Saturday, February 29, 2020

कविता : दुख्ने मनहरूसँग

- मातृका पोखरेल

मन ठाउँ–ठाउँमा दुख्छ
घुम्ती–घुम्तीमा दुख्छ
कुनै चाडपर्वको बेला
गरिबको आँगनमा दुख्छ
कहिले अभावको अँगेनामा दुख्छ
बहिनीहरूको घाँघरमा पनि दुख्छ
भाइहरूको कमेजमा पनि दुख्छ
के गर्ने यो मन यस्तै छ
प्रत्येक पाइला–पाइलामा दुख्छ ।

कहिले जागिर खोजेर लखतरान भएको
भोलिको एउटा कर्णधारले
प्रत्येक छाकको गाँस काटेर किनेको
‘गोरखापत्र’ र ‘कान्तिपुर’का पानाको
‘आवश्यकता’का विज्ञापनहरू कटिङ गर्दै
सुरक्षित फायल गरेर
मलिन हाँसो हाँस्दा
सत्य होला, नढाँटी भनेको
यो मन त हुरूक्कै हुने गरी दुख्छ ।

दुख्ने कुराको वयान
वर्तमानमा जति गरे पनि हुन्छ
दुख्न त कति हो कति
धेरै–धेरै दुखेको बेलाको कुरा गरौं
त्यस्तै त्यस्तै एकदिन
आफ्नो छोरीको विवाह गर्न
आँखनमा बसेर दाइजोको हिसाब गर्दै
रून्चे अनुहार लगाउने
छोरीको बाबुको अनुहार देख्दा
यो मन दुख्नसम्म दुख्यो
निन्द्रै नलाग्ने गरी दुख्यो
यो मन साह्रै–साह्रै दुख्यो ।

यसै यसै गरी
परार साल मन
टनकपुर भएर दुख्यो
त्यो वर्ष मन कालीतिरै दुखिरह्यो
अर्को वर्ष मेचीमा दुख्यो
र मन हिल्याएको खेत
रोपाइँ नगरी फर्क्यो
र, त्यो दुखाइ नसुस्ताउँदै
अस्ति मन फेरि लक्ष्मणपुर बनेर दुख्यो ।

अचेलभरि मन,
अन्धकारबाट मुक्ति खोज्ने
खारातिरका कोपिलाहरूलार्इ
निस्तब्ध रातमा हत्या गरेर
सामूहिक चिहान बनाएको खबरले
हुरूक्कै हुने गरी दुख्छ
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ
कहिलेकाहीं यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ ।

मलाई त दुख्यो दुख्यो
यी सबै सबै देखेर पनि
दुख्दै नदुख्ने मन देखेर
साँच्चै यो मन साह्रै साहै दुख्छ
अचेलभरि नदुख्ने मनहरूसँग
साइनो तोडौंतोडौं जस्तो लाग्छ
मेरो मन त साह्रै साह्रै दुख्छ
तिमीलाई मेरै जसरी दुख्छ कि दुख्दैन ?
दुख्छ भने आऊ
हामी एउटा राम्रो सल्लाह गरौं
एउटा राम्रो काम गरौं ।


o
झिसमिसे, वर्ष २३, पूर्णाङ्क ३६, वैशाख/जेठ/असार, २०५८

No comments: