- मातृका पोखरेल
भित्तामा सबै तस्वीरहरु छन्
मार्क्स छन्
बुद्ध छन्
गान्धी छन्
र, छन् तस्वीरहरु
गाउँमा एक्लो जीवन बाँचिरहेका
बाबुआमाहरुका
तस्वीरमुनिको सोकेसमा
ड्युटीफ्रीका ब्ल्याकलेबलहरु छन्
चाँदीका रिकापीहरु
र लन्डनबाट आयातित
ग्लासका सिम्बोलहरु
सहरको घरमा ।
प्रत्येक साँझ केही मान्छेहरु
धमिलो विवेक बोकेर
रक्सी र चिकेनरोस्टसँगै
एकपटक सबै तस्वीरहरु हेर्छन्
फेरि हेर्छन् बाबुआमाको तस्वीर
र, टोलाउँछन् एकछिन,
तस्वीरमा कुनै बास्ना छैन
पढ्न पठाउन गुन्द्रुक हालेको हातको,
मकै सामलको रङ्ग हुँदैन त्यहाँ
बर्षौं भइसक्यो
झुन्डिरहेको छ तस्वीर
रङ्गहीन तस्वीर
सहरको भित्तामा ।
बाबुको पालामा
नजिकै खटियामा खोकिरहेका हुन्थे हजुरबा
तर भित्तामा हुँदैनथ्यो उनको तस्वीर,
यतिबेला बाबु
आधारातको निरवतालाई चिर्दै
सुकेनास खोकिरहेका छन् गाउँमा
र प्रत्येक कुकुरको भुकाइसँगै
आमा त्रासलाई पोल्टामा हालेर
अँध्यारोलाई अँगालो मारिरहेकी छन्,
तर दशकौँअघिको
उनीहरुको तस्वीर
सहरको एउटा भित्तामा
सहरसँगै सुरक्षित छ
उता गाउँसँगै असुरक्षित छन्
बाबु आमाहरु,
म यतिबेला सोचिरहेछु नयाँ भोलि
हाम्रा सन्तानको पालामा
हामी त पक्कै हुँदैनौँ खटियामा
तर टाँगिन्छौँ कि टाँगिदैनौँ
तस्वीर बनेर भित्तामा
भोलि के होला ?
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरु
अहिले सहरमा
तस्वीरलाई प्रेम गर्छन् मान्छेहरु
हाम्रा सन्तानको पालामा
भोलि के होला ?
■
दोभान त्रैमासिक, २०६३ साउन
No comments:
Post a Comment