- मातृका पोखरेल
उसको बाल्यकाल यो गाउँमा बितेको कुरा मलाई धेरै पछि मात्र थाहा भयो । यो गाउँमा उसले सबैतिर घुमेर भोट माग्यो । सबैलाई नाता लगायो । गाउँलेहरूले उसको कुरालाई गम्भीरतापूर्वक सुने । यो गाउँसँग उसको सम्वन्धका बारेमा उसले मलाई कहिल्यै भनेन । प्रसंगमा उसले मलाई यतिमात्र भनेको थियो – दाइ ! म त व्यवहारबाट बुझेर यो आन्दोलनमा आइपुगेको हुँ ।
त्यो छाप्रोमा भोट माग्नु पर्दैन ?
मैले जीप कुदिरहेको बेला बाटाछेउको एउटा जीर्ण छाप्रोलाई देखाउँदै उसलाई सोधेको थिएँ । उसले मोटरलाई त्यस ठाउँमा रोक्न भनेन । मेरो प्रश्न झर्ने वित्तिकै उसको अनुहारमा मैले एक्कासी कालो छायाँ देखेँ । म अत्तालिएँ । कसरी यस्तो भयो ? उसभित्र कुनै नराम्रो दुर्भावनाको संकेत त्यसबेला मैले पाएँ । ऊ अर्कोतिर फर्किरहेको थियो । म घरि जीपको ढोकाबाट बाहिर हेर्थे घरि उतिर । ऊ त्यति लामो समयसम्म पनि मतिर फर्केर हेरेन । मभित्र धेरै धेरै प्रश्नहरू खेलिरहे ।
ड्राइभरले घ्याच्च ब्रेक लगायो । झण्डै हामी अगाडिको भागमा पुगेर नठोकिएको । अगाडि बाटोमा ठूलो खाल्डो रहेछ । ड्राइभरले कुनै ठूलो दुर्घटनाको संभावित आशंका व्यक्त ग¥यो र भन्यो – झण्डै खाल्डोमा नखसेको । उसले विस्तारै गाडीलाई ब्याक ग¥यो र खेततिरबाट घुमाउँदै बाटोमा पुर्यायो । त्यतिबेला मात्र उसले अत्तालिएर अगाडि हेर्यो । त्यसबेलामात्र उसको अनुहारमा मैले हेरेको थिएँ । उसले हातले आँसु पुछेको रहेछ । उसको आँखामा आँशु अझै डबडबाइरहेको थियो । गाडी आफ्नै सुरमा अगाडि दौड्यो ।
सन्तोष तिमीलाई के भयो ?
केही भा छैन दाइ ! तर उसको स्वर लरबरिएको थियो । उसको स्वर रोइरहेको छातीबाट निस्केझैं लाग्दथ्यो । सन्तोष त त्यस्तो मान्छे थिएन । म यो चुनावमा ऊसँग हिँडेको करीब एक महिना बितिसकेको थियो । हाम्रो समूहभित्र उभित्रको जिम्मेवारीबोध अत्यन्तै माथिल्लो प्रकारको थियो । नबुझेका मान्छेहरूलाई चुनावका बारेमा राम्ररी सम्झाउने र बुझाउने क्षमता राख्थ्यो । ऊ अधिकांश मान्छेहरूको प्यारो भइसकेको थियो । ऊ यतिबेला आफ्नो पीडा लुकाउने कोशिस गरिरहेजस्तो महसुस मलाई भइरहेको थियो । तर मैले सन्तोषको अवस्था जसरी भए पनि बुझ्नै पथ्र्यो ।
तिमीलाई के भयो भन्नैपर्छ – मैले कर गर्दै उसलाई सोधेँ ।
आफूलाई केही नभएझैं गरेर उसले मतिर हे¥यो । उसको गालामा आँसु पुछेको आकृति प्रष्टै देखिन्थ्यो ।
सन्तोष दाइको घर त त्यही अघिको टोलमा पथ्र्यो नि ! आफनो घर गाउँको सम्झना आयो होला नि दाइलाई ? पछाडिबाट जमुनाले सन्तोषलाई जिस्क्याउने बहानामा भनी ।
ऊ घरपरिवार ध्वस्त भएको मानिस हो भनेर मैले केही पहिले सुनिसकेको थिएँ । ऊ कसरी यो आन्दोलनमा आइपुग्यो ? यसै क्षेत्रका साथीहरूलाई मात्र सबै कुराहरू थाहा थियो । म सन्तोषसँग कुुरा खोतल्ने आशयले सोधीखोजी गर्न थालेँ ।
दाइले जुन छाप्राको कुरा गर्नुभयो, त्यो मेरो घर हो र अहिले खाली छ । उसले लर्बरिएको आवाजमा बोल्यो । त्यसपछि मभित्रको कौतुहलता झन् बढ्यो ।
हामी यतिखेर बनिया गाउँको बीचबाट उत्तरतर्फ गइरहेका छौं । हामीलाई केही घण्टापछि चुरेछेउको एउटा गाउँमा हुने चुनावी सभामा पुग्नुछ । गाउँ यतिबेला चुनावको चहलपहलले बेहुलीझैं सिंगारिएको थियो । पोष्टरहरूले झिंगटीद्वारा बारिएका भित्ताहरू पनि भरिएका छन् । बाटोदेखि वारिपारिका घरहरूमा तुल र व्यानर टाँगिएका छन् । प्रत्येक राजनीतिक पार्टीका झण्डाहरू घरका छानाछानामा तँछाडमछाड गरेर प्रतिस्पर्धा गरेझैं देखिन्छन् । हिजोमात्रै यसै टोलमा नेपाल प्रजातन्त्र दलका कार्यकर्ताले आफूले पहिले राखेका झण्डाहरू साना भएका कारण ठूला झण्डाहरू प्रत्येक घरका छानाहरूमा गाडेर गए । अरूबेला कहिल्यै मोटरको मुख देख्न नपाइने बाटोमा दिनहुँ पचासौं गाडीहरू दौडाइन्छ । नयाँ नयाँ मान्छेहरू छिनछिनमा देखापर्छन् । चुनावमा उठेका उम्मेदवार र उसका मान्छेहरूले इनार र धारा कतिवटा र कहाँकहाँ चाहिन्छ भनेर सोध्छन् । गाउँका मान्छेहरू ग्वारग्वार्ती पछि लाग्छन् । गाउँमा एकपछि अर्को गर्दै हल्ला चल्छ – एक वर्षभित्र ठूलो स्कूल बन्ने भयो, फलानो ठाउँमा यति फिट गहिरो इनार खनिने भयो, कुलो, नहर, पैनी सबैको व्यवस्था हुने भयो ।
यो चुनावले गर्दा यो गाउँको रौनक नै फेरिएको थियो ।
गाउँको बीचमा एकछिन हामी चिया खान रोकियौं । हाम्रो जीपलाई वरिपरि केटाकेटीहरूले घेरे र पर्चा पोष्टर मागे । त्यतिबेलासम्म खुशी नदेखिएको सन्तोष पहिलेझैं फरासिलो पाराले केटाकेटीहरूसँग प्रस्तुत हुँदै भन्यो – चुनावमा तिमीहरूले पाउने ठूलो अधिकार भनेकै यही हो ।
हामी चिया पिएर फेरि अघि बढ्यौं । टन्टलापुर घामले बस्तीमा चहलपहल त्यति साह्रो थिएन । हामी चढेको जीपमा भएको माइकिङका कारण मानिसहरू सुन्नलाई अलिक नजिक नजिक आउँथे । बच्चाबच्चीहरू गाडीको पछिपछि दगुर्थे । रामु र जमुना पछिल्तिर माइकिङमा व्यस्त थिए । मैले सन्तोषसँग उसको जीवनबारे बुझ्न कुराहरू खोतल्न थालेँ । विस्तारै उसले आफ्ना कथाहरू भन्दै गयो ।
यो आजभन्दा दश वर्ष अघिको कुरा हो । संसदीय व्यवस्थाको पहिलो आम चुनावको समय थियो । अर्थात् त्यसबेला सन्तोष पाँच छ वर्षको मात्र थियो । उसकी आमा दीपिया दिनभर गाउँमा खेताला गरेर उनीहरूलाई पाल्थी । २०४६ सालको आन्दोलनको लगत्तैपछि दुई महिना थला परेर उसको बाबु म¥यो । त्यसपछि उसकी आमामाथि एक प्रकारको विपत्ति नै आइप¥यो । जमिनको नाममा दुई कठ्ठा ऐलानी जग्गा र त्यसमाथि एउटा सानो छाप्रो मात्र थियो । दैनिक मजदुरीको भरमा त्यो सानो परिवार धानिएको थियो ।
एकदिनको कुरा हो – जनआन्दोलनपछि पहिलो आमचुनावको प्रचारप्रसार तीव्र रूपमा भइरहेको थियो । दीपियाको सानो छोरो सन्तोषलाई पाँच दिनदेखि आइरहेको ज्वरो अलिकति पनि घटेको थिएन । फागुन महिनाको गर्मी चौपट्ट थियो । बनिया गाउँको छेउमा रहेको पिपल चौतारीमा सियाल ताप्ने मान्छेहरू बेला बेलामा बाक्लै देखापर्छन् । त्यही चौताराको एकाछेउमा दीपिया ज्वरोले ग्रस्त छोरो सन्तोषलाई सुम्सुम्याइरहेकी थिई । ऊ विरामी परेका यी दिनहरूमा छोरालाई छाडेर उसलाई कुनै काममा जाने जाँगर चलेको थिएन ।
दीपिया धेरै मानिसहरू बोलेको आवाज आफ्नो टोलभित्र कतैतिरबाट आइरहेको सुनी । उसलाई शंका त लाग्यो – यो हल्ला चुनावकै हुनुपर्छ । किनकि गाउँमा चुनावको ठूलो चर्चा परिचर्चा भइरहेको थियो ।
पूर्वतिरको गल्लीबाट एक हुल मानिसहरू आफू बसेकै ठाउँतिर आउँदै गरेको दीपियाले देखी । हुलमा एउटा सबैभन्दा मोटो र हृष्टपुष्ट मान्छे यताउता फर्किदै हात जोडेर हिडिरहेको थियो । धेरै मान्छेहरू उसको अघिपछि लागेका थिए । सेतो कुर्था र पाइजामा लगाएको त्यो मान्छे भीडमा अरू धेरै मान्छेहरूको बीचमा भिन्न देखिन्थ्यो । अरू अरू दिनमा पनि यसैगरी मान्छेहरू आइरहन्थे तर यो जमात अरू दिनको भन्दा ठूलो थियो । पछाडिपट्टि हाते माइकबाट गाउँकै युवक कराइरहेको थियो – हाम्रो घरदैलोमा, हाम्रै आँगनमा, हाम्रो आफनै उम्मेदवार सनकराम यादव तपाईं हाम्रो समस्या बुझ्न आउँदै हुनुहुन्छ । हामी भेटौं र आफनो समस्या सुनाऔं । उहाँको चुनाव चिन्ह हो – रूखमाथि चढेको मान्छे ।
दीपियालाई चौतारीमा बसेको देख्ने बित्तिकै अगाडि अगाडि हिडेको त्यो माटो जीउडालको मान्छे हात जोड्दै आयो । उसले हात जोडेको देखेर दीपियालाई केही अप्ठ्यारो पनि लाग्यो । भीडले एकैछिनमा सानो चौतारोलाई वरिपरिबाट घे¥यो ।
हँ कथी भेले ? कुनै चिन्तित मुद्रामा शनकरामले बच्चातर्फ आँखा घुमाउँदै दीपियालाई सोधेको थियो । त्यसबेला दीपियालाई कताकता सहारा पाएजस्तो लाग्यो । यसरी नम्र र मलिन पाराले उसको समस्या सुन्ने मानिस प्रायजसो आउँदैनथे गाउँमा । अझ यस्तो ठूलो मान्छेले यसरी भन्दा बढी नै ढाडस पाएको महसुस गरी उसले ।
बुखार आयल छै ! डर मिश्रित स्वरमा उसले जवाफ दिएकी थिई ।
अहो बर्बाद भैले ! दीपियाको जवाफ भुइँमा नझर्दै अत्यन्तै दुःख लागेको भाव प्रकट गर्दै शनकरामले जवाफ फर्काएको थियो ।
धेरै मान्छेहरूको जमातअगाडि बसेर दीपियाले अहिलेसम्म दोहोरो कुरा गरेकी थिइन । यत्रो भीडमा उसलाई मान्छेहरूसँग कुरा गर्न निकै नै अप्ठ्यारो लागिरह्यो । यसरी मान्छेहरूसँग कुरा गर्नुपर्दा आफ्नो जीऊ नै हप्प फुलेझैं लागेको थियो दीपियालाई । तर शनकरामको पछि हिड्ने फूलो पनि सँगसँगै देखेर दीपियालाई कताकता सजिलो भइरहेको थियो । फूलो दीपियाकी बालसखा पनि थिई ।
गरिबीले पिल्सिएको भए पनि दीपियाको शारीरिक सुन्दरता धेरै मानिसहरूलाई प्रभावित पार्ने खालको थियो । यही कारणले उसले जीवनमा धेरै हण्डर र ठक्कर खाएकी पनि थिई । शनकराम पनि उसको शरीरमा एकछिन टोलायो । फूलोले पनि यो कुरो बुझेकी थिई । त्यसैले शनकरामतिर फर्केर फूलोले एकपटक आँखा झिम्क्याई । शनकराम भित्रको पाखण्ड प्रवृत्तिसँग त्यहाँ फूलोमात्र राम्ररी परिचित थिई । उसलाई बुझेर उसका कामहरूलाई सहज बनाउँथी ऊ । शनकरामको भित्री स्वभाव बुझ्ने कुनै सम्भावना त्यहाँ वरिपरि कसैको पनि थिएन ।
फूलो यस्ता चुनावहरूमा खुबै सकृय हुन्थी । पञ्चायती चुनावमा वडाध्यक्ष पदमा जितेकी थिई उसले । दीपियाले मनमनै सोची – फूलोलाई भनेर योसँग सहयोग लिनुपर्ला । गाउँका मान्छेहरू फूलोलाई त्यति राम्ररी हेर्दैनन् । पहिले गाउँको विकासका लागि आएको पैसा उसले खाइ भन्ने चर्चा दीपियाले प्रशस्त सुनेकी थिई । अड्डा अदालतमा कुद्ने र सार्वजनिक कामहरू आदिमा ऊ जहाँ भए पनि अगाडि नै पुगेकी हुन्थी ।
यदि बकरा भोट देवी त निमन हे तो । भीडलाई उधिनेर अगाडि सर्दै फूलोले दीपियालाई भनेकी थिई त्यसबेला । दीपियाले पनि मनमनै सोचेकी थिई – मान्छे हेर्दा त असलजस्तो छ । यसले चुनाव जित्यो भने राम्रै सहयोग गर्ला ।
शनकराम यादव त्यहाँबाट हिँड्ने बेलामा हातले बिस्तारै बच्चालाई मुसा¥यो । भीड बिस्तारै अघि बढ्यो । भीडमा गाउँका अरू धेरै मान्छेहरू थपिए । फूलोले जोड जोडले चिच्याउँदै नारा लगाइरहेकी थिई । भीड विस्तारै दीपियाको आँखाबाट ओझेल प¥यो ।
चुनाव आयो । गाउँलाई कुनै चाडपर्व आएझैं महसुस भयो । चुनाव सकिएको दुई चार दिनपछि गाउँ फेरि खुशी भएर उठ्यो । गाउँका अगुवा भनाउँदाहरूले अबीर जात्रा गरे । त्यसबेला दीपियालाई पनि अबीर लगाएर नाच्न मन लागेको थियो । शनकरामले जितेको उपलक्ष्यमा फूलोले प्लास्टिकभरी अबिर बोकेर गाउँ घुमी र दीपियालाई पनि लगाइदिई । पहिले पहिलेको चुनावमा पनि दीपियाले भोट दिएका मान्छेहरूले नै जितेको कुरा सुनेकी थिई उसले । तर जितेको मानिसलाई प्रत्यक्ष रूपमा यसरी चिनेकी थिइन । शनकरामले चुनाव जितेपछि दीपियाले आफूलाई निकै शक्तिशाली महसुस गरी ।
करीब एक महिनापछि एकबिहानैको कुरा हो । फूलोले एक्कासी दीपियालाई काठमाडौं जाने प्रस्ताव राखी । दीपियाले त्यसबेला आफ्नो जीवनमा घामको झुल्को परेको महसुस गरी । खुशीले कतै उसलाई सपना पो हो कि जस्तो लाग्यो । अझ फूलोले उसलाई सुख सयलका फूलबुट्टे कथाहरू सुनाउँदा उसको अवचेतन मन स्वप्निल संसारमा रमाउन थालेको थियो । शुरूमा फूलोले सन्तोषलाई नलाँदा राम्रो हुने सल्लाह दिई । तर तत्कालै फूलोलाई उसले विस्तारै भनेकी थिई – म त उसैका लागि बाँचेकी छु, कसरी छाडेर जानसक्छु र ?
उसको भावनालाई फूलोले राम्ररी बुझी र विस्तारै सम्झाउँदै भनेकी थिई । के फरक पर्छ र केही समय गएर पैसा कमाएपछि सन्तोषलाई फेरि लान सकिहालिन्छ नि । फूलोले यसो भनिरहँदा उसको मन कटक्क काटिएको थियो ।
गरिबीले पिल्सिएको मन न हो । ज्याला मजदूरीले एक छाक खान नपुग्ने । सदा दिन अपमानको भारी बोक्नुपर्ने । ऊ यही अपमानको भारी बिसाउन र काम गरेर दुई छाक पेटभरी खान र ख्वाउन चाहन्थी । कता कता उसले छोरालाई नै सोचेर भोलिको सुखी दिनको कल्पना गर्न पुगेकी थिई । अब उसले निर्णय गरी, फूलोसँग काठमाडौं जाने, पैसा कमाउने र छोरालाई पछि साथै लाने । ऊ सन्तोषलाई छाडेर काठमाडौं जान राजी भई ।
त्यसको केही दिनपछि सन्तोषलाई गाउँका काकाको जिम्मा लगाएर दीपिया फूलोसँग काठमाडौं गएकी थिई ।
बिस्तारै सन्तोष त्यही गाउँको धुलोमा हुक्र्यो । त्यही गाउँको उब्रिएको भात खाएर बाँच्यो । फूलो फर्केर गाउँ आएपछि सबैले दीपियाका बारेमा ऊसँग सोधे । उसले दीपिया काठमाडौं पुगेर हराएको कुरा गरी । धेरै खोजेको र आफूहरूले नभेटेको कुरा गरी । पत्र पत्रिकाहरूले लेखे – मन्त्री शनकराम यादवले नेपाली महिलाहरूलाई विदेशमा लगेर बेच्छ । फूलोसँग साथ लागेर काठमाण्डू जानेहरू अरू पनि थुप्रै थुप्रै हराए । त्यसपछि ऊ पनि काठमाडौंतिरै बस्न थाली । शनकराम अरू क्षेत्रमा गएर चुनाव जित्न थाल्यो । दाइले देखाउनु भएको छाप्रो मेरो घर थियो । त्यो घर अहिले खाली छ ।
सन्तोषले आफ्नो जीवनको कथा भन्दाभन्दै हामी चुरेछेउको गाउँमा आइपुगेका थियौं । उजाड गाउँ चुनावको प्रचारले रंगिएको थियो । धुलो र माटोले धुस्रैफुस्रै देखिएका केटाकेहीहरू हामीहरूसँग पर्चा माग्न तँछाडमछाड गरिरहेका थिए । सन्तोषले जोडले माइकिङ गर्दै नारा लगायो – संसदीय चुनावको भ्रमजालमा नफसौं । हामी विस्तारै विस्तारै आफ्नो कार्यक्रम स्थलतर्फ अगाडि बढ्यौं ।
(नौलो कोशेली, पूर्णाङ्क – १८)
No comments:
Post a Comment