- मातृका पोखरेल
उद्वेलित आगोका लप्काहरूको
चेतना बोकेर
हामी बारम्बार
विद्रोहको एउटा जुलुस निकालिरहेका छौँ
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठुटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरू ।
एक भाँडो उज्यालो बोकेर
घरभित्र चियाउन पनि नपाइने
उसका लागि सधैँसधैँ
कोठाहरू अँध्यारै राख्नुपर्ने
इतिहासले छादेका फोहोरहरू
फाल्ने रहर बोकेका आँखाहरू
ओछ्याउन पनि नपाइने,
स्वाधीन माटोको बास्ना
खोज्ने नाकहरू
बोक्न पनि नपाइने
बाक्लो स्वेटरलाई छेड्ने सुँड बोकेर
हर्दम यतै घुमिरहन्छन्,
हाम्रा बस्तीहरूको शान्त छातीमा
आतङ्कको दुन्दुभी बजाइरहन्छन्,
दिल्लीका मच्छरहरू ।
मधेशको गर्मीमा मात्र होइन
हिउले ढाक्ने चिसा लेकहरूसम्म
वेग हानेर पुग्ने योजना कोर्छन उनीहरू,
सगरमाथाकै काखमा पुगेर
हाम्रो अभिमानलाई डस्न खोज्छन् उनीहरू,
स्वाभिमानको एक झप्को निद्रा
सुत्न पनि दिँदैनन्,
आत्मसम्मानको एक झल्को सपना
देख्न पनि दिँदैनन्
हामी लिपुलेकबाट
एकजोडा सेता परेवाहरू उडाउन खोज्छौँ
उनीहरू हाम्रा परेवाहरूका प्वाँखमा
विषालु सुँडहरूले चिल्छन्
हामी यतिबेला
आफैभित्र पनि प्रश्न कोरिरहेका छौँ
किन पालिरहेछन् मान्छेहरू ?
दिल्लीका मच्छरहरूको घार
हामी घृणाले निथ्रुक्क भिजेका छौँ
यो युग अझै
विवेकको युग होइन जस्तो,
यो युग अझै
स्वाभिमानको युग होइन जस्तो,
यो युग अझै
स्वतन्त्रताको युग होइन जस्तो,
यो युगलाई,
निर्धक्क÷निर्लज्ज हमला गरिरहेका छन्
दिल्लीका मच्छरहरू ।
गोरखापत्र दैनिक वर्ष–१०८, अङ्क–५४, २०६५ असार १४ गते शनिबार
=============================================
=============================================
No comments:
Post a Comment