Friday, February 28, 2020

कविता : अभिशप्त पर्खाल

- मातृका पोखरेल 
पिता पुर्खाले बनाइदिएको
शत्रुले सदादिन आँखा लगाएको
इतिहासको जिम्मेवारी बोकेको
हाम्रो एउटा सानो घर
आज फेरि उसले बा¥यो
एउटा पर्खाल लगायो ।

हिजो हामीले बीचको पर्खाल भत्काउँदा
सँगसँगै भोज खायौं
हामीसँगै रमायौं र
बेलुनहरु आकाशमा उडायौं
हामीले नारा पनि लगायौं
अस्ति पर्खाल लाउन गल्ति थियो
गल्तिबोधले आपस आपसमा
क्षमा साटासाट गर्‍यौं
विजयका सुन्दर गीतहरु गायौं र
हिजो एक साँझ त्यसै त्यसै बितायौं ।

रातको प्रथम प्रहर वित्दा नवित्दा
उसले घर पछाडि जुठेल्नोमा
इँट्टा र माटाका डल्लाहरु थुपार्‍यो
विजयोत्सवले खुशी साथीहरु
मस्त निदाएको बेलामा
उसले घरभित्र पर्खाल लगायो
ती पर्खाल लगाउने सामानहरुले
जग बनाउनु पर्थ्यो
सानो घरलाई बलियो बनाउनु पर्थ्यो
सहारा खोजेर हिंडेका
भोका र नाङ्गा टुहुराहरुलाई
ओत लाग्ने फराकिलो ठाउँ दिनुपर्थ्यो ।

आकाश धुमिलिएकै छ
झन्झन् कालो बादल मडारिंदै छ
यो इतिहासको जिम्मेवारी बोकेको
हाम्रो सानो घर
एकदिने बाढीले भत्काउन नसकोस्
गहिरो जग हालेर
बलियो घर बनाउनु पर्थ्यो
त्यसपछि ढाँडेदेखि टारी खेतसम्म
आस्थाका विरुवाहरु हुर्काउनु पर्थ्यो

पल्लाघरे लालबहादुरको विश्वासमा
दियोका बातीहरु सल्काउनु पर्थ्यो
पितापुर्खाले बनाइदिएको
शत्रुले सदा दिन आँखा लगाएको
इतिहासको जिम्मेवारी बोकेको
हाम्रो एउटा सानो घर
आज फेरि उसले बार्‍यो
एउटा पर्खाल लगायो ।


कलम, वर्ष २, अंक ३, पूर्णाङ्क ५, साउन २०५१

No comments: