Friday, December 5, 2025

साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू

 


काठमाडौँ । पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय परिसरमा आजदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ। केन्द्रीय कार्यालयभित्र रातो भवनमा आयोजना गरिएको प्रदर्शनीको विधिवत् उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गर्नुभएकाे हाे ।

प्रदर्शनी उद्घाटनभन्दा अघि साझा प्रकाशनले आफ्नो ६२ औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएकाे थियाे । अध्यक्ष शेखर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख आमन्त्रित अतिथिका रूपमा उपस्थित सचिव भुजेलले साझा प्रकाशनलाई “इतिहास बोकेको सम्मानित संस्था” भन्दै यसको संरक्षण र सुदृढीकरणका लागि राज्य सकारात्मक रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मन्त्रालयमा पदस्थापन भएको तीन दिनमै साझाको आर्थिक अवस्थासम्बन्धी फाइल हातमा परेको उल्लेख गर्दै उहाँले रु. ५० लाख बजेट स्वीकृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साहित्यप्रेमी भुजेलले साहित्यकारहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आफू पनि साहित्यकार बन्न चाहेको तर बन्न नसकेको प्रसङ्ग स्मरण गर्नुभयाे ।

अध्यक्ष शेखर गिरीले साझा प्रकाशनको एक सय १३ वर्षे इतिहासको पुनःस्मरण गर्दै सातै प्रदेशको सांस्कृतिक जगेर्नामा साझा सक्रिय रहनुपर्ने बताउनुभयाे । नयाँ प्रविधि अपनाउँदै प्रकाशन र पठन संस्कृतिलाई युगअनुकूल अघि लैजाने योजनाका बारेमा पनि जानकारी गराउनुभयाे ।

कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, मातृका पोखरेल तथा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती र भावी दिशाबारे विशद् मन्तव्य राख्नुभएकाे थियाे ।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले आर्थिक र भौतिक अवस्थाबारे जानकारी दिँदै विगत केही वर्षयता संस्थाले भोगिरहेका कठिनाइहरू उल्लेख गर्नुभयाे । छापाखानाका उपकरण पुराना भइसकेको र नयाँ प्रविधि तथा विद्युतीय माध्यममार्फत पुस्तक प्रकाशनमा अघि बढ्ने सोच रहेको बताउनुभयाे ।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै साझा प्रकाशनलाई आधुनिक व्यवस्थापनका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । शेयरधनी प्रतिनिधिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले पनि आफ्ना धारणा प्रस्तुत गर्नुभयाे ।

साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उपलब्ध पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। प्रदर्शनी केही दिनसम्म निरन्तर रहने बताइएको छ।

000

२०८२ मंसिर १७ बाट साभार

















Tuesday, December 2, 2025

कविता : खण्डहरबाट एउटा आवाज

 मातृका पोखरेल

[ आफ्नो मातृभूमिको रक्षाका लागि सङ्घर्षशील प्यालेस्टाइनीहरूमा समर्पित ]


म प्यालेस्टाइन !
माथि आकाश हेर्छु
यसको नीलो रङ्गमा रमाउने अधिकार खोज्छु
अनगिन्ती तारापिण्डहरूसँग हराउने सपना देख्छु
म आफ्नै देशमा अपरिचित र असहाय
हो, म प्यालेस्टाइन !

मेरै घरमा बसेर
मलाई बन्दुक ताक्नेहरू
मेरो सपनामा खुवै आउँछन्
त्यो घरको ढुङ्गा
त्यो आँगनको माटो
त्यो झ्यालबाट देखिने दृश्य
त्यो आमाको स्वर
एकाएक हराए
अब म सँग
गुमेको सभ्यताको एउटा कथा बाँकी छ ।

ती खण्डहर सडकहरू
एकैचोटि समाप्त भएका ती बैठक कोठाहरू
ती भत्किएका गेटहरू
ती जलेका पलङ र कुर्सीहरु
आफ्नो सभ्यता खण्डहर भएको दृश्य हेर्न विवश
मानौं म एक पर्यटक हुँ
यो शहरमा बाँचेका मानिसहरू कसैसँग गुनासो गर्दैनन्
अचेल हाम्रो आँखाबाट आँसु बग्दैन
धुवाँको ज्वाला निस्कन्छ ।

म फेरि हेर्छु -
त्यहीँ नेर थियो मेरो एउटा घर
मारिनु भन्दा अघि
त्यही छेउमा थिइन मेरी आमा
त्यहीँ खेलिरहेका थिए मेरा बच्चाहरू
सम्झनास्वरूप यतिबेला मेरो हातमा
मेरो छोराको छुटेको एउटा जुत्ता छ
उसको जलेको किताब छ म सँग
मेरो हातमा छ उसको टिफिन बट्टा
र आमाको मजेत्रो ।

प्रत्येक विपना
मृत्युको ध्वनी बजाउँदै वस्तीमा आउँछ
त्रासद बमको गन्धले वस्ती ढाकिन्छ
फेरि रात पर्छ
तर निद्रा आउँदैन
किनभने सपनामा पनि
ऊ मलाई बन्दुक ताकिरहेको हुन्छ
विपनाजस्तै त्यहाँ पनि मृत्यु आउँछ
सपनामा पनि युद्ध छ
सपनामा पनि चित्कार छ
सपना भनेको
मेरो परिभाषामा अर्को रणभूमि हो
जहाँ चित्कारको प्रतिध्वनि
आकाशले पनि सम्हाल्न सक्दैन
मसँग अब
सभ्यताको एउटा कथा छ
त्यो कथा जलेको धुवाँभित्र कैद भएको
एउटा इतिहास हो ।

म बारम्बार नयाँ बिहान खोज्छु
मेरो छोराको जुत्तामा
अझै पनि माटोको गन्ध आउँछ
त्यो माटो जसले हजारौं बसन्त देखेको थियो
त्यो माटो जुन मेरो र मेरो हो
किनभने म प्यालेस्टाइन हुँ
म कदापि हार मान्दिनँ
प्रतिरोध नै मेरो अस्तित्व हो ।

०००

Monday, December 1, 2025

बागलुङ जिल्लाको बरेङमा बालसाहित्य गोष्ठी

२०८२ साल मंशिर १२ गते बरेङ गाउँ पालिका, बागलुङमा नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजना र बरेङ गाउँपालिका , बाग्लुङको सह - आयोजनामा बाल कविता गोष्ठीको आयोजना गरियो । बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले स्वागत मन्तव्यबाट सबैलाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा सर्वोदय क्याम्पस, बरेङका क्याम्पस प्रमुख

फूल कुमारी शर्माले बाल साहित्यको महत्त्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले टिप्पणि गर्नुभएको थियो ।

बरेङ गाउँपालिका बागलुङमा रहेका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने कविहरू मन्जु घर्ती, लक्ष्मी दर्जी, सिम्रन थापा, आकाश वि.क., सन्देश गौतम, सपना पुन, तारा गुरुङ, शुषमा विक, एलिशा गिरी, निशा थापा , शारदा कार्की , मनिषा कार्की, सन्ध्या शर्मा, प्रकृति थापा, पूजा थापा, सविन क्षेत्री, रक्षा खत्री, सिर्जना परियार, सुलोचना परियार, अनिता भण्डारी, धनमाया बोहोरा, अन्जना सुनार , अनुषा विश्वकर्मा, ऋषीराम गिरी, अन्जु राना ले कविता वाचन गरेर प्रतियोगितामा भाग लिएका थिए । साहित्यकारहरू अगिव बनेपाली, सीता शर्मा र फूल कुमारी शर्मा रहनु भएको निर्णायक मण्डलले सपना पुन - प्रथम, सन्ध्या शर्मा - द्वितीय , एलिसा गिरी - तृतीय र तारा गुरुङ - सान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएको घोषणा गरेको थियो । पुरस्कृत प्रतिभालाई प्रमुख अतिथि विमल निभा , विशेष अतिथि मातृका पोखरेल र कार्यक्रमका सभापति एवम् बरेङ गाउँपालिका , बाग्लुङका उपाध्यक्ष दीलिप कुमार पुन र नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपाली, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका महासचिव सीता शर्माले कार्यक्रमको महत्त्वका बारेमा धारणा राख्नुभएको थियो । बरेङ गाउँपालिका , बाग्लुङका रोजगार संयोजक केशव राज क्षेत्रीले कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरूमा पूर्वान्चल गन्धर्व संस्कृति उत्थान समाज, झापाको गन्धर्व प्रस्तुतिले गोष्ठीलाई रोचक बनाएको थियो ।

०००