मातृका पोखरेल
शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । आफू हिंड्ने बाटो हिजोभन्दा बढी उवड–खावड र कष्टकर देख्न थालेको छु । आफ्नै अनुभूतिसँग आफैंलाई कहिलेकाहीं डर लाग्छ । मभन्दा अघिल्लो पुस्तामा देखिएको निराशाले कतै मलाई छोप्दै गएको त हैन ? हिजोआज आफैंलाई यो प्रश्न सोध्छु ।
फेरि आफूले आफैंलाई उत्तर दिन्छु– ‘अरुको कारणले आफ्नो उद्देश्यलाई बराल्नु आफ्नै कमजोरी हो ।’
मनलाई बलियो बनाएर घरिघरि यसैगरी सोच्छु । नकारात्मक कुरालाई धूरीमा राखेर नसोचौंभन्दा पनि मलाई बेलाबेलामा यसले झम्टिरहन्छ ।
आज कमरेड पातालको हेराइ मप्रति पहिलेको भन्दा धेरै फरक थियो । हुन त, केही समयदेखि नै उनको हेराइ मप्रति अत्यन्तै अस्वाभाविक भएको मैले महशूस गर्न थालेको छु । मैले राखेका कार्ययोजना र तर्कहरुमा उनको नकारात्मक धारणाले ठाउँ पाउन थालेको थियो । हिजोआजका केही बैठक र भेटघाटहरुबाट म यो निश्कर्षमा पुगेको थिएँ ।
म विगतका केही घटनाहरुको जति साक्षी हुँदैआएको छु, मलाई भविष्यको बाटो झन्–झन् कमजोर र जीर्ण बन्दै गएको बोध भइरहेको छ ।
हुन त पोहोरको एउटा घटनाबाट पनि मैले उनी मसँग अलिक टाढिएको महशूस गरेको छु । त्यस दिन उनको निम्ताबिना नै म उनको घर थानकोट पुगेको थिएँ । घरमा पुगेर म सिधै उनको बैठक कोठामा गएँ । कमरेड पाताल म पुग्दा त्यहाँ थिएनन् । उनको बैठक कोठामा खाइलाग्दा मान्छेहरुको एउटा जमात बसिरहेको थियो । अरुतिर बस्ने ठाउँ नभएकोले अप्ठ्यारो मान्दै म पनि बैठकको एउटा कुनामा गएर थचक्क बसें ।
एकछिनपछि कमरेड शान्ता चिया लिएर टुप्लुक्क भित्र पसिन् । म अचम्मित भएको थिएँ, त्यसबेला । तडक–भडकपूर्ण जिन्दगीको विरोध गर्ने मान्छेलाई त्यो अवस्थामा देख्दा म एक प्रकारले छाँगाबाटै खसेको थिएँ । त्यस दिनको उनको ओठको लिपिष्टिक र अनुहारको लाली, पाउडर मैले कल्पनासम्म गर्न सकेको विषय थिएन । धेरै बैठक र भेलाहरुमा कमरेड शान्ताका ‘शादा जीवन र उच्च विचार’का धारणाहरुबाट म पटक–पटक प्रभावित भएको छु । त्यस दिन कमरेड शान्ता पनि मेरो उपस्थितिबाट अत्यन्त क्रोधित भएको मैले अनुमान गरेको थिएँ । मसँग त्यति राम्रो व्यवहार प्रस्तुत गर्ने मान्छे, त्यस दिन उनी मसँग बोल्दै बोलिनन् । उनले त्यस दिन लगाएका अनेकौं सुनका गहनाहरु देखेर म दङ्गदास भएको थिएँ । केही छिनपछि कमरेड पाताल त्यही बैठक कक्षमा पसेका थिए । मेरो उपस्थितिले उनी पनि चकित भए । मेरो उपस्थिति त्यहाँ ‘कवाफभित्रको हड्डी’ बनिरहेको कुरामा म प्रष्ट थिएँ ।
‘तपाईं सूचना नगरी किन आउनुभयो ?’ आँखा रातो पार्दै कमरेड पातालले मसँग भनेका थिए ।
हो, म अर्कै कामले त्यो क्षेत्रतिर पुगेको थिएँ । बाटोमा परेकाले मात्र म त्यहाँ पुगेको थिएँ ।
उनलाई मैले त्यही कुरा भनें ।
‘सूचना नगरी आएको मलाई राम्रौ लाग्दैन ।’ कमरेड पातालले फेरि आफ्नो आक्रोशपूर्ण निर्णय सुनाए र श्रीमतीसँग खुसुक्क कुरा गर्ने निहुँमा बाहिर निस्किए ।
उनीहरु बाहिर निस्किएको मौका छोपेर म पनि त्यहाँबाट कुलेलम ठोकेको थिएँ ।
त्यस दिन कमरेड पातालको घरबाट बाहिर निस्किएपछि मैले पार्टीको भविष्यमा एउटा अँध्यारो छायाँ देखेको थिएँ । पार्टीमा उनी चानचुने नेता थिएनन् । एक जना प्रभावकारी नेता ।
त्यसका धेरै दिनहरुसम्म मेरो मष्तिष्कमा जाँतो जस्तो एउटा चिज घुमिरह्यो । राति निद्रालाई समेत प्रभावित पारेको थियो त्यो घटनाले । त्यसपछि मलाई आफैं सामेल भएका जुलुसहरुसँग पनि आफैंलाई अविश्वास पैदा हुन थालेको थियो । आफ्नो यात्रा नै गहुङ्गोजस्तो लाग्न थालेको थियो ।
त्यसपछिका दिनहरुमा कमरेड पातालले मलाई हेर्ने आँखामा आतंकको बादल घुमिरहेको देख्न थालेको थिएँ ।
‘व्यक्तिगत सम्पत्तिका बारेमा चिन्ता लिने मान्छेले क्रान्तिकारी आन्दोलनलाई कसरी सहयोग पु¥याउन सक्छ ?’ भरखर आन्दोलनमा आएका सामान्य कार्यकर्ताहरुलाई यसो भन्दै उनी क्रान्तिकारी शब्दहरूका साथ झम्टिने गर्थे ।
तर पोहोरको त्यस घटनापछि भने म उपस्थित भएका छलफलहरुमा पहिले–पहिले गर्ने ठूल्ठूला क्रान्तिकारी कुराहरुमा उनी सचेत देखिनथाले । अलि हच्किन थाले ।
कमरेड पातालको तर्कशैलीले उत्साहित र ऊर्जाशील मान्छेहरुलाई धेरै प्रेरणा पनि दिन्थ्यो तर केही सामान्य मानिसहरु भने कडा कुरा सुनेर आन्दोलनको मैदान छाडेर भाग्थे । उनको आक्रामक र ओजिलो शैलीको प्रभावमा परेर धेरै कमरेडहरुले आफ्नो छोराको नामसमेत ‘पाताल’ राख्न थालेका थिए ।
आन्दोलनमा उनको नियमित लगावले परारैको त्यो घटनालाई मैले विस्तारै–विस्तारै बिर्सिदै जानथालेको थिएँ ।
अकस्मात अस्तिको घटनाले म फेरि एक पटक नराम्ररी झस्किएँ ।
त्यस दिन हामी केही साथीहरु सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आयोजित ‘नेपालबन्द’को कार्यक्रम सफल पार्न मशाल जुलूसको तयारीका लागि मशाल बनाउन इन्द्रचोकको एउटा पुरानो घरमा जम्मा भएका थियौं । जुलूस कार्यक्रमको लागि मानिसहरु जुटाउने, रुट तय गर्नेदेखि लिएर सम्पूर्ण कार्य त्यही बैठकबाट गर्नेसमेत तय भएको थियो । त्यो निर्णयको जानकारीसमेत हामीलाई कमरेड पातालले नै गराएका थिए । त्यो कार्यक्रमको नेतृत्व पनि कमरेड पातालले नै गरेका थिए । बिहानै बोलाइएको भए पनि धेरै साथीहरु ढिलो आइपुगेका थिए कार्यस्थलमा । त्यसै गरेर कमरेड पाताल पनि त्यहाँ ढीलै गरेर आइपुगे ।
‘पार्टीको काममा धेरै व्यस्त रहियो, राति सुत्न पनि पाइएको छैन ।’ आउनेबित्तिकै कमरेड पातालले आफू अत्यन्तै थकित भएको कुरा बताए ।
उनी जहिले र जहाँ भेट्दा पनि आफूलाई पार्टी कामको ज्यादै बोझ भएको र अत्यन्तै व्यस्त रहने कुरा बताउने गर्थे । तर अब उनको कुराप्रति म शंकालु बन्न थालेको थिएँ, त्यस कुराको संकेत उनले पनि पाइसकेको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो । त्यसै कारणले पनि मेरा अधिल्तिर उनी अत्यन्तै सचेत भएर कुरा गर्ने कोशीस गर्थे । म नभएको मौका छोपेर भने उनी उग्र–क्रान्तिकारी गफ लगाउन पछि पर्दैनथे भन्ने कुरा मैले बाहिरका ढोका र चोटाहरुबाट धेरै पटक सुनेको थिएँ ।
पहिले–पहिलेझैं त्यस दिन पनि उनले उपस्थित भएका सबै साथीहरुसमक्ष आफूलाई त्यसैगरी प्रस्तुत गरे ।
कमरेड पातालको क्रान्तिकारी लगावसँग सदाझैं फेरि पनि साथीहरु द्रवीभूत भए । मसँगका पुराना घटनाहरु बिर्सिएझैं गरेर त्यस दिन उनले मेरै अघिल्तिर फेरि आफ्नै शैलीमा कुरा शुरु गरे ।
“नेपालको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रुपान्तरण नै भएन !” कमरेड पाताल बोल्दाबोल्दै गम्भीर भए ।
“अघिल्लो पुस्ताका नेताहरुको व्यवहार र कुरामा कतै सामान्यजस्यता र तालमेल मिलेन ।” कमरेड पातालले चिन्तित मुद्रामा फेरि थपे ।
म यतिबेला उनीसँगको त्यो अतीततिर फर्किरहेको थिएँ । उनको कुराले मभित्र अर्को चिन्ता थपिरहेको थियो ।
हामी सबै काममा जुटिसकेका थियौं र कमरेड पाताल पनि कार्यक्रममा सहभागिता गराउन कार्यकर्ताहरुलाई टेलिफोनबाट निर्देशन दिइरहेका थिए । दिउसोको बाह्र बजिसकेको थियो । बिहानै आउनु परेका कारण हामीले केही खाएका थिएनौं । हामी सबैलाई भोक लाग्न थालेको थियो । हामीले कमरेड पाताललाई पनि यो कुरा भन्यौं ।
“क्रान्तिका लागि भोक सामान्य कुरा हो !” कमरेड पातालले फेरि सहज जवाफ फाले ।
“क्रान्तिका लागि दिनु परे त ठीकै हो । तर अहिले नै बलिदान दिनुपर्ने आवश्यकता छैन ।” कमरेड विशाखाले प्रत्युत्तर थपिन् ।
“तपाईंले सर्वहारा संस्कृतिलाई आत्मसात गर्ने प्रयत्न गरिरहनु भएको छैन ।” कमरेड पातालले उही बनिबनाऊ तर्कको फेरि झटारो हाने ।
“म ग्याष्ट्रिकको विरामी हुँ ! मैले केही नखाई हुँदैन ।” ट्रेड युनियनमा काम गर्ने मजदूर साथी कमरेड जसबहादुरले आफ्नो बाध्यता राखे ।
“भोको बस्न सकिँदैन भने क्रान्तिका लागि केही पनि गर्न सकिँदैन ।” कमरेड पातालले आफ्नो कुरालाई जाँतोझैं फेरि घुमाए ।
“खै ! नेपालको कम्युनिष्ट आन्दोलन !” कमरेड पातालले फेरि निराश बनेझैं गरेर आफ्नो मुखाकृति बिगारे ।
“मैले कमरेड हिमालबाट पातालमार्फत् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ ।” कमरेड विशाखाले मेरो कानमा आएर खुसुक्क भनिन् ।
तर उता कमरेड पाताल आफूसँग पैसा नभएको र आफैं पनि भोकै रहेको कुरा बताइरहेका थिए ।
म कमरेड पातालसँगका सम्बन्धलाई लिएर केही समयदेखि सतर्क रहँदै आएको छु । तसर्थ पनि उनको बारेमा कुनै टिप्पणी भइहालेमा सचेत भएर प्रत्युत्तर दिन्छु । अझ, कसैले मेरो अघिल्तिर उनको प्रंशसा ग¥यो भने म धेरैबेरसम्म पीडाले छट्पटिन्छु ।
“म एकछिन बाहिर पुगेर आइहाल्छु ।” कमरेड पाताल यसोभन्दै बाहिरिए ।
“भोकले पेटै दुख्नथाल्यो ।” कत्लेटी परेका ओठहरुबाट कमरेड सौरभ अलिकति हाँसे ।
क. सौरभतिर फर्किएर हामी सबै एकपटक हाँस्यौं ।
“मसँग तीन रुपियाँ छ । अरुसँग जति छ, सबै निकालौं र पाउरोटी किनेर ल्याऊँ । क. सौरभले सबैतिर हेरेर मलिनो स्वरमा एउटा प्रस्ताव फ्याँके ।
कसैले गोजी छाम्न थाले । कसैले फोन डायरीका पाना पल्टाएर पैसा खोजे । केही कमरेडहरुसँग पैसा थिएन । सबैबाट जोडजोड गर्दा तीस रुपियाँ जम्मा भयो ।
‘पाउरोटी किनेर ल्याऊँ, मैले फेरि प्रस्तावलाई अघि बढाएँ ।
“सबैभन्दा सस्तो र राम्रो त्यही हुन्छ ।” कमरेड सौरभको भोक ब्यग्र भएर बोल्यो ।
“तपाईं र म किनेर आऊँ । अरु साथीहरु काम गर्दै गर्नुहुन्छ ।” कमरेड जसबहादुरले मलाई संकेत गरेर जुरुक्क उठे ।
हामी दुईजना इन्द्रचोकको बहाल हुँदै पश्चिमतिरको गल्ली छि¥यांै । हामी पाउरोटी पाइने पसलको खोजिमा थियौं । गल्लीतिर सोझिनेबित्तिकै छेउमा एउटा रेष्टुरेन्ट थियो । रेष्टुरेन्टको अघिल्लो भागमा आकर्षक र पारदर्शी सिसा लगाइएको थियो; जसबाट रेष्टुरेन्टभित्रको दृश्यलाई राम्ररी देख्न सकिन्थ्यो । रेष्टुरेन्टलाई नाघेर केही पाइलामात्र अघि बढेपछि क. जसबहादुरले मेरो कुमनेरको सर्टको भागलाई ताने । म एकाएक अचम्मित भएँ ।
“यता पछाडि फर्किनुस् त !” कमरेड जसबहादुरले दबेको स्वरमा मेरो कानमा आएर फुसफुसाए ।
“किन ? के भयो ?” म पनि उनको कुरा बुझ्न हतारिएँ ।
कमरेड जसबहादुरले मलाई विस्तारै दुई कदम पछि ताने र चोर आंैलाले पारदर्शी सिसाबाट रेष्टुरेन्टभित्र देखाए । उनले औंला देखाएको ठाउँमा कमरेड पाताल काँटा र चम्चाले पिजा टुक्राउँदै खाइरहेका थिए । उनको अघि कोकाकोलाको बोतल पनि थियो । कमरेड जसबहादुरलाई अघिल्तिर तान्न खोजें । उनी कमरेड पाताललाई अझै हेर्ने कोशिस गर्दैथिए । मैले रेष्टुरेन्टको पारदर्शी सिसाबाट भित्रतिर फेरि हेरें । अनायास कमरेड पातालका आँखाहरुसँग हाम्रा आँखाहरु जुधे । त्यसपछि कमरेड पातालले पिजा राखिएको प्लेटलाई आफ्नो शरीरले एक पटक छेक्न खोजे । तर त्यो छेकिएन । उनी त्यसपछि अर्कैतिर फर्किए ।
“यस्ता फटाहाहरुलाई पनि नेता मानेर हिंड्नुपर्ने ?!” कमरेड जसबहादुरले तुरुन्तै प्रतिक्रिया दिए ।
“हेर न, उही कस्ता–कस्ता सांस्कृतिक कुराहरु गर्छ !” मैले पनि अलिकति प्रतिक्रिया नदिई बस्न सकिँन ।
कमरेड जसबहादुर पनि केहीबेर निरासजस्तै देखिए । पाउरोटी किनेर साथीहरु भएको ठाउँमा नपुगुन्जेल उनी पनि चुप रहे । म पनि चुप रहें ।
“त्यो फटाहाको हामी सबैले भण्डाफोर गर्न सक्नुपर्छ ।” कमरेड जसबहादुरले आक्रोशित भएर सबै साथीहरुसँग आफ्नो धारणा राखे ।
“यस्तो नेतृत्व भएपछि कसरी समाज र देशको परिवर्तन होला ?” बहसमा कमैमात्र उत्रने स्वभाव भएका कमरेड जसबहादुरले कम्युनिष्ट आन्दोलनभित्रको अवसरवादका बारेमा सैद्धान्तिक छलफल गर्न खोजे ।
“नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरुको सांस्कृतिक पक्षलाई मूल्यांकनको विषय बनाएन । केवल सक्रियता र वाक्टुताको भरमा मानिसहरु नेतृत्व तहमा पुग्नथाले ।” कमरेड सौरभले पनि आफ्नो तर्क अघि सारे ।
कमरेड पातालका बारेमा सबै साथीहरु केही समय चिन्तित भएर बहसमा उत्रिए । त्यस दिन कमरेड पाताल हामी भएको ठाउँमा फर्किएनन् ।
चिसो हुस्सूले काठमाडौंलाई पुरै छोपेको छ । मलाई लाग्छ– म काठमाडौंमा आएपछि यति धेरै जाडोको महशूस कहिले पनि गरेको थिइनँ । आज बिहान एउटा मिटिङ्ग थियो । मिटिङको समय भने हुन लागिसक्यो । म सिरकभित्रै छु । आजको मिटिङमा पनि केन्द्रबाट कमरेड पाताल नै इन्चार्ज बनेर आउँदैछन् ।
म विस्तारै ओछ्यानबाट उठें । यति साह्रो अल्छी योभन्दा पहिले कहिल्यै पनि लागेको थिएन ।
०
नवयुवा, वर्ष ११, पूर्णाङ्क ११३, २०६३ फागुन
No comments:
Post a Comment