Saturday, November 14, 2020

मैले हीनव्याकरणी विद्यापतिको कुल फेला पारें क्यारे - बालकृष्ण पोखरेल

 

हुन ता विद्यापतिको कुल आफूले ले फेला पारेकोमा अब मलाई शङ्का छैन, तैपनि अनुसन्धानको मूलढोका बन्द नगर्ने इरादाले ‘क्यारे !’ झैं पदको प्रयोग गरेकोमा म पाठक समक्ष माफी माग्दछु । यी हीनव्याकरणी विद्यापति त म बालकृष्ण पोखरेलका आदित्यस्वरूप जिज्यू ज्योतिखर (जन्म १८५६–मृत्यु १९५५ फाल्गुन शुक्ल नवमी) का आफ्नै  कान्छा भाइ (जन्म १८५८ –मृत्यु १९३५) पो रहेछन् । मेरा स्वर्गीय पिता वसुस्वरूप सुब्बा शारदाप्रसाद (जन्म १९६० – मृत्यु २०२२) का कान्छा हजुरबा रहेछन् विद्यापति । नत्र मेरा साहिँला काका सरदार नारायणप्रसाद (जन्म १९६८ चैत – मृत्यु २०३३ साउन २२) को घरमै त्यो किन फेला पर्थ्यो  ? फेला पार्नासाथ मैले ‘विद्यापति र उनको गीत गोविन्द’ शीर्षकको लेख ‘रचना’ द्वैमासिकमा सं. २०१९ मै (आजभन्दा एकाउन्न वर्षपूर्व) छपाइहालें र सोही वर्ष काव्यिक अग्रज श्रीकमलमणि दीक्षितको ‘नेपाली’ पत्रिका मार्फत्  हाम्रा कवि विद्यापतिका तीन गीतिकाव्य (१. गीतवाणी, २. सात राग, ३. सात नायिका) बारे पनि पाठक समक्ष अनुरोध पेस गरेको थिएँ । तर नेपालीको पूर्वीय भाषिकामा गीतिकाव्यको सर्वाधिक जेठो (वि.सं. १८८८ मा रचित) यस कृतिउपर आजसम्म समालोचक राजेन्द्र सुवेदी र प्रा.डा. गोपालप्रसाद भण्डारी बाहेक अरूले खास ध्यान दिएको मलाई थाहा छैन । 

विद्यापति

पोखरेल वंशमा खार्पाली बन्धु र हामी रामपुरेहरूको कुल दैलेखका दुर्गादासमा गएर जोडिन्छ । हामीहरू दुर्गादासकी जेठी पत्नीका छोरा किसुन (कृष्णानन्द) का सन्तान हौं । खार्पालीहरू तिनै दुर्गादासकी कान्छीका सुपुत्र बिसुन (विष्णुहरि) का सन्तान हुन् । कृष्णानन्दकी माताको मृत्युपछि विष्णुहरिकी मातालाई हाम्रा पूर्वज दुर्गादासले घर भित्र्याएको भए हाम्रो जेठो हाँगोको पुस्ता कान्छो हाँगोभन्दा धेर भाग्नु सम्भव छ । म रामपुर – जतनपुर एवं रामपुर ठोक्सिलाबारे जति भन्न सकुँला त्यति अरू शाखाबारे भन्न कहाँ सकुँला र ?

कवि हीनव्याकरणी विद्यापति पोखर्‍याल (जन्म १८५८, मृत्यु १९३५)

पण्डित दुर्गादासकी जेठीका सुपुत्र कृष्णानन्दका खनातिका पनि पनाति शुकदेव (सं. १६१७) का निकटवर्ती पूर्वजहरू लमजुङ्गका शाह राजाका दरवारका आश्रित पुरोहित थिए । परन्तु शुकदेव आफ्ना  दुई भाइ छोरा जेठा शिवानन्द र कान्छा बालानन्दलाई लिएर पूर्व आए । कान्छा बालानन्द खुटाली कोइरालाहरूको छिमेकमा गई बसे । जेठा शिवानन्द (शिवुपाध्या अथवा नन्दुपाध्या) चौदण्डी राज्यका राजपुरोहित वामदेव मिश्रकी बहिनी दिव्येश्वरासँग बिहे गरेर चौदण्डीमै रहन लागे । वामदेव मिश्रकी बहिनी दिव्येश्वराबाट पैदा भए हाम्रा पूर्वज रामेश्वर (जसको चिनाको नाउँ काशीराम थियो) । मामा वामदेव मिश्रको सिफारिसमा भानिज रामेश्वरले पाएका बिर्तामध्ये दुई ज्यादै ठूला थिए । (क) एक सोरूङकट्टी थुम रामपुर, जो उत्तर सुनकोशी र दक्षिण महाभारतको बीचमा छ । (ख) दुई, रामपुर ठोक्सिला, जो उत्तरमा महाभारत पर्वत, दक्षिणमा चुरे, पश्चिममा चौदण्डी गढी र पूर्वमा सप्तकोशीको बीचमा पर्दछ । सोरूङकट्टी थुम रामपुरलाई रामपुर जतनपुर पनि भनिन्छ । अचेल हुलाकी मार्गको सुविधाले गर्दा म (बालकृष्ण  पोखरेल)लाई रूपावासी उपनाम दिने रूपाटारसम्म दैनिक मोटर आदि छरिता बाहन चल्न लागेकाले र दु्रत गतिमा बजारीकरणको छरितो हावाले सिङ्गै रूपाटार गा.वि.स.लाई स्थानीय जलविद्युत् र सोलार पावरको सुविधा पनि मिल्न थालेको हुनाले होला जतनपुर रामपुरलाई रामपुर रूपाटार पनि भन्ने गरिन्छ । तर वामदेव मिश्रका भानिज रामेश्वर पोखरेललाई माथि वर्णित दुवै रामपुरहरूले प्रायः बिर्से झैं छ, यद्यपि उनका सन्तान सगरमाथाको जिल्ला उदयपुर बाहेक भुटान, भुटानिज शरणार्थी शिविर, अमेरीका, अष्ट्रेलिया, सिक्किम, दार्जीलिङ, इलाम, झापा, ताप्लेजुङ्ग, पाँचथर, मोरङ,  सुनसरी, सप्तरी, महोत्तरी, सर्लाही, हेटौंडा आदि देखि लिएर सुरखेतको पवित्र माटोसम्म खोजे पाइने गरी बसेका छन् । महेन्द्र राजमार्गले छुने ठाउँ र नागदहको पवित्र पानीले सिञ्चित माटोमा त कति छन्,गनेर साध्य छैन । तैपनि खार्पा–माम्खा आदिका आप्mनै वन्धुभन्दा हामी धेरै कम छौं । किन कम छौं ? यसको उत्तर सरल छ – खार्पा–माम्खाकाहरू गोर्खाली भएकाले ती गोरखाको अभियानमा सुरक्षित रहे, हामीले पहिले लमजुङ्ग  रोजेकाले र पछि चौदण्डी या स्यानमकुवानी रोजेकाले हामीले पाइलैपिच्छे हण्डर खानु पर्‍यो। पौराणिक कालमा पनि हामी पोखरेल (पुष्कर) लाई राक्षस किन मानियो भने ब्रह्माजी (इब्राहिम) को मूर्तिपूजाविरोधी अनङ्गमार्ग (आइकोनोक्ल्याजम) का हामी अन्ध (सम्प्रदायवादी) समर्थक भएनौं । हामीले अनङ्गमार्ग (आइकोनोक्ल्याजम) को महाभारतवादी (उग्रवादी) राजनीतिबाहेक ब्रह्माबाट आरम्भ भएर शिवमा टुङ्गिने ‘ओं’ लाई कहिल्यै अनादर गरेनौं । तर ‘ओं’ लाई केवल हरिपुरी (हेलियोपोलिस अर्थात् ओन) मा सीमित राख्ने पार्थवाद (हरिवाद वा हेलियोपोलिज्म) को विरोध गर्ने अनन्त (असङ्ख्य) नागहरू मध्ये एक हो हाम्रो पुष्कर (पोखरेल) वंशी नाग पनि । हाम्रो पुष्कर (तिष्कर) कुलको एक शाखालाई मथेर विस्तारवादी पार्थहरूले तिष्य (पुष्य) नक्षत्रको निर्माण गर्नु तिनको विजयका सत्ताईस चरण (नक्षत्र) मध्ये एक पक्कै हो, मानें मैले । तर बाबा ! जति थान कंश र जति थान रावणलाई वैकुण्ठ (जति चिमोटे पनि कुण्ठा वोध नहुने धाम) पुर्‍याए पनि अझै जम्बुद्वीपमा पचहत्तर प्रतिशतभन्दा धेर साङ्गोपाङ्गमार्गी (आइकोनोल्याट्रिस्ट) छँदैछ । मलाई लाग्छ संसारभरि नै साङ्गोपाङ्गमार्ग पच्चीस प्रतिशत छ । अर्थात् शिवका पाँच शिरमध्ये चारलाई जितेर शव बनाए पनि अथवा कृतलोक (क्रेटन आइल्याण्ड) की मत्स्यगन्धालाई योजनगन्धा (यवनगन्धा) तुल्याएर तिनबाट जन्मिएका व्यासको वंशबाट कृतलोकीय साङ्गोपाङ्ग उपासनालाई चार वेद (फोर टाइप्स अफ आइकोनोक्ल्याज्म)मा परिणत गरे पनि अझै शिवजीको पाँचौं  शिरलाई पाँचौं वेदमा परिणत गर्न सकेको छैन पार्थवाद (आइकोनोक्ल्याज्म) ले । पाँच स्थूल ग्रन्थमा पनि नअटाउने यो बृहत् विषयबारे धेर गफ नगरूँ भन्दै भर्खरै मैले हरेक मङ्गलवार रङ्ग्याउँदै गरेको ‘उद्घोष दैनिक’ को प्यारो स्तम्भ त बन्द गरें केही मित्रहरूको सल्लाहमा । तर फेरि केही लेखूँ भन्यो त्यही कुख्यात (?) स्तम्भकारले मलाई ग्रसिहाल्छ । भो म अब शीर्षकप्रति नै इमानदार हुन्छु । 


