Saturday, February 29, 2020

कविता : छोङपाङ ! तिमीले कस्तो सपना देख्यौ ?

- मातृका पोखरेल 

पहिले पहिले म सानै छँदा
तिमी मलाई भन्ने गर्थ्यौ 
भाइ ! फोकल्याण्डलाई के दुख्यो होला र !
मलाई जति दुखेको छ
बरु ! युद्धको धुँवाभित्रै भए पनि
फोकलैण्ड राती निदायो होला
हामीकहाँ निदाउँछौ र !
सरोकार जति नै राखे पनि
लण्डन चिरनिद्रामा सुत्दो हो
हाम्रो बस्ती रातभर जाग्राम बस्ने गर्छ
नपत्याए आउ र हाम्रो बस्तीलाई हेर
बुढी आमाहरुको आँखा हेर
र बाबुहरुको खङ्ग्रङ्ग उडेको अनुहार हेर
हो साँच्चै,
त्यसबेला छोङपाङ
रेडियोको कुनै दुर्घटित समाचार सुन्न
प्रत्येक विहान
अनिंदो बसेर पर्खन्थ्यो ।

मात्र केही दिन अस्ति
मैले फेरि छोङपाङलाई हेरें
र उसको वर्तमान छामें
जतिबेला, कोसोभो
चिहानमा अनुवाद हुँदै थियो
त्यतिबेला पनि छोङपाङ
मुटुको कुनै कडा बिरामीझैं
छटपटाइरहेको देखें
तर टेलिभिजन खोलेर हेर्दा
अमेरिका सान्त थियो
कुनै बुद्धको मूर्ति जस्तो,
लण्डन पनि अविचल देखिन्थ्यो ।

मैले हिजो पनि छोङपाङलाई हेरें
र उसको भविष्य खोजें
कारगिलमा विछ्याइएका बमहरु
उसको छातीमै पड्किंदा रहेछन्
त्यसदिन छोङपाङ
धेरै जोडा टुहुरा आँखाहरु बोकेर
अस्तु पर्खिरहेको थियो
र मैले उसलाई सोधें
भूगोलमा यति टाढा भएर पनि
तिमीलाई किन फोकलैण्ड दुख्छ ?
यसरी कोसोभो घाउ बनेर टन्किन्छ
र कारगिल सुल बनेर बिज्छ ?
ऊ निरुत्तर भयो
र निधार खुम्च्याएर मलाई हेर्‍यो ।

अब छोङपाङले बुझ्नु पर्छ
र छोङपाङहरुको देश नेपालले बुझ्नु पर्छ
के हामी फोकलैण्डको लागि जन्मिएका हौं ?
कि कारगीलको लागि हुर्किएको हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ !
तिमी आफ्नै अस्तित्वका लागि लड्छौ
कि अर्काको लागि लडछौ ?
छोङपाङ हामी सबैको बस्ती हो
संसारका कुनै भागमा
तुच्छ स्वार्थका लागि लडिने युद्ध
के छोङपाङले नै लड्नुपर्छ ?
के मेरो नेपालले नै लड्नुपर्छ ?
भन छोङपाङ !
आउँदो भविष्यको निम्ति
तिमीले कस्तो सपना देख्यौ ?



समकालीन नेपाली कविता, प्रकाशक–अखिल नेपाल जनसाँस्कृतिक सँघ, २०५७ पुस

----------------------------------------------------------------


No comments: