Sunday, September 17, 2017

साझा प्रकाशन कि फासिस्ट सेन्सर बोर्ड ? - पुण्य खरेल

‘गरिमा’ फागुन अङ्क (२०६७) मा प्रकाशित यस पङ्क्तिकारको लेखको शीर्षकमा आँखा पर्नासाथ अचम्म लाग्यो । त्यहाँ शीर्षक परिवर्तन र सङ्गतिगत त्रुटिसमेत थपिएको थियो । ‘कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरु : ‘अनुहारहरु’ को सेरोफेरोमा’ भनी नामकरण गरिएको उक्त लेखको शीर्षक ‘अनुहारहरुको सेरोफेरोमा मातृका पोखरेलको काव्यप्रवृत्ति’ भन्ने नयाँ नाममा रुपान्तरण भएछ । दुई बाउबाट अलगअलग स्थानमा दुईपटक न्वारन गर्ने सुअवसर प्राप्त यस नयाँ नामधारी शीर्षकले सतही रुपमा उत्रो ठूलो विरोधाभासको सङ्के नगरे पनि एकातिर सोझोसिधा र स्पष्ट अर्थ लाग्ने शीर्षकलाई अनेकार्थी बनाएर अस्पष्टतामा पुर्‍याएको छ भने अर्कोतर्फ सङ्गतिगत, त्रुटिसमेत थपिदिएर मानक लेख्दा नेपाली भाषासमेतलाई होच्याएको छ । मातृका पोखरेलका अन्य साहित्यिक व्यक्तित्वको होइन मात्र ‘कवि व्यक्तित्व’को यहाँ चर्चा गरिएको छ र त्यसको आधारग्रन्थ ‘अनुहारहरु’ कवितासङ्ग्ह हो भन्ने सहज बोधगम्य शीर्षकको भावनामा प्रारम्भमै खुँडा प्रहार गरियो भने नामिक पदमा कारकको योग हुँदा त्यसलेत ीर्थक रुप लिन्छ र ‘मातृका पोखरेलको’ नभएर ‘मातृका पोखरेलका’ हुन पुग्छ भन्ने सामान्य व्याकरणिक नियमको समेत धज्जी उडाएर नेपाली भाषाकै अपमान गर्‍यो । जुन लेखको शीर्षक नै उभिन्डो परेको छ भने भित्रका अन्य कुराको के हाल होला भनी चासो पर्नु स्वाभाविकै थियो, मूल लेखनीसँग भिडाएर हेर्नुपर्ने बाध्यता भयो । परपीडक कसाईका हातबाटएकै खेपमा नछिनाएर घोच्दै, रेट्दै, काट्दै, घोच्दै, ताछ्दै गरेर पनि प्राण गइनसकेको प्राणीको जुन हालत हुन्छ सोही अवस्थामा पुर्‍याइएको आफ्ना रचना देखेपछि कुन स्रष्टा संवेदनशील र आक्रोशित हुँदैन र ? आफ्ना भावनाको, आफ्ना सौन्दर्यको बलात् अपहरणलाई टुलुटुलु हेरिरहनु कुनै पनि स्वाभिमानी लेखकको धर्मले दिँदैन र यस्ता कसाईकर्मका विरुद्धमा प्रतिकार गर्दछ । यसो गर्नु उसको अधिकार त हो नै साथै आफ्ना सृजनामाथि पराईले गरेको पशुवत व्यवहारको विरुद्धमा न्याय गर्नु पनि हो ।
टुप्पीदेखि पैतालासम्म निर्ममतापूर्वक छास्ने र आफ्ना अनुकूल पारेर छाप्ने ‘साझा प्रकाशनको यस निन्दायोग्य कार्यप्रति चरम घृणा र वितृष्णाबोध त भयो नै सँगसँगै त्यो कहालीलाग्दो अतीतसमेतको स्मरण भयो । कथित् निर्विकल्प, कालो पञ्चायती शासन, आफ्ना सहस्र मानवरक्त पिपासु, दारानङ्ग्रा फैलाएर मुलुक माथ्र्यो र यसका चाकरहरु स्वाभिमानी लेखकहरुलाई धुस्नो काढ्न अहोरात्र उठकबैठक गर्थे । निरङ्कुश शासकहरु आफ्ना प्रशस्ति, स्तुति, चाकरी र भजनमा आकण्ठ डुबेका कुत्थके, भजने र गाइनेहरुलाई काखमा राखेर दूधभात खुवाउँथे र ठूलो डङ्का पिट्दै तिनका भजनहरु छापिएर मुलुकमा बाँडिन्थ्यो भने थोरै मात्र स्वाभिमान र फरक विचार प्रकट भएका रचनाहरुको शिरपाउ गिँडी विकलाङ्ग बनाएर या त छाप्ने हुकुम दिन्थे या त त्यसका स्रष्टाहरुलाई नै खोरमा जाक्थे, बेपत्ता पार्थे, मार्थे । त्यति नै मात्र प्रकाशन गर्ने प्रमाङ्गी मिल्दथ्यो जति यी जनमारा शासकका नजरमा उचित जँच्दथ्यो । अन्यथा त्यस्ता रचनाहरु उज्यालो पर्खेर युगौँसम्म अँध्यारामा सड्नुपथ्र्यो । ठीक यही कुरा र समयको स्मरण भएको छ यस पङ्क्तिकारलाई अहिले ।
जनबलको पटकपटकको धक्काबाट निरङ्कुश शासकहरु पाखा लागे । हिजोका दमदार तानाशाहहरु आज दाह्रानङ्ग्रा खुस्केका बूढा बाघ बनेर तिरिन टिप्दैछन् । मुलुकले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकै पनि न्यानो घाम आङ सेकाउने अवसर पाएको छ । मुलुकले राजनीतिक हिसाबले यत्रो फड्को मारिसक्दा पनि साझा प्रकाशनको डबलीमा ‘तानाशाही शासकहरुको फासीवादी सेन्सर बोर्डकै नवीन् संस्करणको आभाष पाइनुले मुलुकको यत्रो ठूलो परिवर्तनकै उपहार गरिरहेको यस पङ्क्तिकारलाई अनुभव भएको छ । हिजोका निरङ्कुश शासकहरु ‘आफू’ र ‘आफ्ना’ विरुद्धमा उभिने जसकसैलाई सिध्याउँथे भने अहिले साझाका मठाधीसहरु जनताकै पक्षमा समर्पित स्वाभिमानी लेखकका सृजनामाथि कलम चलाउने लेखकहरुका स्वाभिमानमाथि मुङ्रा बजार्दै छन्, विकलाङ्ग बनाइरहेका छन्- तिनका सृजनाहरुलाई । के एउटा लेखकले हिजो र आजको देशको परिवेशमा अनुभूत गर्न सकेको सत्य एउटै हो भने योभन्दा भयानक विडम्बना र विसङ्गति अरु केही होला ?
यी सर्वाधिकार र अग्राधिकार सम्पन्न साझापति साहेब हजुरहरुलाई मोफसले अकिञ्चन लेखकका रचनाहरु छाप्नै पर्ने बाध्यकारी अवस्था सपना पनि पर्दो होला र ? भनेर सोच्नुसम्म पनि धृष्टता ठहरिन्छ र यस्ता लेखरचना नछापेकै नातामा यी ख्वामित्हरुको भुत्लासम्म हल्लिने कुरा कुनै लालबुझक्कडले सोचिहालेछ भने पनि ठोकुवा गर्न सकिन्छ, उसको दिमागी हालत सन्तुलित छैन । मन बहलाउनकै लागि असीम कृपाबाट घुर्‍यानसम्म टेक्न पाएकोमा आजन्म कृत्यकृत्य बन्नुपर्छ यी कुजातले भन्ने सामन्ती दम्भ बोकेर एउटा लेखकको आत्मसम्मानमाथि जथाभावी खुँडाखुकुरी प्रहार गर्ने यी घोषित पण्डितहरुले सनातनी हिसाबले पढेको अझ रटेको आत्मज्ञान के हो भने- लेखक केही कहिल्यै थिएन र केही होइन पनि । उसका लेखरचनालाई पचासौँ पल्ट गोबरपानीमा चोबल्दै सिस्नो लाउँदै ताताघाममा सुकाउनु उसले पाएको अविच्छिन्न उत्तराधिकार हो । किनभने प्राविधिक कारणले मात्र नरचोला धारण गरेको ऊ साक्षात् शिवशंकर हो । तसर्थ सबका सबले उसको लिङ्गदेखि श्रृङ्गसम्म सप्रेम सभक्ति दण्डवत प्रणाम पुर्‍याउनुपर्छ ।
यसो होइन भने यी पशुजगत्का पतिहरुले के बुझ्नुपर्छ भने लेखक ऊ भैँ पशुजमातको सदस्य होइन, ऊ त चेतनायुक्त मानव हो । ऊ आफ्ना सन्तानवत् आफ्ना सृजनालाई प्रेमले अँगाल्छ । वर्णअक्षरदेखि समग्र कथनसम्म उसका अटुट स्नेह र स्याहारचाकरले प्रस्टिएका हुन्छन् । ती भत्किँदा, बिथोलिँदा उसको अन्तर्मनमा भुइँचालो जान्छ । त्यसैले लेखकको सहमतिबेगर गरिएका यस्ता अहङ्कारजन्य कार्यले लेखकको आत्मसम्मानमा गम्भीर चोट लाग्छ । र लेखक चुनौती दिन्छ- फासिस्ट सेन्सर बोर्डका यी विवेकहीन तानाशाहहरुलाई लेखकीय स्वतन्त्रता र आत्मसम्मानमा सैसैला खेल्ने आँट कहाँबाट प्राप्त भयो ?
साझा प्रकाशनको सेन्सर डबलीमा भएका धेरै अनुहारहरु जो स्वयम् पनि निरङ्कुश शासकबाट प्रताडित थिए र प्रजातन्त्र प्राप्तिको लडाइँमा लेखकीय स्वतन्त्रता र स्वको लडाइँमा अग्रपङ्क्तिमा रही मोर्चा सम्हालेका थिए । के यी महाशयहरुसमेतले साँझ नपर्दै बिर्सिसके कि लेखक आत्मसम्मान चाहन्छ, ऊ स्वतन्त्रता चाहन्छ, एक्काको घोडा बनेर ऊ चाबुक बर्साउँदैमा लुरुलुरु हिँड्दैन । ऊ आफ्ना सृजनालाई आफ्नोभन्दा बढ्ता माया गर्छ र तिनमाथि भएको यस्तो कुरुप हस्तक्षेप ऊ कहिल्यै स्वीकार्दैन । एउटा स्वाभिमानी लेखक कसैको कस्तै करकापमा परेर पनि उसको इच्छा र चाहबमोजिम लेख्दैन । ऊ आफ्नो लेखकीय स्वतन्त्रतामा कसैले औँला ठड्याएको न त सहन गर्छ न त सम्झौता नै गर्छ । के यी अग्रज लेखक महाशयहरुमा साझ प्रकाशनको दलान उक्लनसाथ जादुमय रुपमा आफ्ना पूर्व विचार र व्यवहारप्रति भयानक विस्मरण भएको हो ? होइन भने कुनै पनि लेखकका रचनालाई लहडी तवरले गुडुल्याउने, काट्ने, ताछ्नेजस्ता कसाईवृत्तिबाट निवृत्त हुनुपर्छ र लेखकसँग सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्छ ।
फासिस्ट सेन्सर बोर्डका स्वनामधन्य महारथीहरु ! जनपक्षीय अझ पनि रहलपहल बाँकी छ भने आफ्नो यस्तो नाटकीय प्रायश्चितस्वरुप यस लेखलाई गरिमामा नै छपाउन सक्नु पङ्क्तिकारको चाहना हो- साझा प्रकाशन, साझा साहित्यकारको वधशाला नबनोस् अनि गरिमा बनोस् गरिमामय । शुभकामना ।

विर्तामोड

No comments: