मातृका पोखरेल
रेडियोमा वि.वि.सि. नेपाली सेवाको समाचार आउनै लागेको थियो । सांसद् हिरादत्तलाई आजको कुनै पनि समाचार सुन्ने मौका मिलेको थिएन । विहानदेखि बेलुकासम्म तीन चार ठाउँहरूमा भेटघाट र मिटिङहरू भ्याएर बेलुका एकजना साथीसँग रेष्टुरेन्ट छिरेका उनी ढिलै गरेर आफ्नो डेरामा आइपुगेका थिए । बाटोमा आफ्ना सांसद साथीहरूको लगातार मोबाइलमा घण्टी बजिरहेको थियो । रेष्टुरेन्टमा उनले निकै पिएका थिए । साथीहरूले पिउने कुरा थाहा पाइहाल्छन् कि भन्ने डरले उनले मोवाइल रिसिभ गरेनन् ।
“तर आज किन धेरै साथीहरूको फोन आयो” हिरादत्तभित्र प्रश्न नउब्जेको होइन । घटनाको कुनै अन्दाज सम्म गरेनन् उनले ।
“आज धेरै पिएर आउनु भयो कि के हो ?” खानाको थालीमा तरकारी राख्दै गर्दा पारूले हिरादत्तलाई छासिन ।
“अरू दिनको भन्दा आज अलिक बढ्तै भएछ ।” स्वीकारोक्तिमै बोले उनी ।
पारुले किचेन टेबुलमाथि खाना राखि दिइन् । हिरादत्तले खानाको थाली सार्दै रेडियोलाई आफू नजिकै ल्याएर राखे ।
खाना खान सुरु गर्दागर्दै उता वि.वि.सि नेपाली सेवाले पनि समाचार भन्न सुरु ग¥यो । पारु पनि खानाको थाली लिएर टेबुलको एकाछेउमा बसिन् ।
प्रमुख समाचारमैं रेडियोले भन्यो । “नेपालमा प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटनको सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएको छ ।” अचानक दुवै जनाले मुखमा पुग्नै लागेको भातको गाँसलाई टक्क रोके र एकले अर्काेलाई हेरे ।
रेडियोले पुरा समाचार भन्न बाँकी नै थियो ।
एकाएक दुवैको अनुहार ठूलो आँधीबेहरी आउन लागेको समय जस्ते कालो अँध्यारो भयो । तर दुबै जना मौन बसे । केही बोलेनन् ।
“बाबु र नानीले खाना खाइसके ?”
मौनता तोड्न खोजे हिरादत्तले ।
“अँ ! खाएर पनि सुतिसके ।” संक्षिप्त उत्तरमै टार्न खोजिन पारुले ।
“भोलि त विदा हो नि उनिहरूको !”
हिरादत्तको स्वर मलिनो थियो ।
“विदा त हो, आज स्कूलले बीस हजारको बील पठाएको छ ।” हिरादत्तको अनुहारतिर नहेरिकन बोलिन पारु ।
“ओ हो ! बीस हजार !” हिरादत्त झस्किए ।
“पहिले पनि त्यस्तै त आउन्थ्यो नि !
त्यस्तो महंगो स्कूल छ ।” पारुले थपिन् ।
“मैले त तिमीलाई भनेकै थिए नि ! अलिक साधारण स्कूलमा राखौँ है भनेर !” हिरादत्तको स्वरमा सानो आक्रोस झल्कन्थ्यो ।
“हामी बसेको घर मालिक एउटा सामान्य खरदार हो । उसले पनि आफ्ना छोराछोरीलाई त्यही स्कूलमा राखेको छ । त्यति पनि नसक्ने हो भने यत्रो नेता हुँ भनेर किन हिँड्नु प¥यो !” पारुले पनि एउटा सानो वाणको झटारो हानिन् ।
हिरादत्तले अरू प्रतिक्रिया दिन आवश्यक ठानेन् । खानाको थालीबाट आँखा उठाएर पारुतिर हेर्न आवश्यक पनि ठानेनन् ।
उनीहरू पहिलेपहिले कहिलेकाहीँ राजनैतिक छलफल पनि गर्थे । संसदमा भइरहेको अन्र्तसंघषबारे पनि कहिलेकाहीं कुराकानी गर्थे । तर उनीहरूले कुनै राजनैतिक छलफल गरेनन् आज ।
000
हिरादत्त र पारु सुत्ने कोठामा पुगे । आजै धोएका लुगाहरू असरल्ल ओछ्यानभरी छरिएका थिए । पट्याउने जांगर त पलाएको थिएन, तर काम साँच्न मन लागेन पारुलाई । ओछ्यानका लुगाहरू सोहोरेर भुइँमा थुपारी र लोग्नेलाई सुत्ने ठाउँ तयार पारी दिई ।
पार्टीमा पिएको ‘ह्याङओभर’ हिरादत्तमा अझै बाँकी नै थियो । लुगा नफुकालिकन उनी डङ्ग्रङ्ग ओछ्यानमा पालिए ।
“अब के गर्ने होला भनेर तपाईंलाई त कुनै चिन्तै छैन जस्तो छ । मलाई त कस्तो छट्पटी भइसक्यो ।” पारुले कपडा पट्याउँदै कुरा निकालिन् ।
“अब गाउँ जाने, काम गर्ने बस्ने !” सन्त्रास भरिएको मनबाट हिरादत्तले खरो कुरा गरे ।
“जानु भो गाउँ ! गाउँमा अचेल तपाईंलाई मान्छेहरूले कस्तो गाली गर्छन् । तपाईंले त के सुन्नुभाको छ र ! मैले पो सुनेकी छु त !” गाउँ जाने कुराले पारु त्रस्त थिईन् ।
“चुनाव जितेर गएपछि गाउँमा विकास त कता हो कता भत्ता मात्र खाएर बसे । गाउ पनि फर्किएर आएनन् । यस्तै यस्ते कुरा गरेर चाहिँदोनचाहिँदो गाली गर्दा रहेछन् तपाईंलाई ।” यति भनिसकेर पारुले पुलुक्क फर्किएर हिरादत्तलाई हेरिन् ।
केही नबुझेर मात्र हामीलाई गाली गरेका हुन् ।” हिरादत्तले मलिनो अनुहार लगाउँदै जवाफ फर्काए ।
“मान्छेहरूले त्यो कुरो बुझ्नु प¥यो नि !” पारूले आफूभित्रको डरलाई अलिकति पखालीन् ।
“बुझाउन शिवाय हामीसँग अर्काे उपाय पनि त छैन नि ! हामी धेरैजसो सांसदहरू त एक प्रकारले जागिरे जस्ता मात्र थियौँ । सबै कुराको निर्णय त नेताहरूले मात्र गर्थे ।” हिरादत्तले नम्र स्वरमा पारूलाई प्रष्ट बनाउन खोजे ।
“आज म अलिक बढि नै थाकेको छु । म अब निदाउँछु ।” हिरादत्त भित्तातिर कोल्टे फर्किए ।
“चुनाव जित्न लिएको लाखौँ ऋण छ । परिवारमा नबेच भन्ने सल्लाह दिँदादिँदै पनि पैत्रिक अंसमा आएको बजारको परारमात्र बेचेको घडेरी । चुनाव जित्नका लागि गाउँगाउँका मानिसहरूलाई उनीहरूले मागेजति गरिदिन्छु भनेर दिएको आश्वासन !’ उसको मानसपटलमा चलचित्रका दृश्यझैँ सवैकुरा एकाएक आउन थाले । जति सोच्दै जान्थ्यो, उसको हृदयभित्र आतङ्कको एउटा पहाड सिर्जना हुन्थ्यो ।
निद्रा आउने त कुनै छनकनै थिएन ।
पारुलाई थाहा थियो —हिरादत्तलाई बेलाबेलामा चिन्ता र निरासाले गाँज्यो भने सुत्ने बेलाबेलामा चिन्ता र निरासाले गाँज्यो भने सुत्ने बहाना गर्छन र ओछ्यानमा आँखा चिम्लेर पल्टी रहन्छन् ।
000
“किन बोल्दिनौ तिमी ? तिमीलाई निद्रा लागेको छैन जस्तो छ !” सांसद हिरादत्तले बिहान उज्यालो हुने बेलातिर आफूले केही थाहा नपाएझैँ गरेर पारुलाई सोधे ।
विहान चार बजिसकेको थियो । दुबैजना निदाएका थिएनन् । हिरादत्त र उनकी पत्नी पारु दुवै जनाले रातभरीनै निदाए जस्तो अभिनय गरिरहेका थिए ।
“होइन म निदाएर ब्युँझेकी हुँ ।” हिरादत्तकी पत्नी पारुले कुरा लुकाउँदै भनिन् ।
हिजो बेलुकाको समाचार दुवैले सुनेका थिए । तर दुवैले यो समाचारको बारेमा कुनै चर्चा गरेनन् । दुवैको मनमा आतङ्कको एउटा हुण्डरी चलिरहेको थियो ।
“तपाईं चाहिं निदाउनु भएको छैन कि के हो ?” भित्तातिर फर्केर पारुले हिरादत्तलाई सोधिन् ।
“म पनि निदाएरै ब्युँझेको हुँ ।” पारुले दिएजस्तै उत्तर दिए हिरादत्तले पनि ।
आफूहरू दुवै जनालाई खासै चिन्ता नभएको कुरा देखाउन खोजिरहेका थिए उनीहरू । तर हिजो वि.वि.सि.को समाचार पछि दुवै जनाको अनुहारमा आतङ्कको एउटा छायाँ दौडिरहेको थियो ।
उनीहरू उज्यालो हुने वित्तिकै ओछ्यानबाट उठे । घरमा एउटी काम गर्ने मान्छे थिइ शान्ता । शान्ता गाउकै केटी हो । ऊ चिया लिएर आई कोठामा ।
शान्ताले चियाका कपहरू टेबुलमा छाडेर गएको पनि निकै समय भइसकेको थियो । कप उठाउन आउदा मात्रै देखी उसले । उसले ल्याएको कपमा जस्ताको तस्तै थियो चिया । चियामा खैरो जालो तैरिरहेको थियो ।
माननीय हिरादत्त सोफाको एउटा छेउमा बसेर झ्यालबाट एक तमासले पूर्वतिर हेरिरहेका थिए । सोफाको अर्काे छेउमा बसेर सांसद् पत्नी पारु पश्चिमतिर फर्किरहेकी थिइन् ।
“मालिक्नी साहेब चिया त चिसो भइ सकेछ नि ! फेरि तताएर ल्याइदिऊ कि !” शान्ताले अचम्म मान्दै भनी ।
“होइन होइन तताउनु पर्दैन । धेरै चिसो भइसकेको छैन ।” पारुको बोली थर्थराइरहेको थियो ।
“अँ ! पर्दैन पर्दैन !” हिरादत्तले पनि थपे ।
“आज के भएछ दुवै जनालाई !” मनमनै सोच्दै शान्ता भान्सातिर गई ।
शान्ता बाहिर निस्कने बित्तिकै हिरादत्तले चियाको कप लगेर ओठमा टाँसे ।
“ओहो ! चिया त बरफ जस्तै चिसो भइसकेको रहेछ ।” ओठ विगार्दै प्रतिकृया दिए हिरादत्तले ।
चियाको कप समातेर ओठमै पु¥याउन लागेकी पारुले हिरादत्ततिर फर्र्किएर हेरिन् । हिरादत्तको ओठमा चियाको खैरो जालो तुन्दु्रङ्ग झुण्डिरहेको थियो ।
0
अभिव्यक्ति, दुईमहिने साहित्यिक पत्रिका
वर्ष - ४९ / अङ्क - १९६ / असार - साउन - २०७५
No comments:
Post a Comment