                                                                                                     बालकृष्ण पोखरेल

हामी आत्रेयवंशी पुष्करहरू लिच्छविवंशी गारूड (गरूड, नकुल, न्याउरी वा न्यार) ले नागहरू उपर आक्रमण गर्दा त्यहाँका थुप्रै नागको छिमेकमा थियौं । गारूडवंशी लिच्छवि (अनङ्गमार्गी) हरूले आक्रमण गर्दा मञ्जुश्रीले नागदहको पानी होइन हाम्रा नागपूर्वजको रगत बगाएका हुन् । मैले मञ्जुश्री शब्दलाई लिम्बु (लेयमानव) हरूका आदिदेव (माङ्ज्यू) को रूपान्तर मानेको छु । ‘माङ्’ पृथ्वीमाता भैहाल्यो । ज्यू ईश्वर भैहाल्यो । यसरी माङ्ज्यू शब्दको वाक्यार्थ पार्थ भैहाल्यो । अब आफैं अनुमान लगाउनुहोस् पार्थमार्गी लिच्छविहरूले हामी पुष्कर उपर के–के गरे । हामी कालिकोटे खँड्का, पानी पोखरेल, बगाले थापा, आत्रेय गेलाल, अर्जेल, सिग्देल, पौडेल आदिका पूर्वज धेरै धनी ब्यापारी थिए  र केही काल मञ्जुश्री (लिच्छविकालीन श्री ३) को दरबारको सेवा गरी भृत्यभावको नाटक गरी प्रशस्त  स्वर्ण मालिक (मञ्जुश्री)लाई दिएर सुटुक्क भागी निस्कन ती सफल भए । तिनको कुललाई प्रतिहार (ढोका पालेको कुल) भनिन्छ । व्यापारी भएकोले टाढासम्म प्रतिहारहरूको नाता थियो । एउटा  घर गुजरातमा पनि थियो । हाम्री आदिमाताको माइती देश कर्णाटक थियो । आदि पिताको नाम मलाई थाहा छैन । गर्भवती आदिमाताले माइतीभूमी कर्णाटकमा वि.सं. ५२० मा जन्म दिएको बालकको नाम हो सोमनाथ आत्रेय । तिनले गुज्रातमा बनाएको सोमनाथको मन्दिर विश्वविख्यातै छ । सोमनाथ आत्रेय पछिका हाम्रा प्रख्यात विभूति हुन् कश्मीर नरेश जयापीड विनयादित्यका प्रधानमन्त्री  देवशर्मा आत्रेय (सं ७९१) । देव शर्माको नेतृत्वमा जयापीड विनयादित्यको फौज नेपालउपर आक्रमण गर्न पूर्व बढ्यो । बाटामा लिच्छवि पक्षका कुनै अरमुद्री राजाले देव शर्माको वध गरेको कुरो कह्लणको ‘राजतरङ्गिणी’ले हामीलाई बताएको छ । मैले चाहिं अरमुद्रीलाई अचेल आलमोडा कहलाउने स्थल भनी बुझेको छु । त्यहाँका प्राचीन राजा थिए आफूलाई सिंह भन्न रुचाउने कालिकोटे खँड्काहरू । ती हाम्रा प्रतिहार वन्धुलाई ललाई फकाई लिच्छविहरूले आफ्नो  हातमा लिए । अर्थात् ती विभीषण बने लोभलालचले गर्दा । परिणाम स्वरूप हाम्रै पूर्वज देवशर्मा आत्रेयको आफ्नैं  वन्धुको हातबाट मृत्यु भयो । ती वीर आलमोडा नरेशको नाम खोज्न कालिकोटे खँड्का वा थापाको वंशावली राम्ररी पढे हामी सफल हुनेछौं । त्यस पराक्रमको बदलामा नेपालको लिच्छवि राजाले कालिकोटे खँड्कालाई उपहार स्वरूप दिएको राज्य हो गोरखा । सं. ६३१ सम्म कालिकोटे र हामी (पौडेल, बगाले थापा, पोखरेल, सिग्देल आदि) को कुल एकै थियो र पूर्वज सम्भवतः ब्रह्मनाभ थिए । तर त्यसपछि कालिकोटे (थापा, खड्का आदि) हरू हामीबाट फाटे । मेरा विचारमा अंशमा गोरखालाई स्वीकार गरेर पूर्व आउने प्रथम नरेश थिए भीमसेन सिंह (सं ८५०) । गोरखाका अन्तिम कालिकोटे नरेश अर्जुन सिंह खँड्कालाई सं. १६१६ मा आधी रातमा निदाएको बेलामा मार्न पनि हाम्रै प्रतिहार कुलका वन्धु नारायण अर्जेललाई विभीषण पारेर द्रब्य शाह सफल भएका थिए । नारायण अर्जेलको साथ दिन गोरखा बोर्लाङ्गका थापा (बगाले थापा) ले कम योगदान दिएका थिएनन् ।  अर्जेल र बगाले थापाको एकै नारा थियो – “कालिकोटे भनेका हाम्रा साझे पूर्वज देव शर्मालाई आलमोडाको युद्धमा मार्ने विभीषण हुन् । यसैले तिनलाई मार्नुपर्छ ।” भनी लाख तर्क गर्दा पनि अर्जेल र बगाले थापाको कुरा स्वीकार गरी आफ्ना  राजा अर्जुन सिंहलाई मार्ने षड्यन्त्रमा भाग लिन गोरखाका प्रमुख राजगुरु छोप्राके पोखरेल गजाधर तयार भएनन् । अन्त्यमा थान्सिङ्गका गणेश भण्डारी गजाधरका सम्धी (छोरीका ससुरा) भएकाले आफू  पनि धुरुधुरु रुँदै विभीषण हुन पं. गजाधर बाध्य भए । गजाधरका भाइ काशीनाथ यस्तो पापकर्म गर्न बाध्य होइएला भन्ने डरले भागेर दोलखाको शरणमा गए । छोरीको मायाले गर्दा सम्धी गणेश भण्डारीले ओसारेका द्रब्य शाहका सैनिकलाई छोप्राकका आफ्ना थुप्रै घरहरूबाट निकाल्न सकेनन् गजाधरले । हाँसी हाँसी साथ नदिएको कारणले गजाधरका सन्तानहरूले शाहवंशी नरेशबाट खार्पा, माम्खा, छप्की आदि थुप्रै बिर्ता पाए पनि ‘दरबारभित्र पैठ पायानन् । क्याहा भन्याहुँदि अर्जुन सिंह कन मान्र्या दिन तिनको बाज्या गजाधर धुरुधुरु रोयाको थियो ।’ अब प्रस्ट भयो, प्रतिहारवंशी थापाहरूले प्रधानमन्त्रीसम्म हुन पाए अनि प्रतिहारवंशी रङ्गनाथ पौडेलले माथवर हुन पाए अनि प्रतिहारवंशी भीमसेन थापाले मुख्तियारसम्म हुन पाए, तर त्यसै वंशका माननीय वीरेन्द्र केशरी पोखरेलले दुईपटक खोटाङ्गबाट जित्दा पनि मन्त्री हुन पाएनन् । यो हुन नपाउनुको पछि सं. १६१६ को मध्यरातमा मस्त निद्रामा घुरिरहेको बेलामा उपन्यासकार लीलबहादुर क्षेत्रीका पूर्वज अर्जुन सिंहको हत्या द्रव्य शाहहरूले गर्दा मुसुमुसु हाँस्ने साटो धुरुधुरु रोएको थियो पण्डित गजाधर पोखरेल । 

पण्डित गजाधर धुरुधुरु रोए पनि गुहार भनी कराएका त थिएनन् द्रव्य शाहको फौजले पहिले आफ्नो  घर कब्जामा लिंदा ।  गुहार भनी नकराएका भए पनि हामी लमजुङ्ग दुराडाँडा (दुर्छाप-दुर्छा) मा बसी द्रव्य शाहका दाजुको निमकको सोझो गरिआएका लमजुङ्गे पोखरेललाई द्रव्य शाहले केमा दर्ता गरे होलान्, अनुमान गरौं । यसैले हाम्रा पूर्वज शुकदेव (जन्म १६७४) दुई भाइ छोरा लिएर सुनकोशी किनारमा आएका हुन् । शुकदेवका कान्छा छोरा बालानन्द गए खुटामा र जेठा छोरा बसे सोरङ्ग पूर्वको राँकुला पश्चिमको आज रामपुर कहलाउने विशाल भूमिमा वामदेव मिश्रको शरणमा । उक्त जेठा छोरा शिवानन्द (शिवु पाध्या वा नन्दु पाध्या) ले वामदेव मिश्रकी दिदी दिवेश्वरा विहे गरेपछि दिवेश्वराबाट जन्मेका रामेश्वर (चिनाको नाम काशीराम)ले उदारमना मामा वामदेव मिश्रबाट पाएका प्रमुख दुई विर्ता (रामपुर जतनपुर र रामपुर ठोक्सिला) बारे चर्चा भैसक्यो । रामेश्वरका जम्मा तीन भाइ छोराहरू भए १. जेठा चन्द्रलाल (सं १७५५), २ माहिला पद्मलाल (सं १७५७) र ३. कान्छा देवीचरण (सं १७५९) । यी तिनका सन्तानलाई जतनपुरे या जतने पनि भनिन्छ । रामेश्वरकी माता दिवेश्वरा मरेपछि बाबा शिवानन्दले सिम्पानीका घिमिरेकी छोरी पार्वतासँग विहे गरी हुर्केका दिव्येश्वरातर्फका छोरानाति चौदण्डीमा राखी आफू  सिम्पानी बस्न लागे । त्यहाँका घिमिरेकी छोरी पार्वताबाट पनि एकै पुत्र (सदानन्द) जन्मिए । झन्डै सौतिने नातिहरू र पार्वताको उमेर समान भएको रहस्य बुझ्न  नसकी वन्धु प्रेमी प्रातः स्मरणीय स्वच्छ हृदयका वंशावलीकार स्व. कृष्णचन्द्र पोखरेलले शिवहरि (शिवानन्द)को नाति नन्दीकेशर (शिवानन्द) लाई घोषित गरेर मैलाई मेरो नाति बनाएको उहाँले जानीजानी होइन । “म त्यति शिक्षित नभएकोले अनुसन्धान गर्ने मन्त्र मलाई आउँदैन । पखूँ भने पनि मर्ने बेला भयो, लौ भाइ जति पटक भेट्न आउँदा पनि फुर्सद छैन भन्छस् । केही भूल भएछ भने मलाई दोष नदिनू”, भनी उहाँले भनेको हिजो झैं लाग्छ । जागीरबाट फुर्सद पाएपछि मैले फेला पारेको भूल उहाँ झैं स्वच्छ चरित्रको नभई मेरै हो भन्छु म । मेरै भूलले गर्दा उहाँको वंशावलीमा मै बालकृष्ण मेरै नाति भएको छु । 

कान्छी आदिमाताका नाति (यज्ञपति, नरपति र गणपति)को हरेक पुस्तामा जेठो भैआएको समकालीन हाँगोलाई मैले दाजु भाइ पनि भन्न पाएँ हुँला कतै । सालेखाले हुँदै आएका जेठा यज्ञपतिकै सन्तान पनि मभन्दा कान्छा पनि मेरा काका पर्छन् (उदाहरणार्थ डा. माधवप्रसाद पोखरेल) । गणपति (कान्छा) का सन्तानको जेठो हुँदै आएको हाँगो पनि अझै मेरो दाजु या भाइ फेला परेका छैनन् । रँगेली जाने मोटर मार्गमै पर्ने दुगडको नरिवल फारमनेर जोडिएको मङ्गलबारे बस्तीमा बस्ने मभन्दा केही कान्छा सावाली वन्धु मेरा काकासम्म भेटिए । नत्र ता सावाली हाँगोमा जन्मेका पूर्व सचिव (?) जगन्नाथ पोखरेल मेरा हजुरबा पर्नु हुन्छ । मेरा पिताभन्दा केही जेठा कालिदास र खोटाङ्गका पहिला माननीय (मेरा पिताका समकालीन) भद्रकाली मेरा जिज्यू पर्नुहुन्थ्यो । पूर्व मुख्य सचिव (कवि) विमल कोइरालाका मामलीतिर मेरा जिज्यू पर्ने सावाली विभूति (नाम विर्सिएँ) केही वर्ष पूर्वसम्म विराटनगरमै थिए । तर जेठो हाँगोमा मैले नाति पर्ने कवि सुमन पोखरेललाई देख्न पाएको छु हाम्री कान्छी आमै (घिमिरे पुत्री पार्वता) तिर । नाति सुमनका छोराछोरी त मेरा पनाति परिहाले । कान्छीतिर त मेरा पनाति भए भने जेठी आमै मिश्र पुत्री दिव्येश्वरातर्फ  (अर्थात् रामपुर जतनपुर वा रामपुर ठोक्सिला तर्फ ) हरेक चरणमा जेठो हुँदै आएको हाँगोमा पर्ने कुनै व्यक्ति बीच थुप्रै पुस्ताको अन्तर खोजे किन नपाइने ? अझ आदि पूर्वज दुर्गादासकी जेठीतिरका सन्तान (हामी जतने) तिर र तिनकी कान्छी तिरका सन्तान (खार्पाली–माम्खाली) बीचको अन्तर नाप्ने लग्गा कसरी फेला पार्ने ? नाप्ने कसी थियो क्यार माम्खाली पोखरेल (कवि) यदुनाथसँग, नत्र बनारसका सुब्बा होमनाथ– केदारनाथ (आफ्ना  जुवाईं) को सिफारिसमा सावाली कालिदासका पिता अम्बरराज(?)ले ‘रामायण सुन्दर काण्ड’का लेखक रघुनाथ भट्ट (दूध पोखरेल)लाई छोरी किन दिन्थे र ती आफ्ना  बहिने जुवाईं पर्छन् भन्ने ज्ञान यदुनाथलाई कसरी हुन्थ्यो ? 

आदिमाता पार्वता (घिमिरे पुत्री) सँग छुट्टी मागेर म अब आदिमाता दिव्येश्वरा (मिश्र पुत्री) तिर बढ्न चाहन्छु, किनभने मेरा हजुरबा डिट्ठा यज्ञप्रसाद (जन्म सं. १९०७ – मृत्यु सं. १९८८) का आप्mनै कान्छा बा रहेछन् हीनव्याकरणी कवि विद्यापति । उनका पिता लक्ष्मीविलास (विलास पाध्या) ज्यादै ठूलो संस्कृतविद् थिए भन्ने सूचना मैले पण्डित खेमराज केशवशरणका सहपाठी पण्डित सर्वेश्वर बाँस्कोटाका हजुरबा ( सं. २००९ तिरै झन्डै सय वर्ष पुगेका विद्वान्) बाट शिरवानी पर्वतको उकालो चढेका दिन (चढ्दै पिच्छे) सुनेको हुँ । दीर्घजीवी लक्ष्मीविलास (सं.१८२६–१९४८) का आठ भाइ छोराहरूमध्ये ठूलो कान्छो (मेरा आदित्यस्वरूप जिज्यूबा) ज्योतिखर (जन्म १८५६) पनि ठूला विद्वान् नभएका भए डा. ईश्वर बरालका जिज्यूबा माधवपुरे बराल पण्डित हरिलालले आप्mनी विदुषी पुत्री कृष्णपिङ्गला झैं पुराणवाचिका कन्यादान उनलाई दिने थिएनन् । डा. ईश्वरका पिता देवीरञ्जन बराल मेरा हजुरबा डिट्ठा यज्ञ (जन्म १९०७) लाई भान्दाइ भन्नुहुन्थ्यो, किनभने देवीरञ्जनका पिता भवानीप्रसादका भानिज हुनुहुन्थ्यो डिट्ठा यज्ञ । जब माधवपुरे बराल पण्डित हरिलालको मृत्यु भयो ईश्वर बरालका हजुरबा भवानीप्रसाद आफ्नी विदुषी दिदी कृष्णपिङ्गलाको छिमेक खोज्दै हाम्रो रूपाटार गा.वि.स.को वार्ड नं. ६ (कटहरे) आएर बसे । मधेसमा वस्तीपुर उनैले किने र रूपाटारमा यारी बेंसीमा धान खेत जोडे । दिदी कृष्णपिङ्गलाको मृत्युपछि भवानीप्रसाद बराल बस्तीपुर (सिराहा) मै बस्न थाले । जबसम्म कृष्णपिङ्गला, जयपति, लक्ष्मीविलास र भवानीप्रसाद बराल रूपाटारमा थिए त्यो उदयपुर जिल्लाकै मानौं एक विश्वविद्यालय थियो । यसै मानौं एक विश्वविद्यालय ठहरिएको रूपाटारको विद्वद्मण्डलीले कवि विद्यापतिलाई हीनव्याकरणी विद्यापतिको नाम दियो । यो नाम दिने समाजको मियो मान्न सकिन्छ डा. ईश्वर बरालका हजुरबाकी दिदी कृष्णपिङ्गला नामकी विदुषीलाई । किनभने हाम्रो समाजमा देवरलाई गिज्याउने मानौं मौलिक हक भाउजूकै हुन्छ । 

हाम्रा जतनपुरे पोखरेलमा सर्वाधिक संस्कृतका विज्ञ थिए प्रतिमन (पार्थमणि) का पिता पण्डित विमलानन्द । उनी चौदण्डी दरबारका मूल पुरोहित भएकाले प्रायः रामपुर ठोक्सिलामा बस्थे । सं. १८३२ को गोर्खा आक्रमणमा परी हाम्रो कुलका शिरोमणि विमलानन्दले रामुदामु थरका दलित हुनुप¥यो । यिनका जेठा छोरा प्रतिमनलाई बडबा कृष्णानन्द (श्रीकृष्ण)ले पुत्रवत् पालेर ब्राह्मण नै कायम राखे । पछि प्रतिमन (पार्थमणि) हुर्केपछि उनले आफ्ना पिताबारेको हल्ला सुने र बडबा कृष्णानन्द र काका जयपतिलाई सोध्दा रहस्य खुलेपछि उनले बाबुसँग गएर पढ्ने इच्छा जाहेर गरे । गोर्खालीहरूले अछूत बनाएका बाबाकहाँ नजा भनी लाख अनुरोध गर्दा प्रतिमनले जवाफ दिए, ‘मेरा बाबा अछूत भए पनि उनको विद्या त पक्कै अछूत भएको छैन । कि हजुरहरू उहाँकै टक्करको विद्या दिनुहुन्छ भने म जान्न पनि, नत्र जान्छु । अछूत बाबालाई गुरू मानेर सिकेको विद्यालाई कसरी अछूत भन्ने ?’

निरुत्तर भए विद्वान् जयपति (मेरा पूर्वज) र विद्वान् कृष्णानन्द (राप्रउका पूर्वज) किनभने विमलानन्दको टक्करको विद्वान् कहाँ छ भन्ने ज्ञान पनि थिएन बडबा र काकालाई । आजको परिभाषा मुताबिक दुर्गादास सन्तति तत्कालीन छिमलका क्रान्तिकारी थिए प्रतिमन (पार्थमणि) । तिनै क्रान्तिकारी प्रतिमनका सन्तान (वंश क्रमले मेरा नाति ठहरिने प्रतिभा) को नाम हो महाकवि स्व. भानुभक्त पोखरेल । 

हामी जतनपुरे पोखरेलहरू किन त्यति सङ्ख्याबहुल रहेनौं ? प्रश्नको उत्तर के छ भने समुद्रपाल राजाको पालामा पनि, द्रब्य शाहको पालामा पनि, पूर्नियाको नबाफ इस्फन्दर खाँको चौदण्डी उपर हमला हुँदा पनि र सं. १८३२ मा गोर्खेठ्याकको लाठी बज्रिंदा पनि जति मारमुङ्ग्री  हामीउपर परे के अरू कुनै पनि कुलउपर पर्‍यो होला त ? तैपनि मारमुङ्ग्री सहँदै आदिकवि भानुभक्तपूर्व हामीले हीनव्याकरणी विद्यापति दियौं, जो कुन कुलका हुन् आजभन्दा पहिले कसैलाई थाहा थिएन । विद्यापतिकी भाउजू कृष्णपिङ्गला झैं विदुषी नारी तत्कालीन नेपालमा अन्त कतै थिए र ? स्व. कृष्णप्रसाद कोइरालाका जेठा छोरा पूर्व प्रधानमन्त्री मातृकालाई १२ वर्षको उमेरमा टी.बी. रोगले ग्रस्त पार्दा ६ महिना रूपाटार राखी निको पारेर पठाउने विद्वान् डिट्ठा यज्ञप्रसाद पोखरेल तिनै कृष्णपिङ्गलाका जेठा छोरा एवं हीनव्याकरणी विद्यापतिका भतिजा थिए । श्री ३ जङ्गले आफ्नो  सं. १९३३ को पूर्वी नेपालको भ्रमणमा उदयपुरको दनुृवार बेंसीलाई नेपालटार नाउँ र मेरा हजुरबा तिनै डिट्ठा यज्ञप्रसादलाई रङ्गेली अदालतको हाकिम डिट्ठा पद दिएका थिए । भानुभक्तभन्दा पछिल्लो छिमलका लोककवि लोकनाथ (सं. १९३३–१९९२) मेरा बडबा पर्थे र विद्यापतिका नाति पर्थे । विद्यापतिका हजुरबा जयपतिका साक्खे हजुरबा रामेश्वर (काशीराम) का जेठा छोरा चन्द्रलालका कुलमा जन्मेका कवि मातृका पोखरेल नाताले मेरा भतिज ठहरिन्छन् ।

जसरी प्राचीन कालमा नेपालीमा गीतिकाव्य जन्माउने कवि विध्यापति (सं. १८५८–१९३५) लाई मानिन्छ ठीक त्यसैगरी तिनको कुलमा जन्मेका पीताम्बर (जन्म २००९) लाई पनि कविता, गीत, नृत्य र वादनमा रूचि छ । पण्डितहरूको कुलमा हीनव्याकरणी ठहरिए पनि गानाबजाना, बालुन, अड्को थाप्ने (विहे बटुलोको गीत आदिमा) विद्यापति झैं बाँसुरी बजाउँदै नाच्ने गुणका राजा छन् मेरा भाइ पर्ने तर विद्यापतिका साक्खे पनाति ठहरिने पीताम्बर पनि । विद्यापति जोगीभन्दा धेर डुलन्ते थिए । तर जोगी थिएनन् । मेरा हजुरबाले काठमाडौं इन्द्रचोकमा किनेको घरमा यिनको ‘गीतगोविन्द’ को एक प्रति यिनकै राम्रा हस्ताक्षरमा थियो । हजुरबाले इन्द्रचोकको घर आफ्नो मीत नाती (कुनै बाँडा) लाई बक्स दिएपछि मेरा काठमाडौं निवासी साहिंलो बुबा सरदार नारायणप्रसाद (सं. १९६८–२०५३) को बागबजारको घरमा अन्य चीजबीजको हुलमा त्यो प्रति आइपुग्यो । सं. २०१९ तिर खोज्दा मैले त्यो पाएँ । प्राध्यापक राजेन्द्र सुवेदी, प्राडा. गोपालप्रसाद भण्डारी बाहेक अरू कसैले पनि यी गीति कवि (रीतिकवि मात्रै होइनन्) बारे नयाँ रहस्य फेला नपारेकोले यी केले गर्दा हीनव्याकरणी कहलाएका हुन्, त्यसको कारण समेत खोलेर मैले ‘रचना’ पत्रिका मार्फत् नै यो रहस्यमय गाँठो खोल्ने प्रयास गरेको हुँ । भर्खरै सं. २०६३ मा प्रकाशित जीवनाथ उपाध्याय अधिकारी (माघे, इलाम)को मूल सहित अनूदित ‘गीत गोविन्द’ (कवि जयदेवकृत) को मुद्रित प्रति मैले फेला पारेर पढें पनि । रागभेदवारे चर्चा विद्वान् जीवनाथ (जन्म १९८०) ले पनि गरेका छन् । तर सात नायिकाबारे चर्चा भएको ‘गीत गोविन्द’को संस्कृत मूल अझै फेला पारेको छैन मैले । यस्तो लाग्छ, भाउजू कृष्णपिङ्गलाबाट यसको सूचना पाएका हुन् विद्यापतिले । त्यो मूल प्रति कृष्णपिङ्गलाका भाइ भवानीप्रसादका नाति डा. ईश्वर बरालको सङ्ग्रहमा पनि हुनु सम्भव छ ।

‘रचना’ पूर्णाङ्क १३० बाट साभार


No comments: