- मातृका पोखरेल
आफन्तहरू पीडा हाँसिरहेछन्,
पुस माघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौ,
सिरक ओढेर छेपाराहरू
सपना बाँडिरहेछन्,
पहिले शान्तिको कुरा गर्छन्
र नभए क्रान्तिका कुरा गर्छन्,
अर्कोतिर आफ्नै आँखा अगाडि
गान्धीको लौरो टेकेर हिटलरहरू
गोप्य बैठक बसिरहेछन्,
हिजो गाउँमा मात्र गनाउने बारूद
शहरमै पस्न थालेको छ,
अब मानिस हराएको खबर आउनु
कुनै अनौठो घटना रहेन
मानिस मारिएको खबर आउनु
कुनै नौलो समाचार रहेन,
मीठो सपना बोकेका
त्रसित अनुहारहरूको
एउटा कोलोनीमा बसेको छु
कोठाभरि प्रश्नको अँध्यारोले छोप्छ
म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनै पर्दैन ।
नजिकै जंगलहरू छन्
वसन्तको सुरूआतमै
त्यहाँबाट लासहरूको गन्ध आउँछ,
जंगलबाट गोलीको आवाज आएपछि
हराएका आफन्तहरूको सम्झनामा शोक मनाउँछौं
हामी देखिरहेका छौं
आफन्तका अस्मिताहरू लुटिएका छन्,
चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन्,
यो समयमा
म यस कोलोनीबाट
तिम्रा निम्ति
नारा बाहेक के लेख्न सक्छु ?
के सुनाउन सक्छु ?
सुन्दरताका नाममा
सत्ताको स्वार्थ रोप्ने कविताभित्र
मानिसलार्इ सडक बनाएर
निर्घात अरूले कुल्चँदा
अलिकति पनि दुख्दैन भने
म उसका आँखामा
नारा लेख्न मन पराउँछु ।
रेडियोले बोलेको कुरा
कटारी हुँदै सोलुसम्म
नून खेप्ने भरिया दाइ
फिस्स हाँसेर उडाउँछन्,
अब कसलाई थाहा छैन
अखबार पढ्नु र
एकनास बगरमा टोलाउनु
कुनै अन्तर छैन,
टेलिभिजनले नाटक देखाइरहेछ कि समाचार
बुझ्न समय लाग्दैन,
जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ,
तर पनि सपना कोर्न छाड्नुको कुनै अर्थ छैन,
आन्दोलनको डरले
शववाहनमा सुतेर
सिंहदरबारभित्र पस्ने शासकले
आफ्नो उज्वल भविष्यको पक्षमा
विज्ञापन गरिरहेको बेला,
हाम्रो प्रिय जंगलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने यो जना बनाइरहेछौं,
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।
o
नादविन्दु, वर्ष ५, पूर्णाङ्क ५, २०६० असोज
No comments:
Post a Comment