- मातृका पोखरेल
मलाई गनाएझैँ
धेरैलाई गनाएको हुँदो हो
टुकुचाको पानी ।
टुकुचामा हिजो आज
जस्तोसुकै खुट्टा लगेर चोप
झनै फोहोर हुन्छ,
जस्तोसुकै प्राविधिक टाउको पखाल
झनै दुर्गन्धित हुन्छ,
कपडाहरु लगेर धोऊ
झनै मैलो हुन्छ,
अचेल टुकुचा
उहिले उहिलेको जस्तो छैन ।
इतिहासको कथाजस्तो
भएन अब टुकुचा,
धेरै भइसक्यो
कुमारी रगतका भ्रूणहरु
बगाउन थालेको छ ऊ,
बोरामा लासहरु कुहाउनु
मान्छेका टाउकाहरु दूषित बनाउनु
उसका योजनाका खाकाहरु हुन् ।
उहिले उहिले ऊ
आफ्ना किनारहरुमा
किसानहरुसँगै खेल्थ्यो
हिलो माटो बोकेर
साँझ फर्कन्थ्यो घरमा,
सिंहदरबारबाट शाषित ऊ
प्रत्येक रात
किसानहरुका डबलीमा
आफ्नो पीडा गाउन मन पराउँथ्यो
जब ऊ समयसँगसँगै शाषक बन्यो
समयसँगसँगै गनाउँदै गयो ।
अचेल टुकुचा,
किसानहरुको सिनाज्याम्मे (रोपाइँ गर्दा गाउने गीत) सुन्दै
बागमतीतिर बग्दैन,
मान्छेहरुलाई नाक छोप्न लगाउँदै
सैनिक ब्यारेकतिर लुक्छ,
अचेल टुकुचा,
एक हल रोपाइँ गर्न
आफ्नोछेउमा बेखामानलाई बोलाउँदैन
एक हुल तस्करहरुलाई
आलिसान महलहरु बनाउन
आफ्नो किनारतिर निम्त्याउँछ ।
अचेल टुकुचा,
उहिलेउहिलेको इतिहासजस्तो छैन
अचेल टुकुचा,
उहिलेउहिलेको जस्तो प्रिय छैन ।
■
मिर्मिरे, मासिक पूर्णाङ्क—२४४, २०६२ पुस
No comments:
Post a Comment