Thursday, March 5, 2020

कथा : अँध्यारो गाऊँ

मातृका पोखरेल

हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा!  तपाईं भरखर आउनुभएको छ । हतारहतार आउने वित्तिकै यस्तो कुरा ग¥यो भन्नुहोला । तर तपाईंलाई हामी सबै यही कुरा सोध्ने भनेर व्यग्रतापूर्वक प्रतिक्षामा बसेका थियौं । पोहोर देखि समाजका मान्छेहरूले तपाईलाई हेर्ने आँखानै बेग्लै भएको छ । हाम्रो घरलाई हेर्ने आँखा पहिलेको जस्तो छैन । तपाई पहिले पहिले घर आँउदा गाउँका मानिसहरू कति खुसी हुन्थे । अब भोलि बिहान उज्यालो मात्रै होस, अनि थाहा पाउनु होला । तपाईलाई देखेर मान्छेहरू अर्कै बाटोबाट हिंड्नेछन् । मानिसहरूले तपाईलाई थुक्न सक्नेछन् । गाउँमा बुभ्mने र पढेका मान्छेहरू कोही छैनन् र मात्रै हो । उनीहरू भएको भए तपाईलाई के के गर्ने थिए । हो, तपाईलाई पक्कै वाँच्न सजिलो थिएन । तपाई यहाँ आएको कसैले थाहा पाएका छन् भने तपाईले भोलीको उज्यालो देख्न पनि पाउनु हुन्न । अझै पनि तपाई यो घरमा लुकरै भए पनि केही दिन बस्नु भयो भने तपाई यहाँबाट पक्कै पनि आफनो जागिरमा बाँचेर फर्कन सक्नुहुन्न । अव गाउँ कहाँ तपाईले सोचे जस्तो छ र । तर यतिबेला तल्ला गाउँ, माथ्ला गाउँमा कोही दाइहरू पनि घरमा छैनन् । हामी जस्तै साना केटाकेटीहरू, बुढा हजुरवाहरू र आमैहरू मात्र छन् । उनीहरूले पनि तपाईलाई साह्रै खराब मान्छेका रूपमा चिनेका छन् ।
            बाबा ! जागिर त परिवार आफन्तहरू र समाजलाई सहयोग गर्नका लागि खानु पर्ने होइन र तर तपाईको जागिरले सबैलाई बर्बाद पा¥यो । पुलिसको जागिर खाएर तपाई त उठ्नै नसक्ने गरि बर्वाद हुनु भयो । हाम्रै गाउँमा पनि पुलिसको जागिर खाने अरू पनि त छन् । सामाजिक प्रतिष्ठा प्रति उनीहरू सचेतै छन् । समाज र आफन्तहरूको आँखामा तपाई त दुष्ट र अपराधी मान्छेका रूपमा चिनिनु भयो भयो तर हामीलाई पनि किन किन मानिसहरूले राम्रो आँखाले हेरिदिदैनन् । बाबा ! तपाईको दोषका कारण हामीले किन सजाय पाउने ? यो त हामी माथिको अन्याय हो नि होइन ? हामीले त सबैलाई त्यसै भन्ने गरेका छौं । बाबाले गरेका अपराधका कारण हामीलाई नराम्रो व्यवहार नगरिदिनुस भनेर अनुनय–विनय गरेका छौ र यो समाजमा बस्न पाएका छौं ।
            आमा एकदिन पँधेराबाट रूँदै आउनु भएको थियो । पँधेरामा आमाले अरू मानिसहरूलाई बोलाउँदा पनि बोलेनन् रे ! उहाँलाई देख्ने वित्तिकै मानिसहरू परपर जान्छन रे !  मास्टर्नी काकी त आमाको नजिकै पर्न चाहनुहुन्न रे !  बाबा !  तपाईले किन यस्तो महाअपराध गर्नुभयो ?
            बाबा !  मास्टर काकासँग झगडा गरेर तपाई भोलिपल्ट बिहानै हिड्नु भयो । झगडा गर्दा मास्टर काकालाई तपाईले भोलि राती नै सिध्याइ दिन्छु भन्नुभएको रहेछ । पर्सीको उज्यालो देख्न पाउदैनस् भनेर भन्नुभएको रहेछ । तपाईले यसो भन्नु भएको कुरा गाउँका सबै मान्छेले सुनेका रहेछन् । तपाईले यति निच काम गर्नुृहुन्छ भनेर हामीले त कल्पनै गरेका थिएनौं ।
            बाबा !  मास्टर काका जस्तो असल मान्छे त यो गाउँमै थिएनन् । ‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’ भन्दै मास्टर काकालाई मारे पछि यहाँका कैयौं मान्छेहरू धेरै दिनसम्म रोइरहे । हो, बाबा हामीलाई पनि तपाईहरूले मास्टर काकालाई मारेपछि यो गाउँको मणि नै हराए जस्तो लाग्यो ।
            मेरो कुरा सुनेर तपाईलाई साह्रै रिस उठ्यो होला । तपाई रिसाउनु अब हाम्रा लागि महत्वपूर्ण कुरा होइन । अनुहार पनि तपाईको कति साहै विग्रेको । तपाईलाई यति वेला ठूलो पश्चाताप भएको होला तर अब के गर्ने ? एक पटक मरिसकेपछि कसैको जीवन फेरि फर्केर आएको छैन । यहि कुरा तपाईले पहिले नै सोचिदिनुभएको भए कति राम्रो हुने थियो ।
            भोलिपल्ट राति उस्तै उस्तै लुगा लगाएर आउने मान्छेहरूको एक हुलले मास्टर काकालाई कति क्रुरतापूर्वक मारे, त्यो तपाईलाई मैले भनिरहनै पर्दैन । त्यो त तपाईलाई थाहै छ । मास्टर काकाको छोरा नरेश भाईले एकदिन म सँग खुसुक्क भनेको थियो, त्यहाँ तपाई पनि हुनुहुन्थ्यो अरे । तर तपाईले अनुहारलाई खै !  किन हो एउटा रूमाल बाँधेर मुख छोप्नु भएको थियो रे !  बन्दुकको कुन्दाले मास्टरकाकाको टाउकै टाउकोमा हान्दा नरेशले तपाईसँग ठुलो बुवा बाबालाई नमारी दिनुस्, हामी जे भनेपनि मान्छौ भनेको थियो रे तपाईसँग । नरेशले यो कुरा स्कूलमा मेरो कानमा खुसुक्क भनेको थियो । उसले मलाई बाबालाई मार्न ठुलो बुवा पनि आउनु भएको थियो भन्थ्यो । जति छोप्न खोजे पनि बाबा !  तपाईलाई त सबैले चिनेछन । मास्टर्नी काकीले तपाईलाई चिनेपछि तपाई भित्तामा छेलिनु भयो रे !  होईन ? मास्टर काकालाई तल देविथानको रूखतिर मार्न लैजादा तपाईले मास्टर काकालाई गाली गर्दे लगेको तपाईको स्वर त, गाउँका सबैले चिनेछन् नि !  मास्टर काकालाई गोली हान्ने बेलामा पनि तपाईंले तँ माओवादी नै होस् भनेर जथाभावी गाली गर्नु भयो रे !  होइन ? घरबाट तल देविथान सम्म पु¥याउँदा मास्टर काकालाई बन्दुकको कुन्दाले जथाभावी घोच्दै लानु भयो रे  ! होइन ?
            गाउँका मान्छेसँग हामी पनि भोलि पल्ट विहानै तल देविथानमा मास्टर काकाको लास हेर्न गयौं । काकाको जिउभरि प्वालैप्वाल थिए । डोरीले बाँधेको त्यति एकजना मान्छेलाई मार्न पनि तपाईंहरूले किन त्यति धेरै गोली हान्नु परेको ? हतियार नभएको मान्छे मास्टर काकासँग तपाईंहरूलाई कति धेरै डर रहेछ ।
            मास्टर काकाको लास हेर्न जाँदा त गाउँका धेरै मान्छेहरू मुर्छा भएर लडे नि ! मास्टर्नी काकीलाई त तीन दिनसम्म होस आएन । नरेशले त कति दिनसम्म भातै खाएन नि बाबा !  उसलाई त त्यसपछि कस्तो कस्तो रोग लाग्यो । टोलाएर बस्न थाल्यो । मान्छेहरूसँग पनि डराउन थाल्यो । हाम्रो कक्षामा त त्यो भन्दा पहिले प्रथम हुन्थ्यो नि बाबा !  त्यसपछिको परिक्षामा ऊ फेलै भयो । नरेश त अव पहिले पहिले जस्तो छैन । साथीहरू सँग पनि बस्न रूचाउँदैन । एक्लैएक्लै बसेर समय बिताउन मन पराउँछ । स्कूलमा साथीहरू उसलाई सा¥है मन पराउँछन् । पहिले कसैसँगपनि झगडा गर्दैनथ्यो । अहिले त साथीहरू सँग पनि सानो कुरामा झड¨ रिसाउँछ । साथीहरूसँग नजिक हुनै चाहँदैन । स्कूलबाट आउदा म उसैसँग घर फर्कन चाहन्थे तर ऊ एक्लै आउँछ । तपाईहरूले उसको बाबालाई मारेपछि उसको स्वभावमा कति फरक भयो, भयो ।
            तपाईको अनुहार देख्दा मलाई अहिले मास्टर काकाको सम्झना भइरहेको छ । हामी केटाकेटीका लागि उहाँ कति असल मान्छे हुनुहुन्थ्यो । माओवादीले गरेका गलत कामलाई उहाँ गलतै भन्नुहुन्थ्यो । माओवादीले गरेका राम्रा कामको उहाँ प्रशंसा गर्नुहुन्थ्यो । के राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु गलत हो र !  तपाईहरूले त्यस्तो मान्छेलाई पनि देख्न सक्नु भएन । तपाईहरू आफैले सूरक्ष्ाँ गर्नु पर्ने कानूनलाई आपैmले कुल्चनु भयो । एकपटक उहाँलाई मन पराउने समाज, मास्टर्नी काकी र नरेशको अनुहार सम्झनुस् त !  के तपाईलाई कतै दुखेन ?
            हामीलाई पनि तपाईको अनुहार हेर्न मन छैन । तपाईको अनुहार सम्झँदा पनि घिन लाग्छ । तर यो कुरा तपाईलाई भन्ने जरूरी थियो । हामी तपाईलाई भेटेर यो कुरा भन्न चाहन्थ्यौं ।
            तपाईलाई जति शान्ती हुन्छ, रातमै शान्ती हुन्छ । यो गाउँमा, यो समाजमा तपाईका लागि उज्यालो कति पीडादायक हुनेछ, हेर्दै जानुुस । बरू कामना गर्नुस कहिल्यै उज्यालो नहोस् भनेर । भोली उज्यालोमा तपाईले यो गाउँलाई नहेर्नुस् । तपाई राती आउनुभयो, ठिकै गर्नुभयो । तपाईलाई घरमा आउँदा लुकेर बस्नु पर्ने छ भनेर हामीले एउटा कोठा बनाइदिएको छौं । त्यहाँकतैबाट उज्यालो छिर्दैन । तपाई यहाँ बसुन्जेल त्यही अँध्यारो कोठामा बस्नुस् ।
            यो गाऊँमा तपाई आएको बाटामा कसैले देखेका रहेछन् भने तपाई यहाँबाट बाँचेर फर्कन पक्कै पनि सक्नुहुन्न । अब गाउँ तपाईहरूले पहिले सोचेजस्तो कहाँँ छ र !




स्रष्टा, पूर्णाङ्क २, २०६२ साउन

No comments: