । मैले यहाँभन्दा बढी के गर्न सक्छु ?’

लेकाली निवासको चियापानीको आतिथ्यमा पग्लिँदा पग्लिँदै पनि मेरो मनमा अनेक प्रश्नको लहर उठे । नेपाली साहित्यमात्र होइन, साहित्यिक संस्था पनि कसैको घरमा शरण लिन अभिशप्त रहेछन् । के यी संस्था भाडा तिर्न नसकेर यहाँ बसेका हुन् ? पक्कै होइन । सरकारी अनुदान समेत पाउने साहित्यिक पत्रकार संघको खातामा ३५ लाख रुपियाँ छ भनेर लेकालीले मसँगै सुनाएका छन् । अनेसास वार्षिक १४-१५ लाख रुपियाँको पुरस्कार बाँड्छ भनेर पनि मसँगै भनेका छन् । शंकर लामिछाने प्रतिष्ठान स्वयं पनि वार्षिक एक लाखको हाराहारीमा पुरस्कार बाँड्ने संस्था हो । के साहित्यिक संस्थाको कुनै गरिमा हुँदैन ? आखिर राधेश्याम लेकालीले किन यी संस्थालाई आफ्नै घरको शरणार्थी बनाए ?

एउटा कारण के हो भने उनी ती संस्थामा वर्षौंदेखि अध्यक्ष छन् । उनलाई अध्यक्ष भइरहनु पनि छ । यहाँनेर भनिहालौँ- म साहित्यिक संगठनमा देखेर लेकालीको तन-मन देखेर लोभिएको छु । उनी विमोचन, अन्तर्क्रिया, अभिनन्दन गरिरहन्छन् । विभिन्न संस्थाको नाम राखेर स्रष्टाहरुको किताब निकालिरहन्छन् । भलै खर्च स्रष्टाले नै गरेको किन नहोस् !

राधेश्याम लेकाली

यति मात्र होइन, राधेश्याम भलाद्मी छन्, फुर्तिला र हँसमुख छन्, मीठोमसिनो बोल्न जान्दछन् । सबैसित उत्तिकै घुलमिल हुन्छन् । उनले १४ वटा पुस्तक पनि प्रकाशन गरिसकेका छन् भने ५५ वटा सम्मान र पुरस्कार थापेका छन् ।

कार्यक्रममा मान्छे जुटाउने शैली तीसको दशकदेखिकै रहेछ । हेमराज ज्ञवाली इलाममा सीडीओ भएका बेला कविता लेखेबापत दुई दिन थुनिएको बताउने उनले कुनै बेला ‘ढाकर’ र ‘कदर’ नामक सामयिक संकलन निकालेका रहेछन् । नागरिकताको नाम राधेश्याम गुप्ता भए पनि विराटनगर पढ्दा साथीभाइले माया गरेर ‘लेकाली’ उपनाम दिएका उनीसँग सहकारीको व्यवस्थापक, सिँचाइ विभागको स्टोर किपर, केबुल टेलिभिजन महासंघको कार्यकारी निर्देशक आदिको पदीय अनुभव पनि छ । उनका बाजे व्यापारको सिलसिलामा इलाम उक्लेका रहेछन् ।

उनलाई भेट्न जानुअघि मैले अनेसास अध्यक्ष प्रकाश पौडेल ‘माइला’ सँग लेकालीका विशेषता सोधेको थिएँ । प्रकाशको शब्दमा लेकालीको सम्पर्क सूत्र बलियो छ । उनको स्थायी शत्रु वा स्थायी मित्र कोही छैन । जुझारु, सक्रिय र सदाबहार । कुदेर कहिल्यै नथाक्ने, अनि सहयोगी भावना । विदेशबाट सम्पर्क गर्न सहज र सरल । यही विशेषताका कारण अनेसासको ३० वर्षे इतिहासमा नेपालबाट पहिलो पटक अध्यक्ष भए ।

उनको सक्रियताको उदाहरण म आफैँ यहाँ पेस गर्छु । उनको साहित्यिक पत्रकार संघले फागुन ७ मा नेपालगन्जकी लेखिका कल्पना खरेलको उपन्यास ‘लभ इन जेरुसलेम’ विमोचन कार्यक्रम राखेको छ काठमाडौँमा । भरखरै १० सदस्यीय साहित्यकार टोलीको नेतृत्व गर्दै काठमाडौँदेखि नवलपरासीको त्रिवेणीधामसम्मको चारदिने धार्मिक तथा आध्यात्मिक साहित्य यात्रा सम्पन्न गरे ।

हेम-सरिता फाउन्डेसनबाट ‘भ्रष्टाचारविरुद्धका अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’ गरे । अब ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्दैछन् । लेकाली अमेरिकाको टेक्ससमा प्रधान कार्यालय रहेको भनिएको हेम-सरिता पाठक फाउन्डेसनको नेपाल च्याप्टर संयोजकका साथै साहित्य र संस्कृति विभागको प्रमुख रहेछन् । त्यसो त सरिता-हेम पाठक फाउन्डेसनको स्रोत र गतिविधिलाई शंकास्पद मान्ने पनि नभएका होइनन् ।

विदेशबाट फर्कने नेपाली कवि–लेखकहरु लेकालीप्रति पक्कै ऋणी छन् । विदेशबाट कोही काठमाडौँ आउँदै छ भन्ने थाहा पाएपछि उनी कोटको खल्तीमा खादा हालेर बसेका हुन्छन् । अनि अनेसासबाट फलानोलाई सम्मान भन्ने समाचार पनि फेसबुक वा अनलाइनमा टप्किहाल्छन् । घटना र सन्दर्भले देखाउँछन्- राधेश्याम लेकाली किन साहित्यमा लागिरहेका छन् भने यो उनको ‘सेवा’ मात्र नभएर ‘पेसा’ पनि हो । त्यसका केही दृष्टान्त यहाँ छन् ।

आजीवन अध्यक्ष !

चालीसको दशकदेखि नै साहित्यिक पत्रकार संघमा छन्, राधेश्याम लेकाली । घोषित अध्यक्ष भएकै दुई दशक भैसक्यो । भलै आफू कहिलेदेखिको अध्यक्ष हुँ, उनलाई पनि यकिन छैन । तर २०५६ सालमा महासचिव छँदैदेखि उनले संस्था ‘कब्जा’ गरेका हुन् । उनले २०६४ मा भवानी घिमिरेलाई हस्तान्तरण गरेको भने पनि उनको नियन्त्रणबाहिर गएन । घिमिरे बितेको पनि एक दशक नाघिसक्यो । साहित्यिक पत्रकार संघ हामी चलाउन सक्दैनौँ भनेपछि जिम्मेवारी लिएको उनको स्पष्टीकरण छ ।

कब्जामा उनको विश्वास कतिसम्म छ भने एकताका तारानाथ शर्मा र कृष्ण प्रसाईंले इलामे कवि विष्णु नवीन स्मृतिग्रन्थ (सन् १९७८) सम्पादन गरेर डिल्लीबजारको एक प्रेसमा बुझाएका थिए । राधेश्याम लेकालीको नेतृत्वमा युवराज अधिकारी, पुष्पराज प्रधान, जसुदा प्रधानको टोलीले रातारात प्रेसमा गएर कब्जा गर्यो र सम्पादकबाट तारानाथ र प्रसाईंको नाम हटाएर आफ्नो नाम राख्यो । यसविरुद्ध सूर्यबहादुर सेन ओलीले ‘खरिदार स्तरको मान्छेले गरेको कुकार्य’ भनी गोरखापत्रमा पाठकपत्र लेखेका थिए ।

वर्षौंदेखि सबैलाई साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नाम मात्र थाहा छ । अरु को-को छन्, कसैलाई थाहा छैन । विधिवत् रुपमा महाधिवेशन पनि भएको छैन । ‘साहित्यिक पत्रकार संघमा दुई सय आजीवन सदस्य छन्, कोही बितिसके, कोही विदेश गए,’ लेकाली भन्छन्, ‘महासचिव पुष्पा खनाललगायतको टिम छ । जे होस् राम्रो टिम छ ।’ लेकाली कार्यसमितिको विवरण पनि दिन चाहँदैनन् । नयाँ सदस्यता त परै जाओस् । आखिर किन दिँदैनन् त ?

दुई रोपनी जग्गा गुपचुप !

साहित्यिक पत्रकार संघ भवानी घिमिरेको अध्यक्षतामा २०२९ साउन २९ गते खुले पनि सरकारी निकायमा दर्ता भएको थिएन । घिमिरे दुई कार्यकाल अध्यक्ष भए । संघका संस्थापक नगेन्द्रराज शर्माका अनुसार अच्युतरमण अधिकारीको कार्यकाल (२०३८–२०४०) मा सरदार रुद्रराज पाण्डे (रुपमतीका उपन्यासकार,, त्रिभुवन विश्वविद्यालयका उपकुलपति) ले चावहिलको मित्रपार्कमा कवि वासु शशीको घरसँगै जोडिएको सात आना जग्गा साहित्यिक पत्रकार संघका नाममा दिएका थिए । तर त्यस जग्गासम्म जाने बाटो थिएन । पछि पाण्डेले संघलाई त्यो जग्गाको सट्टाभर्नास्वरुप बाफलस्थित ज्ञानोदय स्कुलको प्रांगणसँगै जोडिएको झन्डै दुई रोपनी जग्गा दिए । तर नापी नभएको त्यो जग्गामा पनि बाटो थिएन । संघले केही उपती गर्न सकेन ।

अन्ततः त्यो खाली जग्गा विद्यार्थीको पिटी-परेड-कवाज, प्रार्थना र खेल मैदानमा परिणत भयो । सुरुसुरुमा स्कुलले संघलाई दुई-पाँच सय रुपियाँ भाडाबापत दिन्थ्यो पनि । पछि स्कुलले नै स्थायी रुपमा खरिद नै गरी भोगचलन गर्न चाह्यो र संघसित आवश्यक कागजात माग्यो । तर संघले समयमै कागजात बुझाउन सकेन ।

भएको के थियो भने विश्वविमोहन श्रेष्ठ (२०४४–२०५४) को पालामा संघले पुतलीसडक आसपास दराज, फर्निचरसहित अफिस खोलेको थियो । भाडा तिर्न नसकेर घरबेटीले ताल्चा लगाई कागजात समेत फालिदिएपछि नरेन्द्रबहादुर श्रेष्ठको पालामा फेरि नयाँ दर्ता गर्नुपर्यो । स्कुलले ‘२०२९ वालासित पो व्यवहार गरेको हो, नयाँसित होइन’ भनी निहुँ पनि खोज्यो । साहित्यिक पत्रकार संघले २०४० तिर अदालतको ढोका ढकढक्यायो । मुद्दा बढ्दैबढ्दै सर्वोच्च अदालतले मेलमिलापका लागि पठाइदियो । पैसामा कुरा मिल्यो । तर ज्ञानोदय स्कुलले खासमा संघलाई दिएको पैसा कति हो ? कसैलाई यकिन छैन ।

अध्यक्ष लेकाली स्कुलसित ३५ लाख रुपियाँ लिएको दाबी गर्छन् । तर ‘नेपाली पुरस्कारको इतिहास’ (२०७३) मै डिल्लीराम मिश्रले जग्गाको छिनोफानोपछि ५३ लाख रुपियाँ साहित्यिक पत्रकार संघको अधिनमा रहेको उल्लेख गरेका छन् । ‘त्यो खोलाको किनारको कतैबाट जाने बाटो नभएको जग्गा रहेछ । लालपुर्जा दाताकै नाममा थियो, मुद्दा लड्यो साहित्यिक पत्रकार संघले । वकिल रामजी विष्टले लडिदिएको मुद्दा निकै कमजोर देखियो । कति जग्गा हो, अदालतमा होला प्रमाण । वकिलसँग मैले कागज लिएको पनि छैन,’ उनी भन्छन्, ‘स्कुलले मेलमिलापका लागि बोलाउँदा भवानी घिमिरे, नगेन्द्रराज शर्मा, विश्वविमोहन श्रेष्ठ र म ट्याक्सीमा गएका हौँ । यति पैसा लिने भन्ने निर्णय दाइहरुकै निर्णय हो । स्कुलले वर्षौं झुलायो । अन्तिम किस्ता अस्ति भरखर दियो । ३५ लाख लिएकोमा पाँच लाखजति खर्च भयो । त्यो पैसाले सात–आठ सय स्क्वायर फिटको कमर्सियल फ्ल्याट हेर्दैछौं ।’

प्रश्न उठ्छ- भरखर दिएको भए २०७३ मा प्रकाशित पुस्तकमा कसरी रकम लेखियो ? त्यही पैसाका कारण लेकालीले कसैलाई संघमा ढिम्किनै नदिएका त होइनन् ?

स्कुलसित पैसा लिने निर्णय गरेका भनी लेकालीले औँल्याएका भवानी घिमिरे बितिसके । अच्युतरमण अधिकारीलाई अल्जाइमर्स भएको छ । नगेन्द्रराज शर्मालाई यसबारे थाहै रहेनछ । शर्मा भन्छन्, ‘मलाई त लाग्छ, साहित्यिक पत्रकार संघ नै एक किसिमले जीवित छैन । पैसा कसरी दियो स्कुलले ? पैसा लिएको भए पनि नक्कली कागजपत्र बनाएर लिएको हुनुपर्छ । लेकालीले कति पैसा बुझेको भन्ने प्रमाण म कसरी दिऊँ ?’ ट्याक्सीमा गएका भनिएका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठ थप्छन्, ‘त्यो जग्गा भाडामा दिएको भए मासिक कतिमा दिएको हो ? बेचेको भए कतिमा बेचेको हो ? त्यो जानकारी चाहियो । एउटै व्यक्ति साहित्यिक पत्रकार संघमा कति समयसम्म बस्ने हो ? अब त दिक्क पनि लाग्नुपर्ने हो ।’

साहित्यिक पत्रकार संघलाई लेकालीले निजी गुठीजस्तो बनाएपछि २०६२ मा नकुल सिलवालको संयोजकत्वमा अर्को नेपाल साहित्यिक पत्रकार संघ गठन भयो । त्यसो त संस्थापक अध्यक्ष भवानी घिमिरेको जोडबलमा दुई संस्थाबीच एकीकरणका लागि अच्युतरमण अधिकारी, भवानी घिमिरे र लेकाली रहेको समिति बनाएर वार्ता पनि भयो । तर चुनाव जित्ने हिसाबमा लेकालीको संघले नेपाल केबुल टेलिभिजन महासंघ र नेबिकोका कर्मचारीलाई समेत आजीवन सदस्य बनाएको देखिएकाले अर्को पक्ष त्यसमा सहमत भएन । अर्को संघका अध्यक्ष नगेन्द्रराज शर्मा भन्छन्, ‘लेकालीको संघ र यो संघ प्रचण्ड र ओलीजस्तै हुन् । मिल्ने मात्र भनेर भएन, कसरी मिल्ने ?’

लेकालीचाहिँ अर्को साहित्यिक पत्रकार संघको विधानमा क्रियाशील पत्रकार हुनुपर्ने, पत्रकारिता छाडेको पाँच वर्षपछि सदस्य नरहने प्रावधानका कारण एकीकरण हुन नसकेको औँल्याउँछन् । उनकोमा दुई सय आजीवन सदस्य प्रायः लेखक कविमात्र छन् । साहित्यिक पत्रकार लेकाली स्वयं त होइनन् भने अरु को हुनु ? लेकाली दुवै संघ कायम राखी छापा साहित्यिक पत्रकार, विद्युतीय साहित्यिक पत्रकार, स्तम्भलेखकको संघको छाता साहित्यिक पत्रकार महासंघ बनाउने सोच सुनाउँछन् ।

पुरस्कार दिने, थैली नदिने !

वास्तवमा साहित्यिक पत्रकार संघ ऐतिहासिक महत्त्वको संस्था हो । यसकै सिफारिसमा प्रेस काउन्सिलमा साहित्यिक पत्रकारको प्रतिनिधित्व हुन्थ्यो । पाँचवटा क्षेत्रीय सम्पर्क कार्यालय खुलेको थियो । सूचना तथा सञ्चार मन्त्रालयको अनुदान दुई लाखसम्म पाएको थियो । लेकाली नेतृत्वमा आएपछि पुरस्कारको ‘डन’ संघ आफैँ पुरस्कार दिने, आफैँ फिर्ता लिने ‘बबुरो’मा बदलियो ।

रोचक सए भने पुरस्कारको ‘महाडन’ नरेन्द्र-इन्दिरा प्रसाईसित भने लेकालीको मिल्तीजुल्ती छैन । त्यसको एउटै प्रमाण हो, ‘नइ टेलिफोन कोश’मा लेकालीको नाम र नम्बर छैन । लेकालीको गठजोड महेश प्रसाईसित भएकाले नरेन्द्र-इन्दिराले मन नपराउनु अस्वाभाविक पनि होइन ।

कुनै बेला साहित्यिक पत्रकार संघले मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रियादेवी पुरस्कार, मुस्याचु पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार र हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, इतिहास–संस्कृति अन्वेषण पुरस्कार एकसाथ बाँड्थ्यो । तर अहिले मैनाली कथा पुरस्कारबाहेक अरु नियमित छैनन् । कतिपय पुरस्कार नबाँडेको वर्षौं भयो भने कतिपय सम्बन्धित परिवारले फिर्ता लगिसके । संघले कविता यात्रा, साहित्यिक वनभोज गर्थ्र्यो । कथा दिवस मनाउन थालेको थियो । २०३८ मा विश्वेश्वरप्रसाद कोइरालाको सार्वजनिक अभिनन्दन पनि गरेको थियो ।

‘लेकाली गैरसाहित्यिक घटिया व्यापारी हुन् । साहित्यकार पनि होइनन्, पत्रकार पनि होइनन्, अनेसासमा त्यस्तो मान्छेको प्रभाव कसरी भएको हो ? मैले बुझेको छैन,’ अभिनन्दनकालीन साहित्यिक पत्रकार संघका पूर्वउपाध्यक्ष हरि अधिकारी भन्छन्, ‘चोलेन्द्रशमशेर प्रधानन्यायाधीश, दीप बस्न्यात अख्तियारको प्रमुख, अग्नि सापकोटा सभामुख हुने देशमा राधेश्याम लेकाली साहित्यिक पत्रकार संघको अध्यक्ष हुनु कुन आश्चर्य भयो र ?’

पुरस्कार वितरणको बेथिति कति छ भने त्यही मैनाली कथा पुरस्कार लिने दिन २०५७ असार १९ मा लेखक नारायण ढकाल कालोनीलो भएछन् । नेपाली कथामा बलवान् जग हाल्ने गुरूप्रसाद मैनालीका नाममा स्थापित १० हजार राशिको पुरस्कार पाएको खुसीयाली मञ्चमा चढ्नासाथ ओइलायो । ढकाललाई पुरस्कारदाताले थैली फिर्ता गर्न दबाब दिए । ज्याद्रा ढकालले के मान्थे ! ‘खाममा आठ हजार मात्र थियो, दुई हजार त संघले आजीवन सदस्यताबापत काटिसकेछ,’ उनी सुनाउँछन्, ‘मैनाली कथा पुरस्कार पाउनु त यातनाजस्तो पो भयो ।’

त्यस दिन साहित्यिक पत्रकार संघका अन्य खुद्रे पुरस्कार पाउने लेखकहरुबीच लाइन लागेर थैली नलिने, अझ त्यसमा केही हजार थपेर फिर्ता गर्ने लहरै चलेको थियो । त्यो देखेर पुराना लेखक वासु पासाले संघका कार्यवाहक अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र महासचिव राधेश्याम लेकालीको झाँको झारेको सम्झन्छन् ढकाल, ‘तिमीहरु त कस्तो मगन्ते रहेछौ ? कमसेकम आज त पैसा देऊ । मैले मेरी श्रीमतीलाई देखाउनुपर्छ । तिमीहरुलाई चाहिन्छ भने भोलि बिहान आओ । बरु, म पाँच हजार थपेर दिन्छु ।’

यति मात्र होइन, २०६० को मैनाली कथा पुरस्कार घोषणा गरेको सूचना अध्यक्ष लेकालीले नै दिएका थिए, गोपाल पराजुलीलाई । कार्यक्रम गरेर नै पुरस्कार दिए तर पैसा फिर्ता लिए । आफूसँग प्रमाणपत्रमात्र रहेको पराजुलीले शुभचिन्तकहरुलाई सुनाउने गरेका छन् । यस्तो कहानी थुप्रै लेखकका छन्, यो सानो लेखमा सबै कुरा अँटाउन सक्दैन । साहित्यिक पत्रकार संघको पुरस्कार लिएपछि त्यही साँझ भोज गरेर सकेको कतिपय भुक्तभोगी लेखकहरुको भनाइ छ । धन्न पैसा लिएर पुरस्कार बेचेका छैनन् !

केन्द्रका पनि अध्यक्ष, च्याप्टरका पनि अध्यक्ष !

दर्जनौँ संस्थाका हर्ताकर्ता छन् लेकाली । मदनमणि दीक्षित अधिष्ठान, नेपाली मानक भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, नेपाल मुक्तक प्रतिष्ठान आदि संस्थाको पनि हर्ताकर्ता छन् । इलाम विकास समाजमा २०५७ सालदेखि अध्यक्ष छन् लेकाली । ‘म संलग्न भएका संस्था अरु पनि छन् । चर्चामा ल्याउनुपर्ने चाहिँ यतिमात्रै हुन्,’ उनी हाँस्दै भन्छन् । इलामकै एक स्रष्टा भन्छन्, ‘लेकाली ११ वटा संस्थामा अध्यक्ष भए । उनले सहज रुपमा नेतृत्व हस्तान्तरण गरेको पहिलो र एक मात्र संस्था हो, अनेसास केन्द्र ।’

रोचक के भने केन्द्रका अध्यक्ष भइसकेपछि पनि एक वर्षसम्म अनेसास नेपाल च्याप्टर छाडेनन् । ११ वर्षसम्म अधिवेशन नै नगरीकन उनी नेपाल च्याप्टर अध्यक्ष रहे । बोर्ड अफ ट्रस्टीको चर्को दबाबपछि छाड्नैपर्ने स्थितिमा उन्नति बोहरा शीलालाई अध्यक्ष बनाउन खोजे । उनले नमानेपछि सन्ध्या पहाडी अध्यक्षको हकदार भइन् । तर आजीवन सदस्य शुल्क (जनही १० हजार) को हरहिसाब र बुझबुझारथ अहिलेसम्म गरेका छैनन् । नेपाल च्याप्टरमा चार सयभन्दा बढी सदस्य छन् । अनेसासको डायोस्पोरा डेस्कको भाडामा त्यो प्रयोग भएको उनको दाबी छ ।

अनेसास केन्द्रमा उनले एक दिन पनि पद नलम्बाई प्रकाश पौडेल माइलालाई हस्तान्तरण गर्नुलाई अनौठो घटना मान्छन् कतिपय । तर उनको कार्यकालमा उल्लेखनीय केही पनि काम नभएको पूर्व पदाधिकारीहरुको भनाइ छ । यद्यपि उनी ३० वर्षमा पहिलोपटक अडिट रिपोर्ट सार्वजनिक गरेको दाबी गर्छन् ।

सन् १९९१ मा होमनाथ सुवेदीहरुले अमेरिकाको वासिङ्टन डिसीमा दर्ता गरी अनेसास खोलेका हुन् । विभिन्न देशमा यसका च्याप्टर खुल्दै जाँदा नेपालसम्म आइपुग्यो । ११ वर्ष नेपाल च्याप्टरका अध्यक्ष मात्र होइन, पहिलो चोटि नेपालमै बस्ने गरी केन्द्रका अध्यक्ष भए लेकाली । अनेसासका केन्द्रीय समितिलगायत विभिन्न च्याप्टरका प्रकाशन सबै उनले नै हेरे एक दशकसम्म । त्यसमाथि ‘डायस्पोरा डेस्क’ उनकै अधिनमा छ ।

कतिपय पदाधिकारी लेकालीले एक लाखमा हुने कामको ६ लाखको बिल बनाएर खाएको पनि आरोप लगाउँछन् । प्रत्येक पुस्तकको लेआउट, डिजाइन र प्रेसको काम उनकै स्वामित्वको अनुगमन प्रकाशनले गर्छ । विदेशमा बस्ने कतिपय स्रष्टाले प्रेस र विमोचनको बिल महँगो तिराएको दाबी गरे पनि खुलेर नाम भन्न चाहेनन् ।

यिनै दृष्टान्त थाहा पाएका एक पूर्व पदाधिकारी लेकालीलाई ‘अनेसासले उँभो लागेको मानिस’ मात्र होइन, ‘अनेसासको कीरो’ समेत भन्न पछि पर्दैनन् । ‘सन् २०१० देखि अनेसासको नाममा सबैभन्दा बढी बदमासी गर्ने लेकाली नै हुन् । नेपालबाट अनेसासको लेटर हेड दुरुपयोग गरी आर्थिक चलखेल गरेर कतिलाई युरोप, अमेरिका, अस्ट्रेलिया पठाए, म सबै प्रमाण दिन सक्छु,’ उनी भन्छन्, ‘लेकाली गिरोहबाट आजित भएर पूर्वअध्यक्ष एवं पदाधिकारीहरु नै लाखापाखा लागिसकेका छन् ।’

अघिल्लो पटक लेकाली प्यानलबाट अनेसासका महासचिव लडेर हारेका रामप्रसाद खनाल उनलाई सीधै धोकेवाज भन्छन् । ‘चुनाव अगाडि अमेरिका आए । मेरो घरमा बसेर महासचिव उठ् भनेर उकासे । त्यो त वासिङटन डीसीको भोटका लागि पो रहेछ,’ उनी भन्छन्, ‘लेकाली मेरा पुरानो चिनजानका मित्र हुन्, तर उनी बेइमान र अन्तर्घाती रहेछन् । साथीभाइलाई धोका दिने मान्छेले आफैँ धोका खान्छन् ।’

भूकम्पपीडित स्रष्टाको पैसा निजी खातामा !

२०७२ को भूकम्पपछि अनेसास नेपाल च्याप्टरका अध्यक्ष लेकालीले मातृका पोखरेल संयोजक र कृष्ण प्रसाईं उपसंयोजक रहेको भूकम्पपीडित स्रष्टा सहयोग समिति गठन गरे । विदेशमा बस्ने उदारमना नेपालीले संकलन गरी पठाएको करिब चार लाख रुपियाँ लेकालीले आफ्नै बैंक खातामा राखे ।

‘समितिले जनही पाँच-पाँच हजारका दरले बाँड्ने भनी ७०–७५ जना लेखकको सूची पनि बनायो । त्यसमा सबैभन्दा बढी सिन्धुपाल्चोकका १५ जना स्रष्टा थिए । तर मुस्किलले दुई लाख बाँडियो होला । हामी बदनाम हुने स्थिति आएकाले पटकपटक हिसाब सार्वजनिक गर्न भन्यौँ तर लेकालीले मतलबै गरेनन्,’ प्रसाईं भन्छन् । आर्थिक सहयोग समितिको सिफारिस अनुसार चार लाख बाँडेको दाबी गरे पनि लेकालीले हिसाब देखाउन सकेका छैनन् ।

संयोजक पोखरेल पनि क-कसले पैसा बुझे भन्ने आफूले थाहा नपाएको सुनाउँछन् । त्यसो त पोखरेल नेपाल साहित्यिक पत्रकार संघतिरका वरिष्ठ उपाध्यक्ष हुन् । त्यसका संस्थापक अध्यक्ष नकुल सिलवाल लेकालीसँग जोडेर महिलाको चरित्रहत्यामा उत्रेका बेला पोखरेलले लेकालीलाई साथ दिएका थिए । पछि अध्यक्षबाट नकुल हटे पनि । त्यसैले उनलाई आर्थिक संयोजक बनाएर गुन तिरेका थिए लेकालीले । ‘हाम्रो जिम्मेवारी रकम संकलन सम्ममात्र थियो । पारदर्शी भएको भए अहिले अवगाल बेहोर्नुपर्थेन,’ पोखरेल भन्छन् । कतिपयले महिला मित्रको बीचमा सेल्फी खिचेर फेसबुकमा राख्ने भनेर पनि आलोचना गर्छन् ।

चोरीको बात लगाउनेलाई नै अभिनन्दन !

लेकालीले २०७३ मा शंकर लामिछाने प्रतिष्ठान सम्हाले । प्रतिष्ठानको आकर्षण के हो भने त्यहाँ ५० हजार र २५ हजार राशिका दुई पुरस्कार छन् । शंकर लामिछानेकै परिवारले खोलेको संस्था भए पनि त्यसमा उनको प्रभाव ज्यादा छ । उनले शंकर लामिछानेको लेखकीय इतिहास नै बिर्सेर सम्मान बाँडिदिए चार वर्ष अगाडि ।

शंकर लामिछानेलाई साहित्य चोरीको आरोप लगाउने कुमुदिनी को हो ? ४८ वर्षदेखि यो प्रश्न अनुत्तरित छ । कोही भन्छन्– माधवप्रसाद शर्मा । कोही भन्छन्– साहित्यिक सिन्डिकेट । तर, यतिका वर्षसम्म कसैले सार्वजनिक रुपमा स्वीकार गर्न पनि चाहेन, कसैले ‘क्लिन चिट्’ लिन पनि चाहेन । चोरीको प्रसंग यति रहस्यमय पहेली हुनुपर्ने चाहिँ पटक्कै होइन । चोरीबारे पाठकपत्र लेख्ने (कुमुदिनी, २४६, पकनाजोल) जोसुकै होऊन् तर त्यसलाई छाप्ने समीक्षा साप्ताहिकका सम्पादक मदनमणि दीक्षित थिए ।

रुपरेखाको अंक–११४ (२०२९) मा प्रकाशित शंकरको निबन्ध ‘आभाँगार्दको सौन्दर्यशास्त्र’ माइकल कर्बीको पुस्तक ‘द आर्ट अफ टाइम एसेस अन द एभाँ–गार्द’ को चोरी भएको दाबी गर्ने कुमुदिनीलाई धन्यवादसहित लेखनबाट सन्न्यास लिएका थिए लामिछानेले । लेखकीय जीवनको अवसान निम्त्याउने पत्रिकाका सम्पादक दीक्षितले भने यसबारे कतै एक अक्षर लेखेनन्, कतै एक वाक्य बोलेनन् । बरु, उनलाई शंकर लामिछाने प्रतिष्ठानले २०७३ चैत ७ मा राजधानीमा भव्य अभिनन्दन गर्यो ।

प्रतिष्ठानका हर्ताकर्तालाई शंकर लामिछानेको लेखकीय जीवनबारे थाहै छैन या थाहा पाएर पत्र छापेबापत अभिनन्दन गरेका हुन् ? मदनमणि दीक्षितले बुढ्यौलीका कारण त्यस घटना बिर्से वा त्यसलाई सुकार्य मानेर अभिनन्दन ग्रहण गरे त ? दिनेले किन दिए ? लिनेले किन लिए ? आफ्नै पत्रिकामा चोरीको बात लगाएका लेखकको नामको पुरस्कार लिन दीक्षितलाई अलिकति पनि संकोच भएन । कार्यक्रममा उपस्थित तारानाथ शर्मा, एकेडेमीका उपकुलपति विष्णुविभु घिमिरे या राधेश्याम लेकालीहरुलाई पनि अल्जाइमर्स भएको थियो त ?

मैले अन्त्यमा राधेश्याम लेकालीसित सोधेको थिएँ, ‘तपाईंले नेपाली साहित्यिक संस्थाबाट कहिले बिदा लिने हो ?’ ‘मेरो पनि त निजी लेखन र प्रकाशनको काम छ । पहिलेको तुलनामा सक्रियता कम हुँदै गइरहेको छ । साहित्यिक पत्रकार संघबाट बिस्तारै बिदा लिने हो, शंकर लामिछाने प्रतिष्ठानलाई त खुट्टा टेकाउनै बाँकी छ ।’

www.sahityapost.com बाट साभार 

No comments: