Tuesday, January 13, 2026

बद्रीप्रसाद ढकालका दुई कृतिको सडक विमोचन



काठमाडौँ । लेखक तथा समालोचक बद्रीप्रसाद ढकालका दुई कृतिको एकैसाथ सडक विमोचन गरिएको छ । २०८२ साल पुस २७ गते बागबजारस्थित प्राज्ञिक बुक्सअगाडि सडकमै आयोजित कार्यक्रमका बीच ती कृतिहरुको विमोचन गरिएको हो ।

ढकालका भरखरै प्रकाशित ‘आधुनिक नेपाली कथामा मिथक’ र ‘साहित्यमा संस्कृति’ नामक दुई पुस्तकको विमोचन समारोहमा वरिष्ठ इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, डा. शैलेन्दुप्रकाश नेपाल, डा. विष्णुबहादुर केसी, प्राज्ञ मातृका पोखरेल, प्रकाशक केशव पराजुली, वरिष्ठ साहित्यकार शरद प्रधान, साहित्यकार नवराज रिजाल, अनुवादक टेकनारायण ढकाल, स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवाल लगायतको सहभागिता रह्यो ।

विमोचनपछि बोल्दै प्रा.डा. सुरेन्द्र केसीले ढकाल जीवन्त लेखक भएको बताए । उनको लेखनी देख्दा लोभ लाग्ने बताउँदै उनका कृतिहरुलाई विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिनुपर्ने उनले बताए । कुनै स्वार्थ नराखी नेपाली साहित्य र वाङ्मयमा निरन्तर योगदान दिइरहेकोले ढकाल अरुका लागि पनि प्रेरक भएको उनको भनाइ छ ।

डा. शैलेन्दुप्रकाश नेपालले निरन्तर लेखनमा कटिबद्ध रहेको भन्दै लेखक ढकाललाई शुभकामना दिए । नयाँ नयाँ विषय क्षेत्र छनौट गरेर लेखन कार्य गरिरहेको भन्दै ढकाललाई उनले बधाई दिए ।

साहित्यकार शरद प्रधानले नेपाली पाठक र अध्येताहरुलाई अत्यन्तै आवश्यक किताबहरु प्रकाशन गरेको भन्दै लेखक ढकाललाई शुभकामना दिए ।

डा. विष्णुबहादुर केसीले धेरै पहिले सडक कविता क्रान्ति आयोजना हुने गरेको स्मरण गर्दै अहिले अभियानकै रुपमा सडक विमोचन क्रान्ति सञ्चालन भइरहेको भन्दै प्रशंसा गरे । विश्वविद्यालयीय र प्राज्ञिक अध्ययनका लागि यी दुई पुस्तक उपयोगी भएको पनि उनले बताए ।

प्राज्ञ मातृका पोखरेलले ढकालको निरन्तर लेखनको प्रशंसा गरे ।

समालोचक टेकनारायण ढकालले दर्शन, संस्कृति, पर्यटन आदि विषयमा छोटो समयमा सघन रुपमा लेखन गरिहनु ढकालको वैशिष्ट्य भएको बताए ।

पुस्तकको बारेमा बोल्दै लेखक बद्रीप्रसाद ढकालले नेपाली साहित्यको समालोचना विधामा कलम चलाउँदै आएको र अहिलेसम्म २० वटा कृति प्रकाशित भइसकेको जानकारी दिए । यी दुबै कृतिमा नेपाली साहित्य समालोचनामा प्रयोगमा नआएका नयाँ विषय खोजेको उनको भनाइ छ । ‘आधुनिक नेपाली कथामा मिथक’ पुस्तकमा मिथक के हो ? नेपाली साहित्यमा मिथकको प्रयोग कसरी भइरहेको छ ? र मिथकीय कथा कस्ता हुन्छन् ? आदि विषय उल्लेख गरेको उनले बताए । यसैगरी अर्को पुस्तक ‘साहित्यमा संस्कृति’ मा साहित्यमा संस्कृतिको प्रयोग कसरी भएको छ ? र संस्कृति कसरी आउँछ ? आदि विषय बुझ्न यो कृतिले सहयोग गर्ने उनले अपेक्षा गरे ।

अनौपचारिक रुपमा आयोजित यो कार्यक्रमका सहभागीहरुलाई गाउँ–शहर अनामनगरले मकै–भटमास, कन्दमुल, गुन्द्रुकसहितको नेपाली मौलिक खाजासेट उपलब्ध गराएको थियो ।

000

https://aajakokhabar.com बाट साभार 





Sunday, January 11, 2026

सामाजिक घटना, परिवर्तनलाई यर्थाथ चित्रण गर्ने कोसिस - साहित्य पोष्ट डट कम

 



कथाकार मातृका पोखरेलको कथा सङ्ग्रह हो ‘मलाई पनि निद्रा लागेन’ । कथाकारले कथा माफर्त समाजमा भैरहने सामाजिक घटना, परिवर्तनलाई यर्थाथ चित्रण गर्ने कोसिस गर्नुभएको छ ।

”कथाकार मातृका पोखरेल समाजको असन्तुलित आर्थिक संरचनाका कारणले उत्पन्न वर्गद्वन्द्व चित्रण गर्ने प्रगतिवादी प्रतिभा हुन् ।” पुस्तकमा डा. दयाराम श्रेष्ठ लेख्नुहुन्छ, उनले आफ्‌नो राजनीतिक आस्था र सोचलाई समसामयिक परिवेशअनुकूल आख्यानीकरण गरेका छन् । उनले सामाजिक यथार्थलाई आधार बनाएर आजको राष्ट्रिय सरोकारका समस्याहरूलाई गम्भीरताका साथ हेरेका छन् । उनका द्वन्द्वकथाहरूका आफ्‌नै निजी दृष्टिकोण र स्वरूपहरू छन् । मूलतः उनी वर्तमान यथार्थको परिप्रेक्ष्यमा सामाजिक रूपान्तरणको अपेक्षा गर्ने एक चेतनशील कथास्रष्टा हुन् ।”
त्यसैगरी पुस्तकमा मातृका पोखरेल लेख्नुहुन्छ, बाल्यकालमा फुपूले सुनाउनु भएको लोककथा, दन्त्यकथाबाट खुबै प्रभावित हुन्थे म । म बाल्यकालमा छंदा ‘शिशिर वसन्तको कथा’, ‘लाटो बु‌ङ्गोको कथा’ जस्ता कथाहरू अत्यन्तै प्रख्यात थिए । हाम्रो उमेरका सबैको मुखमा झुण्डिएका हुन्थे ती कथाहरू । ती कथाहरू दूरदराजका हाम्रा गाउँहरूमा पुगे र त्यस बेलाको हाम्रो पुस्ताको मनमस्तिष्कलाई पूरै प्रभाव पारे । कथाहरू जति सुने पनि कहिल्यै अघाएको महसुस नहुने । केही सम्झना छन्, फुपूले सुनाउने ती कथाहरूमा सधै असल र खराबको लडाइँ हुन्थ्यो र अन्त्यमा सधै असलको विजय हुन्थ्यो । त्यहींबाट सुरु भएको मेरो कथाको रुचि अहिलेसम्मै कायम छ । सायद, त्यस्तै प्रभावहरू होलान्, कथा मेरो आत्मीय विधा बन्यो । ‘छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ’ भनेर महाकवि देवकोटाको कथाको यो परिभाषा अत्यन्तै सटिक लाग्छ । संसारलाई घरबाहिर आंगनमा निस्किएर हेर्न पनि सकिन्छ । संसारलाई ढोका खोलेर हेर्न पनि सकिन्छ । झ्यालबाट केही निश्चित क्षेत्र पनि हेर्न सकिन्छ । तर, निश्चित क्षेत्र हेर्दा विशेष ठाउँ हेरिन्छ । विशेष घटनालाई मात्र हेरिन्छ र चियाइन्छ । आँगनमा निस्किएर हेर्दा त्यस्तो विशेष कुरा हेरिदैन । समग्रमा हेरिन्छ । झ्याल भनेको केवल हेर्ने माध्यम मात्र होइन, यो चयनको माध्यम पनि हो । जब हामी झ्यालबाट हेर्छौं, हामी सबै कुरा हेर्दैनौ हामी केही विशेष चीजमा केन्द्रित हुन्छौं । कथाबाट भनिने कुरा अलिक विशेष हुन्छ र हुनुपर्छ भन्ने लाग्छ ।”
पुस्तकलाई बेला पब्लिकेशनले बजारमा ल्याएको हो । १५ ओटा कथा सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।
०००

साहित्य पोष्ट डट कमको २०८२ पुस २५ गतेको
साताको पुस्तक स्तम्भबाट साभार

मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

 



साहित्यकार मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलको कथा संग्रह सार्वजनिक गरिएको हो।

कार्यक्रम वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको थियो।

शर्मासँगै नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’, डा.हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार संघ अध्यक्ष मोहन दुवालले संयुक्तरूपमा पोखरेलको कथा संग्रह सार्वजनिक गरेका हुन् ।

त्यसक्रममा ‘अमर ज्योति साहित्यक पत्रकारिता विशेषाङ्क’ पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा कथाका पोखरेलले आफ्नो कृतिको बारेमा बोलेका थिए भने नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकको बारेमा मन्तव्य राखेका थिए।
000

पुस २६, २०८२ शनिबार  बाट साभार