Saturday, February 29, 2020

कविता : कलिला जूनहरूको श्रद्धाञ्जलीमा

- मातृका पोखरेल

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू
असाध्ये दिन मन थियो
तर यसरी सोचेँ
उनीहरू ढल्नु
सगरमाथा ढल्नु हो
मेरो आस्था ढल्नु हो
त्यस वर्ष,
छातीभरि पालेका फूलहरू
कलिला जूनहरूको श्रद्धाञ्जलीमा चढाएँ ।

पोहोर साल
बगैंचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा जातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुङ्गा फक्रेका फूलहरू
चुल्ठोमा लाउन
मैले त्यस वर्ष पनि
एक थुङ्गा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरूभूमिझैं रित्तियो ।

यसपटक
एकै छिमल हुर्केका
सबै साथीहरू
उज्यालो खेप्नका लागि
लामो यात्रा रोजेछन्
म सोचिरहेको छु
उनीहरूको आस्था स्खलित हुनु
सभ्यता भत्कनु हो

अब कसरी पुग्छ ?
यति थोरै जग्गामा रोपेका फूलहरूले
कलिला जूनहरूका लागि
आगामी वर्षको श्रद्धाञ्जली चढाउन ?

फेरि फूलहरू रोप्नु थियो
भोली चढाउने श्रद्धाञ्जलीका लागि ।


o
समष्टि, वर्ष २३, अंक ६, २०६० जेठ-असार

----------------------------------------------------------

No comments: