- मातृका पोखरेल
हिँडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।
हिँडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिँदा रहेछन्
र, बेग्लो देखिदोरहेछ मान्छे ।
हिँडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झन्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिँडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुँङ्गुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमशः प्रिय लाग्दै जाने रहेछ ।
हिँडिरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमशः विस्मृत हुँदै जाँदारहेछन्
र, मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।
हिँडिरहेको बाटो छाडेपछि
बिस्तारै हराउँदो रहेछ उसको संवेदना
र, मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।
No comments:
Post a Comment