Saturday, February 29, 2020

कविता : क्रम-भङ्ग

- मातृका पोखरेल 

काले कामीलाई
रातदिन, साँझ, विहान घोटिंदा पनि
एकछाक खान धौ-धौ पर्न थाल्यो
जब ऊ आफ्नो खलाँतीसँगै
एकछिन आफू पनि थकाइ मार्‍यो
र निधार खुम्च्याएर सोच्यो
हो, पक्कै त्यस दिनदेखि
तिम्रो प्रजातन्त्र पनि खतरामा पर्‍यो ।

आफ्नो बाजेको पालादेखि
हली बनेको राना कान्छो
खेतमा गोरु मात्र जोत्दैन
आपूm पनि बेलाबेलामा जोतिन्छ
उसलाई के घाम, के हुरी, के झरी
न रात न दिन
सधैंभरी एकनासले भिड्नुपर्छ
त्यही पनि कहिले काम नगर्ने
साहूको छोराले जस्तो
किताब बोकेर
आफ्नो छोराले स्कूल टेक्न पाएन
माटो हिलो÷कोदालो र झम्पल
उसको पनि आफ्नै जस्तो
बंशानुगत जीवनसाथी बन्यो
यो विडम्बनालाई बुझ्न
राना कान्छो
अनौ समाउन छाडेर
एकछिन डिलनिर बसेपछि
तिम्रो प्रजातन्त्रपनि खतरामा पर्‍यो ।

खेतका बाँझा गराझैं
चरचरी फुटेका पाइताला बोकेर
ठूली
जंगल, पँधेरा, गाईगोठ
प्रत्येक दिन दोहोरिन्छ उसको जीवनमा
आराम ! उसको जीवन तालिकामा पर्दैन
औषधीको नाम
बनमारा÷तितेपाती
ऊ राम्ररी चिन्दछे
जब कुनै एउटा दिन
यो कुरुप क्रमलाई बुझ्न
उसले घाँसको भारी
कुनै गल्छेडातिर बिसाएपछि
त्यस दिनदेखि
तिम्रो प्रजातन्त्र पनि खतरामा पर्‍यो ।

खतरालाई तिमी जे सुकैले रोक
बन्दुकले रोक या बमले रोक
सीमा पारीबाट गुहार माग
या सात समुन्द्र पारीबाट
या मान्छे भित्रको चेतनालाई
छानी छानी चपाउ
या संभावनाहरुलाई
मकै भुटे झैं भुट
कुनै वसन्तमा झरी रोकिएपछि
जब कुनै घामको झुल्को देखिन्छ
बारीबाट छिचिमिरा निस्केको
यदि देखेका छौ भने
सोच ! राम्ररी सोच
थुप्रै काले कामीहरु निस्कन्छन्
थुप्रै्र रानाकान्छाहरु निस्कन्छन्
र ठूलीहरु निस्कन्छन्
भन ! तिमी कुन प्वाललाई थुन्छौ ?
जमीनलाई कुन हत्केलाले थुन्छौ ?

धेरै कुरालाई रोक्न सकिन्छ
र रोक्दा नसकिने
थुप्रै कुराहरु हुन्छन्
तिमी आँधीबेरी कसरी रोक्छौ ?
नदीको भेललाई कसरी थुन्छौ ?
कुनै माटोको डल्लाले
या ढुंगाले थुन्छौ !
त्यस्तै यो पनि एउटा नियम हो
अझ निष्ठूर नियम हो
इतिहासको एउटा नियम हो
भन ! यो खतरालाई कसरी रोक्छौ ?
यो सत्यलाई कसरी थुन्छौ ?



जनादेश साप्ताहिक, वर्ष ८, अंक ४३, २०५६ भाद्र १५ गते

--------------------------------------------------------------------------



No comments: