Saturday, February 29, 2020

कविता : उसले पनि हाम्रैजस्तो कुरा गर्छ

- मातृका पोखरेल

हिजो उसले बोकेको रातो किताबले
बस्तीहरू ब्यूँझिएर उठे,
उसले बोकेको रातो झण्डाले
बस्तीहरू जोशिएर उठे,
हो, हिजो उसको योजना
कति सुन्दर थियो
सुन्दर रक्तिमलाई छुन
जब उसले
बाटो तय गरेको नक्सा कोर्थ्यो
साँच्चै सुखद थियो भविष्य
उसको योजनाले
मानिसहरू अघि बढे
बस्तीले मोर्चा कस्यो
चुरे, महाभारत र सगरमाथाले झुकेर सलाम गरे ।

आज ऊ त्यस्तो छैन
फरक–फरक कुराहरू गर्छ
कसलाई के भन्दा हुन्छ
ऊ त्यस्तै–त्यस्तै कुराहरू गर्छ
कहिले मीठा कुराहरू गर्छ
कहिले नमीठा कुरा पनि गर्छ
बस्तीलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र त्यहाँ बुझिने–बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने–नबुझिने कुराहरू गर्छ ।
रातो किताब बोकेर कहिले ऊ
कालो ओडारको पक्षमा बोल्छ
कालो ओडारसँग कुरा नमिले
कहिले क्रान्तिका कुरा पनि गर्छ
कहिले विद्रोहकै भाषा बोल्छ
कहिले हाम्रैजस्तो कुरा गर्छ
कालो ओडारभित्र
लेन–देनमा तलमाथि परे
जंगल पस्ने कुरा गर्छ
कहिलेकाहीं बस्तीलार्इ
असल कुरा गरेको हो कि भन्ने
राम्रै खालको भ्रम पार्छ
जे–जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झण्डा ओढेरै गर्छ ।

अचेल ऊ
रातो किताब बोकेरै
मान्छे किन्ने कुरा गर्छ
हाम्रो साझा सम्पत्ति
अर्कैलार्इ दिने कुरा गर्छ
अचेलभरि ऊ
बस्ती–बस्तीहरूमा
रातो किताबको पानाका प्रत्येक चेपभित्र
लालपूर्जा बोकेर हिँड्छ
रक्तिम क्षितिजलाई छुने
सुन्दर योजनाको नक्सा बेचेर
घरको तला थप्छ
रातो किताबमा कदापि त्यस्तो थिएन
साह्रै अन्यथा भयो
बस्ती भ्रमले सुस्ताएको छ
म क्रोधले थकित छु
म उसको भूमिकाले
नयाँ–नयाँ अनिष्टताहरू सोचिरहेछु
ऊ मेरो हिजोको सहयात्री
मेरो प्यारो मित्र
उसले रातो किताब बोकेकै भए पनि
रातो झण्डा ओढेकै भए पनि
ऊ फरक मान्छे हुँदै गयो
ऊ बेग्लै जातमा फेरिँदै गयो
अचेल मैले उसैका विरूद्धमा
नयाँ–नयाँ मान्छेहरूसँग
नयाँ मोर्चा कस्नुपर्ने भयो
नयाँ योजना कोर्नुपर्ने भयो ।


0
साहित्यसन्ध्या, वर्ष १, अंक ३, २०५७ माघ

No comments: