Saturday, February 22, 2020

स्‍मृतिमा रुद्र खरेल





माछा, जाँड र रुद्र खरेल 


- मातृका पोखरेल


२०४५ सालतिरको कुरा हो । भरखरै मात्र म तत्कालीन रत्नराज्य कलेजमा बि.ए. पढ्न भर्ना भएको थिएँ । पढाई भन्दा राजनीति नै बढी प्राथमिकतामा थियो । सायद, दुधकाण्डको आन्दोलन चलिरहेको बेला थियो । त्यसै विषयलाई लिएर म लगायत दुई तिन जना साथीहरु मिलेर ल क्याम्पसमा पोस्टर टाँस्नु थियो । हिउँदको समय जस्तो लाग्छ । भरर्खरै मात्र भुईमा विहानको उज्यालो खस्न लाग्दै थियो । हामी साथीहरु बाँडिएर पोष्टर टाँस्न हिड्यौ । म पोष्टर टाँस्दै ल क्याम्पसको चमेनागृह भित्र पसें । एउटा पोष्टर चमेनागृह भित्रै टाँस्न पनि । टेबुलमा बसेर दुई तीन जना मान्छेहरु चियाँ खाइरहनु भएको थियो । मैले टाँसेको पोष्टर हेर्न त्यही बसेर चिया खाने मध्ये एकजना उठेर आउनु भयो र पोष्टर हेर्नुभयो र फिसिक्क हाँस्नुभयो । ‘लु आउनुस् भाई चिया खाउँ ।” काठमाडौं भित्रिएपछि अपरिचित मान्छेले चिया खान बोलाएको यो पहिलो पटक थियो । एक कप चिया फोगटमा प्राप्त हुनु मेरा लागि ठुलै संयोग थियो त्यसबेला । चिया खाँदाखाँदै उहाँले फेरी सोध्नुभयो । “यहाँ यी बहिनीले मिठो सेल पकाउँछिन । ल भाई सेल पनि खानुहोस् ।” मेरो स्वीकृति लिन आवश्यक नठान्दै उहाँले सेलरोटी मगाई दिनुभयो । 
उहाँले मगाई दिएको चिया खाजा खाएँ र उहाँले मागे जसरी आफ्नो परिचय दिएँ । 
एउटा अचम्मको मान्छेसँग भेट भयो ल क्याम्पसको चमेनागृहबाट बाहिरिदै गर्दा अरु कोठाबाट पोष्टर टाँसेर, फर्किएमा सहयात्री साथीहरुलाई भनेको थिएँ मैले ।
'मलाई अगि चिया खाजा ख्वाउने मान्छे ऊ उहाँ नै हो ।' पोष्टरहरु टाँसिसकेर ल क्याम्पसको प्राङ्गणमा छलफल गर्दा गर्दै उहाँ बाहिर निस्केको बेला मैले साथीहरुलाई देखाउको थिएँ ।
'उहाँ त यो कलेजको प्राध्यापक रुद्र खरेल हो । उहाँ साहित्यकार पनि हो ।' कुनै एक जना साथीले उहाँको बारेमा भन्नुभयो ।


साहित्यकार रुद्र खरेलसँग मेरो पहिलो भेट यसरी भएको थियो । त्यसपछि उहाँको मृत्युपर्यन्त म उहाँसँग कुनै न कुनै हिसावले निकट रहन पुगें ।


हामी सिकारुहरुका लागि त्यसवेला साहित्य सन्ध्या एउटा महत्वपूर्ण मञ्च थियो । आफ्ना रचना सुनाउन कहिले साहित्य सन्ध्या आउला भनेर पर्खनुपर्ने अवस्था थियो । साहित्यकार रुद्र खरेलसँग साहित्य सन्ध्यामा निरन्तर भेट हुन थाल्यो । साथी राजेन्द्र अधिकारी र म साहित्य सन्ध्यामा निरन्तर जान्थ्यौं । त्यसबेला राजेन्द्र अधिकारी आर . वस्तिको नामबाट कविता लेख्नु हुन्थ्यो । हामी तत्कालिन ने.क.पा. चौथो महाधिवेशनको बिध्यार्थी संगठन अनेरास्ववियु मा संगठिन थियौ । ०४५ साल तिरकै कुरा हो भरखरै मात्र हामी दुबैले तत्कालिन ने.क.पा. (चौ.म.) का नेता श्याम श्रेष्ठ मार्फत कम्युनिष्ट पार्टीको सदस्यता पाएका थियौं । म अनेरास्ववियु काठमाण्डौ जिल्ला समितिको अध्यक्ष थिए । साहित्यिक सन्ध्याको कार्यक्रम सकेर बाहिर निस्कदा हाम्रो बीचमा एउटा सूचना आइपुग्यो । अर्को महिना देखि माओ विचार पक्षीय साहित्यकारहरुले महिनाको तस्रो शनिवार प्रतिभा प्रवाह नामको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो सूचना दिने मान्छे पनि रुद्र खरेल हुनुहुन्थ्यो । हामी समवयका साथीहरुले त्यसबेला बुझ्यौ कि विभिन्न कित्तामा छरिएको वामपन्थी आन्दोलनमा उहाँ हाम्रै कित्तामा हुनुहुँदो रहेछ ।


एकातिर उहाँसँग हाम्रो भेट हुने ठाँउ साहित्य सन्ध्या त हुँदै थियो भने अर्को पनि थपियो प्रतिभा प्रवाह । हामी सिकारु कविहरुका लागि अर्को खुसीको कुरो थियो प्रतिभा प्रवाहको सञ्चालन । रुद्र खरेल प्रतिभा प्रवाहमा कुनै न कुनै भूमिकामा उपस्थित हुनुहुन्थ्यो र हामीलाई कविता सुनाउन उत्प्रेरित गर्नुहुन्थ्यो ।
०४८ साल देखि मैले रुद्र सरसँग वेदना साहित्यिक त्रैमासिकको सम्पादन मण्डलमा रहेर काम गर्ने अवसर पाँए । त्यो सम्पादन मण्डलमा निनु चापागाँई प्रधान सम्पादक हुनुहुन्थ्यो भने सम्पादकहरुमा रुद्र खरेल, खगेन्द्र संग्रौला, हरिगोविन्द लुइटेल र म थियौं । जिम्मेवारी लिएको काम दत्तचित्तका साथ गर्ने उहाँको बानी थियो । वेदना पत्रिकालाई स्तरीय बनाृन उहाँको ठूलो भूमिका थियो । राजनैतिक पीडित वापत राजयले दिएको केही नगद रकमको ठूलो हिस्सा पनि उहाँले वेदना पत्रिकामा हालेर आफ्नो उदार हृदय देखाउनु भयो । त्यसबेला सम्म म उहाँको करिवकरिव परिवारको सदस्य जस्तै भइसकेको थिएँ । उहाँ त्यसबेला कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहनु भएको थियो । कोटेश्वरमा घर बनाउदै हुनुहुन्थ्यो तर आर्थिक समस्याले उहाँ ग्रान्त हुनु हुन्थ्यो । यस्तो अवस्थामा पनि वेदना लाई सहयोग गर्नु सामान्य घटना छँदै थिएन । वेदना लाई आर्थिक देखि स्तरीय रचना खोज्ने सम्मको काममा उहाँको अग्रणी भूमिका थियो । उहाँसंगको निकट सङ्गतले पत्रिकालाई स्तरीय बनाउने र अन्य सम्पादन कला मनग्य सिक्न पाएको मैले बारम्बार महशुस गरेको छु । जिम्मा लिएको काममा उहाँ प्रतिवद्ध भएर लाग्नुहुन्थ्यो । वेदना पत्रिकाको प्रसङ्गमा उहाँसँग मेरो एउटा रोचक घटना छ । हामीले २०५२ सालतिर वेदनामा वीरगञ्ज चिनी कारखानाको एउटा विज्ञापन छाप्यौं । चिनी कारखानाले रक्सी उत्पादन गर्छ र भुक्तानी बापत हामीलाई रक्सी नै दिन्छ भन्ने कुरा हामीलाई थाहा थिएन । पत्रिकामा विज्ञापन प्रकाशन गरेपछि हामी बिल लिएर कारखानाको कार्यालय पुग्यौं । वीरगञ्ज चिनी कारखानाको अध्यक्षमा त्यसबेला बलराम बाँसकोटा हुनुहुन्थ्यो । बलरामजीको सदासयताकै कारण हामीले त्यो विज्ञापन छापेका थियौं । विज्ञापन वापत हामीलाई पाँचसय रुपैया बराबरको तीन चार बोतल रक्सी दिइयो । रुद्र सर र म जिल्लाराम पèयौं । रक्सी बाकेर हिड्न शिवाय हामीसँग अर्को विकल्प पनि थिएन ।
'कुनै पसलमा गएर यो रक्सी बेचौं भाई '! रुद्र सरले उपाय सुझाउनु भयो । 
त्यतिबेला वीरगञ्ज चिनी कारखानाको काठमाण्डौ कार्यालय बालुवाटारमा थियो । हामी केही पसलमा रक्सी लिएर घुम्यौं । हामीलाई दिइएको मूल्यमा कसैले रक्सी लिन चाहेनन् । कति पसलले त हामीलाई शंकाका दृष्टिले हेरे । 
'माइतीघरमा मैले चिनेको एउटा भट्टी पसल छ । त्यही गएर दिउँ ।' केही पसल चहाँरे पछि उहाँले अर्को उपाय सुझाउनु भयो ।
हामी रक्सीका बोतल झुण्डयाउँदै माइतीघर आइपुग्यौं । भाषा सम्पादकको रुपमा रुद्र सर नेपाल बार एशोसियशनमा काम गर्दा एउटा चिया खाने पसलसँग राम्रो चिनजान भएको रहेछ । त्यो चियापसल विस्तारै भट्टी पसलमा रुपान्तरित भएछ । हामी त्यहाँ पुग्दा घाम डुब्न लागि सकेको थियो । पसलभित्र हामी के छिरेका मात्र थियौं तीन चार जना मानिसहरु हड्बढाउदै उठ्न खोजे । रुद्र सरको ध्यान त्यता पुगेकै थिएन । मेरो मात्र त्यो दृश्यतिर ध्यान थियो । रुद्र सरले ख्याल नगर्दानगर्दै उनीहरुले आ–आफ्नो टेबलको गिलास, वियर रक्सीमा बोतलहरु टेबुल मुन्तिर लुकाए । त्यसपछि मात्र उनीहरुले भरखर देखेझैं गर्दै रुद्र सरलाई अभिवादन गरे । ती सवै रुद्र सरका बिध्यार्थी रहेछन् । रुद्र सरले पसलवालालाई बोलाउनु भयो र रक्सी किनिदिन आग्रह गर्नुभयो । उनिहरू अचम्म मानेर मुखामुख गरिरहेका थिए । पसलवालाले त्यो रक्सी किनिदिने भयो । रुद्र सरका बिध्यार्थीहरुले के सोचेछन् भने उहाँ पनि रक्सी खानुहुने रहेछ । हामी पनि गएर उनीहरकै छेउमा बस्यौं । हामी बस्दाबस्दै उनीहरुले वरपर राखेका रक्सीमा गिलास र बोतलहरु निकाल्न थाले । त्यहाँ मध्येकै एउटाले दुईवटा ग्लास मगायो र हाम्रा अघिल्तिर रक्सी हालेर राखिदियो ।


'ओहो ! भाइ हामी यो जिनिस् खादिनौं त !' रुद्र सरले वरिपरिका गिलासहरु तिर नियाल्दै भन्नुभयो ।
'सरले रक्सी बेच्दै आए पछि हामीले पनि खानुहुँदो रहेछ भनेर सोच्यौं ।' रुद्र सरको अर्को बिध्यार्थीले अफ्ट्यारो मान्दै भन्यो ।
'लौ भाइहरुले अफ्ट्यारो नमानी खाँदा हुन्छ ।' उनीहरुको अफ्ट्यारोलाई उहाँले बुझ्नु भयो र रक्सी बेच्न ल्याउनु परेको यथार्थलाई राखिदिनु भयो ।
हामीले एकएक कप चिया खाएर उनीहरुलाई एकएक वटा 'वेदना' दिएर हिड्यौं । 'वेदना' पत्रिकालाई अघि बढाउन रुद्र सर लाग्नु भएको थियो भन्ने एउटा सन्दर्भित घटना मात्र मैले यहाँ राखेको हुँ ।


२०५१/५२ साल पछि उहाँसँग धेरै संगठनमा सँगसँगै एउटै कमिटिमा बस्ने अवसर मलाई जुèयो । इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील सांस्कृतिक संगठन, प्रगतिशील लेखक संघ, प्रतिगमन विरोधी स्रष्टाहरुको संयुक्त समिति, लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च लगायतका संगठनमा म उहाँसँगै रहन अवसर पाएको छु । सबै संगठनमा उहाँ केही पृथक भूमिका निर्वाह गर्न चाहनुहुन्थ्यो । अलिक बढीनै मध्यस्थ भूमिका निर्वाह गर्न चाहने व्यक्तिको रुपमा मैले उहाँलाई बुझेको छु ।
२०५१ सालमा इन्द्रेणी सांस्कृतिक समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यो सम्मेलनले निनु चापागाईको अध्यक्षतामा एउटा कार्यसमिति निर्माण गर्यो । त्यस सम्मेलनबाट रुद्र सर उपाध्यक्ष र म कोषाध्यक्षमा छानिएँ । इन्द्रेणी सांस्कृतिक समाज तत्कालिन ने.क.पा. (एकता केन्द्र) को सांस्कृतिक मोर्चा भए पनि छरिएर रहेका र स्वतन्त्र जनसांस्कृतिक कर्मीहरुलाई पनि सकेसम्म सँगै लिएर जाने नीति बन्यो । त्यही नीति अन्र्तगत खगेन्द्र संग्रौला र गोविन्द वर्तमान पनि त्यहाँ रहनुभयो । एकताकेन्द्र छाडेपछि श्याम श्रेष्ठहरुले समाजवादी आन्दोलन नेपाल नामको एउटा सङ्गठन चलाउनु हुन्थ्यो । कम्युनिष्ट आन्दोलनलाई सांस्कृतिक मूल्यका आधारमा हेर्ने प्रयत्न उहाँहरु गर्नुहुन्थ्यो । इसासको त्यो कार्यसमितिमा समाजवादी आन्दोलन नेपालसँग सम्वन्धित साथीहरु हुनुहुन्थ्यो । कहिलेकाँही एकताकेन्द्रको पार्टी निर्णयहरु कार्यान्वयन गर्न खोज्दा त्यहाँभित्र एउटा अन्तरविरोध देखा पर्थ्यो । मूलतः त्यो अन्र्तरविरोध एकता केन्द्रसँग सम्वन्धित सांस्कृतिक कर्मीहरु र समाजवादी आन्दोलन नेपालका सांस्कृतिककर्मीहरुका बीच चल्ने गर्थ्यो । इसासका वैठकहरुमा गरमागरम बहस र छलफल हुन्थ्यो । त्यसबेला रुद्र सर भरसक मध्यमार्गी बाटो खोज्ने प्रयत्न गर्नुहुन्थ्यो । तर कैयौं विषयहरु यस्ता थिए, उहाँले एकातिर उभिनै पर्थ्यो । अन्ततः उहाँ एकातिर उभिनु हुन्थ्यो । त्यसरी एकातिर उभिनुपर्दा उहाँले महशुस गरेको पीडा घर फर्किदा बाटोमा मलाई सुनाउनुहुन्थ्यो ।
दुई दशकको निरन्तर संगतका कारण उहाँसँगका थुप्रै स्मृतिहरु मेरा अघिल्तिर आइरहेका छन् । उहाँको स्वभाव झल्किने अर्को एउटा संझना यहाँ राख्न उपयुक्त ठानेको छु । मलाई एकिन मिति याद भएन । ०५४/५५ साल तिरको कुरा हुनुपर्छ । साहित्यकार रुद्र खरेल त्यसबेला प्रगतिशील लेखक संघको केन्द्रिय सदस्य हुनुहुन्थ्यो भने म राष्ट्रिय परिषदको सदस्य थिएँ । प्रलेसको खोटाङ्ग शाखाले जिल्ला सम्मेलन गर्ने निर्णय गरेर हामीलाई निम्ता गèयो । त्यहाँका साथीहरुले हामी दुई जनाको नामै तोकेर निम्ता पठाउनुभयो । मेरा लागि दिक्तेल नयाँ ठाँउ थिएन तर रुद्र सरका लागि नयाँ ठाँउ थियो र उहाँसँगको पहाडी यात्रा मेरा लागि पनि नयाँ र रमाइलै थियो । हामी दिक्तेल जानका लागि कटारीको रात्री बस चढ्यौ । हामी विहानको चार बजेतिरै कटारी ओर्लियौं । उज्यालो खस्न पाएकै थिएन जमिनमा । 
'कटारी घुमेर हेर्ने मन थियो तर समयनै मिलेन ।' घुर्मी जाने बस बिहानै लागि रहेकोले हामी चिया पिएर चढ्ने वित्तिकै अँध्यारोमा बसको झ्यालबाट आँखा दौडाउँदै उहाँले भन्नु भयो ।
'फर्किदा हेरौंला '! मैले त्यसबेला भनेको थिएँ ।
'ठिकै छ, फर्कदा तपाईको गाँउ पनि हेर्दै आउने विचार छ ।' उहाँले मन बुझाउनु भएको थियो ।
घुर्मी पुग्दा बिहानको नौ बजिसकेको थियो । तलतिर बगिरहेको निलो सुनकोशी तिर हेरेर उहाँले अर्को प्रस्ताव राख्नु भयो । 'होइन भाइ ! सुनकोशीमा माछा चाख्न पाइदैन !'
एउटा पसलमा झोला थन्क्याएर म माछा खोजदै केही होटल चहारेैं । उहाँको माछाको रुची माथिल्लै डिग्रीको थियो । काठमाण्डौं मै पनि बेलुका भए पछि रुद्र सर मेरो कार्यालय नेपाल विद्युत प्राधिकरणमा आउनुहुन्थ्यो र हामी माछा किन्न खिचापोखरी जान्थ्यौं । रुद्र सर विद्युत प्राधिकरणमा जाने वित्तिकै त्यहाँका मेरा सहकर्मीहरु ठट्यौली गर्थे – आज माछा खाने दिन रहेछ ।
घुर्मीमा माछा खोज्दा खोज्दै एउटा पसलमा भरखरै कोशीबाट जाल हालेर ल्याएको आलो माछा भेटियो । उहाँलाई यो खवर सुनाउने वित्तिकै यति खुसी हुनुभयो कि उहाँको त्यसबेलाको अनुहार मेरा अघिल्तिर आदिले पनि नाचिरहेको छ । तर त्यहाँ मलाई एउटा फसाद आइलाग्यो । बिहानको साढे नौ बजेको छ । हामी हिडेर बेलुका बास बस्ने ठाँउ निकै टाढा छ । मेरो मावली घर खोक्सेली पुग्ने लक्ष्य थियो । पहाडी बाटोमा उहाँको हिँडाइ कस्तो छ ? मलाई थाहा थिएन । उहाँ त होटलवालालाई माछाको परिकार बनाउन पो सिकाउन थाल्नुभयो ।
हामी घुर्मीबाट एघार बजेतिर बाटो लाग्यौं । त्यसबेला दिक्तेल जान अहिलेको जस्तो मोटरबाटो थिएन ।
दिउँसो १२ बजेको घाम हिलेपानीको उकालो खल्दल्ती पसिना छुटिरहेको थियो । म अघिअघि थिएँ । रुद्र सर पछिपछि हुनुहुन्थ्यो । अलि माथि पुगेर हेरें रुद्र सर पछि ओरालो बाटोको तलैसम्म हुनुहुन्थ्यो । ढाकर बोक्नेहरुको ताँती अघि बढिरहेको थियो ।
मातृका भाइ ! मलाई चिन्नु भएन ? उहाँ त ढाकर बोकेर मेरा अघिल्तिर उभिँदा पो म छक्क परें ।
रुद्र सर ढाक्र्रे दाईको एउटा सानो छोराको ढाकर आफूले बोकेर सानो ढाक्रेलाई चकलेट खुवाउदै हिडिरहनु भएको मानिसले ढाकर बोकेकोमा उहाँ संवदनशील भइरहनु भएको थियो । सानो ढाकेको बाबुसँग उहाँ उसको पढाईको बारेमा कुरा गरेर हिढिरहनु भएको थियो । 
ढाक्रे साथीहरुको घर त्यहीं हिलेपानीको डाँडामा रहेछ । उनीहरुले हामीलाई आफ्ना घर जान कर गरे । हिलेपानीको भन्ज्याङबाट उत्तरतिरको पाखामा उनीहरुको घर रहेछ । हामी हिड्नुपर्ने बाटो लामो भएकोले मैले उहाँलाई ढाक्रे दाईको घर नजान आग्रह गरे ।


'आ ! भाइ ! बरु पुगिएन भने ओडारमै बास बंसुंला नि !' उहाँले सहज लिनु भयो ।
हामीलाई घरमा लगेर राई दाईले जाँड छानेर एकएक कचौरा बाहिर लयाइदिए । रुद्र सर मलाई हेर्दै जोडजोडले हाँस्नुभयो । उहाँ हाँसेको देखेर राई दाई र राई दाईका परिवार पनि छक्क परे ।
'यो बाजेले जाँड खाँदैन कि के हो ?' राई दाईले अनुमान गरेर मलाई सोधे । 
'हामी खाँदैनौं ।' मैले यसो भन्ने वित्तिकै राई दाईले दुई डबका जाँड घरभित्रै लगे । घरभित्र पसेको पाँच मिनेट नबित्दै थात्रो कपडाको टालोमा आगो बाल्दै बाहिर निस्के र घर पछाडी लागे । उकछिन पछि सिलिबरको थालमा हाम्रा अघिल्तिर राई दाइले मौरीका ठूला ठूला दुई वटा सग्ला चाकाहरु ल्याएर राखिदिए । हामी मौरीको आलो मह खाएर जयराम घाट तिरको बाटो लाग्यौं ।
दूधको सीम ाझरे पछि हामी कदुवातिरको बाटो नगई कोशी किनारै किनार घोपटारबाट उकालो लाग्ने निधो गèयौं । रुद्र सरले फेरी दूधकोशीमा माझी दाईले जाल हान्दै गरेको देख्नुभएछ ।
ल भाई त्यहाँ गएर किनेर ल्याउँ । यसो भन्दै रुद्र सर त माछा मारेको ठाउँ तिर हिडिहाल्नु भयो । माझी दाई भरखरै मात्र जालमा एउटा दुई किलो जतिको माछा मारेका रहेछन् ।
कतिमा बेच्नु हुन्छ माझी भाइ ! रुद्र सर माछा देख्ने वित्तिकै खुसी भइसक्नु भएको थियो ।
दुई सय रुपैंयाँ । माझी दाइले नसोची प्वाक्कै महंगो भाउ राखे ।
धेरै महंगो भन्नु भयो । मैले माछा हेर्दै के भनेको थिएँ रुद्र सरले दुई सय रुपैंयाँ तुरुन्तै दिनु भयो ।
माछा झुण्डाउँदै हामी दूधकोशी किनारै किनार हिड्यौं । जयराम घाटको केही पर पुगेपछि एउटा छाप्रोमा आगो बाल्न लगाएर हामीले त्यो माछा पोलेर खायौं । त्यस बखत प्रगतिशील लेखक संघको दिक्तेल, कार्यक्रममा जाँदा रुद्र सरसँगको यात्रा मलाई निकै रमाइलो महशुस भएको थियो । लामो हिडाइले गर्दा दिक्तेलबाट फर्कदा मेरो घर हेर्ने र मेरो बुवासँग भेट्ने उहाँको इच्छा पुरा हुन पाएन । उहाँका खुट्टाहरुमा हिडाइमा निकै पीडा भएकोले फर्कदा उहाँहरुलाई साथीहरुले लामिडाँडाबाट हवाइजहाजको प्रवन्ध मिलाइदिनु भयो । म कटारी हुँदै काठमाण्डौ फर्कें । मैले यहाँ धेरै सम्झनाहरु भित्रबाट उहाँको स्वभाव झल्कने केही छानेर मात्रै राखेको हुँ । रुद्र खरेलको जीवन पुरै संघर्षको जीवन हो । त्यहाँ संघर्षको अनुभव र पाठले उहाँ आफ्ना समकालीनहरुका बीचमा बेग्लो र पृथक देखिनु भयो ।
रुद्र खरेलको जीवन स्वाभिमानको एउटा पहाड जस्तै अविचल थियो । उहाँसँग आततायी सत्ताहरुको डसाइका थुप्रै अनुभूति थिए । आततापी सत्ताहरुसँग सम्झौता गरेर मूर्दाशान्तिमा सुन्दर जीवन रच्ने घिनलाग्दा सपनाहरु उहाँले कहिलयै पनि पाल्नुभएन । पञ्चायतको जुठोपुरो खाएर राजा महेन्द्र महान् हुन भन्दै निरङ्कुश तन्त्रको पुराण लगाउन उहाँको चेतनाले मान्ने कुरै थिएन । शिक्षित भनिएका उहाँ समवयका केही साथीहरु त्यो कुकर्मतिर लागेको पनि भेटिन्छ । बरु, निम्न वर्गीय आर्थिक, दुरावस्थाले निम्त्याएका सङ्कटसँग लड्न उहाँले श्रमका शिखरहरु चड्नु भयो । कष्टसँग पराजित भएर विवेकलाई विक्री गर्ने कार्य गर्न उहाँले महिल्यै पनि चाहनु भएन । आफैंले लडेर लयाएको प्रजातन्त्र पछि पनि देश तोरी लाहुरे चोकमा रुपान्तरित हुँदै गएको देख्नु भयो र अग्रगामी परिवर्तनका लागि फेरी पनि लड्न प्रेरित गर्नुभयो ।
रुद्र खरेलको साहित्यिक यात्राले व्यक्तिवादलाई कहिल्यै पनि प्रश्रय दिएन । उहाँको लेखनको केन्द्रीय विषय हाम्रो देशको आर्थिक, सामाजिक र सांस्कृतिक विषमता प्रतिको विद्रोहात्मक चेतद्वारा निर्मित भएको छ । रोचक र घोचक अभिव्यक्तिमा उहाँले आफ्नो लेखनीबाट समाज र व्यक्तिका अवगुण र दुर्वलता माथि छेडपेच गर्दै एउटा उद्देश्यमूलक बाटो निर्माण गर्ने प्रयत्न गर्नुभएको थियो ।
अन्ततः केही गर्न सक्ने उमेर वाँकी हुँदै उहाँको निधन हुन पुग्यो । उहाँलाई दिइने श्रद्धाञ्जली भनेको उहाँले गर्नु भएका असल कार्यलाई अनुसरण गर्नु नै हो । उहाँको जीवन र कर्मबाट नयाँ पुस्ताले सिक्न लायक धेरै कुरा छन् । अवश्य पनि उहाँ तिनै जीवनकर्मका कारण दीर्घ समयसम्म हाम्रो बीचमा बाँच्नुहुने छ । अझ भन्नुपर्दा उहाँ आफ्ना कृतिहरुको गुणात्मकताका कारण दीर्घ समयसम्म बाँच्नु हुनेछ । नेपाली ब्यङ्ग्य निबन्ध फाँटका शिखर व्यक्तित्व रुद्र खरेललाई फेरि पनि श्रद्धाञ्जली !

000 

-----------------------------------------------


सहित्यकार रुद्र खरेल : एक संस्मरण

–राममणि पोखरेल

साहित्यका विविध विधा मध्ये, मलाई कथा, उपन्यासप्रति विशेष चाख लाग्दथ्यो । केही पुस्तक पढेको पनि थिएँ । तर सहित्यमा देखिने वर्गीय पक्षधरताबारे म त्यति सचेत थिइन । २०२८÷०२९ सालतिर केही समय जनकपुरधाममा बस्ने मौका प्राप्त भयो । त्यसबेला जनकपुरधाममा निकै साहित्यिक पत्रिका प्रकाशन हुन्थे । युवाहरूमा देखिएको ऊर्जालाई आर्थिक रूपमा सघाउ गर्दथ्यो, जनकपुर चुरोट कारखानाले द्वैमासिक रूपमा प्रकाशन हुने – ‘आँखा’ पत्रिकाका सम्पादकसँग मेरो सम्बन्ध जोडियो । प्रथम पटक” उचित न्याय खोइ” नामक कथा मैले आँखा पत्रिकामा प्रकाशन गरें । पारिवारिक समस्याका कारण, मेरो बसाइ जनकपुरमा छोटो भयो । म मेरो पैत्रिक थलो रूपाटार उदयपुर फर्किएँ । मेरो सहित्य लेखन सेलाएर गयो ।
पछिल्लो कालखण्डमा देशमा प्रजातन्त्र प्राप्त भएपछि, पत्रपत्रिकाको बाढी आयो । बाढी त आयो तर बसको ड्राइभर नजिकैको सिटमा बस्ने व्यक्तिले, ड्राइभरले चलाएको बस हेरेर बस हाँक्न सक्तैन । त्यस्तै पत्रिकाको बाढी आए पनि, आफूमा लेख्ने ऊर्जा भएन । संवेदनशीलता भएन भने लेखिदो रहेनछ । 

जीवनको उत्तरार्धमा आएर मात्र मैले लेख्न प्रारम्भ गरें । मेरो पुस्तक सङ्कलन गर्ने बानी सानैदेखि थियो । मेरा राजनीतिक सहयोगी युवा, मेरो घरमा दराजमा सजाएका पुस्तक देखेर आश्चर्य प्रकट गर्थे र भन्थे यी पुस्तक कहिले पढ्ने ? म हाँसेर जवाफ दिन्थे, कुनै दिन पढ्ने दिन र समय आउला, जुरला, यस्तै माजक हुन्थे । भाषाविद्, वालकृष्ण पोखरेलको घर विराटनगर, यदाकदा जाँदा, साहित्यकारसँग भेट हुन्थ्यो । सहित्यबारे केही सुन्न पनि पाउँदथे । धेरै राम्रा लेख, निबन्ध, कविता, कथा लेख्न नजाने पनि, तिमी सामान्य गाउँले जीवनलाई सुहाउने, सरल साहित्य– कथा, कविता लेख्न सक्छौ यदि केन्द्रित भएर मेहनत ग¥यौ भने भनेर बालकृष्ण पोखरेलले भन्नु हुन्थ्यो । हामी जतनपुरे पोखरेल परिवारमा सबभन्दा बढी पढेको र बढी पुस्तक लेखेको कारण उनलाई सबैले आदर र सत्यकार गथ्र्यौं । पोखरेल परिवारको विद्वान् या मियो मान्थे । उनको सल्लाहले पनि मलाई केही प्रभाव पारेको थियो । 

जिल्लाका मेरा सहयोगी मित्रहरू जसले मेरो घरमा सङ्कलन गरेको पुस्तक देखेर लेख्ने आग्रह गरे, ती हुन् बोधकुमार घिमिरे, लिला निरौला, मातृका पोखरेल, दुर्गा थापा, बेदप्रसादा पोखरेल र पुण्य कार्की । 

२०५३/०५४ सालमा निर्वाचित त्रियुगा जनता क्याम्पसको स्ववियुले एउटा” नव पालुवा” नामक पत्रिका प्रकाशन गर्ने निधो ग¥यो । त्यस पत्रिकामा मलाई पनि लेख लेख्न सम्पादक मण्डलले आग्रह ग¥यो ।” उदयपुर जिल्लाको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनको इतिहास” लेख्न आग्रह गरियो । त्यो मैले पूरा गरें । पुस्तक विमोचनको क्रममा, त्यस पुस्तकमा समेटिएका सामग्री मध्ये, सबभन्दा उत्कृष्ट लेख भनेर म प्रशंसित हुन पाए । 
मेरो आत्मबल र हौसला बढ्यो । 

पछि पुण्य कार्की र रामबहादुर मगर खावु हाल सभासदको प्रयासले– काठमाडौंको दर्ता, उदयपुरबाट प्रकाशन गरियो । त्यस पत्रिकाको प्रथम सन्तानमा मेरो एक संस्कृरण जो जेलको छोटो समयको बसाइको संस्मरणात्मक विवरण मैले प्रस्तुत गरको थिएँ । संयोगले त्यो पत्रिका विमोचन भनौं या सार्वजनीकरण गर्ने दिन म पनि काठमाडौं आइपुगेको रहेछु । रत्नराज्य क्याम्पसमा भेला भयौं र रुद्र खरेलले त्यो पुस्तक विमोचन गर्नुभयो । मातृका पोखरेल उद्घोषक थिए लगभग हामी ३२÷३३ जना साहित्यप्रेमी व्यक्ति भेला भएका थियौं । 

पुस्तक विमोचनपछि, भाषणको क्रममा, त्यस पुस्तकमा समेटिएका सामग्रीको समीक्षा गर्दा, दशौं पटक उहाँले मेरो लेखको सन्दर्भ उच्चरण गर्नुभयो । 

०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त प्रजातन्त्रको यो प्रक्रिया पु¥याउने प्रजातन्त्र हो, यसले वास्तवमा तल्लो वर्ग र त्यागी कर्तव्यनिष्ट कार्यकर्ताको भलाइ गरेको छैन, विकृति र विसंगति क्रमिक रूपमा बढाउँदैछ भन्ने उद्घोष गर्नुभयो । सहित्यले समाजमा रहेको विभेद, कुसंस्कृतिको अन्य गर्न तत्पर हुनुपर्छ भनेर सचेत पार्नुभयो । 

पातालो अग्लो, गोरो, झण्डै मसँग मिल्दो उमेरका रुद्र खरेलसँग घनिष्ट सम्बन्ध जोडने काम– सहयात्री पत्रिका र भतिज मातृका पोखरेल रहन गए । त्यो दिन हामी सरासर उहाँको घर कोटेश्वर आयौ । उहाँलाई त्यसबेला मैले एउटा प्रस्ताव राखें । 

हाम्रो अञ्चलका तीन जिल्ला– सिराहा, सप्तरी र उदयपुर बीचको शिवालिक पर्वत– गाउले भाषामा चुरेकातमा अन्याय सहेर थुप्रै मनिस ग्रामीण जीवन घिसार्दैछन् । जमिन ऐलानी छ । सरकारले नापी गराउने चेष्टा गरेको छैन् । बनपालेको दुहुनी गाई भएको छ । त्यहाँका मानिसले पञ्चायतकालमा चौथो महाधिवेशन समूह र नेकपा पूर्व मालेका कार्यकर्तालाई पाले । त्यहाँ पालिएका नेताहरू अहिले पनि राष्ट्रिय व्यक्तित्व भए, ती गाउँका ग्रामीण जनता अहिले पनि वनकर्मचारीका दुहुनी गाई भएर बाँच्न विवस छन् । उनीहरूको भौतिक जीवन र त्यस क्षेत्रका विकासमा केही मिन्नता प्राप्त छैन । अहिले पनि नेकपा माओवादी कार्यकर्ता त्यहँीका जनताले क्रान्तिको सुन्दर सपना र त्यो गाउँको सुन्दर भविष्य सम्झेर पालेका छन् । त्यो गाउँमा म पनि भूमिगत बस्ता त्यहाँका जनताले भोगेको दुःखबारे अक्षरमा उतार्ने साहित्यकारको खाँचो छ भनेर सुनाएको थिएँ । 

जवाफमा मलाई हौसलित पार्दै भन्नुभयो– होइन मणिजी अर्को विकल्प साहित्यकार न खोज्ने, तपाईं आफैं लेख्ने प्रयास गर्ने । मैले निरीहता प्रकट गरें । म क्याम्पस पढेको व्यक्ति होइन । प्राविको शिक्षक, अल्पकालीन समयको एक जना पत्रकार हुँ । मेरो भाषा राम्रो छैन । धिसेपिरे तरिकाले कथासम्म लेखौंला तर उपन्यास कसरी लेखौंला र उपन्यास सहित्यको एक ठूलो विधा हो भनेर म आफू लेख्ने कुरामा डराएँ । आपत मानें । 

उहाँको घरको माथिल्लो तलामा त्यस दिन उहाँकी धर्मपत्नी, मातृका पोखरेल, उहाँ र म थियौं । उहाँले दिएको हौसला र प्रेरणाले मलाई कस्तो कस्तो अनौठो अनुभूति भयो । 

मातृकाले प्रतिक्रिया जनाए, मिहनेत गर्दा के नहोला र । मैले हुन्छ, लेख्छ,ु भनेर भन्न पनि सकिन । सक्तिन, आँट र क्षमता छैन भनेर हात झिक्न या तर्कन पनि चाहिन र मूर्तिवत् बसें, मुखुाट आवाज ननिकाली । 

मेरो मौनतालाई उहाँले स्वीकारोत्तिी मान्नु भयो । पछि मैले त्यस क्षेत्रलाई समेटेर लेख्न त सकिन, तर आफ्नो भूमिगतकाल– पञ्चायत निरंकुशताका शासनमा त्यो गाउँका जनताले भोगेको एउटा अंश भनौं – उल्लेख गरें । त्यस पुस्तकमा उहाँले बडो मेहनतपूर्वक भूमिका लेखिदिनुभयो । त्यही भूमिका र उहाँको सहयोग, मेरो साहित्य यात्राको जग हुनपुग्यो । मेरो भूमिगतकालीन अनुभवको सँगालोको नामाकरण” सम्झनाको पोखरीमा छचल्किएको छाल” नामक पुस्तकको भूमिकाका साथै विमोचनमा उहाँको अपूर्व सहयोग रह्यो । त्यस सबालमा म उहाँको ऋणी पनि छु । 

मेरो राजनीतिक गुरु, प्रेरणाको स्रोत स्व. मनमोहन अधिकारी हो । यदि समयमा उहाँसँग सम्पर्क नभएको भए, म कम्युनिस्ट आन्दोलनमा समाहित न हुन पनि सक्थें । त्यस्तै रुद्र खरेलसँग त्यो सामिप्यता हुन नपाएको भए म साहित्यमा यति सक्रिय हुन सक्तिन थिएँ । 

संसारको यौटा नियम हो, जन्म र मृत्यु । तर उहाँको मरण अल्पायु उमेरमा भयो । नौलो रोगले गाँज्यो । उहाँलाई रोगले गाँजेर अस्पलतामा भर्ना गरिएको समाचार पत्रिकामा पढ्दा, दुःख लागेपछि काठमाडौं आएर एकजना सहयोगी साथीसँग अस्पताल भेट्न गए । आँखा टुलुटुलु हेरे पनि वाक्य थिएन । मुढो लडे जस्तै हुनुहन्थ्यो । कैयौं डाक्टरहरूको अथक प्रयत्नपछि पनि उहाँ जीवित हुनु सक्नु भएन । 

उहाँको मरणले नेपाली साहित्यका विविध विधालाई हानि घाटा भएको छ । क्षति भएको छ । 

उहाँको घत विशेष निबन्ध, व्यङ्ग्यात्मकता चल्यो । उहाँ आजीवन ज्ञान जान्ने भएपछि समाज रूपान्तरमा लाग्नुभयो । समाजको विद्यमान विभेदलाई उन्मुलन गर्ने उद्देश्य लिएर समाजलाई सचेत पार्ने दस्ताबेज तयार गर्नुभयो । उहाँको कृतिले अगामी दिनमा समाजलाई सचेत गर्दै रहने छन् । नेपाली साहित्य र शिक्षा क्षेत्रमा उहाँको ठूलो लगानी रह्यो । उहाँको भौतिक शरीर हामीबीच नभए पनि उहाँले छाडेर गएका कृतिले नेपाली साहित्यको भण्डार दीर्घकालसम्म रहिरहनेछ ।
राज्यले उहाँको सबै कृति पुनः प्रकाशन गर्ने जिम्मा लेओस् । रुद्र खरेल प्रतिष्ठान निर्माण गर्न परिवारका सदस्य, साहित्यप्रेमीहरूको परिश्रम होस् । 
म सुदुरपूर्वको वासिन्दा र यदाकदामात्र काठमाडौं आउने भएकाले बढी हिमचिम हुन पाएन तर पनि काठमाडौं आउँदा म उहाँलाई नभेटी भने जाँदैनथें । 

उहाँले गरेको नेपाली साहित्य र प्रगतिवादी आन्दोलनको त्यागलाई आउने पिढीले अरु थप्ने प्रयत्न गरोस् । 

रुद्र खरेलको आत्मले चीर शान्ति पाओस् उहाँले देखाएको साहित्यको बाटो कदापि हामी नभुलौं । अस्तु । 
-----------------------------------------------------------------

मेरो सम्झनामा रुद्र सर
–सीता शर्मा 

रुद्र खरेल सरसँग मेरो पहिलो भेट २०४२ सालमा नेपाल ल क्याम्पसमा सी.एल. पढ्दा भएको थियो । ल क्याम्पसको स्व.वि.यु. ले एउटा प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गरेको थियो । उक्त प्रतियोगितात्मक कवि गोष्ठीमा भाग लिएर छन्दको कविता सुनाएकी थिएँ । प्रतियोगिताको निर्णयक तीन जना मध्येमा एकजना रुद्रसर हुनुहुँदो रहेछ । उहाँले मेरो सेक्सनमा नपढाएको हुनाले राम्रोसँग चिनेकी थइन । पछि निर्णायकको तर्फबाट रुद्र सरले नै प्रथम स्थानामा मेरो नाम घोषणा गर्नुभएको थियो । त्यसैले पनि होला घोषणा गर्ने दुब्दो, पातलो, सरल स्वाभाविक लाग्ने त्यो सरलाई राम्रैसँग याद गरेकी थिएँ । 

उहाँसँगको दोस्रो भेट साहित्यकार खगेन्द्र संग्रौलाको घरमा भएको थियो । त्यसैको एक–दुई वर्षपछि ने.क.पा. मसालको तर्फबाट एउटा साहित्यिक पत्रिका ‘हलकारा’ निस्किन्थ्यो । त्यसको म सहायक सम्पादक थिएँ । लेख रचनाहरू सङ्कलन गर्दा घरैमा गएर ल्याउनु पर्ने हुनाले डा. बाबुराम भट्टराईले खगेन्द्र दाइको घर देखाउन लगिदिनु भएको थियो । हामी त्यहाँ जाँदा साँझ पर्न लागेको थियो । खगेन्द्र दाइ र रुद्रसर घरको खाटमा बसेर गफ गरिरहनु भएको रहेछ । रुद्रसरसँग त्यतिखेरसम्म पनि राम्रो चिनाजानी थिएन । त्यति धेरै विद्यार्थी भएको क्याम्पसको एकजना विद्यार्थीको के मतलब गर्नुहोला र भन्ने ठानेर विद्यार्थीको रूपमा चिनिने कोशिस पनि गरिन । बाबुराम दाइले मलाई देखाउँदै उहाँलाई घर र मान्छे चिनाइदिन आएको हुँ भन्नुभयो र त्यतिखेर नै खगेन्द्रदाइसँग हलकाराको लागि एउटा कथा लेखिदिन आग्रह गरेर फर्कियौं । त्यो दिन रुद्रसर क्याम्पसको एकजना सरमात्र नभएर राम्रै साहित्यकार हुनुहुँदो रहेछ भन्ने ठान्दै फर्किएँ ।
उहाँसँग खास साहित्यकारको रूपमा तेस्रो भेट कहाँ कसरी भयो याद भएन । सायद कुनै साहित्यिक कार्यक्रम वा प्रलेसमा होला । तर पछि विस्तारै उहासँगको सम्बन्ध नजिकिदै गयो । र उहाँ मेरो लागि साहित्यिक क्षेत्रको एउटा असल, माया गर्ने, प्रेरणा र निर्देशन दिने, भरपर्दो अभिभावकको रूपमा उपस्थित हुनुभयो । 

म धेरै मान्छेहरूसँग छिटै घुलमिल हुन सक्ने मान्छे होइन । कसैसँग धेरै संगत गरे पनि औपचारिकताको सीमाभित्र अल्झिरहन्छु तर केही मान्छेहरूसँग अनायासै नजिकिन पुग्दछु । उनीहरूको सान्नीध्यमा निस्वार्थ ममताको अनुभव गर्न सके तथा उनीहरूमा रहेका केही विशेष गुणहरूले प्रभाव पार्न सके भने निःसन्देह विश्वास गर्दछु र बिस्तारै नजिकिदै जान्छु । मेरो नजिक परेका त्यस्ता केही व्यक्तिहरू मध्येका एकजना व्यक्ति सिद्धहस्त साहित्यकार आदरणीय रुद्र खरेल सर पनि हुनुहुन्थ्यो । उहाँको सरलता, सहजता, बौद्धिकता, इमान्दारिता, मिलनासार व्यवहार नै म निकट पुग्नुका कारणहरू होलान् भन्ने ठान्दछु । सामान्य र सरल व्यक्तित्व रुद्र खरेलमा गहिरो अध्ययन, गहन वैचारिक चिन्तन मनन, संघर्षशील, स्वाभिमानी, आस्थाप्रति समर्पित, सहयोगी आदि असल गुणहरू विद्यमान थिए । उहाँ वैचारिक स्पष्टताका साथ समाज परिवर्तनप्रति प्रतिबद्ध, शब्द र कर्ममा एकरूपता ल्याउन खोज्ने, निरन्तर क्रियाशील, बौद्धिक र तार्किक क्षमता भएको एक राम्रो साहित्यकार साथै जिम्मेवार नागरिक हुनुहुन्थ्यो । 
उहाँको महिलाप्रतिको दृष्टिकोण सकारात्मक थियो । महिलाहरूलाई उचित मान सम्मान र इज्जत दिएर व्यवहार गर्नुहुन्थ्यो । महिला भएकै कारणले केही स्टेप स्वतः तल, निचो र असक्षम देख्ने महारोगी उहाँमा थिएन । महिला सदियौंदेखि शोषण उत्पीडनमा परेको, अवसर र अधिकारबाट वञ्चित एउटा महत्वपूर्ण ठूलो समुदाय हो र घर समाज राष्ट्र र सम्पूर्ण मानव मुक्तिको लागि यो वर्गको उत्थान हुनु अनिवार्य छ भन्ने कुराको गहिरो बोध उहाँमा थियो । उहाँले आफ्नो साहित्य मार्फत पनि यो विषयलाई सशक्त रूपमा उठाउनु भएको छ । उहाँले लैङ्गिक भेदभाव र महिला शोषणलाई बढावा दिने, बाहिर एउटा कुरा र भित्र अर्कै व्यवहार गर्ने ढोगी, पाखण्डी पुरुषहरू वाम्पन्थी आन्दोलन भित्रै पनि तमाम रहेको भन्दै उनीहरूको खुलेरै विरोध गर्नुहुन्थ्यो । र रचनाहरू मार्फत पनि व्यङ्ग्य वाणहरू चलाउनु हुन्थ्यो । 

साहित्यको क्षेत्रमा पनि महिलाहरू अगाडि आउन प्रेरित गर्दै आफूले सकेको सहयोग गर्न कहिल्यै पछि पर्नु भएन । मलाई साहित्यको क्षेत्रमा अगाडि बढोस् भन्ने सदिक्षा पूर्वक निकै घचघच्याउने, प्रेरणा दिने, सहयोग गर्ने र सक्रिय बनाउने प्रयास निरन्तर गर्नुहुन्थ्यो । एकचोटि कुनै प्रसंगमा सुधा दिदीले तपाईंलाई रुद्रसरले निकै माया गर्नुहुन्छ भनेको पनि याद छ । मलाई शोषित, उत्पीडित महिला क्षेत्रमा केही गर्न सके हुन्थ्यो भन्ने लागि रहने । त्यसैले महिला सम्बन्धी पत्रिका मार्फत केही जागरणको काम गर्न सकिएला कि भनेर सानो तिनो योजना र शक्तिले हुन सक्ने काम होइन । टिकाइ रहन निकै गाह्रो छ भन्ने प्रतिक्रियाहरू पाउँदा केही हतोत्साही भएको थिएँ । त्यसैबेला रुद्रसरसँग पनि कुरा गरें र सल्लाहकार बसिदिन आग्रह पनि गरें । रुद्र सरले ‘ठीक छ काम राम्रो हो गर्दै जानुस् । ’ ‘तपाईंले नेपाली, अंग्रेजी भाषा जान्नु हुन्छ यो राम्रो कुरा हो । गर्न सक्नु हुन्छ गर्नुस् । म पनि सहयोग गर्छु’ भनेर हौसला दिँदै सहयोगको प्रतिबद्धता समेत जाहेर गर्नुभयो र निकालेका तीनओटा अङ्क सबैमा आफूले लेखेर, लेखहरू मागिदिएर निकै सहयोग गरी एउटा सल्लाहकारको भूमिका राम्रोसँग निर्वाह गर्नुभयो । यति शब्द र सहयोग पनि मेरा लागि अविस्मरणीय रह्यो । 
रुद्र सर र म प्रलेसका दुई कार्यकाल (६वर्ष) एउटै कमिटीमा रहेर काम ग¥यौं । दोस्रो कार्यकालमा उहाँ प्रलेसको उपाध्यक्ष र म सदस्य थिएँ । त्यतिखेर उहाँ सक्रियता पूर्वक निरन्तर नै हरेक शुक्रबार अफिसमा उपस्थित हुनुहुन्थ्यो । म पनि नियमित नै उपस्थित हुन्थें । केही न केही बोलिरहनु पर्ने, चिन्तन मनन र गफगाफ गरिरहनु पर्ने, नयाँ कार्यक्रम र योजनाको बारेमा सोचिरहने मान्छे भएकाले विभिन्न विषयमा बौद्धिक, वैचारिक र तार्किक छलफल भैरहन्थे । 

अहिले उहाँलाई स्मरण गर्न खोज्दा उहाँको साथ रहेका क्षणहरू मेरो मनमा ताजा भएर आएका छन् । कुन घटना प्रसँग कसरी लिपिबद्ध गर्ने चाल्न र छान्न अप्ठ्यारो परिरहेको छ । प्रलेसबाट देशको विभिन्न भागमा गरिने गोष्ठीहरू मध्ये पोखरा र इटहरीमा भएका गोष्ठीमा जाँदाका स्मरणहरू सचित्र घुमिरहेका छन् । 

इटहरीको एउटा गोष्ठीमा प्रलेस केन्द्रको तर्फबाट साहित्यकारको एउटा ठूलै समूह भागलिन जाने क्रममा धेरैजसो साहित्यकारहरू काठमाडौंबाट रात्रिबसमा जाने योजना भएछ । तर रुद्र सरले पहिलै दिनको दिवा बसमा जाने योजना बनाउनुभएछ र मलाई पनि त्यही बसमा जाने आग्रह गर्दे आफ्नो घरबाट फोन गर्नुभयो । एक त प्रलेसको काम, दोस्रो नयाँ ठाउमा यात्रा गर्नु मेरो रुचिको विषय, तेस्रो वरिष्ठदेखि कनिष्ट सम्मका साहित्यकारहरूको समूहमा साहित्यिक, सांस्कृतिक, बौद्धिक गफगाफ र हाँसो ठट्टा मिसिएको यात्रा रमाइलो र उपलब्धिमूलक पनि लाग्ने, अनि रुद्रसर जसलाई मैले एक विश्वस्त साथी तथा अभिभावक ठान्थे उहाँसँग दिवा बसमै जाने कुरा म ढुक्क र निश्चिन्त हुँदै सहर्ष स्वीकारें । भोलिपल्ट बिहानै हामी (रुद्रसर, म र भक्तबहादुर श्रेष्ठ) मिनिबस चढेर पूर्वतर्फ लाग्यौं । 

थानकोट काटेपछि फरक खालको दृश्य हेर्दै र कुराकानी गर्दै अगाडि बढ्यौं । मुग्लिनमा खानाखान झ¥यौं । रुद्रसरले बस रोकेभन्दा अलिपर राम्रो ठाउँ छ भन्दै लग्नुभयो । खानामा विशेष ध्यान दिनुहुँदो रहेछ, सफा र मीठो खाना खायौं । आफूले पर पु¥याएर ख्वाएकोले होला ‘खाना मीठो छ कि छैन ?’ भनेर सोध्नुभयो । हामीले पनि राम्रो ठाउँमा ल्याउनु भयो मीठो छ भन्यौ र यात्रा जारी राख्यौं । बाटोमा कहिले प्रकृति हेर्दै, कहिले जनजीवनको बारेमा कुरा गर्दै, कतिखेर साहित्य, संस्कृति र परिवर्तन अनि महिला उत्पीडन र जागरणका कुरा गर्दै पूर्वको लामो यात्रा छोट्याउँदै ग¥यांै । उहाँको बोलिरहनुपर्ने बानी, धेरै उहाँ नै बोल्नुभयो, म सुनिरहें र थोरैमात्र बोलें । 

चितवन काटेपछि ‘मेची पारीका माछा अत्यन्त स्वादिष्ट हुन्छन् त्यहाँ गएर माछा खाने हो’ भन्नुभयो । उहाँलाई माछामा विशेष मोह नै रहेछ । त्यहाँबाट कोशी पुग्ने बेलासम्म बाह्र–पन्ध्र चोटि माछाको प्रसंग उठाउनुभयो होला । सरले ठूलो चाख र महत्वका साथ दोहो¥याई तेह¥याई भनेको हुँदा ममा पनि त्यसको महत्व निकै बढ्यो । एक किसिमले मनमनै आदर्शिकृत गरें । जब जब भोक लाग्दैगयो तब त्यसको कल्पनाको चित्र सजीव बन्दै गयो र कतिखेर पुगौंला त्यो कल्पनाको संसारमा र खाउँला स्वादिष्ट माछा, कोशीको पानी हेर्दै भनेर जिब्रो रसाउन थाल्यो । लामो यात्रापछि प्रतिक्षित ठाउँ पनि आइपुग्यो । अत्यन्त भोक लागेको बेलामा ‘कोशी पारीका माछा र भूजा निकै स्वाद लिएर खायौं । जसलाई अहिले पनि झलझली संक्षिरहेकी छु । खाइसकेपछि तृप्त र सन्तुष्ट अनुहारमा मक्ख गर्दै” छैन त मीठो ?” भन्नु भयो मैले पनि ‘एकदम मीठो छ’ भनें । फेरि जाने मौका प¥यो भने अवश्य पनि खान छुटाउने छैन रुद्रसरको अत्यन्त मनपर्ने ‘कोशी पारीका माछा’ रुद्र सरलाई सम्झदै सम्झदै । 

साँझमा इटहरी पुग्यौं, त्यहाँबाट रुद्रसरले आफ्नी सालीको घर विराटनगर लग्नुभयो । भोलिपल्ट इटहरीको गोष्ठीमा भागलिन पुग्यौं । अर्को दिन बिहान रुद्रसर, अमर गिरी, म र नारदमणि छार्तमछाली धरान माथिको डाँडामा गयौं र धरान बजारको रमणीय दृश्य हेर्दै जङ्गलै जङ्गल ओरालो लाग्यौं । रुद्रसर र अमर गिरी दुवै बोलिरहनुपर्ने मान्छे कतिखेर विभिन्न ठाउँका कुराकानी गर्दै कतिखेर डाँडाकाँडा जङ्गगल र सुन्दर धरान बजार हेर्दै र भावुक हुँदै जङ्गलै जङ्गल ओरालो झ¥यौं । तल एउटा प्रसिद्ध मन्दिर रहेछ त्यसैमा पुगेर फर्कियौं । 

फर्किंदा रुद्र सरले धरान बजारमा बेच्न राखेका माछा र सिद्राहरू यो मीठो हुन्छ यो हुँदैन भनेर देखाउदै आउनु भयो । हामी इटहरी पुग्दा दोस्रो दिनको कवि गोष्ठी सुरु भैसकेको रहेछ । हामी अलि ढिला भयौं । गोष्ठी सकिएको भोलिपल्ट प्रलेसका पदाधिकारी सहित केही वरिष्ठ साहित्यकारहरू कृष्ण सेन इच्छुकलाई भेट्न कारागारतिर जानु भयो । गाडी सानो हुँदा नअटेकोले हामी कृष्ण सेनलाई भेट्न जान सकेनौं । त्यहाँबाट रुद्रसर झापातिर जानुभयो र हामी काठमाडौं फक्र्यौ । 

रुद्र सरले आन्दोलन र विरोध कार्यक्रमहरूमा पनि सक्रियतापूर्वक भाग लिनुहुन्थ्यो । कथित सुन्दरी प्रतियोगिताको विरोध प्रदर्शनमा खुट्टा नै भाँचिएर धेरै दुःख पाउनु भएको थियो । २०६२÷०६३ को आन्दोलनको समयमा पनि भाग लिन गयौं । एक चोटि धेरै जना स्रष्टाहरूको समूहमा बानेश्वरबाट हामी (रुद्रसर र म) पनि गिरफ्तार भएका थियौं । सरको भनाइ अनुसार त्यही समूहबाट मिडियामा नाम पठाउँदा गिरफ्तार हुने स्रष्टाहरूको लिस्टमा मेरो नाम थिएन रे । पछि मलाई ‘तपाईंको नाम छुटाइदिए, यस्तै काम गर्छन् भनेर निकै गुनासो गर्नुभयो । मैले काम भएपछि भैहाल्यो नि नाम दिन छुटेर के भयो र’ भने । तर रुद्रसरले लामो समयसम्म त्यो प्रसङ्ग उठाउदै गलत काम गर्छन् भन्दै रिसाइ रहनुभयो । मैले सोधिन सायद त्यसमा उहाँकै नाम पनि छुटेको रहेछ र आफूलाई गनेनन् वा उपेक्षा गरे भन्ने लागेछ कि भन्ने पनि अड्कल काट्छु । किनकि उहाँले एकचोटि ‘टाढाबाठा छुँ भन्ने केही दम्भी, पाखण्डीहरूले तपाईं हामी जस्ता सीधा साधा र इमान्दार मान्छेहरूलाई हेप्न खोज्दछन् । ’ भनेको याद छ । कहिलेकाँही त्यस्तो महसुस पनि गर्नुभयो कि भन्ने लाग्छ । 

रुद्रसर मेरो कोठामा चार–पाँच चोटि आउनु भएको छ । एकचोटि छोरी (नूतन) को बिहेको निम्ता कार्ड लिएर आउनु भएको बेला लामो समयसम्म गेटमा ढक ढक गर्दा पनि हामीले सुनेन छौं । भित्र आएपछि कमसेकम २० मिनेट बाहिर बसेंहुँला भन्नुभयो । मलाई निकै दुःख लाग्यो ।” आफैं हिँड्नु भएको कार्डहरू बाँड्न पनि ?” भनेर सोद्धा” हामी छोरीमात्र हुनेहरू कार्ड बाँड्न बैंक, हस्पिटलहरूतिर आफैं हिँड्नुपर्दो रहेछ” भन्नुभयो । बिहेको दिन कार्डमा लेखेको समय भन्दा केही ढिला पुगें । रुद्र सरको आत्मीयता प्रदर्शनले पनि होला म अरु निम्ताहरूमा झैं औपचारिकता पु¥याएर फर्किहाल्ने मनस्थितिमा गएकी पनि थिइन । त्यसैले छोरी अन्माउने बेलासम्म बसि नै रहें । आँशुझार्दै छोरी बिदाइ गर्नुभयो । 

रुद्र सरले फुटेर होइन जुटेर, एक्लो हिरो बनेर होइन समूहमा मिलेर काम गर्नुपर्छ भन्ने विश्वास गर्नुहुन्थ्यो । कम्युनिस्टहरू जुटेमात्र ठोस कार्य गर्न सकिने बताउनु हुन्थ्यो । एकता केन्द्र र मसाल एकीकृत हुने बेलामा आफूले पनि एकताको लागि निकै पहल गरेको छु भन्नुहुन्थ्यो । पछि एकता भयो र हामी एउटै पार्टीमा समाहित भयौं । तर दुई वर्षपछि फेरि तीन समूहमा बाँडियो । त्यतिखेर मैले माओवादीतिर विचार गर्ने हो कि भनेर आफ्नो मनसाय व्यक्त गर्दा ‘ऐले चुप लागेर बसौं सँगै एकातिर लागौंला’ भन्नुभएको थियो । पछि उहाँ ने.क.पा. एकीकृततिर लाग्नुभएछ । त्यता लागेपछि एक दिन अचानक एक दिन मेरो कोठामा आउनुभयो । सर आउँदा खुसी र आश्चर्य व्यक्त गर्दै ‘ए सर आउनु भएछ’ भनेछु । त्यासो भन्दा उहाँले ‘यहाँ नआएर कहाँ जाने त म, आज एउटा प्रस्ताव लिएर आएको छु’ एकीकृततिर लाग्नुपर्छ, त्यहाँ राम्रो हुन्छ, राम्रा मान्छेहरूको समूह छ भन्दै साधिकार विश्वस्त मुद्रामा ‘तपाईंहरूलाई निम्ता गर्न आएको हुँ’ भन्नुभयो । म भने मनमनै माओवादीतिर लाग्ने निर्णय गरिसकेकी थिएँ । तर पनि त्यत्रो विश्वाससाथ घरमा आएको मान्छेलाई एकैचोटि आफ्नो निर्णय सुनाएर खस्रक्क पार्न पनि सकिन र धेरै चासो नदेखाइ विचार गरौंला मात्र भने । उहाँले एकीकृत ठीक र माओवादी बेठिक हुनाका कारणहरू पनि बताउनुभयो, तर म तटस्थ जस्तै रहें । त्यसले उहाँलाई निराश पारिदियो कि । राम्रोसँग बुझाएर आफ्नो घरमा स्पष्ट नपारी उहाँको प्रस्तावको बेवास्ता गरेर चित्त दुखाएँ कि जस्तो पनि लागिरहेको छ । 

छुट्टाछुट्टै पार्टीमा रहेपनि उहाँसँगको सम्बन्धमा कुनै फरक आएन । उहाँले उत्तिकै माया र निकटता पूर्वक व्यवहार गर्नुहुन्थ्यो । सबैभन्दा पछि मलाई कुनै एउटा पत्रिकाको लागि महिलाहरूको रचना मैले सङ्कलन गरेर दिन्छु भनेको छु मलाई एउटा कविता दिनु भनेर फोन गर्नुभएको थियो । 

त्यसैको केही समयपछि एकदिन रुद्रसर बिरामी भएर टिचिङ हस्पिटलमा हुनुहुन्छ भन्ने थाहा पाएर तुरुन्तै भेट्न गएँ । त्यहाँ जाँदा आई.सी.यु.मा बेहोस अवस्थामा हुनुहुन्थ्यो । अचानक देखेको त्यस्तो दृश्यले स्तब्ध बनायो । त्यो सधैं कुरा गरिरहनुपर्ने सरलाई बेहोस अवस्थामा पल्टिरहेको देख्दा पुराना यादहरू मस्तिष्कमा खेलाउँदै र वर्तमान यथार्थ स्वीकार्न कर बल गर्दै भावुक र अवाक धरै बेरसम्म हेरिमात्र रहें र फर्किएँ । अर्को चोटि समय समयमा भेट्न गएँ । भोलि बित्नु हुँदो रहेछ पहिलो दिन जाँदा भने चिन्नुभयो र हात हल्लाई विभिन्न संकेत गरेर के के भन्ने प्रयास गर्नुभयो । तर निकै प्रयास गर्दा पनि हामीले बुझ्न सकेनौं । औंलाले देखाएर दुई तीन भनेको बुझिन्थ्यो तर त्यो के को संकेत हो बुझिएन । 

उहाँलाई अन्तिम चोटि हस्पिटलमा भेटेको भोलिपल्ट बिहानै मृत्युको खबर सुनें । अलिकती ढिला भएकाले मातृकाजीलाई हस्पिटल जाउँ कि आर्यघाट भनेर सोद्धा हस्पिटल बोलाउनुभयो । तर म टिचिङ हस्पिटल पुग्दा त्यहाँबाट पशुपतितिर लगिसकेका हुनाले म पनि पशुपति मै गएँ । म त्यहाँ पुग्दा श्रद्धाञ्जली सिध्याएर दागबत्ती दिने तयारी हुँदै थियो । एक मिलनसार सशक्त ब्यङ्ग्य निबन्धकार रुद्रसरलाई चितामाथि नै अन्तिम श्रद्धा सुमन चढाएँ । छोरीहरूले दागबत्ती दिएपछि हामी सबैले अन्तिम बिदाइ ग¥यौं । 

------------------------------------------------------

साथी रुद्र खरेल
–श्याम प्रसाद 

२०४७ पुस २६ को ‘पृष्ठभूमि’ साप्ताहिकमा रुद्र खरेलका ‘भूमिकामाथिका श्यामप्रसाद : केही जिज्ञासाहरू’ र मेरो ‘दुई लाइनका बीचको सङ्घर्ष’ लेखहरू निस्केका थिए । तर, यसबेला हाम्रो चिनजान हुन पाएको थिएन । २०४७ कै फागुन ६ गते कवि युद्ध प्रसाद मिश्र बित्नुभएपछि खुलामन्चमा शोकसभा र पशुपति आर्यघाटसम्म शवयात्राको आयोजना गरिएको थियो । मैले पनि दुवै कार्यक्रममा भाग लिएर श्रद्धाञ्जली र समवेदना प्रकट गरेको थिएँ । त्यसबेला अष्टलक्ष्मी शाक्य, ऋतु आसिक, केशव बडाल, जगदीशचन्द्र भण्डारी, झलनाथ खनाल, राधाकृष्ण मैनाली, रायन र सीताराम तामाङ ... आदि अरु निकै जनाका साथै रुद्र खरेलसँग पनि पहिलो पटक भेट भएको हो । फागुन २५ मा त खगेन्द्र संग्रौला, गोविन्द वर्तमान, रमेश विकल, रामहरि पौड्याल, विमल निभा... आदि अरु अनेक लेखक साथीहरूका साथै रुद्र खरेल समेत भएर मुरारी अर्याल कहाँ मेरो विषयमा छलफल गोष्ठी नै गर्नुभएको थियो । त्यस बेला उहाँहरूले मेरो रचनाको सबल दुर्बल दुवै पक्ष, ‘उत्साह’ को घरमा मेरो बसोवासको प्रबन्ध मिलाउने र प्रलेसलाई सक्रिय पार्नुपर्छ भन्ने विचारहरू अघि सार्नुभएको थियो । 

२०४८ जेठ १८ मा गोपालप्रसाद रिमालको जयन्ती पारेर दिने गरिएको कृष्णमणि अर्याल साहित्य पुरस्रकारबाट मलाई सम्मानित गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमा स्रष्टा प्रकाशनले आयोजना गरेको त्यस समारोहमा अभि सुवेदीले रिमालका रचनाहरूको विशेषता बताउनुभएको थियो । गङ्गाप्रसाद उप्रेती, कृष्णप्रसाद पराजुली र धर्मराज अधिकारीले मेरो विषयमा विस्तृत रूपबाट नै बताउनुभएको हो । स्रष्टा प्रकाशनका अध्यक्ष खगेन्द्र संग्रौलाकै अध्यक्षतामा भएको त्यस समारोहमा मलाई दिइएको अभिनन्दन पत्र रुद्र खरेलले पढेर सुनाउनु भएको थियो भने उहाँ पुरस्कार निर्णय मण्डलका सदस्य समेत रहनु भएको रहेछ । २०४८ असोज ६ गते शोभा भगवतीमा प्रेम बहादुर कंसाकारको दाहसंस्कार भएको थियो । प्रलेसको तर्फबाट रुद्र खरेल समेत गङ्गा उप्रेती, मोहन सिटौला, बासुदेव अधिकारी, विष्णु प्रभात र म श्रद्धाञ्जली प्रकट गर्न र पछि उहाँको घरमा समवेदना प्रकट गर्न गएका थियौं । असोज ११ मा रुद्र खरेलले मेरो ‘आँधी भई उठ्छन्’ भन्ने गीत सङ्गीतबद्ध हुने भएको छ भनेर बताउनुभयो । अब त निकै दिन अघिदेखि हामी साथीसाथी भईसकेका थियौं । २०४८ कार्तिक १८ मा मुरारी अर्यालकहाँ राजेन्द्र सुवेदी, रुद्र खरेल र म समेत भएर प्रलेसका आउँदा बैठकहरूमा के के विषयमा छलफल गर्नुपर्ला भन्ने कुराकानी गरेका थियौं । हाम्रा काम–कुरालाई वैचारिक र व्यावहारिक गरी दुई भागमा बाँडेर चल्नुपर्छ भन्ने सोचाइ रहेको थियो । कार्तिक २७ मा पनि मुरारीकहाँ नै खगेन्द्र, गङ्गा उप्रेती, राजेन्द्र सुवेदी, विष्णु प्रभात, रुद्र खरेल र म समेत भई छलफल गरेका थियौं । विषय प्रलेसकै बैठकहरूको तयारी सम्बन्धी थियो । 

२०४९ भदौ २८ मा प्रलेसको कार्यालयमा खगेन्द्र संग्रौला, गङ्गा उप्रेती, डा. महेश मास्के, रुद्र खरेल र मेरो उपस्थिति थियो । हामीले आउँदो बैठकको मिति बार सार्ने वा नसार्नेबारे कुरा गरेका थियौ । २०४९ कार्तिक १६ मा खगेन्द्र, गङ्गा, रुद्र र मेरो उपस्थिति थियो । त्यस बेला रुद्रले प्रकट गर्नुभएको सार यस्तो थियो –” शुल्क लिएर हामीले कार्यक्रमहरूको आयोजना गर्दा सकेसम्म कम दर राख्ने गर्नुपर्छ । किनभने हाम्रो धेरैजसो दर्शकहरूको आर्थिक अवस्था राम्रो छैन । हामीले व्यक्तिको व्यक्तित्वलाई भन्दा संस्थाको अवस्थालाई राम्रो पार्नतिर प्राथमिकता दिनुपर्छ । त्यसैले सङ्गठनात्मक रूपबाट प्रलेसलाई बलियो बनाउन खोजौं । ’ उहाँका यी कुराहरू मलाई निकै राम्रा लागेका हुन् । रुद्रले आफ्ना पुस्तकहरू मलाई उपहार दिने गर्नुभएको थियो र मैले पढ्ने पनि गरेको थिएँ । जस्तै २०४९ मै प्रकाशित आफ्नो नयाँ निबन्ध–सङ्ग्रह ‘तपाईंको नाम के हो ?’ मैले त्यसैबेला पढेको थिएँ । २०४९ मङ्सिर २८ मा प्रलेसको कार्यालयमा खगेन्द्र, गङ्गा, राजेन्द्र सुवेदी, रुद्र र हरि गोविन्द... आदिको उपस्थिति थियो । ऋषिराज बरालले मप्रति पत्रपत्रिकामा लेख्नु भएका आक्रमक लेखहरूप्रति सबै सथाीहरूले असहमति प्रकट गर्नुभएको थियो । २०४९ पुस १४ मा माओ शतवार्षिकी आयोजक समितिको तर्फबाट कृषि, आयोजना सेवा केन्द्रको एप्रोक्स हलमा साहत्यि–गोष्ठी गरिएको थियो । आनन्ददेव भट्ट, आहुति, कृष्णसेन ‘इच्छुक’, गोविन्द वर्तमान, पूर्ण विराम, रामचन्द्र भट्टराई, वासुदेव अधिकारी र हरिगोविन्द लुइटेल ... आदि तीस जना जतिबाट कविता पाठ । रुद्र खरेलले माओको साहित्यिक योगदानबारे चर्चा गर्नु भएको थियो भने मलाई सभाध्यक्ष बनाइएको थियो । २०४९ साल माघ १६ मा प्रलेसमा खगेन्द्र, गङ्गा, राजेन्द्र ... आदिका साथै रुद्र र म पनि उपस्थित थियौं । प्रलेसको सम्मेलन २०५० को मङ्सिरमा गर्ने, तीन थरी कार्यपत्रहरू प्रस्तुत गर्ने र ‘प्रलेस’ को दोस्रो अङ्क प्रस्तुत गर्ने जस्ता निर्णय गरिएका थिए । माघ १७ मा प्रलेसको राष्ट्रिय परिषद्को बैठक बस्दा रुद्र र म पनि थियौं । ऋषिराज बरालले गरेको उजुरी सबैलाई दुराशयपूर्ण नै लागेको थियो । तैपनि निजसँग भेट गरी अन्तर्विरोध चर्कन सकभर नदिने भन्ने निधो गरिएको थियो । माघ २४ मा साहित्य सदन रामहिटीमा हृदयचन्द्र जयन्तीको सन्दर्भ पारेर ‘सत्ता र साहित्य’ को प्रवचन गोष्ठी गरिएको थियो । त्यस बेला रुद्रले प्रवचन गर्नुभएको थियो भने म सभाध्यक्ष थिएँ । २०४९ फागुन ५ मा खगेन्द्र, निनु, राजभाइ, हरिगोविन्दका साथै रुद्र र म पनि प्रलेसमा थियौं । त्यस बेला हामीले नेपाल र भारतका साहित्यकारहरूको अवस्थाबारे कुराकानी गरेका हौं । चैत्र ५ मा प्रलेसमा मुरारी अर्याल र रुद्रसँग मात्र भेट भयो । वासु शशी हिजो बम्बईमा बित्नुभएको थाहा पाइयो । चैत्र ८ मा प्रलेसमा खगेन्द्र, गङ्गा, राजेन्द्रका साथै रुद्र र म समेत भएर वासु शशी बित्नुभएकोमा श्रद्धाञ्जली वक्तब्य प्रकाशित गर्ने र समवेदना प्रकट गर्न उहाँको घरमा जाने कुरा पनि भयो । चैत १२ मा जयबागेश्वरमा उहाँको घरमा समवेदना प्रकट गर्न गयौ र श्रद्धाञ्जली पत्र पनि दियौं । चैत २२ मा प्रलेसमा खगेन्द्र, गङ्गा, रुद्र र म भएर एक हप्तापछि सचिवालयको बैठक गर्ने कुरा ग¥यौं । चैत्र ३० मा प्रज्ञा भवनमा सांस्कृतिक प्रदर्शन हेर्न गएँ– गङ्गा र राजेन्द्रसँग । त्यहाँ खगेन्द्र र रुद्रसँग पनि भेट भयो । कार्यक्रम प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सांस्कृतिक टोलीद्वारा प्रस्तुत गरिएको थियो । 

२०५० वैशाख १५ मा रुद्र खरेलमार्फत ‘इन्द्रेणी’ पत्रिका पाएँ । त्यसमा मेरो ‘साँच्चीकै सम्माननीयहरू’ शीर्षक निबन्ध निस्केको थियो । २०५० असोज २१ मा प्रलेसको कार्यालयमा खगेन्द्र, गङ्गा, राजेन्द्र, रुद्र र म भएर दुई दिनपछि हुने केन्द्रीय समितिको बैठकबारे कुरा ग¥यौं । २०५० कार्तिक २८ मा प्रलेसमा खगेन्द्र, गङ्गा, राजेन्द्र, रुद्र र म भएर सम्मेलनको तयारीबारे कुरा ग¥यौं । २०५० मङ्सिर ३ को भेटमा चलीसको दशकका प्रगतिवादी केही कविताहरूको सङ्कलन प्रकाशित गर्ने निधो ग¥यौं । २०५० पुस ११ मा रुद्र र म समेत पन्ध्र जनाको उपथिति थियो । हामीले प्रलेसलाई वाम विचारका लेखकहरूको साझा मोर्चाको रूपमा नै विकसित गर्दै लैजाने कुरा गरेका थियौं । पुस १३ मा खगेन्द्र, गङ्गा, विष्णु प्रभात, रुद्र र म उपस्थित थियौं । खगेन्द्रले सम्मेलनको निम्ति तयार पार्नुभएको विवरण पढेर सुनाउनु भयो । पुस १५ मा रुद्र र म समेत सत्र जनाको उपस्थिति थियो । ककसलाई कुन कुन पदमा चुन्ने भन्नेबारे नै कुराकानी केन्द्रित रह्यो । 
२०५१ जेठ ६ मा प्रलेसमा अरु नौ जना साथीहरूको साथै रुद्र खरेल र म पनि उपस्थित भयौं । त्यस बेला प्रलेसको वार्षिकोत्सव र कवितागोष्ठीको तयारी सम्बन्धी कुराकानी ग¥यौं । २०५१ भदौ ३ मा कविता–चयन समितिमा जगदीशचन्द्र भण्डारी, रुद्र खरेल र वासुदेव अधिकारीलाई राख्ने जस्ता निर्णयहरू हुनपाएका थिए । भदौ १७ मा प्रलेसमा अरु आठ जनाका साथै रुद्र र म पनि थियौं । २०५१ कार्तिकमा गङ्गा उप्रेती, निनु चापागई, भक्तबहादुर नेपाली, रुद्र र म समेत भएर प्रलेसका जिल्ला–शाखाहरूसँग मासिक सम्पर्क नियमित रूपले राख्न खोजौं भन्ने कुरा गरिएको थियो । २०५१ पुस १ मा सचिवालयको विस्तारित बैठक बस्दा अरु पन्ध्र जनाका साथै रुद्र र मैले पनि भाग लियौं । पुस १५ मा रुद्र र म समेत सात जना भएर सुर्खेत–यात्राको तयारी सम्बन्धी कुरा ग¥यौं । फागुन १८ मा खगेन्द्र, निनु र रुद्र म बसेको ठाउँमा आएर एक घण्टा जति कुराकानी गर्नुभयो । सीताराम प्रसाईंले स्थापना गरेको पुरस्कार नलिनुहोस् भन्नुभयो । प्रलेसले लिनुहुन्न भनी निर्णय गरेमा यो पुरस्कार लिन्न भनेर बताएँ । तर उहाँहरूलाई चित्त बुझेन र मैले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ भन्नुभयो । मैले राजनामा गरौंला भनेपछि मात्र उहाँहरूलाई चित्त बुझ्यो र बिदा हुनुभयो । फागुन २६ गते प्रलेसमा मैले पुरस्कार लिनुहुन्न र लिनुहुन्छ भन्ने दुवै थरी मतका साथीहरूको उपस्थिति थियो– रुद्र र म समेत । तर कसैबाट पनि यस विषयमा एक शब्दसम्म उच्चरण गरिएन । त्यसैले यसबारे म पनि चूप लागिरहें । चैत्र १० मा आउँदो १७–१८ गते झापामा हुने प्रलेसको कार्यक्रममा भाग लिन काठमाडौंबाट कोको कहिले जाने भन्ने बारेमा नै हाम्रो कुरा केन्द्रित रह्यो । 

२०५२ जेठ ५ मा प्रलेसमा अरु पाँच जना साथीहरूका साथै रुद्र खरेल र म पनि थियौं । २०५१ को कुष्णमुरारी अर्याल साहित्य पुरस्कार निनु चापागाईंलाई दिइने भएको थाहा पाइयो । जेठ २६ मा प्रलेसमा निनु, भक्तबहादुर नेपाली, रुद्र र म थियौं । भोलि ‘मूल्याङ्कन’ को कार्यलायमा केन्द्रीय समितिको बैठक बस्ने र अध्यक्ष पदबाट मेरो राजिनामाबारे विचार गरिने कुरा भएको थियो । २०५२ असार २३ र साउन ५ मा पनि प्रलेसमा रुद्र र मेरो भेट हुन पाएको थियो । तर, ती बेलामा विशेष कुराकानी भने केही भएका थिएनन् । साउन १९ मा त रामहरि पौड्याल, रुद्र र म मात्र उपस्थित थियौं । ३१ गते हुने बहुभाषिक कवि–गोष्ठीको निम्ति तयारी पूरा गर्नुप¥यो भन्ने कुरा भयो । भदौ ९ मा रुद्र र म समेत गरी बाह्र जना उपस्थित थियौं । बहुभाषिक कवि गोष्ठी पहिले सल्लाह गरे अनुसार बनेपामा मै हुनेभयो । आउँदो २४ र २५ गते दाङमा हुनेभएको ‘जनआन्दोलनपछिको प्रगतिवादी साहित्यको अवस्था र प्रवृत्ति’ विषयक गोष्ठीमा को को जाने भन्नेबारे निधो ग¥यौं । २०५२ मङ्सिर २२ मा खगेन्द्र, गङ्गा, निनु, भक्तबहादुर, रुद्र र म उपस्थित थियौं । २०५३ चैत्र १ मा रुद्र र म समेत सत्र जनाको उपस्थिति थियो । 

२०५५ असार ३० मा रुद्र खरेलले मलाई फोन गर्नुभयो । उहाँ र माधव पोखरेल (त्रिविविका भाषाशास्त्रविद्) मिलेर सत्ताबाटपीडित नेपाली साहित्यकारहरूका विषयमा कार्यपत्र तयार पार्न लाग्नुभएको रहेछ । म जेलमा जम्मा कति बसें बसें र कुन कुन जेलमा किन राखिए भन्ने किसिमका कुराहरू सोध्नुभयो । उहाँहरूले गर्न खोज्नुभएको काम राम्रो हो भनेर प्रशंसा गरें । २०५६ फागुन २७ मा रुद्र र म समेत भई भोलि र पर्सी हुने प्रलेसको सम्मेलन सम्बन्धी कुराकानी ग¥यौं । चैत्र ५ मा राष्ट्रिय जनवादी सांस्कृतिक संस्थाले आयोजना गरेको समारोहमा प्रमुख अतिथि कृष्णचन्द्र सिंह प्रधान, सभाध्यक्ष भवानी घिमिरे, उद्घोषक जगत प्रेक्षित हुनुहुन्थ्यो भने धन्यवाद ज्ञापन रुद्र खरेलबाट गरिएको थियो । वक्ताहरूमा म पनि परेको थिएँ । २०५७ पुस १४ मा प्रलेसमा रुद्र र मेरा साथै निनु चापागाईं र मेरी डेसेन आदि अरु साथीको पनि उपस्थिति थियो । हामीले आफ्नो प्रगतिवादी विचारलाई व्यवहारमा समेत लागु गर्दै बढ्न बल गर्नुपर्छ भन्ने नै सबैको मत रह्यो । 

२०५९जेठ १८ गते मा विवेक सिर्जनशील प्रकाशन प्रा.लि. र बालसंसार, हिमाल एशोसियसनको संयुक्त आयोजनामा समारोह गरिएको थियो । त्यस बेला उपस्थित अतिथिहरूमा खगेन्द्र संग्रौला, जगदीश भण्डारी, जनकप्रकाश हुमागाईं, मित्रलाल पंज्ञानी, रमेश विकल आदिका साथै रुद्र खरेल र म पनि परेका थियौं । साउन १० गते म मदन मल्लसँग प्रलेसमा पुग्दा जीवेन्द्रदेव गिरी र रुद्र मात्र हुनुहुँदो रहेछ । उहाँहरू आउँदो भदौ १५ गते झापामा गरिने निबन्ध सम्बन्धी कार्यक्रमको तयारीबारे सरसल्लाह गरिरहनु भएको थियो । भदौ १४ को बिहान ५ बजे रुद्र र म समेत प्रलेसका साथीहरू झापाको लागि बसबाट प्रस्थान गरेका थियौं । साँझ ५ बजे झापाको काँकडभित्तामा पुगियो । बेलुकी गङ्गा, जनकप्रसाद, रुद्र र मलाई होटल मेचीमा राखिएको थियो । भदौ १७ मा निनु चपागाईं, मातृका पोखरेल र रुद्र खरेल आदि केही साथीहरू दुई–तीन दिनपछि फर्कने गरी झापा र मोरङमा नै बस्नुभयो । हामी अरु साथीहरू भने बिहान प्रस्थान गरेर बेलुकी काठमाडौं आइपुग्यौं । असोज २५ मा प्रलेसमा जीवेन्द्रदेव, रुद्र, मदन मल्ल र म समेत गरी चार जना मात्र उपस्थित थियौं । मङ्सिर २० मा उपस्थित हुनेहरू मध्ये रुद्र र म पनि परेका हौं । माघ २८ मा रुद्रलाई फोन गर्दा पर्सी कष्णमणि साहित्य पुरस्कार व्यवस्थापन समितिको बैठक छ र आफू मलाई लिन आउनु हुने कुरा बताउनुभयो । फागुन १ मा व्यवस्थापन समितिको बैठकमा जानको निम्ति मलाई लिन रुद्र आउनुभएको थियो । उहाँ समितिका सचिव हुनुहुन्थ्यो र अध्यक्ष मलाई बनाइएको थियो । फागुन ६ मा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको समारोहमा वक्ताहरूमध्ये रुद्र पनि हुनुहुन्थ्यो र मलाई प्रमुख अतिथि बनाइएको थियो । चैत्र ७ मा म प्रलेसमा पुग्दा रुद्र पनि हुनुहुन्थ्यो । त्यसबेला उहाको मेरो ज्वाइँ वासुदेवसँग पनि परिचय हुन पायो । उहाँहरूले आपसमा शाहकाल र राणाकालका ऐतिहासिक घटनाहरूबारे कुरा गर्नुभयो । रुद्रले हामीलाई उहाँको नयाँ पुस्तक ‘आषढस्य प्रथम दिवसे’ (व्यङ्ग्यात्मक निबन्ध सँगालो) उपहार दिनुभयो । चैत्र १४ मा प्रलेस जाँदा उपाध्यक्ष रुद्र पनि हुनुहुन्थ्यो । त्यस बेला म चाहिँ सल्लाहकार थिएँ । चैत्र २२ मा केन्द्रीय समितिको बैठक बसेको थियो– दीर्घकालीन र अल्पकालीन कार्यक्रम बनाउने विषयमा । त्यस बेला रुद्र र मैले पनि भाग लिएका थियौं । 
२०६० बैशाख १८ मा रुद्र खरेलले फोन गरेर कृष्णमणि साहित्य पुरस्कारबारे के–कसो भइरहेछ भनेर र प्रलेसको अबको कार्यक्रमबारे पनि जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिलाई सम्बन्धित कुरा यसरी थाहा दिने राम्रो बानी उहाँमा पाइन्थ्यो । वैशाख २८ मा प्रलेसले ‘वर्तमान सङ्कटको निकासमा लेखकहरूको भूमिका’ बारे विचार गोष्ठी गरेको थियो । त्यस बेला मलाई उपाध्यक्ष रुद्रले नै लैजानुभएको थियो । जेठ २ मा म प्रलेसमा जाँदा रुद्र पनि हुनुहुन्थ्यो । ७ गते जाँदा त उहाँले नै मलाई लैजानुभएको थियो । १४ गते फोन गरेर चार दिनपछि कृष्णमणि अर्याल साहित्य पुरस्कार प्रदान गरिने कार्यक्रमबारे बताउनुभयो । १६ गते प्रलेसमा जाँदा रुद्रसँग पनि भेट्न पाएको थिएँ । १८ मा कृष्णमणि साहित्य पुरस्कारबाट सम्मान गरिने समारोहको सञ्चालन व्यवस्थापन समितिका उपाध्यक्ष रुद्रलाई फोन गरेर कृष्णमणि पुरस्कार सम्बन्धी समारोहमा गोपाल प्रसाद रिमालको परिवारलाई किन नबोलाइएको र वक्ताहरूले बोलेको कुरा क्यासेटमा किन नभरिएको भनेर सोधेको थिए । साउन १४ मा रुद्रले फोन गर्नुभयो । १७ गते कवि–लेखकहरूले प्रतिगमनको विरोधी अभियानको रूपमा कविता पाठ गर्ने कार्यक्रम छ भनेर बताउनुभयो । ३० गते प्रलेसमा फोन सम्पर्क गर्दा रुद्र पनि हुनुहुँदो रहेछ भनेर थाहा पाएँ । माघ ८ मा रुद्रले फोन गरेर प्रलेसकोतर्फबाट ऋषिरामकहाँ समवेदना प्रकट गर्न जान खोजिएको कुरा बताउनुभयो । माघ १७ मा भोलि प्रज्ञा प्रतिष्ठानमा जे.बी. टुहुरेको कार्यक्रम छ भनी फोनबाट सूचित गर्नुभयो । हदृयचन्द्रको ८९ औं जयन्ती पारेर स्मृति प्रतिष्ठानको तर्फबाट वनस्थाली विद्यालय, बालाजुमा गरिएको समारोहमा रुद्र खरेल र आई.जी. मल्ल (कलाकार) लाई हृदयचन्द्र सम्मान तथा नेत्र एटमलाई हृदयचन्द्र पुरस्कार प्रदान गरिएको थियो । उपस्थित व्यक्तिहरू मध्ये म पनि थिएँ र फागुन ९ मा साहित्य सन्ध्यबाट ल क्याम्पसमा अयोजित गौरा रिजालको उपन्यास ‘अघोषित द्वन्द्व’ विमोचन समारोहकी सभानेतृ नर्मदे्शवरी सत्याल हुनुहुन्थ्यो र मलाई प्रमुख अतिथी बनाइएको थियो । ‘अघोषित द्वन्द्व’ बारे आनन्ददेव, गोविन्द भट्ट, गङ्गा उप्रेती, दाहाल यज्ञनिधि, रुद्र खरेल र सुधा त्रिपाठी आदिले चर्चा गर्नुभएको थियो । फागुन २९ मा प्रलेसमा जाँदा रुद्रसँग पनि भेट भएको थियो । 
२०६१ असोज २९ गते प्रलेसमा फोन सम्पर्क गर्दा रुद्र खरेल पनि उपस्थित हुनुहुँदो रहेछ भनेर थाहा पाएँ । मङ्सिर ३ मा रुद्रले फोन गर्नुभयो । ६ गते कृष्णमणि साहित्य पुरस्कार सम्बन्धी सल्लाह गरिने भएको र आफू मलाई लिन आउनुहुने कुरा बताउनुभयो । ४ मा म प्रलेसमा जाँदा रुद्र पनि हुनुहुन्थ्यो । ६ गते उहाँले मलाई कृष्णमणि साहित्य पुरस्कार सम्बन्धी गुठीको बैठकमा लौजानुभयो । रुद्र गुठीका सचिव हुनुहुन्थ्यो । उहाँले मलाई आफ्नो नयाँ पुस्तक ‘तेस्रो आँखा’ (व्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह) उपहार दिनुभयो । पुस २ गते प्रलेसमा पुग्दा रुद्रको पनि उपस्थिति थियो । ९ गते रुद्रले फोन गरेर भोलि दिउसो ल क्याम्पसमा केही कृतिहरूबारे छलफल गरिने कार्यक्रम छ भनेर बताउनुभयो । १० मा निनु चापागाईंको ‘उत्तर आधुनिकतावाद’, मुरारी अर्यालको ‘नेपालमा सामन्तवाद’ र रुद्रको ‘तेस्रो आँखा’ पुस्तकहरूबारे चर्चा–परिचर्चा गोष्ठीको आयोजना गरिएको थियो । रुद्रको पुस्तकका टिप्पणीकार कृष्णचन्द्र सिंह प्रधान हुनुहुन्थ्यो । कायक्रमको सभाध्यक्षता आनन्ददेव भट्टबाट गरिएको थियो भने मलाई प्रमुख अतिथि बनाइएको थियो । बेलुकी रुद्रले म उपस्थित रहेकोमा खुसी प्रकट गर्नुभयो । कार्यक्रम निकै लामो भएपनि पूरै सफल भएको छ भन्ने राय प्रकट गरे । १६ गते प्रलेसमा वर्तमान परिस्थितिबारे विचार विमर्श भएको थियो । त्यस बेला रुद्र र म पनि थियौं । चैत्र १५ मा रुद्रले मलाई फोन गर्नुभयो र प्रलेसको कार्यालय बागबजारबाट डिल्लीबजर सरेको कुरा सूचित गर्नुभयो । १९ गते प्रलेसमा गएँ । कार्यालय डिल्लीबजार सरेपछि पहिलो पल्ट पुगेको हुँ । रुद्र पनि उपस्थित हुनुहुन्थ्यो । 

२०६२ वैशाख १ मा रुद्र खरेल आएर एक घण्टा बस्नुभयो । हामीप्रति नयाँ वर्षको शुभकामना प्रकट गर्नुभयो । प्रलेसमा जाँदा १० गते गरिने कार्यक्रमबारे सल्लाह भइरहेको थियो र रुद्र पनि हुनुहुन्थ्यो । ८ मा उपाध्यक्ष रुद्रलाई फोन गरें । १० मा ल क्याम्पसमा प्रलेसले प्रगतिशील महिला लेखन, स्थिति र सम्भावना विषयक विचारगोष्ठी गरेको थियो । टिप्पणीकारहरूमध्ये रुद्र पनि हुनुहुन्थ्यो । उहाँले यस्तो विचार बताउनु भएको थियो –” महिला समस्यामा मात्र हाम्रा लेखिकाहरू सीमित नरहेर सङ्ख्यात्मकका साथै गुणात्मक पक्षमा समेत बढी ध्यान दिनुपर्छ ।” १६ मा प्रलेसमा जाँदा गत कार्यक्रमको समीक्षा भएको थियो र रुद्र पनि उपस्थित हुनुहुन्थ्यो । जेठ ३ मा रुद्रलाई फोन गरें । रिमाल–जयन्तीको दिन मेरो पुस्तक ‘प्यारो दाजुको सम्झना’ प्रलेसका अध्यक्ष आनन्ददेवबाट विमोचन हुन पाएनछ भने उपाध्यक्ष तपाईंंले गर्नुपर्छ भनेर बताएको थिएँ । जेठ १२ मा रुद्रले फोन गर्नुभयो । हिजो झापाबाट आफू फर्केको बताउनुभयो र भोलि कृष्णमणि साहित्य पुरस्कार सम्बन्धी बैठक बस्ने भएकाले मलाई बोलाउनुभयो । १३ मा पुरस्कार व्यवस्थापन समितिको बैठक बस्यो र २०६०–६१ मा पुरस्कार अमर गिरीको ‘तर पनि हामी जीवित छौं’ लाई दिने निर्णय गरियो । बिहान रुद्रले फोन गर्नुभयो र आजको रिमाल जयन्ती समारोहको निम्ति हिजो रिमाल–परिवारलाई निम्ता दिन भनी श्रीमती सहित लगनटोलमा जानुभएको रहेछ । तर रिमाल परिवार लगनको घर बेचेर अन्तै बस्न जानुभएकाले सम्पर्क हुन सकेनछ । जेठ २७, असार ३ र १७ मा प्रलेसमा जाँदा रुद्रसँग पनि भेट हुन पाएको थियो र साउन २३ मा नेपाल बार एशोसियसनमा लोकतान्त्रिक स्रष्टाहरूको सभा गरेर ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ नाउँको संस्था गठन गरिएको थियो । भदौ १८ मा रुद्र एक दिनको निम्ति आउनुभएको र रिमाल सम्बन्धी संस्थाको लागि मैले दिएको ५०० प्रति ‘प्यारो दाजुको सम्झना’ बेच्न अप्ठ्यारो परिरहेको बताउनु भएको थियो । कार्तिक १३ मा रुद्र आउनुभयो । तिहारमा प्रलेसले केही शुभचिन्तकहरूकहाँ देउसीको बेलामा गएर चन्दा उठाउने भएको बताउनुभयो । सम्झनाको नाउँमा हाम्रो परिवारलाई पनि यसबारे सूचनापत्र दिएर जानुभयो । मङ्सिर १० मा जाँदा प्रलेसमा रुद्र पनि हुनुहुन्थ्यो । पुस ८ मा जाँदा रुद्र समेत भएर माघमा हुने प्रलेसको सम्मेलनको निम्ति तयारी गर्ने काम भइरहेको थियो । 

२०६४ कार्तिक १८ मा रुद्र खरेलले मलाई फोन गरेर २४ गते रमेश विकलको जन्मोत्सव समारोह मनाइने भएको विषयमा बताउनुभएको थियो । त्यस दिन अभिनव साहित्य समाज र रमेश विकल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा लक्ष्मीप्रसाद देवकोटाको ९९ औं जन्मजयन्ती र विकलको ८० औं जन्मोत्सव मनाइएको समारोहमा विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेलाई सभाध्यक्ष र मलाई प्रमुख अतिथि बनाइएको थियो । रुद्रले देवकोटाको व्यक्तित्व र कृतित्वबारे बोल्नुभयो भने शारदा अधिकारीले विकलको व्यक्तित्व र कृतित्वबारे । हाम्रो परिवारका सबैले रुद्रलाई रुचाइएका हुन् । उहाँले मलाई आफू कहाँ लगेर परिवारसँग परिचय गराउनु भएको थियो । त्यस बेलादेखि मलाई उहाँसँग फोन–सम्पर्क गर्न सजिलो हुन थालेको थियो । 

मेरो झण्डै दुई दशकसम्म घनिष्ठता रहेको र सारै असल साथी २०६५ भदौ ८ मा बित्नुहुँदा हामी सबैलाई हुनुसम्म दुःख लाग्नु स्वाभाविकै हो । त्यसैले २०६६ भदौ १३ मा प्रगतिशील सांस्कृतिक समाज (एकीकृत) बाट ल क्याम्पसमा रुद्र खरेल स्मृतिसभाको आयोजना गरिएको थियो । यो क्याम्पसमा रुद्रले पढाउने गर्नुभएको हो । हामी एघार जनाले रुद्रबारे बोलका थियौं– साध्यबहादुर भण्डारी, विजय चालिसे, जीवेन्द्रदेव गिरी, बासुदेव अधिकारी, हरिगोविन्द लुइँटेल, इस्माली, विजय सुब्बा, ईश्वरचन्द्र ज्ञवाली, श्रीमती निरा खरेल, घनश्याम शर्मा पौडेल र श्यामप्रसाद । सबैका भनाइको सारांश हो –” रुद्र गरेलको निरन्तरता, विचार र व्यवहारमा सामञ्जस्य, जतिसुकै अप्ठ्याराहरू आइलाग्दा पनि कत्ति नहटेर सङ्घर्षशील रहने गर्नु, साथीहरूलाई परिस्कृत पार्दै बढाउनतिर महत्वपूर्ण भूमिका पूरा गर्नु, सारै मिलनसारिता र विनम्रता, साहित्य र राजनीति दुवै क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु, सफल व्यङ्ग्यकारिता, व्यक्तिवादबाट जोगिनु ...... जस्ता उहाँका प्रशंसनीय सद्गुणहरूबाट हामी सबैले सिक्दैजान अवश्य खोज्नुपर्छ ।” शब्द संयोजन मासिकले रुद्र खरेल विशेषाङ्क प्रकाशित गरेको थियो भने उहाँका विषयमा स्मृति ग्रन्थ प्रकाशित गरिने पनि कुरा गरिएको हो । 

२०६७ जेठ २७ मा मातृका पोखरेलले मलाई फोन गरेर रुद्र खरेलबारे पन्ध्र दिनभित्र लेख पाऊँ भनी सम्झना गराउनुभयो । आफ्ना टिपोटहरू र सम्झनाको भरमा मैले लेख लेख्न थालिसकेकै थिएँ । मातृका भाइले सम्झाउनु भएपछि यसलाई चाँडै पूरा गर्नपट्टि लागिहालें र आज यो पूरा पनि हुन पायो । साथी रुद्रप्रति श्रद्धास्वरूप लेखिएको यो लेख अब स्मृतिग्रन्थमा प्रकाशित हुन पाउनेछ । 

२०६७ असार १३( जुन २७, २०१०) 
काठमाडौं । 

000 

------------------------------------------------------

मेरा काका : मेरा अभिभावक, मेरा गुरु
प्रशान्त खरेल 

नुतन दिदी, काकी र मातृका अंकल सबै मिलेर काकाको स्मरणमा केहि लेखौं है भनेपछिका दिनहरुमा मलाई अलिक असहज भयो । किनकी लामो समयसम्म अस्पलतामा उहाँलाई कुरेर बसे पनि अन्तिम समयमा म उहाँ भन्दा निकै टाढा थिएँ । बस मन र मस्तिष्कमा उहाँलाई आई.सि.यु. र सि.सि.य.ु मा राख्दाको चित्र मात्रै मनभरि छरिएर आउथे । फुर्सद र विश्राममा अनि काममा व्यस्त रहँदा पनि बेला बेलामा झस्काइरहन्थ्यो । 

बाल्यकालमा मेरो काकाको आवत जावत झापा (घर) तिर अलिक कम नै थियो होला  । मलाई काका काठमाडौंतिर हुनुहुन्छ भन्ने सम्म मात्र थाहा थियो । हो, काकाको कार्य व्यस्तताले गर्दा जाँदा छोटो समय मात्रै बस्नु हुन्थ्यो झापामा र चाँडै र्फिनुहुन्थ्यो । उहाँको साहित्यिक (र केही राजनीतिक) कार्य व्यस्तताले गर्दा मैले त्यति काकासँग वाल्यकाल बिताउने अवसर पाइन । एक तरिकाले भन्नु पर्दा यदि काकालाई मैले साँच्चै एक्लै भेटेको थिए भने शायद ६÷७ कक्षा पढ्नु भन्दा अगाडि सम्म म उहाँलाई नचिन्न पनि सक्थे होला ।  बुबा, बडिबुबा, आमा र दाजुहरुबाट बेला बेलामा काकाको साहित्यिक विशिष्टता, उतार चढाव साथ साथै बैचारिक उच्चता सुन्थे र कलिलो मस्तिष्कमा म पनि काका जस्तै साहित्यकार बन्न सक्छु कि सक्दिन भनेर एक्लै सवाल जवाफ गर्थे । 

काका कम्युनिष्ट आन्दोलनको योद्धा हुनुहुन्थ्यो । उहाँको विचारको प्रभाव परिवारमा नपर्ने सम्भावना नै थिएन । तर मलाई आजसम्म थाहा छैन कि काकाले परिवारमा (वा अरु कसैलाई) मेरो विचार र आदर्श राम्रो छ, त्यसमै लाग्नुपर्छ भनेर आग्रह वा दबाब दिनु भएको । म सानै छँदा  (शायद पञ्चायती कालतिर होला) आमाले भन्नुहुन्थ्यो कि काका राजनीतिमा पनि लाग्नु भएको छ (त्यस बेलाको समयमा व्यवस्था विरोधी गतिविधि भनिन्थ्यो क्यार) । त्यस समयमा काकाले भोग्नु भएको जेल सजाय, उहाँको अर्ध भूमिगत अवस्था र काकालाई पक्राउ गरेको दिन, उहाँसंगै राखिएका साथीहरुलाई सुखानीको जंगलमा हत्या गरिएको इत्यादि कुुराहरु मैले सानैमा आमाबाट सुनेको थिएँ । यी सबै कुराहरुले मलाई पनि नजानिदो पाराले राजनितिक सोच तर्फ डो¥याउँदै लगे । मलाई सम्झना छ म ४÷५ कक्षामा पढ्दा राजनैतिक बहस गर्न थाले पछि सबै कुरा छोडेर बस्थे । पारिवारिक पृष्ठभुमीले यति सम्मन असर पारेको थियो कि म मेरा गुरुबा, गुरुआमाहरुसँग पनि चर्काचर्की गरेर बहस गर्थे यदि उहाँहरुको फरक मत वा विचार भएको खण्डमा । सायद त्यो मेरो अबोधपना र पारिवारिक आदर्श, काकाले भोगेका कष्टहरुले पनि उहाँमा नआएको बिचलनको उपज थियो होला ।

प्रसङ्गवश काका पक्राउ पर्दाको मैले सुनेको विवरण यस्तो छ । म जन्मनु भन्दा अगाडिकै कुरा– काका झापा गौरादहको घरमा आउनु भएको थियो । केही समयको बसाईपछि उहाँले आमासँग भाउजु मलाई हतार छ म चाँडै जानुपर्ने छ भन्दै तयार भैसकेको खाना पनि खान नभ्याईकन हिड्नु भएछ । शायद उहाँको अर्धभूमिगत समय थियो वा जरुरी काम थियो, म अन्दाज मात्र गर्न सक्छु । लगभग २०० मि. परको चौक (डिपु चौक) मा पुगेपछि काकाले राम्रोसँग नचिनेको मान्छेले तपाईसँग केहि काम छ, चौकीमा जाउँ भनेर लिएर गएछ र उतैबाट चन्द्रगढी जेलमा पु¥याएछ । मैले सुनेको यस्तै हो ।

काकासँग मेरो दिनचर्याको आरम्भ मेरो किशोरावस्थासँगै भएको हो । २०५१ सालमा म काठमाडौं आएर लगभग १ महिना काकासँगै उहाँको घरमा बस्दा उहाँलाई राम्ररी चिन्न र अध्ययन गर्न पाएँ । त्यतिखेर म ७ कक्षामा पढ्दै थिएँ र शहर घुम्न आएको थिएँ । तर पनि काकाले मलाई केटाकेटी सम्झेर त्यस्तो केटौलेपनाको बोलचाल अभ्यास गराउनु भएन । हामी दुवै जना ठूला मानिसहरुकै शैलीमा कुरा गथ्र्यौ । यो उहाँको मानिसलाई परिपक्क बनाउने शैली हुनुपर्दछ । दिदीहरुसँग खेल्ने र रमाइलो गर्ने अलावा म काकाका रचनाहरु अध्ययन गर्थे । त्यतिखेरको उहाँको कृति तोरीलाहुरे चोकमा एकछिन (निबन्ध संग्रह) मैले निकै पटक पढेको छु । त्यस्तै छोरीलाई (कविता संग्रह) पनि मैले त्यहि समयमै पढेको थिएँ । दिउसो कलेजमा अध्ययापन गराएर फर्किएपछि बेलुकाको फुर्सदको समयलाई सदुपयोग गर्न करेसाबारीमा पस्ने, साहित्यिक रचनाहरु अध्ययन गर्ने र रचना गर्ने काकाको बानीले मलाई पनि प्रभावित पारेको थियो । उहाँले लेख्दै गरेका रचनाहरु क्लिपबोर्डमा राख्नुहुन्थ्यो र धेरै पटक मलाई पनि यि रचनाहरु पढ है भन्नु भएहुन्थ्यो । यसरी उक्त समयमा मैले काकाका रचनाहरुको (अप्रकाशित) स्रोता र पाठक बन्ने अवसर पाएको छु । कहिले काँहि मलाई लेख (निबन्ध) कस्तो लाग्यो भनेर सोध्नु हुन्थ्यो । तर म राम्रो छ मात्र भन्न सक्थे किनकी म मा साहित्यको टिप्पणी  वा विवेचना गर्ने क्षमता थिएन त्यस समयमा । मैले बुमm्न सक्ने भन्दा माथिल्ला स्तरका हुन्थे रचनाहरु । खाशगरी उहाँका निबन्धहरुमा भएको सरल व्यङ्ग मलाई चाख लाग्ने विषय थियो तर त्यसले बोकेको दार्शनिक र बौद्धिक चेत बmुमm्ने क्षमता म मा बिकाश भएको थिएन । त्यही समयमा काकासँगका वातचित र उहाँका लेखहरुको अध्ययन, उहाँका दराजमा भएका अन्य साहित्यहरुको अध्ययनबाट मैले बुझें, साहित्य सधैं क्लिष्ट र विशिष्ट प्रकारको मात्र हुँदो रहेनछ, त्यो त यथार्थपरक, सरल र शिल्पिमा लेखिनु पर्दो रहेछ । त्यही समयको उपज हो ममा साहित्यप्रतिको रुची र केही लेख्नै पर्छ भन्ने हुट्हुटी सँधै रहि रह्यो । वाल्य अवस्थाबाट किशोरावस्थामा प्रवेश गर्दै गरेको मेरो त्यो समयलाई सहि दिशा निर्देश गर्न काकाले मसँग साहित्य र राजनीतिका बारेमा छिटपुट चर्चाहरु गर्नुहुन्थ्यो । मसँगको चर्चामा पार्टीगत वा कुनै दर्शनका कुरा हुँदैनथे तर व्यक्ति र उसको व्यवहारको अन्तर विरोधको चर्चा गर्नुहुन्थ्यो काकाले । मलाई अझै सम्झना छ काकाले एकजना मानिस (नाम भुल्ने मेरो कमजोरी हो) को बारेमा चर्चा र उदाहरण दिनु भएको थियो मलाई । मैले सायद प्रतिवाद गरेको थिएँ होला त्यस समयमा । त्यसैले उहाँले भन्नु भएको थियो “ऊ व्यक्ति होइन प्रवृत्ति हो । व्यक्तिको विरोध गर्ने काम साहित्यमा गर्नु हुँदैन, प्रवृत्तिको भने सँधै स्पष्ट विरोध गर्नुपर्छ” । काकाको यिनै विचार र दर्शन उहाँका प्रत्येक रचनाहरुमा अभिव्यक्त भएका पाइन्छन् । उक्त अवधिको बसाईमा मैले काकासँगको कुराकानीमा जति साहित्य, राजनीति र माक्र्सवादी दर्शनको ज्ञान पाएँ, त्यो बेलाको मेरो समयमा पर्याप्त थियो र त्यसको जग बलियो गरी बसेको छ भन्ने मलाई लाग्छ । हुनत अझैसम्म पनि मलाई यी कुराहरुको पुरा ज्ञान भैसकेको छैन । 

कलेज पढ्ने सिलसिलामा २०५४ साल देखि म काठमाडौं आएपछि मैले काकाको प्रत्यक्ष र अप्रत्यक्ष अभिभावकत्व पाएँ उहाँको जीवन रहुन्जेल सम्म । साहित्यप्रति मेरो जुन रुचि थियो त्यसले मलजल पायो काकाको संगतबाट र अघि बढ्ने बाटो पायो । सािहत्यको नाममा म केही कविता, कथाहरु कोरिरहन्थे । तर यथार्थवादी साहित्य र जीवनपयोगी रचना कर्म मैले सिकें मेरो साहित्यका गुरु मेरा काकाबाट । काका जीवन र जगतसँग सम्बन्धित निबन्धहरु कलात्मक शिल्पिमा लेख्न र त्यसलाई व्यङ्गयात्मक प्रस्तुतति गर्न निकै निपूर्ण हुनुहुन्थ्यो । प्रत्येक घटनाक्रमहरुको सुक्ष्म विश्लेषण गरेर कलात्मक पाराले रचनाकर्म गर्नु नै काकाको साहित्यिक विशिष्टता हो । काका सँधै भन्नुहुन्थ्यो “साहित्यमा कलाको नाममा क्लिष्ट, सर्वसाधारणले नबुझ्ने खालको र सरल र यथार्थको नाममा समाचार जस्तो मात्र पनि हुनु हुँदैन । यसमा कला, दर्शन र यथार्थताको सरल र उचित संयोजन हुनुपर्दछ । पाठकलाई यस्तो साहित्य पढ्दा आनन्द आओस्, यथार्थको बोध होस् र विचार निर्माणमा सहयोग पुगोस्” । साहित्य रचना कर्ममा बिम्बको प्रयोगमा पनि काकाको आफ्नै शैली थियो । एक पटक कवितामा बिम्बको प्रयोगक कसरी गर्ने भनेर मैले सोधेको थिएँ । काकाले भन्नुभयो “कपालबाट जुम्रा टिपेर नङ्गले किच्याइयो” । अनि मलाई सोध्नुभयो यो कविता भयो ? मैले हाँस्दै भने यस्तो पनि कविता हुन्छ त ? अनि काकाले यसैलाई बिम्बमा प्रयोग गर्नुभयो – 

घनघोर जङ्गलबाट 
एउटा अजङ्गको साँढे पक्रिएर 
दुई ढुङ्गाको विचको बधशालामा 
रक्तिम बलि दिइयो । 

उहाँको यो बिम्ब बुझाउने अचम्मको शैलीले गर्दा प्रत्येक पटक कविता लेख्दा गौण रुपमा मात्रै भए पनि बिम्बको प्रयोग गर्न मलाई प्रेरित गर्छ । 
काकाले जसरी कविताको विशिष्टता बुझ्न सघाउनु भयो त्यसरी नै मेरो साहित्यको गोरेटो कोर्न सहयोग पुर्याउनुभयो । साहित्य सन्ध्यामा मेरो नियमित (विशेष कारण वाहेक) उपस्थिति पनि काकाले डो¥याएको बाटोमा हिँड्ने मेरो सानो प्रयाश हो । रचना गर्ने तर त्यसलाई त्यसै थन्काउने मेरो बानीलाई सुधार्न काकाले भन्नु हुन्थ्यो कि म र भजन र स्तुतिगान गर्नेहरुमा कुनै फरक हुँदैन यस्तो बानीले । किनकी उनीहरु साहित्य लेख्छन् र सबैलाई सुनाउँछन् तर कसैले सुन्न मन गर्दैन अनि म लेख्छु र थन्काउँछु कसैले सुन्न पाउँदैन । उहाँको विचार थियो जसको लागि सहित्य लेखिन्छ उसको पहुँचसम्म साहित्य पुग्नु पर्दछ । समाजको विकाश र गतिशिलता साहित्यको माध्यमबाटै हुन सक्छ । प्रगतिशील साहित्यको विकाशमा उहाँको पनि योगदान छ भन्दा अत्युक्ति हुँदैन । काका महाकवि  देवकोटा र गोकुल जोशीको प्रशंसा गर्नु हुन्थ्यो । दुवैले सरल भाषामा सर्वसाधारणको जनजिब्रोमा आधारित भएर साहित्य सिर्जना गरे भन्दै यस्तो साहित्य मात्र जिवन्त हुन्छ भन्नु हुन्थ्यो । 

काकाको जीवनशैली निकै व्यस्त थियो । उहाँ फुर्सदमा बसेको साहित्यिक जमघटमा मात्र देख्थे मैले । समयको राम्रो  सदुपयोग  हुनुपर्छ र जीवनपयोगी चर्चा गरिनुपर्छ फुर्सदमा भन्ने उहाँको मान्यता थियो । जमघटको फुर्सदलाई पनि रचना श्रवण गर्दै व्यस्त बन्नुहन्थ्यो । काकाको समकालीन र ऐतिहासिक साहित्यको अध्ययन गर्ने अनुकरणीय बानी थियो । हामी धेरै साहित्यिक जमघटहरुमा सँगै बसेका छौं एक अर्काको स्रोता भएकाछौं । कैयौं पटक म र काका काठमाडौंका सडकहरुमा लामो पैदल यात्रा गरेका छौं समसामयिक राजनैतिक र साहित्यिक चर्चा गर्दै । एक पटक संयोगवश हामी दुवैले साहित्य सन्ध्याको नियमित श्रृङ्खलामा एकसाथ रचना पाठ गरेका थियो । सायद ०६२/६३ को जनआन्दोलनको समयताका वा यसकै सेरोफेरोमा हुनु पर्दछ । काकाले प्रमिथसले आगो चोरेर ल्याएको र प्रत्येक पटक उक्त महामानवको महान कार्यलाई लत्याउँदै समाजका केही ठेकेदारहरुले पिसाव तुर्काएर असफल पार्ने गरेको प्रसङ्गलाई बिम्बात्मक र व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभएको थियो । करिव १ महिना भेटघाट नभएका हामी दुईको संयोग कस्तो प¥यो भने मैले पनि आगाकै कविता लेखेर सुनाएको थिएँ । मसँग आगाका विऊहरु छन् भन्दै । सल्लाह गरे जस्तै संयोग थियो त्यो । र हामी दुईले एक साथ रचना पाठ गरेको अन्तिम कार्यक्रम पनि । यो संयोगलाई म कहिल्यै बिर्सन सक्दिन । त्यसैले अझैपनि म आगाकै कविताहरु लेख्न मन पराउँछु ।
काकाको साहित्यप्रतिको लगाव अधिक थियो भनिरहनु पर्दैन । उहाँको आफ्नै निवासमा पनि बेला बेलामा समकालिन साहित्यकारहरुको जमघट भईरहन्थ्यो । समय–समयमा यसै सिलसिलामा काका देशका विभिन्न ठाउँहरुमा जानुहुन्थ्यो । प्रलेस, इसास र अरु साहित्यिक संस्थाहरुको संलग्नताले पनि यही कुरालाई सूचित गर्दछ । यस्तो लाग्थ्यो उहाँमा आलस्यताको अंश एक रति पनि थिएन । जीवनको लामो समय राजनैतिक कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाग्नु भएका काकाको घरायसी दिनचर्या हेर्दा उहाँलाई असल पति, पिता र अभिभावकको रुपमा पाएको छु । कसैलाई गाली नगर्ने, नरिसाउने र प्रेमपूर्वक सम्झाउने उहाँको आदतलाई अनुशरण गर्न निकै कठिन छ । घरका दैनिक कार्यहरुमा काकी र दिदीहरुलाई सघाउने र जुनसुकै कार्यमा पनि आफैं अग्रसर हुने साथै आफ्ना कामहरु सकेसम्म आफैं गर्न खोज्ने काकाको बानी थियो । 

सामाजिक कुरीति, कुसंस्कार, खराव परम्परा र रीतिरिवाजलाई सुधार्ने प्रयास, आफ्नै परिवार र साथीभाईमा पहिले सुधार र सुसंस्कार बस्नु पर्दछ भन्ने आसय, परिवर्तन पहिले व्यक्ति, परिवार र समाज हुँदै देशमा परिवर्तन हुन्छ भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो काका । समाज, राजनीति र संस्कारमा भएका खरावीहरुको पेचिलो व्यङ्ग्य गर्ने काकाको शैली मलाई निकै रोचक लाग्दछ । काकाको जीवन शैली, सैद्धान्तिक अडान, साहित्य कर्ममा परिवार र विशेष गरी काकीको ठूलो समर्थन, सहयोग र अतुलनीय योगदान रहेको कुरालाई नकार्न मिल्दैन । लगभग १२ वर्ष काकाको प्रत्यक्ष र अप्रत्यक्ष अभिावकत्वमा मैले जुन सोच, विचार र शैलीको विकाश गर्न पाएँ, सायद यो अवसर विरलै मिल्ला सबैलाई । 

पछिल्लो समयमा आएर समकालीन राजनीतिमा आएको विचलन र निकट मित्रहरुको व्यवहार र सोचमा भएको परिवर्तनले काकामा चोट वा हलचल भएको शंका उहाँले व्यक्त गरेको विचार र राजनैतिक चर्चाहरुमा मैले अनुभव गरेको छु । हुनत ठ्याक्कै यस्तो हो है केटा भनेर उहाँले मलाई कहिल्यै भन्नु भएन । जनआन्दोलन पछि जनमानसको अपेक्षा पूरा नहोलाकी, विश्रृंखलता बढ्ला कि भन्ने आशंका काकामा थियो । अहिले लगभग त्यस्तै अवस्था छ । काका विरामी हुनुभन्दा लगभग १ महिना अगाडि देशको परिस्थित अध्ययन गरेर मैले २÷३ वर्षको लागि देश वाहिर जाने निर्णय  सुनाउँदा काकाले सहि निर्णय हो तर यस्तो अवस्था धेरै नरहला लामो समय बाहिर नबस्नु भनेर मलाई सुझाव दिनु भएको थियो । 

असार महिनाको शनिवारको दिन थियो । २ दिन अगाडि देखि काकालाई अर्थोपेडिक अस्पतालमा राखिएको थाहा पाएँ । काकी कुरुवा बस्नु भएको थाहा पाएर शनिवार जगत मन्दिर विद्यालयको अभिभावक दिवस सकेर उतै अस्पताल जान निर्देशन दाजुले दिनु भयो । हतारिदै अस्पताल पुग्दा काका झण्डै अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । काकी, म, मातृका अंकल र बलराम सर भएर एम्बुलेन्समा राखेर त्रि.वि. शिक्षण अस्पताल आकस्मिक कक्षमा लिएर गयौं । बाटामा सडक बन्दको अवरोध झेल्दै र छल्दै लगभग २० मिनेट ढिलो गरेर पुग्यौं । यातायात बन्दको अवारधेले विरामी लिएर हिड्दा कस्तो मानसिक तनाव सृजना गर्दो रहेछ भनेर त्यसै दिन अनुभव गरें र आइन्दा कसैको र कुनै पनि किसिमको बन्दमा पनि नैतिक समर्थन समेत नगर्ने अठोट गरेको छु । आकस्मिक कक्षको परीक्षण पछि आई.सि.यु मा राखियो । घरबाट दाजु÷भाउजुहरु सबै आएपनि त्यो रात मैले काकालाई छोड्न सकिन । भोलिपल्ट आई.सि.यु भित्र पालो गरेर बस्ने प्रक्रियामा काकाले म आई.सि.यु कक्ष बाहिर जान खोज्दा अस्पष्ट स्वरमा मलाई नजान भन्नुभयो र त्यतै बसें । अलिक समय पछि बाहिर बसें तर पनि उहाँले मलाई नै खोजिरहेको अभाष हुन्थ्यो त्यसरी २ दिन लगातार बसेपछि ३÷४ घण्टाको लागि घर फिर्न काकाले सहमति दिनु भयो । यसैगरी दिनहरु वित्दै गए काकाको सुधार हुने आशामा । पछि सि.सि.य मा सरेपछि काकाको होश नहुँदा, भेन्टिलेटर लगाउनु पर्दा र घण्टौसम्म भेन्टिलेटर अस्पतालले उपलब्ध नगराउँदाको पीडा सायद कसैले व्यक्त गर्न सक्दैन । हामी स्रोत र साधन जुटाउन सक्ने क्षमता भएकाहरुलाई अस्पतालको सेवा प्राप्त गर्न निकै कठिन भयो भने अरु विरामीको हालत कस्तो होला ? म त कल्पना गर्नसम्म सक्दिन । 

अस्पतालमा काकालाई राख्दा उहाँका साहित्यिक, राजनैतिक सहकर्मी, शुभेच्छुक र नाता सम्बन्ध सबैको राम्रो रेखदेख, सहयोग, नियमित अवस्थाको जानकारी जस्ता कुराहरुको राम्रो सहयोग रह्यो । शायदै कोही काकालाई भेट्न छुटयो होला ? यसमा पनि बलराम सर, मातृका सर लगायत अरुको सहयोग म कदापि भुल्न सक्दिन । भेन्टिलेटर राखिएको ३÷४ दिन पछि काकाको राम्रो होस खुलेको थियो । काकालाई मैले कुराकानी गर्न जाँदा उहाँले लामो समय कुरा गर्नुभयो र परिवार, देश र मेरो बारेमा धेरै सोधपुछ गर्नुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको चयन बारेमा मैले बताएँ । उहाँले थप प्रश्न गर्नुभएन । मेरो देश छोड्ने समय नजिकै आइरहेको बताएपछि काकाले मलाई जाने र आफूलाई चाँडै निको हुने कुरा बताउनु भयो । मलाई भएजति सबैकुरा भन्न भन्नुभयो र जानकारी भए जति सबै कुरा मैले बताएँ । पछिल्ला दिनहरुमा पनि काकाले केही भन्न खोज्नु हुन्थ्यो तर धिमा र अस्पष्ट भएकोले धेरै कुराहरु मैले बुझ्न सकिन । बेला बेलामा लेख्न कलम र कपि खोज्नु हुन्थ्यो तर लेख्न सक्नु भएन । सायद केही भन्न खोज्नु भएको थियो होला त्यो अधुरै रह्यो । 

लगभग १ महिनासम्म काकालाई अस्पतालमा राखेपछिको समयमा मैले श्रावण ७ गते देश छोडें अनिश्चित भविष्यको खोजी गर्दै र अमिलो मन सँगै गह्रुगो पाइला चाल्दै । समय–समयमा सम्पर्क गरि बुझ्दा सुधार हुँदै गएको र सुधार हुने सम्भावना भएको खबर पाउँथे । १ महिना जस्तो पछि ९÷१० दिन म सम्पर्क विहिन भएँ । एक्कासी रातमा ईमेल हेर्दा दुःखद्. खबर पाएँ । ९ दिन अघि नै काकाको मार्ग निर्देश र अभिावकत्वको छायाँ हाम्रो शिरबाट हटेको । त्यो रातको समयमा ईमेल हेरेर कसरी म विश्राम कक्षसम्म पुगें अझैसम्म पनि म सम्झन सक्दिन । दुःखद् घडिको सामना गर्न गाह्रो भएपनि मन दह्रो पार्नै पर्दो रहेछ । त्यो रातको छटपटि उल्लेख गर्न म सक्दिन । अस्पतालको आई.सि.यु मा अभिावक र गुरु छोडेर जानु पर्दाको पीडा र ९ दिन अगाडि गुमाएको खबर एक्कासी पाउँदाको वेदना कसरी पोखौं म ? जीवनमा यो एउटा घाउ पुरिदैन कहिल्यै । 

२०६७।२।२२ 
जोरपाटी  
-------------------------------------------------------------------
रुद्र खरेल अर्थात् प्रतिबद्ध आस्थाको अविरल यात्री
– गङ्गाप्रसाद उप्रेती

मृत्यु, फेरि एकपल्ट छेवै भएर गयो
थाहा छैन, ऊ जीवनको लल्कारबाट त्रस्त भएर भाग्यो कि
छली व्याधाजस्तै जीवनमाथि दागा धर्दै गयो
तर गयो, ऊ फेरि एकपल्ट जीवनको छेवैबाट गयो ।        
— (‘मृत्यु’– आफ्नै कविताबाट)

जीवनका अभिनयको अन्तिम विश्राम भएर पनि मृत्यु हामीसँगै अभिन्न भएर रहेको छ । यो कहिले मानवीय जिजीविषाको लल्कारमा यसै ततर्किएर हिँड्छ भने कहिले मानवीय वितृष्णा र हतोत्साहमा उखर्माउलोसँग इत्तरिँदै जीवनसँग पौठेजोरी खेल्न आउँछ । जीवनका विपरीत ध्रुवमा रहेर पनि यो सधैँ जीवनसँग यात्रा गरिरहन्छ । कहिले सहज अनि कहिले असहज गतिमा यसले आफ्नो वीभत्सताको परिचय दिन्छ जीवनलाई– विसाद, रोदन, कोलाहलपूर्ण शोकसन्तप्त परिवेशमा । सृजनाका उन्मत्त पूmलहरूलाई चुँड्नु, उन्मुक्त खुशी र हाँसोलाई शोकमग्न मसानघाटमा परिणत गर्नु ऊ आफ्नो धर्म र पराक्रम ठान्दछ र पनि यो जीवनसँगै लुकामारी खेल्दै जीवनकै अविरल यात्रामा सँगसँगै हिँडिरहन्छ । आफ्ना खेलको सुविधायुक्त प्राङ्गण जीवहरूको सपाट एवम् सुन्दर जीवनलाई मान्छ मृत्युले । त्यही प्राङ्गणको हरियालीमा ऊ जीवनकै सिकारमा व्यस्त रहन्छ, व्यग्र रहन्छ ।
मृत्यु अवश्यम्भावी भएर पनि मृत्युबोध नहुनु हामी मान्छेहरूको विशेषता हो । मृत्युबोधले मानिसमा एकातिर अकर्मण्यता, निराशा र प्रतिबद्धतामा पलायन एवम् जीवनमूल्यको निरर्थकताको बोध गराउँछ । यी सबै मानवीय जिजीविषाविरोधी चिजहरू हुन् । मृत्युको अवश्यम्भावितालाई बिर्सेर मान्छेले जीवनमूल्यको सार्थकता खोज्छ, आफ्नो सृजनशीलतालाई मूर्त रूप प्रदान गर्न अनेकौँ कार्यसम्पादन गर्छ र गर्नु पनि पर्छ । आफ्ना कार्यका परिणामको क्षणिकतालाई ऊ शाश्वत बनाउन खोज्छ । यस्तै खोजाइबाट क्रियाशील जीवनको सार्थकता भेट्टाउँछ मान्छेले र यी सब प्रयत्नहरू हुनु पनि पर्छ मान्छेबाट, तबमात्र त आफ्नो अस्तित्वलाई कालखण्डमा मूर्तता प्रदान गर्न सकिन्छ ।

मृत्युबोधसँग जतिसुकै निरपेक्ष रहन खोजे पनि जीवनमा केही त्यस्ता घटनाहरू आइपर्छन्, जसले मान्छेलाई मृत्युको दोछायाँमा नलपेटी छोड्दा रहेनछन् । विशेष गरी उमेर ढल्कँदै गएपछि जीवनको क्षणभङ्गुरताको बोध हुने गर्दोरहेछ र क्षणभङ्गुरताको अनुभूतिले मान्छेलाई मृत्युबोधको अवस्थानजिक पु¥याउने रहेछ । उमेरको प्रौढताबाट प्राप्त हुने यस्तो मृत्युबोधले मान्छेलाई वैयक्तिकताको साँघुरो घेराबाट उन्मुक्ति दिने परिवेश तयार पार्ने रहेछ र स्वार्थ, लोभ र घमण्डका घेराबाट बिस्तारै बिस्तारै बाहिर निकाल्ने परिवेश बनाउने रहेछ । प्रौढ अनुभवबाट नि.सृत यस्तो चेतनाले जीवनमूल्यको एक प्रकारको परिष्कृत स्वरूप पनि प्रदान गर्ने पृष्ठभूमि तयार पार्ने रहेछ तर अप्रत्यासित रूपमा घट्न जाने विशेष घटनाबाट प्राप्त हुने मृत्युबोधचाहिँ मान्छेका लागि घातक हुँदोरहेछ । यस्ता घटनाको चोटबाट क्रमशः जीवनप्रतिको आस्था घट्ने, निष्कर्मण्यताले गाँजेर आपैmँ शिथिल हुने र आत्मविश्वास पहिरोमा परेर मान्छे आँफै निम्छरो हुने, डर र त्रासको आक्रमणमा परेर निर्धो, पिलन्धरे हुने गर्दोरहेछ ।

अरू मान्छेलाई जस्तै मलाई पनि आपूmभित्रै कोलाहल सृजना गर्दै अत्यन्तै निरीह, निम्छरो र पिलन्धरे बनाउने यस्ता अनेकौँ अप्रत्यासित घटनाहरूले हिर्काएका छन् निर्मम हुने गरी । यिनै घटनाहरूमध्ये २०६५ साल भाद्र ७ गते मेरो जीवनप्रतिको अगाध आस्थामा चट्याङ पार्दै रातको मध्यतिर मृत्यु गड्गडाहट बोकेर एउटा समाचार भएर आयो, टेलिफोनमार्पmत साथी मातृका पोखरेलको आवाजमा । ‘गङ्गाजी, अब साथी रुद्र खरेल हामीसँग रहनुभएन, मृत्युले भर्खरै उहाँलाई हामीबाट जबरजस्त खोसेर घिसार्दै लग्यो ।’ आफ्नो समवयस्क सहयात्री, जीवनका अनेकौँ अप्ठेरा मोडहरूमा मृत्युसँग जुध्दै सहयात्रा गरेका मित्रको अवसानको त्यो अप्रत्यासित खबरले घनचक्करमा परेको मेरो मनस्थितिलाई ठीक ठाउँमा ल्याउन मैले पहिला एक गिलास चिसो पानी पिएँ र नजिकै रहेकी श्रीमतीलाई यो दुःखद् समाचार सुनाएँ । पारिवारिक नाताले पनि उनीसित नजिकै रहेकी मेरी श्रीमतीलाई पनि रुद्रको अवसानको यस खबरले अरू मर्माहत पारिरहेको मैले महसुस गरें ।

रुद्र खरेल २०६५ असारदेखि नै बिरामी परी अस्पतालमा भर्ना हुनुभएको थियो । सबैजसो साहित्यिक, सांस्कृतिक र शैक्षिक कार्यक्रममा भेटघाट भइरहने खरेललाई उहाँ अस्पताल भर्ना भएको एक हप्तापछि मात्र असाध्यै नाजुक अवस्थामा शिक्षण अस्पताल महाराजगन्जको उपचार कक्षमा मैले भेट्न सकें । उहाँलाई अज्ञात रोगले अकस्मात् आक्रमण गरेकाले सघन उपचारका लागि त्रि.वि. शिक्षण अस्पतालमा ल्याइएको रहेछ । हामीले भेट्ता उहाँ तीव्र पीडाले छटपटाइरहेको अचेत बिरामीका रूपमा हुनुहुन्थ्यो । उहाँको उपचारमा जुटेका थुप्रै चिकित्सकहरूले उहाँलाई कहिले मेनेन्जाइटिस भएको निदान गरे त कहिले निमोनिया । अन्त्यमा ब्लड क्यान्सर भएको निदान गरे तर उहाँ निदान भएको हप्ता दिन नबित्दै ७० दिनअघि गुमेको होस नफिर्दै बित्नुभयो– चिकित्सकहरूको ज्ञानको अभ्यास गर्ने प्रयोगशालाको वस्तु भएर । अत्याधुनिक उपचारका जटिल सामग्रीहरूले छ्यापछ्याप्ती काठमाडौँका अस्पतालहरू सिकारु चिकित्सकका अभ्यासका केन्द्र मात्र बन्दै गएको अनुभूति भइरहेको सन्दर्भमा रुद्रजीका रोगको निदान कति वस्तुपरक रह्यो ? अथवा उहाँको अन्य सही निदानअन्तर्गत उपचार हुँदाहुँदै भयो वा औषधि र उपकरणको प्रयोगबाट चिकित्सकले अनुभव बटुल्ने सिलसिलामा ? यस्तै प्रश्नहरू गैरचिकित्सा क्षेत्रका चेतनशील उहाँका साथीहरूमा सञ्चारित गर्दै उहाँ कहिल्यै नफर्कने यात्रामा जानुभयो । सत्तरी दिनको अस्पतालको उपचारको अवधिमा असङ्ख्य शुभेच्छुकहरूको सद्भाव, सरकारमा बस्नेहरूको प्रतीकात्मक सहयोग र चिकित्सकहरूका अनेकौँ प्रयासका बाबजुद रुद्रलाई मृत्युले परास्त गरिछाड्यो । समकालीन साथीहरूलाई भयावह आभास दिएर बाँच्ने हामीहरूलाई आफ्नो पछ्यौराको सप्काले तर्साउँदै मृत्यु फेरि एकपल्ट हाम्रो छेवैबाट गयो, हाम्रो साथीलाई हामीबाट खोसेर लिई गयो ।

आज सम्झँदा रुद्र खरेलसँग धेरै मिल्दा प्रसङ्गहरू जोडिएका रहेछन् मसँग । २००४ साल चैततिर पाँचथरको च्याङथापुमा उहाँ जन्मँदा सोही साल फागुनतिर म तेह्रथुम जिल्लाको आठराईमा जन्मिसकेको रहेछु । तुलनात्मक रूपले निम्न मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका हामीहरूको शिक्षा–दीक्षा आआफ्नै परिवेशमा सीमित स्रोत र साधनबाट भए । आठराईमा शिक्षा प्राप्त गर्ने प्रशस्त अवसर पाएर मैले अलि छिटो पढ्न पाएँ हुँला । उहाँले प्रतिकूल परिस्थितिमा शिक्षा हासिल गर्नु परेकाले शैक्षिक डिग्री लिन मभन्दा अलि पछिसम्म पर्खनुप¥यो । आपूmलाई सामाजिकीकरण गर्ने साधन उहाँले पनि मैलेजस्तै साहित्य साधनालाई बनाउने अठोट गर्नुभएको रहेछ र पनि प्रकारान्तरले केही समय हामी दुवै राजनीतिक प्रभावमा परेर राजनीतिक पार्टीका ढाक्रे पनि हुन पुग्यौँ । स्थानीय समाजमा देखिने शोषण र चरम विभेदका घटनाहरूले उहाँलाई पनि मलाई जस्तै विद्रोही बन्न प्रेरित गरेका रहेछन् । यिनै विविध समानताले हामी धेरै दिन सँगै हिँड्यौ, सँगसँगै कहालीलाग्दा जोखिम भोग्न तयार भयौँ ।
रुद्र खरेलसँग मेरो पहिलो भेट वि.सं. २०२५ मङ्सिरको अन्तिम शनिबार झापाको शनिश्चरे बजारमा भएको हो । त्यतिबेला म तेह्रथुम जिल्लाको आठराईमा कार्यरत थिएँ । बीसको दशकको सुरुका दिनबाटै अलिकति शैक्षिक जागरण भएका ठाउँहरूमा बिस्तारै राजनीतिक गतिविधिहरू बढ्दै थिए । त्यही गतिविधिको प्रभावले आठराई क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरू मिलेर आठराईमा नै केन्द्रीय कार्यालय रहने गरी ‘साहित्य सङ्गम’ नामको साहित्यिक संस्था हामीले खोलेका थियौँ । सुरुमा साहित्यिक जागरण एवम् युवा शक्तिलाई बौद्धिक क्रियाकलापमा संलग्न गराउने अभिप्रायले खोलिएको यो संस्था आफ्नो स्थापनाको केही दिनभित्रै पञ्चायतविरोधी जनमत तयार पार्ने कार्यशालाजस्तो देखियो । मुलुकभरि राजनीतिक ध्रुवीकरण हुने क्रमसँगै पञ्चायतको विरोधमा एक ठाउँमा उभिएको आठराईको चेतनशील वर्ग क्रमशः प्रजातन्त्रवादी एवम् वामपन्थी खेमामा विभाजित भयो । यस विभाजनलाई मूर्त रूप प्रदान गर्ने साधन भयो ‘साहित्य सङ्गम’को निर्वाचन । साहित्य सङ्गमको केन्द्रीय कार्यालय आठराईमा रहे पनि यसका साधारण सदस्यहरू तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, धरान, विराटनगर, झापा, सङ्खुवासभा, भोजपुर, काठमाडौँ र बनारसमा थिए । त्यसैले यसको निर्वाचनको प्रयोजनका लागि तेह्रथुमको आठराई र ताप्लेजुङको हाङ्पाङ्मा दुईटा बुथ रहन्थे र अरू ठाउँका मतदाता साधारण सदस्यले हुलाकबाट मत खसाल्ने प्रबन्ध गरिन्थ्यो । यसरी यो संस्थाको निर्वाचन सम्पन्न गर्न लगभग एक महिनाको समय लाग्थ्यो । पहिलो निर्वाचनमा सबै प्रकारका वैचारिक आस्था राख्ने बुद्धिजीवीहरूको साझा मञ्चका रूपमा रहेको यो संस्था दोस्रो निर्वाचनमा राजनीतिक ध्रुवीकरणको तीव्रतम गतिमा देखियो । प्रजातन्त्रवादी र वामपन्थी खेमाबीच मुख्य प्रतिस्पर्धा रहेको दोस्रो निर्वाचनमा वामपन्थीहरूको पकडमा यो संस्था पुग्यो । अत्यधिक मतले संस्थाका सबै कार्यकारी पदमा वामपन्थी सोच भएका उम्मेदवारहरूको चयन भयो । त्यसपछि क्रमशः यो संस्था संस्थापन पक्षीय पञ्चायती सत्ताको आक्रमणको तारो बन्यो भने प्रजातन्त्रवादीहरूका लागि राजनीतिक प्रतिस्पर्धा गर्ने मुख्य प्रतिस्पर्धीको रूपमा बदलियो ।

दोस्रो निर्वाचनमा वामपन्थी वैचारिक नेतृत्वका पकडमा पुगेपछि ‘साहित्य सङ्गम’ले आफ्नो कार्यक्षेत्रलाई बिस्तारै मुलुकभरि नै पैmलाउने योजना बनायो । यो नयाँ योजनाअनुसार क्रमशः साहित्यिक एवम् राजनीतिक चेतनाले उदीयमान ठाउँहरूलाई समेट्ने, अञ्चलस्तरीय रूपमा वैचारिक अन्तत्र्रिmयामूलक सम्मेलनहरू गर्ने निर्णय गरियो । यही निर्णयअन्तर्गत २०२५ सालको फागुनमा झापा जिल्लामा मेची अञ्चलस्तरीय साहित्य सम्मेलन सम्पन्न गर्ने र त्यस सम्मेलनमा काठमाडौँ, बनारस र कोशी अञ्चलका साहित्यकार समेतलाई पनि उपस्थित गराउने गरी सम्मेलन तयारीका लागि केन्द्रले तत्कालीन कोषाध्यक्षको हैसियतमा मलाई झापा पठाउने निर्णय ग¥यो । झापाका साहित्यिक संस्था र त्यहाँ रहेका प्रगतिवादी साथीहरूको सहयोगमा यो कार्य सम्पन्न गर्न ‘साहित्य सङ्गम’का तत्कालीन अध्यक्ष सूर्य कन्दङ्वा, सदस्य नरेश शाक्य र कोषाध्यक्ष म आपैmँ रहेको एक उपसमिति बनाई त्यो कार्य सम्पन्न गर्न सो समितिलाई जिम्मा दिइएको थियो । उपसमितिमा रहेका तीनैजना स्थानीय विद्यालयका शिक्षक भएकाले साथीहरूले झापामा काम गर्न अलि अनुकूल पर्ने ठानेर मलाई नै झापा पठाउने निर्णय गरेको जस्तो लाग्छ ।

‘साहित्य सङ्गम’को यो निर्णय सार्वजनिक सञ्चार माध्यमबाट प्रचार भइसकेको हुनाले झापाली साथीहरू बडो उत्साहका साथ हामीलाई पर्खेर बस्नुभएको रहेछ । झापामा हाम्रो सम्पर्क सूत्र रामनाथ दाहाल हुनुहुन्थ्यो । मैले पहिला उहाँकैमा आई भद्रपुरका साथीहरूसँग सम्पर्क गरें । भद्रपुरमा ‘नेपाली साहित्य परिषद्’ भन्ने संस्था क्रियाशील थियो । भर्खरैमात्र राधाकृष्ण मैनालीजीको सम्पादकत्व एवम् प्रकाशन प्रबन्धमा ‘पञ्चामृत’ नामको मासिक पत्रिकाको प्रकाशन सुरु भएको थियो । झापाका साथीहरूसँगको सल्लाहपछि भद्रपुरको नेपाली साहित्य परिषद् र शनिश्चरेको साहित्य सेवा समितिसँग मिलेर प्रस्तावित साहित्य सम्मेलन सम्पन्न हुन सक्ने हामीले ठान्यौँ र भद्रपुरका साथीहरूको सहमति लिएपछि साहित्य सेवाा समितिका साथीहरूसँग सम्पर्क गर्ने क्रममा म शनिश्चरे पुगें ।

साथीहरूबाटै हामी शनिश्चरे आउने खबर रुद्रजीले पाउनुभएको रहेछ । उहाँ पाराखोपीस्थित आफ्नी दिदीका घरमा बसेर त्यसैसाल एसएलसी पास गरी स्थानीय कलेजमा आई.ए. प्रथम वर्षको अध्ययन गर्दै हुनुहुँदोरहेछ । शैक्षिक संस्था खोल्ने स्थानीय हुनेखानेहरूको होडमा खोलिएको शनिश्चरे इन्टर कलेजले के कारणले हो कुन्नि एक व्याच विद्यार्थीहरूलाई नै तह पार गर्न लाउन सकेन र बीचैमा बन्द भयो र आफ्नो अध्ययनकै क्रममा अरू सहपाठीसँग रुद्रजीले पछि भद्रपुर सर्नुप¥यो ।

केही गर्ने उत्साहले ओतप्रोत रुद्रजीले पहिलो भेटमा नै मलाई नमेटिने छाप छोड्नुभयो । उहाँ त्यतिबेला साहित्य सेवा समितिको सचिव हुनुहुन्थ्यो र सो संस्थाको अध्यक्ष जयप्रकाश ढकालजी रहेको मैले रुद्रजीलाई भेटेपछि नै थाहा पाएँ । जय ढकालजी प्रगतिवादी लेखनमा एकपल्ट निकै नाम चली बीचमा निष्क्रिय समेत रहनुभएको र हामीभन्दा उमेरले केही पाको हुनाले सोचाइको स्तर र कार्यशैलीमा केही खाडल हुनु स्वाभाविक थियो । फेरि पूर्ण समानता र परिवर्तनका लागि पर्ने हामीजस्ताका योजनाका सहयोगीभन्दा पनि उहाँ बाधक बन्न सक्ने सोच थियो रुद्रजीको । त्यसैले पहिले हामी दुईले पाराखोपीस्थित उहाँकै दिदीका घरमा बसेर कसरी अघि बढ्ने भन्ने रणनीति बनायौँ । फलस्वरूप सेवा समितिका अरू सदस्यलाई विश्वासमा लिएपछि मात्र हाम्रो योजनाबारे जयप्रकाश ढकालजीसँग कुरा ग¥यौँ । सम्मेलनमा काठमाडौँबाट गोविन्द भट्ट एवम् विराटनगरबाट महानन्द सापकोटासमेत सामेल हुने थाहा पाएपछि आफ्नो संस्थालाई पनि आयोजक संस्थामा सामेल गराउन उहाँ तयार हुनुभयो । कुनै पनि योजनामा मिहिन किसिमले संलग्न गरेर ठूलो विवाद आउन नदिई फत्ते गर्ने शैली रुद्रजीको थियो । यही शैली अपनाएर अनेकौँ प्रतिकूलताका सामु हामीले मेची अञ्चलस्तरीय साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न गरेर छाड्यौँ, २०२५ फागुन २५, २६ र २७ गते झापाको शनिश्चरे बजारमा । यो सम्मेलन सफल पार्न साहित्य सेवा समितिको सचिवको हैसियतमा रुद्रजीको उल्लेखनीय भूमिका रह्यो ।

सामान्यतः पूर्वाञ्चलमा नै विशेष गरी मेचीको झापा जिल्लामा वामपन्थी राजनीतिक गतिविधिलाई बढाउन मेची अञ्चलस्तरीय यो साहित्य सम्मेलनले मलिलो पृष्ठभूमि तयार पा¥यो । सम्मेलन सम्पन्न भएको तीन वर्षभित्रै झापाका युवा कम्युनिस्टहरूको संलग्नतामा झापा आन्दोलन सुरु भयो । यसले नेपालको कम्युनिस्ट आन्दोलमा रहेको जडतामाथि धावा बोल्दै निकै ठूलो खैलाबैला ल्यायो । यही सम्मेलनपछि पूर्वमा प्रगतिवादी साहित्यिक आन्दोलनले पनि गति लियो । यो गतिका तरङ्गमा राजनीतिमा धेरै कार्यकर्ता र साहित्यमा धेरै स्रष्टाहरू जन्मिए । वस्तुतः मेची अञ्चलस्तरीय साहित्य सम्मेलनको पृष्ठभूमि यसले समसामयिक राजनीतिक एवम् सांस्कृतिक आन्दोलनमा पारेको प्रभावबारे विश्लेषण गर्न छुट्टै लेखको आवश्यकता पर्छ । प्रस्तुत लेख रुद्रजीको सम्झनामा मात्र केन्द्रित रहने हुँदा उपर्युक्त विषयमा यसै लेखमा गहन छलफल गर्नु अलिक अप्रासङ्गिक पनि ठहर्ला । यहाँ यति मात्र भन्नु सान्दर्भिक होला, पूर्वका धेरै वाम राजनीतिक नेता र कार्यकर्ताजस्तै रुद्र खरेलको जीवनयात्रालाई एउटा गोरेटो प्रदान गर्न यो सम्मेलनको ठूलो भूमिका छ र कालान्तरमा यही गोरेटोले निर्देश गरेको मूल बाटोका अविचल यात्री भएर नै रुद्रजीले जीवन बिताउने प्रयत्न गर्नुभयो र अन्ततः यस प्रयत्नमा सफल पनि हुनुभयो ।

शनिश्चरेमा रहँदै साहित्य सेवा समितिको मुखपत्रका रूपमा ‘मुना’ सङ्कलनको सम्पादक भएर खरेजीले साहित्यिक पत्रकारिता सुरु गर्नुभएको हो । २०२७ सालमा शनिश्चरे कलेज बन्द भएपछि त्यस कलेजका विद्यार्थीहरू भद्रपुरको मेची कलेजमा स्थानान्तरण हुने क्रममा खरेलजी भद्रपुर सरेपछि उहाँको साहित्यिक र राजनीतिक सक्रियता बढ्न गयो । विद्यार्थी राजनीतिको ध्रुवीकरणको चरम अवस्थामा भद्रपुर कलेज पुग्नुभएको थियो । काठमाडौँबाट विज्ञान पढाइ छोडी सीपी मैनाली झापा झरेपछि त्यहाँको राजनीतिक माहौल अरू तातियो । राधाकृष्ण मैनाली, द्रोणाचार्य क्षेत्री, सीपी मैनाली, लीला उदासी, नेत्र घिमिरे, पुण्य शर्मा, वासुदेव शर्मा, रामप्रसाद पोखरेलको सक्रियताले तातेको झापाको विद्यार्थी राजनीतिले जिल्लाको वाम राजनीतिमा नै गहन प्रभाव पार्न थालेको थियो । सङ्गठनात्मक रूपमा त्यतिबेलाको नेकपा झापा जिल्ला कमिटी क. मनमोहन अधिकारीको अभिभावकत्व एवम् क. भरतमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गत थियो । पूर्वी पहाडी जिल्ला एवम् झापा, मोेरङका पार्टी कमिटीहरू पूर्व कोशीकै समूहका अधीनमा थिए ।

झापा जिल्लामा नयाँ किसिमले उठ्न थालेको किसान आन्दोलनले पार्टी कमिटीहरूलाई नयाँ किसिमले प्रभाव पार्दै थिए । पश्चिम बङ्गालमा उर्लिएको किसान विद्रोहले पनि यहाँ नयाँ तरङ्ग ल्याउन थालेको थियो । माथि उल्लिखित विद्यार्थीहरू कुनै न कुनै किसिमले पार्टी कमिटीभित्र सङ्गठित थिए । किसान आन्दोलनका सवालमा तत्कालीन झापा जिल्ला कमिटीमा रहेका कमरेडहरूबीच अन्तर्विरोध तीव्र हुन थालेको थियो । यही अन्तर्विरोधलाई मिलाउन पार्टी हेडक्वार्टरले क. मोेहनचन्द्र अधिकारीलाई विराटनगरबाट झापामा नै काम गर्ने गरी पठायो । क. अधिकारीले झापाको फाटो मिलाउनुभन्दा मेचीपारीका कमरेडको प्रभावमा झापा जिल्ला कमिटीले नै हेडक्वाटरसँग विद्रोह गर्ने परिस्थिति बनाउनुभयो । फलस्वरूप रामनाथ दाहाल, शिव सिवाकोटी, राधाकृष्ण मैनाली, सीपी मैनाली, नेत्र घिमिरे, केपी ओली, वीरेन्द्र राजवंशी आदिको पहलमा २०२८ सालमा झापा जिल्ला कमिटीका अधिकांश कमरेडले हेडक्वाटरसँग विद्रोह गरी व्यक्ति हत्याको राजनीतिबाट आफ्नो आन्दोलनको फरक पहिचान दिन थाले । अन्ततः झापा जिल्ला कमिटीको ठूलो हिस्साको संलग्नतामा छुट्टै झापा जिल्ला समन्वय कमिटी बन्यो र छिमेकी देशमा चलेको नक्सलवादी किसान आन्दोलनकै कार्यशैलीमा झापामा अनेकौँ व्यक्ति हत्याका घटना घट्न लागे ।

झापा विद्रोहको यस घटनालाई पञ्चायती प्रशासनले मुलुकभरका देशभक्त कम्युनिस्टहरूलाई दबाउने उपयुक्त अवसर ठान्यो । विद्रोहका पृष्ठभूमिमा रहेका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक कारणहरूको पहिचान गर्नुको सट्टा दमनबाटै सबै कुरा ठीक पार्न सकिन्छ भन्ने निचोडमा पुगेको सरकारलाई दमन तीव्र बनाउन इन्दिरा गान्धीको नेतृत्वमा रहेको भारतीय सत्ताले पनि देखअदेख धेरै सहयोग पु¥यायो । फलस्वरूप देशभर कम्युनिस्ट नेता कार्यकर्ताहरू पक्राउ परे, कयौँ मारिए । पोखराको कार्यक्रमबाट काठमाडौँका कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठ, विराटनगरबाट पूर्व कोशी प्रान्तीय कमिटीका शीर्षस्थ नेता मनमोहन अधिकारी पक्राउ पर्नुभयो । अरू नेता अर्धभूमिगत भए । दमनको तीव्रतम रूप पूर्वी पहाडका धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम र मधेसका मोरङ, सुनसरी र झापामा देखियो । विशेष गरी यी जिल्लाका अगुवा युवाहरूलाई शान्तिसुरक्षा एवम् राजकाज अपराध ऐनअन्तर्गत थुनामा राखियो ।

झापा आफै  विद्रोहको केन्द्र रहेकाले दमनको चरम रूप त्यहाँ देखिने नै भयो । सरकारको यस्तो चरम दमन त बढ्दै थियो, व्यक्तिहत्याको राजनीति ठीक कि बेठीक भन्ने कुरामा युवा कार्यकर्ताबीच अरू ध्रुवीकरण बढ्यो । यस्तो अन्तर्विरोध पार्टी पङ्क्तिभित्र पनि शत्रुवत रूपमा अरू झाङ्गियो । यो अन्तर्विरोधको क्रम झापामा कम्युनिस्ट कार्यकर्ता भनेर चिनिएका द्रोणाचार्य क्षेत्री, रुद्र खरेल, लीला उदासी आदि व्यक्तिहरू व्यक्तिहत्याको पहिचान बोकेको झापा विद्रोहको विपक्षमा देखिनुभयो । फलस्वरूप उहाँहरू प्रशासन र पार्टीभित्रकै विद्रोही शक्तिको दोहोरो निसाना बन्नुभयो । यही क्रममा रुद्र खरेलजीले आफ्नो बसाइ विराटनगर सार्नुभयो तर विराटनगर बसे पनि उहाँ प्रशासनको निगरानीमा हुनुहुन्थ्यो र २०३० सालको मध्यतिर उहाँ झापा गौरादह घरमा गएको बेला पक्राउ परी झापा जेलमा राखिनुभयो । झापा विद्रोहका विपक्षमा रहेका लीला उदासी अध्ययन (बी.एल.) का क्रममा काठमाडौँ सर्नुभयो र उहाँ त्यहीँ पक्राउ पर्नुभयो । द्रोणाचार्य भने जिल्ला पञ्चायतको मुखपत्र सम्पादन गर्ने पत्रकारको आवरणमा आपूmलाई प्रस्तुत गरेर पक्राउबाट बाँच्नुभयो ।

रुद्र खरेल आपूmलाई झापा विद्रोहका विपक्षमा रहेको कुरा आफ्ना हरेक गतिविधिबाट देखाउन खोज्नुहुन्थ्यो तर प्रशासन भने उहाँलाई झापा विद्रोहको कट्टर हिमायती र कारकको रूपमा हेथ्र्यो र सोहीबमोजिम प्रमाणित गर्न खोज्थ्यो । त्यतिबेला प्रशासनको आँखामा रुद्रजी कति साह्रो बिजाउने कसिङ्गर हुनुहुन्थ्यो भन्ने कुरा एउटा घटनाले बताउँछ । झापाका अधिकांश विद्रोहीहरू त सरकारी पञ्जामा परेकै थिए । केही देशभक्त अगुवाहरूलाई सुखानीको जङ्गलमा लगी जेल सार्ने बहानामा सहिद बनाइसकेको थियो । पूर्वी पहाडका विशेष आन्दोलित जिल्लाका हजारौँ अगुवा युवा विद्यार्थी शिक्षकहरू पक्राउ परिसकेका थिए । त्यही बहानामा सरकार मुलुकका वामप्रभाव भएका अन्य ठाउँमा पनि दमनचक्र चलाउन चाहन्थ्यो र त्यही योजनामा आफ्नो खुफिया संयन्त्र सञ्चालन गरिरहेको थियो ।

नारायणी अञ्चलको चितवन त्यतिबेला पञ्चायती प्रशासनका दृष्टिमा निकै खतरा ठाउँ मानिन्थ्यो । बीसको दशकदेखि नै चितवनमा वाम राजनीतिको प्रभाव बढेको थियो । २०३० सालको अन्त्यतिर एकजना जासुस रुद्र खरेलको नाम लिएर चितवन पसेछ र त्यहाँ विद्रोहीको बैठक गर्ने नाटक रचेर एउटा जमघट गराएछ । रुद्र खरेलका नामले प्रभावित भएर बैठकमा जुटेका चितवनका युवाहरू त्यही नक्कली रुद्रको सूचनामा काठमाडौँबाट बोलाइएका प्रहरीहरूको घेरामा परी पक्राउ परेछन् । पुलिसको घेरामा अनजान युवाहरूलाई पारेर नक्कली रुद्र खरेल गायब भएछ । प्रशासनले यस घटनालाई निकै उचाल्यो र चितवनका अगुवा वाम चेतना बोकेका युवाहरूलाई राजकाज मुद्दा लगाई बन्दी बनायो । त्यतिबेला कतिसम्म नक्कली नाटक मञ्चन भयो भने एक समय चितवन कलेजका प्रिन्सिपल रहेका प्राध्यापक आनन्ददेव भट्टलाई प्रहरीले चितवनमा बनाएका फर्जी बयानका आधारमा उहाँ कार्यरत त्रि.वि.को पाठ्यक्रम केन्द्रबाटै पक्राउ ग¥यो । वास्तविक रुद्र खरेल ६ महिनाअघि नै पक्राउ परी झापा जेलमा रहेको, नक्कली रुद्र खरेल बनाई सरकारले चितवनमा दमन चलाएको र काठमाडौँमा प्राज्ञिक क्षेत्रमा कार्यरत भट्टलाई पनि चितवनको कथित भूमिगत सङ्गठनमा आबद्ध भनी पक्राउ गरेको घटनाले काठमाडौँमा निकै हल्ला मच्चायो । घटना प्रायोजित भएको प्रमाणस्वरूप सक्कली रुद्र झापामा ६ महिनाअघि नै बन्दी रहेको कुरा सञ्चारमाध्यमले उठाए । फलस्वरूप रुद्रलाई काठमाडौँमा ल्याई वास्तविकता छानविन गर्न सरकार विवश भयो । यसरी झापा जेलबाट २०३१ फागुनतिर रुद्रजीलाई काठमाडौँ सदर जेलमा ल्याइयो र त्यहाँ भएका झापाली बन्दीसँग भेट गर्नै नदिई एक रात त्यहाँ राखी भोलिपल्ट नक्खु जेलमा लगियो ।

२०२९ सालमा नै तेह्रथुममा पक्राउ परी म राजमुद्दा झेल्दै धनकुटा, मोरङ, राजविराज जेल सारिँदै काठमाडौँ ल्याइएको थिएँ । त्यतिबेला राजनीतिक चरित्रका बन्दीहरूलाई नक्खुमा राख्ने प्रबन्ध गरिएको भए पनि एम.ए.को परीक्षा दिने हामी केही बन्दीलाई काठमाडौँको सेन्ट्रल जेलमा राखिएको थियो । म, नेकाका पुरुषोत्तम बस्नेत, ओमकार श्रेष्ठ एम.ए.को जाँच दिन सेन्ट्रल जेलमा राखिएका थियौँ । एक दिन जेल प्राङ्गणमा घुम्दै गर्दा झापाली झल्ला (पाटले बुनेको टाटेपाटे सतरन्जी) मा गुटुमुट्याइएको ओढ्ने÷ओछ्याउनेको पोको जेलअघि देखियो । कोही झापाली ल्याएको आभास त मिल्यो तर को हो, त्यसको सुइँको पाउन हामीले धेरै प्रयत्न ग¥यौँ । जेलभित्रको हाम्रो पक्षको जासुसीको प्रयोगबाट थाहा भयो– त्यो पोको रुद्र खरेलको रहेछ । बिहान बुझ्दा पो थाहा भयो– उहाँलाई बिहानै नक्खु जेल सरुवा गरिएछ ।

एम.ए.को परीक्षा सकिएपछि हामीलाई पनि नक्खु पु¥याइयो । त्यतिबेला नक्खु जेलमा राजनीतिक बन्दीको निकै राम्रो जमघट थियो । नेपाली काङ्ग्रेसका महत्वपूर्ण नेता र युवा कार्यकर्ताहरू नक्खुमा नै थिए । नेकाका नेता कृष्णप्रसाद भट्टराई, जनकपुरका बोधदादा महेश्वर सिंह, राजविराजका इन्द्रदेव सिंह, सर्लाहीका रामहरि जोशीलगायत आजका काङ्ग्रेसका हर्ताकर्ता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, ओमकार श्रेष्ठ, मार्सलजुलुम शाक्य, श्यामलाल श्रेष्ठ, विश्वनाथ कर्माचार्य, मछेन्द्र पाठक (दुवै दिवङ्गत), ध्यानगोविन्द रञ्जित, पुरुषोत्तम बस्नेत, चिरञ्जीवी वाग्ले, रामशरण महत, माथवरसिंह बस्नेत, राजेन्द्र खरेल आदि असीभन्दा बढी काङ्ग्रेसीहरूबीच काठमाडौँका गङ्गालाल श्रेष्ठ (रेड कम्युनिस्ट), भक्तपुरका बाबुकाजी वासुकला, झापाका रुद्र खरेल, लीला उदासी, काठमाडौँका आनन्ददेव भट्ट र म सीमित मात्र कम्युनिस्टहरू थियौँ । जनवादी मोर्चाका रामराजाप्रसाद सिंह पनि त्यतिबेला नक्खुमै हुनुहुन्थ्यो । अलिपछि चितवन र झापाका विद्रोहीहरू पनि थपिए । भनौँ न त्यतिबेला नक्खु जेल राजनीतिक बन्दीहरूको एउटा राम्रो शिविर जस्तो थियो ।

नक्खु जेलमा ल्याइपु¥याउँदा रुद्र खरेलजी अनेकौँ शारीरिक एवम् मानसिक यातनाले विक्षिप्त जस्तै हुनुहुन्थ्यो । उहाँलाई सामान्य हुन अरू दुई÷तीन महिना लाग्यो । सामान्य भएपछि पनि उहाँले सकेसम्म झापाली बन्दीभन्दा आफ्नो पृथक् पहिचान भएको प्रमाणित गर्ने प्रयत्न गर्नुभयो । उहाँको यस्तो प्रयत्नले जेलभित्र पनि साथीहरूबीच सामान्य असमझदारीका घटनाहरू घट्न पुगे । उता सरकार भने विलखबन्दमा प¥यो । झापा विद्रोहका हस्ती मानी पक्रेर ल्याएको बन्दी झापाली बन्दीको भन्दा पृथक् पहिचान राख्न चाहन्छ । रुद्रको यो चाला अभिनय हो कि वास्तविकता त्यो कुराकै चक्करमा प्रशासन धेरै दिन परिरह्यो । त्यही कुरा प्रस्ट हुन नसक्दा हामी राजकाज मुद्दाका बन्दीहरू छुट्दा पनि शान्तिसुरक्षा ऐनअन्तर्गत थुनिएका रुद्रजी छुट्नु भएन । सरकारलाई वास्तविकता बुझ्न झन्डै चार वर्ष लाग्यो र नै २०३५ सालतिर मात्र रुद्रजी कारागार मुक्त हुनुभयो ।

जेलजीवन चेतनशील एवम् जागरुक युवाहरूका लागि अत्यन्त उपयुक्त पाठशाला हो । त्यसमा पनि सबै पुस्ताका राजनीतिक बन्दीलाई एक ठाउँ राखेर सरकारले अन्जानमा नै नक्खु जेललाई राजनीतिक विचारको अन्तत्र्रिmयाको केन्द्र बनाएको थियो । त्यतिबेला नक्खु जेलमा रहेका युवाहरूले आफ्नो शैक्षिक स्तर वृद्धि गर्न आआफ्नो क्षमताअनुसार प्रयत्न पनि गरे । मैले एम.ए. र बी.एल. जेलबाटै पूरा गरें । मसँग भएका पाठ्यपुस्तकको सदुपयोग गर्दै रुद्रजीले पनि एम.ए. नेपालीको अध्ययन नक्खुबाटै पूरा गर्नुभयो । २०३५ सालमा जेलबाट छुट्दा उहाँले नेपाली विषयमा एम.ए.को डिग्री हासिल गरिसक्नुभएको थियो । नक्खु जेलबाट यही प्राप्ति नै उहाँको जीवनभर कमाइखाने स्रोत बन्यो ।

जेलको लामो बसाइँ, यहीबीच आफ्नो एकमात्र बालक छोराको मृत्यु, आपूmले लिएको राजनीतिक जीवन र मान्यताबारे आपूmभित्रै अन्तद्र्वन्द्व, अनेकौँ मानसिक एवम् शारीरिक यातनाको पीडाले उत्पन्न तनाउले जीर्ण भएर रुद्रजी जेलबाट बाहिर आउनुभएको थियो । यी सब तनाउबाट मुक्ति पाई आफ्नो परिवारलाई व्यवस्थित पार्न झन्डै उहाँलाई अरू एक वर्ष लाग्यो । आपूmलाई काठमाडौँकै रैथाने बनाउने ठहरसहित श्रीमतीलाई काठमाडौँ ल्याएपछि उहाँले त्रि.वि.अन्तर्गत नेपाल ल क्याम्पसमा नेपाली विषयको सहायक प्राध्यापक भई जागिरे जीवन सुरु गर्नुभयो । त्यतिबेला पञ्चायतविरोधी चिन्तन बोकेकाहरूले जागिर पाउन गाह्रै थियो, त्यसमाथि रुद्रजी त झापा विद्रोहसँग जोडिएर पाँच वर्षसम्म जेल बसेको मानिस हुनुहुन्थ्यो । उहाँलाई जागिरको तगारो खोली त्रि.वि.मा प्रवेश गराउन डा. बल्लभमणि दाहाल र कानुन अध्ययन संस्थानका तत्कालीन डीन श्री ध्रुववरसिंह थापाको सहयोग रहेको प्रसङ्ग उजागर गर्न आवश्यक र सान्दर्भिक छ ।

त्रि.वि. सेवामा प्रवेश गरेपछि रुद्रजीको जीवनको अर्को अध्याय सुरु भएको मैले ठानेको छु । त्रि.वि. प्रवेश गरेपछिका यी दुई दशकमा उहाँले अत्यन्तै संयमका साथ आफ्नो आत्मसम्मान र आस्थालाई बचाउँदै आपूmलाई सामाजिकीकरण गर्नुभएको पाइन्छ । उहाँलाई सामाजिक रूपान्तरणका आन्दोलनमा जोड्ने माध्यमहरू साहित्य–सन्ध्या, उत्साह पत्रिका, प्रगतिशील लेखक सङ्घको पुनर्गठनको अभियान एवम् प्राध्यापक सङ्घका विभिन्न गतिविधि रहे । झापा विद्रोहताकाको सहकर्मीसँगको शत्रुवत् तहसम्म पुगेको अन्तर्विरोधको चस्काले उहाँ निकै पछिसम्म कुनै पार्टीसँग प्रत्यक्ष सम्बन्धित रहेको देखिएन । सम्भवतः २०४६ को जनआन्दोलनसम्म रुद्रजी स्वतन्त्र वाम बुद्धिजीवी एवम् साहित्यिक एवम् साँस्कृतिककर्मीको रूपमा नै समाज रूपान्तरणका प्रायजसो सबै आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । पूर्व कोशीको राजनीतिक संस्कारबाट दीक्षित भएर पनि पछि गएर बनेको नेकपा (माले) र त्यसको अझ पुनर्गठित रूप एमाले उहाँको आकर्षणको केन्द्र रहेन । राजनीतिक चेतनाले ग्रस्त एकजना परिपक्व स्रष्टाको हैसियतले उहाँ पार्टीनिरपेक्ष भएर पनि बस्न सक्नुभएन । २०४६ पछि उहाँ तत्कालीन जनमोर्चाको निकट देखिँदै अप्रत्यक्ष रूपमा पार्टी नजिक हुनुभएको पाइन्छ । पार्टी जुट र फुटका क्रममा कहिले कता, कहिले कता हुँदै जीवनको अन्तिम क्षणमा उहाँ नेकपा एकताकेन्द्रबाट फुटेको नेकपा एकीकृतमा आबद्ध हुनुहुँदोरहेछ । उहाँले आफ्नो पार्टी जीवनको यो पक्ष हामी सहयात्रीहरूबीच पनि खुलाउनुभएको थिएन । आर्यघाटमा उहाँको दाहसंस्कारका लागि उपस्थित समूहबाट एकीकृत पार्टीका प्रवक्ताले उहाँको शवमा पार्टीको झन्डा ओढाएपछि मात्र पो थाहा भयो– उहाँ त त्यो पार्टीको केन्द्रीय सदस्य हुनुहुँदोरहेछ ।

पार्टीगत रूपमा जता रहे पनि रुद्रजीमा विभिन्न खेमामा विभाजित साथीहरूका मिल्दा साझा कुरालाई समातेर सँगसँगै हिँड्ने विचित्रको शैली विकसित भएको थियो । त्यसैले वामपन्थीहरूका साझा संस्थामा कुनै खेमाको प्रतिनिधि भएर पनि बडो संयमका साथ साथीहरूका बीचको दूरीलाई कम गर्ने सन्तुलित एवम् संयोजनकारी भूमिका उहाँले खेल्नुभयो । यही भूमिकाले नै उहाँलाई प्रगतिशील प्राध्यापक सङ्घको उपाध्यक्षको पदभार गर्ने स्थितिसम्म पु¥यायो । विभेदबीच पनि एकताका सूत्र खोज्ने उहाँमा विचित्रको सिप विकसित भएको थियो । अरूको कुरा धैर्यशील भएर सुन्ने, आफ्ना कुरा पनि दह्रोसँग साथीहरूबीच राख्ने र छलफलबाट वैचारिक सन्तुलन र समन्वय कायम गर्ने वातावरण कायम गर्ने रुद्रजीको कार्यशैलीलाई उहाँको विनयी एवम् मृदुभाषी स्वभावले अरू प्रभावकारी बनाउन सकेको हो भन्ने निष्कर्ष मेरो छ ।

कहिले पार्टीको प्रतिनिधि त कहिले स्वतन्त्र वामपन्थीका रूपमा सामाजिक रूपान्तरणका जुनसुकै आन्दोलनमा उहाँको अग्रगामी भूमिका र उल्लेखनीय सहभागिता रहेको पाइन्छ । ०४६ को जनआन्दोलनमा सरकारी दमनका विरुद्ध मुखमा कालोपट्टी बाँध्ने लेखकहरूको कार्यक्रममा उहाँको सक्रिय सहभागिता रह्यो भने दोस्रो जनआन्दोलनका क्रममा त बिरामी भएर पनि उहाँले सक्रिय सहभागिता देखाउनुभयो, गिरफ्तारी दिनुभयो । यसरी लेखेर, बोलेर, गणतान्त्रिक नेपालको पृष्ठभूमि बनाउन उहाँले उल्लेख्य योगदान पु¥याउनुभयो ।

सामाजिक, सांस्कृतिक एवम् राजनीतिक आन्दोलनमा सक्रिय सहभागी रहे पनि यता आएर उहाँलाई दीर्घजीवी बनाउन उहाँको स्रष्टा व्यक्तित्वले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । उहाँले सम्पादक भएर, लेखक भएर एवम् शिक्षक भएर अग्रगामी चेत बोकेका अनेकौँ सृजना गर्नुभएको छ र नै उहाँ नेपाली साहित्यिक एवम् सांस्कृतिक जगत्मा उन्नत स्तरको स्रष्टाका रूपमा स्थापित भइसक्नुभएको छ । प्रारम्भमा कविता सृजनाबाट सुरु भएको उहाँको साहित्यिक यात्राले उहाँलाई उत्कृष्ट स्तरको निबन्धकार बनायो । कृतिका रूपमा पहिलो प्रकाशित छोरीलाई कवितासङ्ग्रहका अतिरिक्त उहाँका तपाईंको नाम के हो ?, तोरी लाहुरे चोकमा एकछिन, बिर्सिस्यो कि, आषाढस्य प्रथम दिवसे, तेस्रो आँखा र शब्दको भ्वाङ नामका आधा दर्जन व्यङ्ग्यप्रधान निबन्धका कृतिहरू प्रकाशित भएका छन् । सुरुमा सफल कवि हुन सक्ने सम्भावनाहरू देखाउन सफल कवि रुद्र खरेल आफ्नो डेढ दशकको साधनाका क्रममा एक उन्नत स्तरको निबन्धकारका रूपमा नेपाली साहित्यको इतिहासका पानामा आपूmलाई उभ्याउन सफल हुनुभएको छ । ‘डाङडुङे ड’ (२०२६) बाट व्यङ्ग्यात्मक निबन्ध लेख्न सुरु गरेका खरेलको निबन्ध लेखनयात्रा विशेष पहिचानका साथ चुलीमा पुगेको छ । यो चुलीभित्रका विशेषतालाई केलाउन उहाँका कृतिसम्बन्धी छुट्टै समालोचनात्मक लेखकमार्पmत सम्भव छ तर यहाँ यति मात्र भन्नु सान्दर्भिक हुनेछ– अत्यन्तै सहज, मिठासपूर्ण एवम् परिहासमय पृष्ठभूमि तयार पारेर व्यक्ति र समाजका बाङ्गोपन र कुरूपताप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार गर्दे सुधारको ठोस सन्देश दिने उहाँका निबन्धहरू अत्यन्तै प्रभावकारी र स्तरयुक्त छन् ।

यसरी जीवनको सुरुमा नै आपूmले आर्जन गरेको जनपक्षीय अडानमा बाँच्ने आस्थालाई कत्ति पनि डगमगाउन नदिई, सधैँ समृद्ध, स्वाभिमानी र समुन्नत नेपालको निर्माणका लागि प्रतिबद्ध रहने आफ्नो अडानमा कत्ति पनि विचलित नभई आफ्नो जीवनको अन्तिम अवस्थासम्म प्रतिबद्ध आस्थाको अविरल यात्री भएर रुद्रजीले आफ्नो जीवनयात्रा टुङ्ग्याउनुभयो अथवा हामीबाट बिदा हुनुभयो ।

जीवनको लामो कालखण्डमा सहयात्रा गरेका मित्र रुद्र खरेल अब सम्झनाका विषयवस्तु बनिसक्नुभएको छ । उहाँको असामयिक (६१ वर्षे जीवनको अवसान) निधन विशेष गरी उहाँका समकालीन सहयात्रीलाई तर्साउने घटना भएको छ । अरू साथीहरूले कसरी अनुभूत गरे रुद्रजीको यो अवसानलाई कुन्नि, मैले भने मृत्यु आपूmनजिकैबाट गएको अत्यास अनुभव गरें र निम्न पङ्क्तिमार्पmत आपूmलाई सम्झाउन विवश भएँ–
मृत्यु, फेरि एकपल्ट छेवै भएर गयो
थाहा छैन, 
ऊ जीवनको लल्कारबाट त्रस्त भएर भाग्यो कि
छली व्याधाजस्तै जीवनमाथि दागा धर्दै गयो
तर गयो, ऊ फेरि एकपल्ट जीवनको छेवैबाट गयो ।

------------------------------------------------------------------------

रुद्र खरेललाई फर्केर हेर्दा
–निनु चापागाईं

मृत्यु नभएको भए जीवनको सार्थकता कति रहन्थ्यो होला ? के जीवन यति गरिमामय र महान् हुन सक्तथ्यो ? कहिलेकाहीँ म यसरी पनि घोत्लिने गर्दछु । अधिकांश मानिस मृत्युलाई मन पराउँदैनन्, कति त मृत्युको नाम सुन्नासाथ कहालिनसमेत पुग्दछन् । जीवन भनेकै मृत्यु हो भन्ने हामी धेरैजसो बिर्सन्छौं । मृत्युका कारणले पुगेका क्षतिहरू, अपूरणीय क्षतिहरू र अनन्त क्षतिहरूका सम्बन्धमा हामी खैखबर गर्न पछि पर्दैनौं । तर, मृत्यु नभएको भए ? यसरी कमै मात्र सोचिन्छ । व्यक्तिकै सन्दर्भमा कुरा गर्दा पनि हामीलाई अभावको गहिरो अनुभूति त मृत्युले नै दिने हो । मृत्युपछि नै हामी प्रायः व्यक्तिको समग्र मूल्याङ्कन, आँकलन र उसका देनहरूको समीक्षा गर्ने गर्दछौं । नेपाली साहित्यका एकजना सिद्धहस्त, व्यङ्ग्य शैलीका अति राम्रा, प्रगतिवादी निबन्धकार रुद्र खरेलको सन्दर्भलाई पनि झन्डै यही परिप्रेक्ष्यमा राख्न नसकिने होइन ।

उमेरले हामी समवयस्क थियौं । मभन्दा उनी आधा वर्षले पाका उमेरका थिए । हामी दुवै पूर्वी पहाडबाट काठमाडौं खाल्डो झरेका थियौं । उनी थिए पाँचथर, च्याङ्थापुका, म थिएँ भोजपुर दिङ्लाको । फरक के थियो भने म पढाइका लागि यहाँ आइपुगेको थिएँ भने उनी केही समय झापा बसेपछि यहाँ प्रशासनको प्रताडनाका कारणले भनौं बाध्यतावश ल्याइएका थिए । उनले झापा बसाइमा नै आप्mनो खालको साहित्यिक व्यक्तित्वको निर्माण गरिसकेका थिए । तर, मैले भने साहित्यिक व्यक्तित्वको थालनी काठमाडौंमै गरेको थिएँ, यद्यपि लेखनको थालनी त्यतै किन भइनसकेको होस् । हामी दुवै कम्युनिस्ट आन्दोलनमा समाहित भएका मानिस थियौं । समयका दृष्टिले हेर्ने हो भने यसमा पनि उनी मभन्दा जेठा थिए । जतिखेर म नेपालको कम्युनिस्ट आन्दोलनतिर आकर्षित हुँदै थिएँ, उनी त्यतिखेर त्यसको एउटा हाँगो अर्थात् कोसी प्रान्तीय कमिटीअन्तर्गत रहेर कार्य गर्न थालिसकेका थिए । हाम्रो भेटघाट सम्भवतः हामी दुवैको वासस्थान र कार्यक्षेत्र काठमाडौं नभएको भए हुने नै थिएन । 

चार वर्षभन्दा लामो जेल सजाय भोगेपछि कामको खोजीमा उनी एकताका निर्माण नेवाले सम्पादन गरेको साप्ताहिक पत्रिका जनजागृतिका एकजना कामदार बन्न पुगेका थिए । मेरो उनीसितको देखादेख सर्वप्रथम यहीँ भएको हुनुपर्छ । तर, सम्पर्क र घनिष्टताको सूत्रधारचाहिँ प्रसिद्ध राजनेता निर्मल लामा बन्न पुगे । नख्खु जेलको बसाइमा खरेल निर्मल लामा र सूर्यनाथ रानासित परिचित मात्र भएनन्, प्रभावित पनि भए र एकखालको घनिष्टतासमेत उनीहरूमा स्थापित भयो । यही सम्बन्ध र सम्पर्कको आधारमा चालीसतिर केही हिमचिम भइसकेका हामीलाई बलियो सूत्रमा बाँध्ने काम निर्मल लामाले गरे । लामाजीले पहिल्यै साहित्यिक–सांस्कृतिक क्षेत्रमा निनुसित सरसल्लाह गरेर काम गर्न रुद्रलाई अनुरोध गरिसकेका रहेछन् र त्यही कारणले रुद्रले मसित घनिष्टता बढाउन आप्mनै खालको प्रयास गरेछन् । यो थाहा भएपछि हामी दुवैको संयुक्त भेटघाटको कार्यक्रम लामासित सम्पन्न भएयता उनी ने.क.पा. चौथो महाधिवेशनमा सङ्गठनात्मक रूपले आबद्ध भएर कार्य गर्नसमेत राजी भए । यसपछि नै हामीमा धेरै निकटता र गाढा सम्बन्ध स्थापित भयो । यसअघि उनीमाथि उल्लेख गरेजस्तो कोसी प्रान्तीय कमिटीअन्तर्गत झापामा रहेर काम गर्दै थिए– सङ्गठनात्मक रूपले । कोसी प्रान्तीय कमिटीमा रहेका दक्षिणपन्थी नेताहरूको चिन्तन र व्यवहारका विरुद्ध क्रान्तिकारी युवाहरूले आवाज उठाउन थालिसकेका थिए । क्रान्ति र मुक्तिका लागि युवकोचित साहस र जोस उनीहरूसित थियो, तर सही चिन्तन र राजनीतिको निर्माण भने भइसकेको थिएन । यस्तो अवस्थामा सीमापारि बङ्गालको नक्सालबारीमा भइरहेको नक्सलपन्थको उनीहरूमा प्रभाव पर्नु अस्वाभाविक थिएन । मोहनचन्द्र अधिकारीलगायतका कोसी प्रान्तीय कमिटीका सदस्यहरूको नेतृत्वमा नेपालभित्र पनि सामन्तहरूलाई सफाया गर्ने अभियानको थालनी भयो । रुद्र खरेल कोसी प्रान्तीय कमिटीको नेतृत्वमा रहेको दक्षिणपन्थी अवसरवादका विरोधी त थिए, तर आयातीत क्रान्तिको मार्गका पक्षमा भने पटक्कै थिएनन् । वर्गीय मुक्ति आन्दोलनको सफलता केही सामन्त र पुँजीपतिहरूको हत्याबाट सम्भव छैन, त्यसका लागि जनसङ्घर्ष र जनक्रान्तिको सही मार्ग अवलम्बन गर्नैपर्दछ भन्ने उनको मान्यता थियो । त्यसैले उनले आन्तरिक रूपमा त्यसको आलोचना र विरोध निरन्तर गरिरहे । उनको यो विरोध र आलोचनासित अन्धो प्रशासनलाई के वास्ता ? सामेलै नभएको घटनामा संलग्न भएको भनेर उनलाई दिनसम्मको कडा यातना दिएर अन्तमा जेलमा कोच्ने काम ग¥यो त्यसले । त्यतिखेर जेलमा भेटिएका नेता निर्मल लामासित राजनीतिको यही पक्षमा उनी एक ठाउँमा उभिन पुगे र लामाजीको चालचलन र व्यवहारबाटसमेत औधी प्रभावित भए । 
म र उनी एउटै पार्टीमा थियौं तापनि मैले उनीसित एउटै एकाइमा बसेर काम गर्ने अवसर भने पाइनँ । उनी काठमाडौं जिल्लाअन्तर्गत कुनै कमिटीमा रहेर काम गर्थे भने म साधारणतया माथिल्लो तह भन्ने गरिएको कमिटीमा आबद्ध थिएँ । तर, सांस्कृतिक–साहित्यिक र बुद्धिजीवी मोर्चामा हामी एउटै तहमा आबद्ध थियौं । प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिमा हामी सँगै काम गर्दै थियौं । इन्द्रेणी सांस्कृतिक समाज, नेपालको म अध्यक्ष थिएँ भने उनी उपाध्यक्ष थिए । प्रगतिशील बुद्धिजीवी सङ्गठन, नेपालको केन्द्रीय समितिका हामी दुवै सदस्य थियौं । हामी प्रगतिशील सांस्कृतिक सङ्गठनको पनि केन्द्रमा थियौं । स्रष्टा प्रकाशनका हामी संस्थापक सदस्य थियौं । प्रतिनिधि नेपाली कथाहरूको सम्पादन रामहरि पौड्याललगायत रुद्र र मैले नै गरेका थियौं । सम्पादनकै क्रममा वेदना साहित्यिक त्रैमासिकमा हामीले एउटा युग नै बितायौं । 

यी सबै सन्दर्भमा मैले रुद्र खरेललाई क्रान्तिकारी आन्दोलनप्रति प्रतिबद्ध, इमानदार साहित्यकारका रूपमा पाएँ । रुद्र खरेल अति मिलनसार, ज्यादै सरल, आवश्यकता पर्दा कसैलाई पनि सरसहयोग गर्न सदा तत्पर, मृदुभाषी तर कुरा गर्न अति मनपराउने, आडम्बर नभएका र त्यसप्रति घृणा व्यक्त गर्ने, भनाइ र गराइका बीचमा सकेसम्म एकाकार हुन मन पराउने र त्यसो नगर्नेहरूप्रति अति नै आलोचक रहने, कामलाई गम्भीरताका साथ लिने, लगनशील स्वभाव भएका मानिस थिए । पेसाले उनी विश्वविद्यालयसित सम्बद्ध अध्यापक थिए । क्रान्तिकारी आन्दोलनमा प्रतिबद्ध भएर पनि उनी मूलतः साहित्यकार थिए । 

रुद्र खरेलको साहित्ययात्राको थालनी सम्भवतः आजभन्दा झन्डै त्रिचालीस वर्षअघि आह्वान शीर्षकको (२०२२) कविता प्रकाशनबाट भएको थियो । साहित्यिक क्रियाकलापको उनको दोस्रो क्षेत्र थियो साहित्यिक पत्रकारिताको । जीवनको अन्तसम्म आउँदा यी दुवैबाट उनी केही पर पुगेका थिए । उनी यतिखेर मात्र एक निबन्धकार थिए । नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा रुद्र खरेलले आप्mनै निजत्व, सामथ्र्य र विशिष्टता स्थापित गरेका छन् । यस क्षेत्रमा उनी सर्वाेत्कृष्ट निबन्धकारका रूपमा सम्मानित छन् । व्यङ्ग्यलाई लेखनशैलीका रूपमा अङ्गीकार गर्ने थोरै निबन्धकारहरूमध्ये हास्यलाई पटक्कै महŒव नदिई व्यङ्ग्यलाई तिख्तर रूपले प्रभावकारी क्षमताका साथ ध्वन्यात्मक रूप दिने एकजना उनीमात्र थिएभन्दा अत्युक्तित हुनेछैन । समसामयिकता उनको विशेषता थियो । तात्कालिक समाजका जल्दाबल्दा समस्यालाई उनी आप्mना निबन्धको अन्तर्वस्तु बनाउने गर्दथे । त्यसमा पनि उनी दक्षिणपन्थी राजनीतिलाई विशेष आलोचनाको तारो बनाउँथे । उग्र ‘वामपन्थी’ रोगमाथि पनि उनले आक्रमण नगरेका होइनन् । तर त्यो यति कलात्मक हुन्थ्यो कि हामीलाई त्यो राजनीतिजस्तो लाग्दैनथ्यो । यस अतिरिक्त उनी सांस्कृतिक विकृतिका पाटाहरूलाई पनि उधिन्ने गर्दथे । यस सन्दर्भमा उनको अर्काे पनि एउटा वैशिष्ट्य थियो । उनी मानवीय कमी–कमजोरीप्रति आक्रमण गर्ने उनका अन्य समकालीन मित्रहरूलाई मन पराउँदैनथे र आप्mना रचनामा त्यस्तो नहोस् भनेर अति जागरुक थिए । कतिपय मानिसहरू व्यङ्ग्यका नाममा मान्छेको बाउन्नेपन, लठेब्रोपनजस्ता विषयलाई समेत व्यक्तिको कमीकमजोरीका रूपमा प्रहार गर्ने र हास्यको पात्र बनाउने गर्दछन् । रुद्र खरेल यस खालको चिन्तन र प्रस्तुतिलाई साहित्यकार स्वयम्को निष्कृष्टतम प्रवृत्ति र कमजोरीका रूपमा लिने गर्दथे । जेका लागि ऊ दोषी नै छैन त्यसमा केको आक्रमण ? केको व्यङ्ग्य ? यस्तो थियो, उनको सोच । यौनलाई अतिरञ्जनाका साथ प्रस्तुत गर्ने वा बिनाबित्थाका हाँसोका फुर्का जोडजाड गरेर व्यङ्ग्य गरेजस्तो गर्नेहरूलाई पनि उनी मन पराउँदैनथे । 
साहित्यमा उनका विविध आयाम छन्– कवि, समालोचक, निबन्धकार, सम्पादक आदि । कविताबाट लेखन प्रारम्भ (२०२२) गरे तापनि उनले आफूलाई निबन्धकारका रूपमा उभ्याउन सफल रहे । सम्भवतः २०२५ मा ‘पञ्चामृत’मा छापिएको ‘नमस्ते’ शीर्षकको निबन्धयात्राको पहिलो रचना हो । खरेलको सर्वाधिक ऊर्जाशील समय भने २०४७ पछिको समय नै थियो । उनका सातवटा कृतिमध्ये छवटा कृति यही अवधिमा लेखिएका छन् । छोरीलाई (२०४७) उनको एकमात्र कवितासङ्ग्रह हो भने उनका अन्य कृतिहरू सबै निबन्धका छन् ः तपाईंको नाम के हो ? (२०४९), तोरिलाहुरे चोकमा एकछिन (२०५२), बिर्सिस्यो कि (२०५७), आषाढस्य प्रथम दिवसे (२०५९), तेस्रो आँखा (२०६१) र शब्दको भ्वाङ् (२०६४) । ती सबै नेपाली समाजका सामाजिक, राजनीतिक र सांस्कृतिक विकृतिविरुद्ध लक्षित थिए, वामपन्थी आन्दोलनमा देखापरेका वैचारिक स्खलनमाथि लक्षित थिए र नेता एवम् बुद्धिजीवीहरूको चारित्रिक पतनमाथि आक्रामक बनेर लेखिएका थिए । र यो सबै उनले क्रान्तिकारी उद्देश्यबाट प्रेरित भएर गरेका थिए । दक्षिणपन्थी, वामपन्थी दुर्बलतामाथि मात्र होइन आप्mनै पङ्क्तिमा रहेका कमी–कमजोरीमाथि प्रहार गर्न पनि उनी चुकेनन् । चारित्रिक रूपले सबल व्यक्तित्वले मात्र यस्तो काम गर्न सक्तथ्यो र खरेल यसका एकजना प्रतिनिधिपात्र थिए । 

खरेलको साहित्यको दोस्रो मुख्य क्षेत्र सम्पादन थियो । उनले २०२५ सालदेखि नै सम्पादन सहयोगीका रूपमा काम गर्न थालिसकेका थिए । पञ्चायतको निरङ्कुश अवधिमा बीसको दशकमा झापाबाट प्रकाशित पहिलो प्रगतिशील साहित्यिक मासिक पत्रिका पञ्चामृतमा उनले सर्वप्रथम यही भूमिका निर्वाह गरेका थिए । पञ्चामृतको पहिलो अङ्क  पुस १ गते २०२५ सालमा निस्किएको थियो । यसका सम्पादक वासुदेव शर्मा थिए भने प्रकाशकचाहिँ राधाकृष्ण मैनाली । सहयोगीहरू थिए ः रुद्र खरेल, द्रोणाचार्य क्षेत्री, कृष्ण पौडेल, विश्वनाथ न्यौपाने र गङ्गाप्रसाद ‘कप्तान’ । यसको सल्लाहकार मण्डलीमा पाँचजना साहित्यकारहरू थिए ः चूडामणि रेग्मी, नकुल ‘काजी’, बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल र पोषराज निरौला । सम्पादक वासुदेव शर्मा अहिले प्रगतिशील आन्दोलनबाट मात्र बाहिर होइन, देशबाटै बाहिर छन् सायद । नितान्त व्यक्तिगत स्वार्थमा उनले आफूलाई डुबाए र पैसा कुम्ल्याउनुलाई नै जीवनको सर्वाेत्कृष्ट उद्देश्य माने । प्रकाशक राधाकृष्ण मैनालीका बारेमा धेरै भनिरहनुपर्ने छैन, उनी प्रतिक्रियावादका भरपर्दा मतियारमा परिणत भए । सहयोगीका रूपमा रहेकामध्ये रुद्र खरेल नै यस समूहका अगुवा प्रमाणित भए र प्रगतिशील साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गरेर उदाहरण बन्न पुगे । यही अर्थमा निरन्तर रूपमा लागिपर्ने सङ्र्घशील साहित्यकारका रूपमा हामीले रुद्र खरेललाई सम्मान गर्नुपर्ने हुन्छ । 

खरेलको साहित्यिक पत्रकारिताको इतिहास यति मात्र छैन । उनले उत्साह, वेदनाजस्ता साहित्यिक पत्रपत्रिकाको सम्पादनमा समेत महŒवपूर्ण योगदान गरेका छन् । उत्साहको प्रकाशन सामूहिक रूपले हुन छाडेपछि त्यसलाई निरन्तरता दिन देविका तिमिल्सिनासित मिलेर व्यक्तिगत प्रयास उनले निकै गरे । त्यो सफल हुन सकेन । त्यसपछि आफू एक्लैले पनि त्यसलाई चलाउन प्रयास गरे । त्यो पनि असफल भयो । यसपछि २०५१ सालदेखि अलि फराकिलो रूपमा वेदना साहित्यिक त्रैमासिकको प्रकाशनको अभियान थालियो । प्रगतिशील आन्दोलनबाट प्रकाशित भइरहेका उत्साह, सङ्कल्प, झिसमिसे, लहर आदि पत्रिकाहरूको प्रकाशन बन्द रहेको स्थितिमा वेदनालाई अलि व्यापक परिधि ओगटेर प्रकाशन गर्ने प्रयास हामीले गरेका थियौं । त्यतिखेर यसका सल्लाहकारहरूमा गोविन्द भट्ट, डी.आर. पोखरेल, महेश मास्के, राजभाइ जःकःमि, रायन, शारदारमण नेपाल थिए भने सम्पादक मण्डलमा खगेन्द्र सङ्ग्रौला, हरिगोविन्द लुइँटेल, मातृका पोखरेल र कार्यकारी सम्पादकमा देविका तिमिल्सिना र राजेन्द्रप्रसाद अधिकारी थिए । रुद्र खरेल सम्पादक मण्डलभित्रका एक हस्ती थिए । त्यसबेला वेदनाको प्रकाशनमा उनको महŒवपूर्ण र एकदमै सहयोगी भूमिका रहेको हो । प्रारम्भको चरणमा आर्थिक प्रबन्धको जिम्मा र प्रधान सम्पादकको दायित्व मैले निर्वाह गरेको थिएँ तापनि अन्य सबैजसो दायित्वमा रुद्रको विशेष भूमिका रहेको थियो । सरसहयोग मातृका पोखरेलको रहन्थ्यो । रचनाको सङ्कलन, साहित्यकारको चयन, बीचको समयमा विज्ञापनको खोजी र त्यसको अर्थसङ्कलन र वितरणमा विशेषतः खरेलको भूमिका उल्लेख्य रहेको हो । ‘कृति परिचय’ र ‘गतिविधि र दृष्टिकोण’जस्ता स्तम्भ तयार पार्ने जिम्मा प्रायः रुद्रले नै लिने गरेका थिए । यस अतिरिक्त वेदनामा त्यतिखेर हरेक अङ्कमा प्रकाशन गर्ने गरिएका अन्तर्वार्ता स्तम्भका लागि सामूहिक रूपले अन्तर्वार्ता लिने स्थान प्रायः रुद्रले आप्mनै घर बनाउन विशेष आग्रह गर्दथे र खाजा आदिको प्रबन्ध पनि उनी आफैं गर्दथे, एकाध अपवादबाहेक । हामीले बर्बर राव, कञ्चनकुमारजस्ता भारतीय लेखकका साथै अन्य कतिपय नेपाली साहित्यकारसित वेदनाका तर्फबाट भेटघाटको कार्यक्रम उनैको घरमा गरेका थियौं । रुद्रको विशेषता भनेकै मिल्ने साथीभाइहरू आफूकहाँ आइदियून् र भएको जे–जस्तो छ खाइदियून् भन्ने सहृदयी मानसिकता हो । वेदनाको सन्दर्भमा पनि उनले यस्तो धेरैपटक गरेका छन् । निजी रूपमा वेदनालाई आर्थिक सरसहयोग गर्नमा पनि उनी पछि परेका थिएनन् । वेदनाको सम्पादकीय तयार पार्ने अभिभारा प्रधान सम्पादकलाई दिइएको थियो । र पनि सबै साथीहरूलाई यसमा सहभागी गराउने उद्देश्यले सम्पादकमध्येका केहीलाई सम्पादकीय लेख्न लगाउने र त्यसमा परिमार्जन गर्ने काम मैले बेलाबेलामा गर्ने गरेको थिएँ । रुद्र खरेलले यसमा पनि केही सहयोग गरेकै हुन् । तर, सम्पादकीयका लागि लेखिएको सामग्री झन्डै उनका अन्य निबन्धजस्तै हुन्थ्यो र त्यसलाई सम्पादकीयको रूप दिन निकै मिहिनेत गर्नुपर्ने हुन्थ्यो हामीलाई । यसो गर्दा एकाधपटक उनीसित कतिपय सवालमा सम्झौतासमेत गर्नुपर्ने हुन्थ्यो विचारमा । माओवादी ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा यस्तो भएको मैले ठानेको हुँ, यद्यपि यसको दोष उनलाई दिएर उम्कन म कदापि सक्तिनँ । वेदनाका सबैजसो क्रियाकलापमा उनी निकै उत्सुकता र जोसका साथ भाग लिन्थे । नेपाली साहित्यको सेवा गरेको र साहित्यिक पत्रकारितामा महŒवपूर्ण योगदान गरेको भनी प्रेस काउन्सिलले केही वर्षअघि वेदनालाई पुरस्कार र सम्मानपत्र प्रदान गरेको थियो र त्यो पुरस्कार–समारोहको आयोजना दाङमा गरिएको थियो । खरेलको उत्साहलाई दृष्टिगत गरेर त्यो पुरस्कार लिन हामीले उनलाई नै दाङ पठाएका थियौं । 

दुःखको कुरो अन्तिम समयमा आएर उनी वेदनाको सम्पादक बस्न राजी भएनन् । यसको पनि एउटा लामै कथा छ । मलाई सम्झना भएसम्म प्रगतिशील लेखक सङ्घ, नेपालको छैटौं राष्ट्रिय सम्मेलनको अवसरमा हुनुपर्छ वेदनाले प्रलेस र त्यसको सम्भावित सम्मेलनका बारेमा एउटा सम्पादकीय प्रकाशन गरेको थियो । उक्त सम्पादकीयको विरोध सम्पादकमध्येका खगेन्द्र सङ्ग्रौलाले सार्वजनिक रूपमा कुनै एक अखबारबाट गरे । पत्रिका प्रकाशनको बेला उनी उपत्यकाबाहिर थिए, पहिले नै प्रकाशनको अवधि बितिसकेको थियो । धेरै ढिलाइ गर्नु हामीलाई ठीक लागेन । सम्पादकीयको अन्तर्वस्तुमा छलफल नभए तापनि मोटामोटी विषयका बारेमा मैले उनीसित संवाद गरिसकेको अवस्था थियो । त्यस सम्बन्धमा उनको विरोध वेदनाबाट नै गएको भए पनि खासै फरक पर्ने थिएन । तर सम्पादन कार्यमा संलग्न हामी कसैलाई पनि उनको त्यससम्बन्धी विरोधको जानकारी भएन । भेटघाट हुँदा पनि उनले त्यसबारेमा चर्चा गर्नु आवश्यक मानेनन् । त्यस्तो अवस्थामा हामी सबै कसरी सम्पादकमा रहिरहने भन्ने प्रश्न हामीभित्र जबर्जस्त रूपमा उठ्यो । खगेन्द्रबाहेक अरूको कसैको सम्पादकीयमा कुनै किसिमको बाधाविरोध थिएन । खगेन्द्र आफैं पनि काम गर्नेहरू मात्र सम्पादक बसौं भन्ने निष्कर्षमा पुगिसकेको स्थिति थियो । उनले अरू कुनै सहयोग गर्न नसकेको अवस्थामा वेदनाको प्रकाशन–सामग्रीकै टाइप गरेर भए पनि सहयोग गर्ने आकाङ्क्षा पटकपटक व्यक्त गरेका हुन् । तर हामीले आप्mनै कमजोरीका कारणले उनीकहाँ सामग्री पु¥याउने–ल्याउने जाँगर देखाउन सकेनौं । यस्तो अवस्थामा खगेन्द्रलाई सहयोग समितिमा बस्न विशेष अनुरोध गर्नु र रुद्र, मातृका र मैले सम्पादकमा रहेर काम गर्नु उचित हुन्छ भन्ने निष्कर्षमा पुग्यौं हामी केही साथीहरू । यस विषयमा हामीबीच तीव्र छलफलसमेत चल्यो । रुद्रले यसमा सहमति जनाउन नमानेका मात्र होइनन् त्यसो गर्दा आप्mनो नाम पनि सम्पादकमा नराख्नु उचित हुन्छ भन्ने राय व्यक्त गरे र त्यसमा पछिसम्म दृढ रहे । त्यस्तो नहोस् भनेर निकै मिहिनेत गर्दा पनि अन्ततः हामी त्यसमा सफल हुन सकेनौं । उनकै सहमतिमा खगेन्द्रलगायत उनी पनि सहयोग समितिमा बस्न तयार भए । तर, केही समयावधिपछि त्यसमा पनि उनले नबस्ने जानकारी गराए । गणतन्त्र कविता विशेषाङ्क प्रकाशन गर्दा खगेन्द्र सङ्ग्रौला र हरिगोविन्द लुइँटेल अतिथि सम्पादक बस्न तयार भए भने उनीचाहिँ सहयोग समितिमा बस्नसमेत तयार भएनन् । त्यसो भएर पनि साहित्यिक पत्रकारितामा संलग्न हुने र आफैंले पत्रिका प्रकाशन गर्ने धोको उनमा पछिसम्म पनि चर्कै थियो । यस खालको अभिव्यक्ति उनले मातृका पोखरेलसित पटकपटक गरेका थिए । उनी अर्काे कुनै साहित्यिक पत्रिका दर्ता गरेर प्रकाशन गर्ने मनसाय राख्थे । तर, यो काम त्यति सजिलो छैन भन्ने उनलाई राम्ररी नै थाहा थियो र उनले तत्काल त्यसमा हात हाल्न पनि सकेनन् । 

सम्पादनको उनको काम सामयिक सङ्कलनमा मात्र सीमित रहेको छैन । चालीसका दशकका केही प्रगतिशील कविता, प्रतिनिधि नेपाली कथाहरू (२०४६), आन्दोलन कविता (२०४७), बन्दी शिविरभित्रका आवाजहरू (२०६४) जस्ता कृतिको सम्पादन पनि उनले गरेका छन् । 

रुद्र खरेल मात्र साहित्यकार थिएनन्, नेपाली समाजको परिवर्तनमा सक्रिय उपस्थिति जनाउने एकजना सङ्घर्षशील नागरिक पनि थिए । पञ्चायतविरोधी अन्य राजनीतिक क्रियाकलापमा जस्तै २०४६ सालको जनआन्दोलनमा पनि उनी सक्रिय थिए । साहित्यकारहरूको चैत ३ को कालोपट्टी आन्दोलनका उनी एकजना सक्रिय सदस्य थिए । त्यसको आन्तरिक आयोजना मात्र होइन, सामूहिक गिरप्mतारीमा पनि उनी नेतृत्वदायी पङ्क्तिसितै थिए । महाकाली सन्धिको विरोध, कालो विधेयकको विरोधमा मात्र होइन प्रतिगमनविरोधी आन्दोलनमा पनि उनी आन्दोलनकारीहरूसितै सडकमा थिए । लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको मात्र होइन प्रतिगमनविरोधी संस्कृतिकर्मीहरूको संयुक्त समितिको पनि उनी सदस्य थिए र ती संस्थाका गतिविधिको संयोजनमा लागिपरेका थिए । नागरिक आन्दोलनका साथै २०६२–०६३ को आन्दोलनमा अधिकांश समय सडकमा थिए उनी र हामीसँगसँगै गिरप्mतारीमा पर्दै छुट्टै गर्ने गरेका थियौं । आन्दोलनकै क्रममा अन्तमा महाराजगन्जस्थित प्रहरी प्रशिक्षण केन्द्रमा उनी लामो समय गिरप्mतारीमा रहेका थिए । हामी धेरै त्यहाँ थियौं, म र जगदीशचन्द्र भण्डारी उनीभन्दा चार दिनअघि समातिएका थियौं । हामी आन्दोलनको सफलतापछि एकैसाथ मुक्त भएका थियौं । त्यति मात्र होइन, सुन्दरी प्रतियोगिताविरोधी कार्यक्रममा पनि हामीले सँगसँगै पुलिसका लाठीमुङ्ग्री खाएका थियौं र उनको त्यसमा खुट्टा नै भाँचिएको थियो र लामो समयसम्म ओछ्यानमा पर्नुपरेको थियो । यो घटना थियो २०५७ साल २८ असारको । इन्द्रेणी सांस्कृतिक समाजले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सभा केन्द्रअघि आयोजना गरेको विरोध प्रदर्शनको सन्दर्भ थियो यो ।
रुद्र खरेलले आप्mनै अथक प्रयासबाट काठमाडौंको सिफलमा घर बनाए, बेचे, कोटेश्वरमा त्योभन्दा राम्रो घर ठड्याए र थप घरघरेडी पनि जोडजाड नगरेका होइनन् । यस अर्थमा उनी व्यवहार कुशल र आर्थिक व्यवस्थापनमा माहिर देखिन्छन् । तर, मलाई भने उनी यस मामिलामा लापर्बाहजस्तै लागिरहन्थे । जहिले पनि अर्थको अभाव, अभावै अभावजस्तो उनको व्यवहारबाट झल्कन्थ्यो । एकपटकको कुरो हो राजनीतिपीडितलाई दिइने सहायता उनले पनि पाउने भए । राजनीतिमा लागेको आर्थिक लाभ लिनका लागि होइन, त्यसकारण म त्यो सहयोग नलिने सोचमा पुगेको छु, कसो गरौं भनेर उनले हाम्रो राय मागे । उनको विचारको गहन अर्थ भएर पनि पैसा नलिँदैमा उनको भनाइको सम्मान हुने वा उनको अपमान भइहाल्ने हामीले देखेनौं । व्यक्तिगत हितका लागि त्यसलाई प्रयोग नगरी सामाजिक प्रयोजनमा उपयोग गर्नु उपयुक्त होला भन्ने विचार थियो हाम्रो । त्यसो भए त्यो पैसा वेदनामै जाओस् न त उनले आप्mनो निष्कर्ष सुनाए । यसलाई अस्वीकार गर्ने कुरै थिएन । तर आर्थिक चपेटाको मारमा उनी वेदनालाई आठ हजार मात्र दिन सक्षम भए, अरू सम्भवतः घरघरायसी काममा नै सकियो । वेदनाको उठ्ती–पुठ्तीबाट आएको र विज्ञापनबाट उठेको रकम पनि उनीसित जम्मा हुने गर्दथ्यो, खासखास समयमा । उनी हिसाब गर्दै जान्थे, मैले यति दिनुपर्नेछ भनेर रकमको फाँटबारी पनि बुझाउँथे, असाध्यै अप्ठेरो पर्दा केही जम्मा पनि गर्थे र पनि बाँकी केही न केही रहिरहन्थ्यो । यसबाट निकालेको निष्कर्ष मेरो यस्तै रह्यो । श्रीमतीको अध्यापन क्षेत्रको एक किसिमको राम्रै जागिर थियो । तर थिइन् उनी एकदमै मुक्तहस्त, तलब पाएको दिनमै समाप्त पनि हुने कहिलेकाहीँ । घरव्यवहारमा त्यसको कमै उपयोग हुन्थ्यो रुद्रको भनाइमा । तर पनि खरेल थिए अत्यन्त सहृदयी र सहयोगी । आप्mना भाइ–भतिजा र आफन्तहरूको औधषोपचार र पढाइ–लेखाइमा उनले ठूलै मद्दत पु¥याएका छन् । कतिले त उनीकहाँ नै बसेर अध्ययनसमेत पनि गरेका छन् । अरूलाई आइपर्दा उनी हरदम सरसहयोग गर्न तत्पर रहन्थे । खरेलको व्यक्तित्वको यो आप्mनै विशिष्ट पक्ष हो । 

उनी थिए बडा विचित्रका । गफी त नभनौं कुरा गर्न भने उनी असाध्यै मन पराउँथे । तपाईंसित धैर्य र समय मात्र हुनुपर्छ उनी दिनभर एकोहोरो कुरा गरेर बिताउन केही पनि मान्दैनथे । कुराका सन्दर्भमा ठट्टा गर्न पनि उनी निकै सिपालु थिए । तर कहिलेकाहीँ भने उनले के कुरा गर्न खोजेका हुन् अत्तोपत्तो नहुने । उनका कुराको उठान केका लागि हुँदैछ थाहा पाउनै गाह्रो । यस्तै कहिलेकाहीँ सन्दर्भ र परिस्थितिभन्दा एकदमै पृथक् देखिन्थे उनी । वातावरण अर्कै छ र कुरा अर्कै । कतै बैठक चलिरहेको छ, त्यहाँ गम्भीर विषयमा छलफल भइरहेको छ, रुद्र त्यहाँ अकस्मात् पुग्दछन् र त्यहाँको वातावरण र वस्तुस्थितिलाई पटक्कै वास्ता नराखी आप्mनै कुराहरू भकाभक राख्न थालिहाल्दछन् । रुद्रसित नयाँ परिचित मानिसले यसबाट अर्कै अर्थ लगाउन सक्ने स्थिति पनि हुन्थ्यो यस्तो वेला । 

माछाको सन्दर्भ आएन भने रुद्र खरेलको सम्झना नै अधुरो हुन्छ भन्ने लाग्दछ मलाई । माछा खुवै मन पराउँथे उनी । बेलुखीपख प्रलेसको कार्यालयमा मातृकालाई खोज्दै आएको देख्यो वा मातृकालाई ‘दाजुभाइ मिलेर आज बजार जाऔं’ भनेको सुन्यो कि सम्झनुपथ्र्याे आज साथीले रणमुक्तेश्वर गएर माछा किन्ने योजना बनाएछन् । यस्तो अवसर प्रायः आइ नै रहन्थ्यो । प्रलेस, इसास र प्रसासका सङ्गठनात्मक गतिविधिमा भाग लिन देशका विभिन्न भाग र जलपाइगुडीसम्म धेरैपटक हामीले साथसाथै आवतजावत ग¥यौं । उनी खाजा र खाना खाने वेला भयो कि माछाको कुरो उप्काइहाल्थे । २०५६ सालको कुरो हो –जनमोर्चाको जनकपुर–सम्मेलनमा रुद्रसहित हामी केहीलाई पनि बुद्धिजीवीका रूपमा निम्त्याइएको थियो । खानपानको व्यवस्था जनमोर्चा स्वयम्ले गरेको थियो । एकदिन बेलुकाको खाना खाँदा आप्mनै खर्चमा सुशील साह र रुद्रले माछा मगाइहाले । उनीहरूको सुर त साथीहरू सबैलाई माछा खुवाउने थियो होला, तर होटेलमा बाँकी थियो त्यत्तिमात्र । आफैं मात्र खुसुक्क खान कस्तो लाज नलागेको भनेर साथीहरूले एकतिर जिस्काएका जिस्काएकै छन् भने अर्कातिर रुद्रलाई भने हुनसम्मको आपत् । उनको घाँटीमा अड्केछ माछाको काँडा । एक्लै खाएको सजाय । साथीहरूले जिस्काउन किन छाड्थे । रुद्रको माछा खुवाइको पारा पनि अचम्मको थियो । काँडा केलाउन बूढीऔंला र चोरऔंलाले माछाको टुक्रो किचिमिची पार्थे र अनि मात्र खान्थे उनी । हामीले चार टुक्रा माछा खाइसक्दा उनी पहिलैमा अल्झिरहेका हुन्थे । 

रुद्रको मनमा कतिपय पीरहरू दबिएर बसेका थिए । एउटा यस्तै प्रसङ्ग थियो उनको नाबालक छोराको मृत्यु । उनी त्यतिखेर जेलमा थिए र बाहिर औषधोपचारको व्यवस्था हुन नसकेका कारणले मृत्यु भएको थियो छोराको । छोरी मात्र भएको र छोरा नभएकोमा उनलाई त्यति सुर्ता थिएन । आफू जेल नपरेको भए छोराको मृत्यु हुने नै थिएन भन्ने मानसिकताबाट ग्रस्त थिए उनी र यस्तो सोचबाट बारम्बार पिरोलिइरहन्थे । उनी बाहिरै भएको भए हुन्थ्यो के ? भन्न कसले सक्छ ? तर उनी भने नचाहिँदो यस्तो भावनाबाट ग्रस्त भइरहे जीवनभर ।

केही कुरा रुद्रमा नभएको भए कति राम्रो हुन्थ्यो यस्तो मलाई वेलावेलामा लागिरहने गर्दछ । कुनै पनि घटना, विषय र व्यक्तिको गतिशीलतालाई पक्रने र सन्दर्भलाई समग्रतामा लिएर मूल्याङ्कन गर्ने सवालमा उनी सधैं खरा थिएनन् । परिणामस्वरूप कहिलेकाहीँ उनी आप्mनो नितान्त मनोगत चिन्तनलाई नै सही मान्न पुग्दथे र त्यो अवस्तुवादी एवम् खण्डित सोचका आधारमा नै घटना, विषय वा व्यक्तिलाई लेखाजोखा गर्ने प्रयास गर्दथे । यसैले गर्दा एकताका खुब मन परेको मान्छे कुनै आधारभूत परिवर्तन देखा नपर्दै उनका लागि मन नपर्ने भइसक्थ्यो । पूर्वाग्रह राख्न थालेपछि उनी अरू केही सोच्तै सोच्तैनथे । यो सबै गतिशीलतालाई पक्रने र समग्रतामा हेर्ने सवालमा व्यक्त कमीकै परिणाम थियो । पार्टीले एउटा स्थितिमा आइपुगेपछि संविधानसभा मात्र नेपालको समस्याको निकास हो भन्ने निष्कर्ष निकाल्यो । उनले त्यसलाई सहज मान्न सकेनन्, भित्रभित्र उनको स्वर विरोधमा सुनियो । तर, आप्mनो सोचमा उनी टिकिरहन सकेनन् । लोकतान्त्रिक गणतन्त्रको नारा अघिसार्दा उनलाई त्यो पनि सुपाच्य भएन । सानो पार्टीका ठूला कुरा उनले उल्याउन खोजे । अन्तमा आफूलाई सच्याउन उनी बाध्य भए । कसैप्रतिको पूर्वाग्रह, सन्दर्भ र परिस्थितिलाई राम्ररी आत्मसात् नगर्ने त्रुटि उल्लिखित कमजोरीकै परिणाम थियो, जुन कहिलेकाहीँ उनमा व्यक्त हुने गर्दथ्यो । 

आत्मसुरक्षाको भावनाले पनि उनलाई वेला कुवेला समातिरहन्थ्यो । यो झापा विद्रोहको सन्दर्भमा हिरासतमा प्रहरीले दिएको अनन्त यातनाको मानसिक परिणाम थियो कि भन्ने मलाई लाग्दछ । २०५७ को सुन्दरी प्रतियोगिताविरोधी प्रदर्शनमा उनको खुट्टा फ्याक्चर भएपछि यस प्रकृतिको कार्यक्रमको औचित्यमाथि उनले पटक–पटक प्रश्न र आपत्ति प्रकट गरिरहे । राज्यमाथि दबाब दिने प्रकृतिका कार्यक्रमहरूमा राज्यले जे पनि गर्न सक्थ्यो । त्यस्तो कार्यक्रम नगर्नु भनेको प्रशासन वा राज्यले भने–गरेका कुरालाई वैचारिक तहमा विरोध गर्नु मात्र हुन्थ्यो र त्यसको खासै अर्थ हुँदैनथ्यो अझ भनौं यथास्थितिको चौघेरालाई स्वीकार्नु नै हुन्थ्यो । तर मैले उनका प्रश्नहरूलाई टाल्ने काम गरिरहेँ र यसबारेमा गम्भीर बहस चलाउने प्रयाससमेत गरिनँ । सङ्कटकालको वेलामा उनको यो प्रवृत्ति अलि बढी देखापरेको हो । आफूकहाँ भएका कतिपय किताबहरू जलाउने, आप्mनो घरमा माओवादी निकट कसैलाई ल्याउन डराउने, मातृकालाई त्यसो नगर्न चेतावनी दिने, माओवादी पार्टीलाई पार्टीको विश्लेषणभन्दा पर गएर बढी नै नकारात्मक रूपमा लिने यही मनोदशाका परिणाम थिए । मातृका पोखरेलले सहिद कवि कृष्णसेन इच्छुकलाई सुरक्षित स्थानसम्म पु¥याउनुअघि आप्mनो कोठामा लुकाउँदा घरमालिक रुद्र खरेलले देख्लान् कि भनेर हर्दम त्रासमा रहनुपरेको पनि यही कारणले थियो । यसको प्रभाव वेदनाको एकाध सम्पादकीयमा परेको उल्लेख मैले यसअघि गरिनै सकेको छु । 

ने.क.पा. एकीकृतमा संलग्न हुनुअघिको एक अवस्थामा संयुक्त प्रकृतिका संस्थाहरूमा रुद्र खरेलका कारणले केही असजिलो पनि अनुभव गर्नुपरेको थियो हामीले । आफूले जुन संस्थाबाट प्रतिनिधित्व गरेको हो र बाहिर उनी जे भनेर चिनिने हुन् प्रलेसलगायतका कतिपय संस्थाहरूमा उनले आफूलाई त्यसभन्दा म फरक हुँ भन्ने अभिव्यक्ति दिएर र सङ्गठनको भन्दा फरक अभिव्यक्ति दिएर संस्थालाई असजिलो पार्ने काम  किन गरेका होलान् मैले अहिलेसम्म बुभ्mन सकेको छैन । विचार परिवर्तन गर्न र सङ्गठन परित्याग गर्न जोकोही पनि स्वतन्त्र हुन्छ, यो व्यक्तिको निजी अधिकारको कुरो हो । सङ्गठनमा औपचारिक रूपले पनि रहिरहने र बाहिर म त्यसमा छैन, स्वतन्त्र हुँ पनि भन्न नहिचकिचाउने, सार्वजनिक रूपले आप्mनो स्थिति जानकारी नगराएको वा सम्बन्धित संस्थाबाट राजीनामा गर्ने कार्य नगरेको अवस्थामा यसो गर्नु सामान्य सङ्गठनको परिपाटीभन्दा बाहिरको कुरो हो । त्यति मात्र नभएर नैतिकतामाथि नै प्रश्न खडा हुने विषय पनि थियो यो । अन्य घटकका कतिपय व्यक्तिले आपत्तिसमेत उठाउने स्थिति सिर्जना गरेर रुद्रले यस्तो नगरेको भए के नै बिग्रिहाल्थ्यो मलाई अहिले पनि लागिरहन्छ । 

रुद्र आन्दोलनकारी सबै घटक र स्वतन्त्र साहित्यकारहरूको संयुक्त पहलकदमीमाथि निकै जोड दिने मानिस हुन् । उनले यसका लागि पहल पनि गर्ने गरेका थिए । तर, पछिल्लो चरणमा उनले आप्mनो सङ्गठन वा आफू पहिले संलग्न रहेको सङ्गठनलाई आफूले कार्य गरिरहेका कतिपय संस्थाहरूमा भइरहेका गतिविधि र स्थितिको जानकारी नगराउने र त्यसमा कतिपयलाई अलग राख्ने कार्यसमेत गरे । यो उनमा आएको एउटा ठूलै परिवर्तन थियो । 

रुद्र र मेराबीच अन्तिम अवस्थामा रहेको सम्बन्धका बारेमा उल्लेख गरिएन भने मैले धेरै कुरा लुकाएको मानिनेछ । उनको निधनभन्दा झन्डै दुई वर्षअघिदेखि रुद्र खरेल र मेराबीच रहेको आन्तरिक र सौहार्द सम्बन्ध रहिरहन सकेन । यसका लागि म कति जिम्मेवार छु, छु कि छैन मैले अहिलेसम्म धेरै सोच्ता पनि ठम्याउन सकेको छैन । हाम्रा बीचमा बढ्न थालेको चिसोपनलाई हटाउन मैले मित्र महेश मास्के र मातृका पोखरेलहरूको माध्यमबाट सचेत रूपमा प्रयाससमेत कतिपय सन्दर्भमा नगरेको होइन । केही समय त्यसमा सुधार देखिए पनि त्यसमा आधारभूत परिवर्तन भने आउन सकेन । उनले प्रत्यक्ष–अप्रत्यक्ष रूपले नै ममाथि पाखण्डीलगायतका आरोप सार्वजनिक समारोहमा नै लगाए । तर किन ? प्रस्ट पार्ने प्रयास भने मैले कहिल्यै गरेको पनि पाइनँ । म आफू व्यक्तिगत कमीकमजोरीबाट माथि छु भन्ने मलाई पटक्कै लाग्दैन । तर, आप्mना कमीकमजोरी थाहा पाउन सकेको खण्डमा तिनलाई हटाउन सचेत प्रयास जोकोहीले पनि गर्ला भन्ने मलाई लाग्दछ । रुद्र खरेलले त्यस्तो केही नगरी किन मसित टाढिन र अनावश्यक आरोप लगाउन खोजेका होलान् ? मेरो यो अहिले पनि आफैंसित प्रश्न हुने गरेको छ । उनले मेरो पैत्रिक पृष्ठभूमि र कथित आर्थिक सम्पन्नतामाथि प्रश्न उठाएको कुरो केही मित्रहरूले मलाई सुनाएका छन् । पछिल्लोपटक त मैले कतिसम्म सुन्ने अवसर पाएको छु भने उनले ने.क.पा. एकताकेन्द्र–मसाल परित्याग गर्नुको कारण म त्यसमा हुनु हो भन्नेसमेत व्यक्त गरे रे, कसैले उनलाई एकताकेन्द्र–मसाल छाडेको ?, अरू पार्टीमा जानैपथ्र्याे भने माओवादीमा गएको भए बरु बेस भनेर राय व्यक्त गर्दा उनले दिएको प्रत्युत्तर थियो त्यो भन्ने सुनें मैले । अलिकति पनि राजनीतिक दृष्टिकोण भएको व्यक्तितले कुनै एक व्यक्तिको कारणले पार्टी नै परित्याग गर्नसक्छ र ? यसलाई सही सोच मान्न कसैले पनि सक्ला जस्तो मलाई लाग्दैन । निनु चापागाईं खास परिवारमा जन्मनु उसको निजी दोष कत्ति पनि होइन । गोर्कीका शब्दमा यस्ता ‘वर्गद्रोही’ निस्कनु आन्दोलनका लागि लाभदायक कुरा नै हो । नेपालको सन्दर्भमा यस्ता ‘वर्गद्रोही’ले आन्दोलनलाई प्रतिकूल प्रभाव पनि पर्याप्त मात्रामा पारेकै छन् । तर, त्यस्ता वर्गबाट आएका व्यक्तिहरूले पार्नसक्ने हानिकारक प्रभाव र प्रतिकूल परिणामका बारेमा सचेततापूर्वक अभियान सञ्चालन गर्ने कुरामा त्यति ध्यान गएको म पाउँदिनँ । आन्दोलनमा रहेको यस कमजोरीलाई सच्याउनुको सट्टा ‘वर्गद्रोहीहरू’प्रति नै लाञ्छना लगाएर पन्छन खोज्नु आन्दोलनकै लागि हानिकारक हुन्छ र हुनेछ । पार्टीमा आएका यस्ता व्यक्तिहरूका सबै पक्षलाई सामूहिकीकरण गर्न प्रयास नगर्ने, आचारसंहिता निर्माण गरेर त्यसलाई लागू गरी उनीहरूका क्रियाकलाप, आचरण र व्यवहारलाई नियन्त्रण गर्न र सच्याउन सचेत भूमिका नखेल्ने उल्टै उनीहरूको कथित सम्पन्नतामाथि टिप्पणी गरेर तल खसाउन खोज्ने परिपाटी आफैंमा खराब मनोवृत्तिको लक्षण हो । हामीकहाँ एकतिर आफूसित भएको केही सम्पत्ति पार्टीलाई बुझाउनुलाई नै व्यक्तिको सर्वहाराकरण हो भनेर बुभ्mने, त्यसलाई बढाइचढाइ प्रचार–प्रसार गर्ने र अर्कातिर सम्पत्तिसम्बन्ध वा निजी सम्पत्तिको मानसिकताबाट मुक्त हुन कुनै पनि प्रयास नगर्ने विचित्रको स्थिति देखापर्दैछ । यसले आन्दोलनलाई सबल र सक्षम बनाउने र गति दिने होइन, हानि मात्र पु¥याउनेछ । एकतिर आफूसित निजी सम्पत्ति पनि राखिनै रहने, पार्टीका लागि मैले यति पैसा दिएँ, यति खर्च गरेँ भनेर गुड्डी पनि हाँकिरहने र अर्कातिर यस्तै व्यक्तिवादीहरूले अरूको चर्काे, अझ आधारहीन आलोचना गर्ने, खिसिट्युरी गर्ने वास्तवमा यो वैचारिक र नैतिक दरिद्रताको राम्रो नमुना हो । मैले सुनेको कुरो यदि सत्य नै हो भने रुद्र पनि आन्दोलनमा नेतृत्व तहदेखि नै व्यक्त हुने गरेको यस खराब मनोवृत्तिबाट माथि उठ्न सकेनन्, मलाई लाग्ने कुरो यत्ति मात्र हो । 

सर्वहारा वर्गको कुनै व्यक्ति सम्पत्ति नभएकै कारणले क्रान्तिकारी हुने होइन । वर्गीय चिन्तन, पक्षधरता, त्यसअनुसारको आचरण र व्यवहार भएको खण्डमा मात्र ऊ क्रान्तिकारी हुने हो । त्यसरी नै सम्पत्तिशाली व्यक्ति पनि वर्गीय चिन्तन, विचारधारा र आचरण–व्यवहारमा सर्वहारावर्गको पक्षमा भएको उभिन्छ भने सम्पत्ति भएकै कारणले मात्र उसलाई तिरस्कार गर्न सकिन्न । सर्वविदित कुरो हो, विश्वइतिहासमा यस्ता थुप्रै उदाहरण छन् । 

जहाँसम्म मेरो निजी कुरो हो, म कुनै जागिर, बन्द–व्यापार, ठेक्कापट्टा, एनजीओ र आईएनजीओमा संलग्न छैन । दैनिक खर्चका लागि समेत मैले श्रीमतीको हार्दिक सहृदयी सहयोगमा, उनको एकमात्र आम्दानीको स्रोत तलबमा निर्भर रहनुपरेको छ । अपवादबाहेक पार्टी र सङ्गठनका काममा समेत निजी खर्चमा नै हिँड्नुपर्ने स्थिति अहिलेसम्म विद्यमान छ । निश्चय नै, बाबुबाजेले छाडेर गएका केही सीमित जग्गाजमिनहरू अहिले पनि मसित नभएका होइनन् । तर, तिनबाट आउने आयस्ता कहिले माओवादीले, कहिले परिवारका निकट जनहरूले वा कहिले कसैले लिने गरेको छ, बीसौं वर्षअघिदेखि त्यसबापत मैले एक पैसा पाएको छैन । अतिशय गाह्रो–साँघुरो पर्दा तिनलाई बेचबिखन गरेर आइपरेका समस्याहरू टार्ने काम भने मैले गरिरहेकै छु । यसलाई लिएर धेरै टीका–टिप्पणी हुनु नपर्ने हो । नढाँटी भनौं, म सर्वहाराकरणको प्रक्रियामा बढ्न खोजेका, निजी सम्पत्तिसम्बन्धबाट पर रहन चाहेका सोनामजस्ता मेरा निकटका मित्रहरूले (आपैंmले वरण गरेको जीवन भएको कारणले उनीहरू यसैमा सन्तुष्ट होलान्, यो अर्कै कुरो हो) अहिले भोगिरहेको बिजोकको स्थितिबाट पनि केही न केही मात्रामा विचलित छु । त्यसैले म सङ्गठनमा लागेकाहरूको जीवनप्रणालीको व्यवस्थित र विश्वसनीय प्रबन्ध सङ्गठनहरूले गरिनसकेको अवस्थामा सबै थोक चटक्क छाडेर सर्वहारा बन्ने साहस गर्न डराएकै छु । यसलाई कसैले मेरो कमजोरी मान्दछ भने मेरो कुनै आपत्ति पनि छैन । 

मानिस सकारात्मक र नकारात्मक दुवै पक्षको योगफल हो । समग्रमा सराकात्मकै सकारात्मक पक्ष भएका मानिस कमै मात्र भेटिएलान् । हामी सबै यही कोटिमा पर्दछौं । हामीले हेर्ने त व्यक्तिमा सकारात्मक पाटो बढी छ कि नकारात्मक बढी छ भन्ने मात्र हो । सकारात्मक पाटो बढी भएको व्यक्तिलाई असल र त्यस्तो पक्ष कम भएको व्यक्तिलाई खराब मान्दै आएका छौं हामी । व्यक्तिलाई सम्झँदा बाँच्नेहरूले उसका सकारात्मक पाटाबाट सिक्ने, प्रेरणा लिने र त्यसलाई निरन्तरता दिने हो भने उसका नकारात्मक पाटाबाट बच्न प्रयाससमेत गर्ने हो । निर्विवाद कुरो के हो भने रुद्र खरेल सकारात्मक पक्ष प्रबल भएका मानिसका थिए र यो नै उनको प्रधान पक्ष हो । हामीले यसबाटै सिक्ने हो र उनी बाँच्ने पनि यसैबाट मात्र हो । तर नकारात्मक पक्षबाट बच्न उनका त्यस्ता पक्षबाट सजग र सचेत पनि हामी हुनैपर्दछ । 

मान्छेहरू जन्मनु र मर्नु मानवसमाजको एउटा अनिवार्य प्रक्रिया हो । तिनै मान्छेहरू मरेर पनि बाँच्ने गर्दछन् जसले आप्mना सिर्जनात्मक कार्यबाट समाजको भलाइका लागि केही योगदान गरेका हुन्छन् । रुद्र यस्तै समाजोपयोगी साहित्य–सिर्जना गर्ने एकजना सक्षम व्यक्तित्व हुन् । उनका निजी कमीकमजोरी जे जति भए पनि तिनमाथि विजय त उनका सकारात्मक सिर्जनाले नै पाउने हुन् र समाजले त्यसबाट नै निरन्तर प्रेरणा लिइरहने हो । रुद्र खरेल आप्mना यिनै सार्थक रचनाका कारण एउटा कालखण्डसम्म जीवित रहिरहने छन् । 

---------------------------------------------------------

मनभित्र रुद्र खरेल
–जीवेन्द्रदेव गिरी

मनभित्रैबाट आदर, श्रद्धा र माया गर्न मन लाग्ने मान्छेका रूपमा म रुद्र खरेललाई लिन्छु । उनीसित मेरो पहिलो चिनाजानी कहिले भयो त्यो म मलाई हेक्का छैन, तर जतिजति म उनका नजिक पुगेँ  उतिउति उनी आफ्नो मनको गहिराइतिर प्रवेश गरिरहेको भने मैले अनुभूत गरिरहेँ । प्रगतिशील लेखक सङ्घ, प्रँध्यापकहरूका सङ्घ–सङ्गठन र अन्य कतिपय मञ्चहरूमा सहकार्य गर्ने सन्दर्भमा हामी एक–अर्काका नजिक भयौँ । यसै क्रममा हामी सँगसँगै देशका विभिन्न भागमा पुग्यौँ । कहिले हामी महेन्द्रनगर त कहिले काँकडभिट्टा पुग्यौँ, अनि कहिले सुर्खेत, पोखरा, बुटवल र भैरहवा त कहिले वीरगन्ज, इटहरी र धरान पनि गयौँ । काठमाडौँका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा पनि सभा, सम्मेलन र सडकमा पटकपटक हामी सँगसँगै भयौँ । अहिले उनी यस धर्तीमा छैनन्, तर उनीसँगका बसउठ, कुराकानी, छलफल र विचारको आदान–प्रदानका सम्झना भने ताजै छन् । उनले अत्मीयतापूर्वक सुम्पेका कृतिहरूतिर आँखा लगाउँदा पनि उनी आँखावरिपरि उपस्थित भइरहन्छन् । उनको अभावमा मन बेचैन हुनु स्वाभाविक छ, तर पनि उनले निर्देश गरेको बाटोले उज्यालो देखाइरहन्छ । 

रुद्र खरेलमा मैले कुनै आडम्बर र पाखण्ड देखिनँ । पहिरनमा सरलता, बोलीवचनमा सरलता, लेखनमा सरलता र मित्रहरूमा हार्दिकता उनका पहिचान बने । कथनी र करनीमा एकरूपता पनि उनको विशिष्टता बन्यो । कुनै पनि कामको जिम्मेवारीमा हिस्सेदार हुने र त्यसलाई पूर्ण उत्तरदायित्वका साथ सम्पन्न गर्ने उनको प्रवृत्तिलाई मैले नजिकैबाट नियालेँ । यात्रामा उनले गर्ने सामान्य कुराकानी पनि ज्याद घतलाग्दा हुन्थे र उनको हास्यव्यङ्ग्यकार अगि सरेको स्थितिमा त बाटो काटेको थाहा नै पाइँदैनथ्यो । सामान्य कुरालाई पनि अत्यन्त रसिलो, सुरुचिपूर्ण र सटीक ढङ्गले व्यक्त गर्ने उनको शैली उनले अँगालेको चिन्तनसँग पनि गाँसिएको हुन्थ्यो । उनी मित्रहरूप्रति जति हार्दिक थिए त्यति नै विरोधीहरूप्रति कठोर र आक्रमक पनि । सुन्दरी प्रतियोगिविरोधी प्रदर्शनमा उनी अग्रपङ्क्तिमा उभिए र प्रहरीको लाठीप्रहारबाट खुट्टो भाँचिएर थला पर्दा पनि उच्च मनोबलका साथ स्थितिको सामना गरिरहे । त्यति मात्र होइन, खुट्टो खोच्याइरहेको स्थितिमा पनि प्रतिगमनविरोधी आन्दोलनमा उनी कुदिरहे । मञ्चहरूमा उभिएर कविता, निबन्ध वा भाषणको भाषामा उनले मित्रहरूको मनोबल उठाएको र विरोधीहरूको सातो लिएको कसैले बिर्सन सक्तैन । 

प्रगतिशील लेखक सङ्घलाई गतिशील र एकताबद्ध तुल्याउन पनि रुद्र खरेलले विशेष पसिना चुहाएका छन् । हामीले केन्द्रीय समितिमा सँगै काम गर्दा देखापरेका कठिनाइ पन्छाउन उनको महŒवपूर्ण भूमिका रह्यो । उनी समस्यालाई हेरिरहने स्वभावका नभई समाधानका निम्ति उपाय खोजिरहने व्यक्ति थिए । सुरुमा आर्थिक कठिनाइ भोगिरहेको बेला समूहबाट वा आफ्नै तर्फबाट व्यक्तिगत सहयोग गर्नेबारे विचारको बीउ छर्ने काम उनले गरे र पछि संयुक्त साँस्कृतिक कार्यक्रमका तहसम्म त्यसको विकास भई समस्या–सामाधान भयो । सङ्कटकालमा कसरी कार्यक्रम अघि बढाउने भन्नेबारे पनि उनको रचनात्मक सुझाउबाट प्रलेस लाभान्वित भयो । पद्मकन्या क्याम्पसमा आयोजित अभिव्यक्ति–स्वतन्त्रतासम्बन्धी बौद्धिक अन्तक्र्रिया वा काँकडभिट्टामा आयोजित विचारगोष्ठी सञ्चालन गर्नेबारे रुद्र खरेलले अगि सारेका विचार निकै फलदायी रहे । जस्तोसुकै सङ्कटको बेला पनि प्रलेसले सम्भव कार्यक्रम अगि बढाइरहनुपर्छ भन्ने कुरा उनी बारम्बार गर्थे र के–कस्ता कार्यक्रम सञ्चालन गर्ने भनी विचारमन्थन गरिरहन्थे । अग्रजहरूको सम्मानका निम्ति कार्यक्रम आयोजना गर्नेबारे पनि उनलाई विशेष चासो थियो । त्यतिखेर प्रलेसले प्रारम्भ गरेको अग्रजहरूको सम्मान–कार्यक्रमका निम्ति उनको उल्लेख्य अग्रसरता रहेको थियो । अहिले सो कार्यक्रमले पाइरहेको निरन्तरताभित्र रुद्र खरेल कतै न कतै देखा परिरहन्छन् । उनी सम्मानको कार्यक्रमलाई अझ उदार दृष्टिले विस्तारित गर्न चाहन्थे र प्रलेससँग आबद्ध नरहेका राष्ट्रका विशिष्ट प्रतिभाहरूको निधनमा पनि श्रद्धाञ्जली कार्यक्रमको परम्परा बसाल्ने पक्षमा थिए । प्रलेसमा यो परम्परा बसाल्न सके राम्रो हुने कुरा उनले बारम्बार यस पङ्क्तिका लेखकसँग गरेको कुरा स्मरणीय छ । 

प्रगतिशील सङ्घ–सङ्गठन र तिनमा सम्बद्ध व्यक्तिहरूबीच सद्भाव वृद्धिका निम्ति रुद्र खरेलको सदा सकारात्मक भूमिका रह्यो । उनी आफू सम्बद्ध संस्थाहरूमा त सक्रिय थिए नै, अन्य संस्थाहरूको कार्यक्रममा पनि उपस्थित भई उत्साह छर्थे । साहित्य–सन्ध्या र राष्ट्रिय जनसाँस्कृतिक मञ्च उनको बौद्धिक ऊर्जाबाट लाभान्वित थिए । त्यहाँभित्र उनको चर्चा भइरहन्छ । युद्धप्रसाद मिश्र स्मृति–प्रतिष्ठान र अन्य कतिपय सङ्घ–संस्था उनको सौहार्दपूर्ण सक्रियताबाट लाभान्वित रहे । प्रगतिशील प्रँध्यापक सङ्गठन, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ र नेपाल प्राध्यापक सङ्घजस्ता प्राज्ञिक संस्थाहरूले रुद्र खरेलको योगदानको सम्झना गरिरहेका छन् । वास्तवमा रुद्र खरेल मपाईँत्व, खिचातानी र विभाजनबाट सङ्गठनलाई जोगाई सुदृढ एकता र विश्वासको वातावरणमा अपलब्धिपूर्ण कार्य भएको देख्न चाहन्थे । त्यसैले साझा सङ्गठनमा कसैको ज्यादती देखिएमा उनी खुला दिलले आलोचना गर्दै असल पक्षको सम्बर्धनमा लागिरहन्थे । 

रुद्र खरेल अत्यन्त संवेदशील व्यक्ति थिए । राष्ट्र र समाजको जीवनमा आउने अनिष्ठले उनलाई अत्यन्त व्यथित तुल्याउँथ्यो । एक पटकको घटना म सम्झन्छु । हामी सँगै हिँडिरहेका थियौँ । बानेश्वरमा एक उदण्ड जत्थाले बाटाका छेउछाउका घर, गाडी आदिमा इँटा–ढुङ्गा बर्साइरहेको हामीले देख्यौँ । यो कुनै असल उद्देश्यले आन्दोलन नभई प्रतिगमनकारी उद्दण्डता हो भन्ने ठहरमा हामी पुगेपछि उनले भने, ‘छिट्टै ज्यान जोगाएर घर जाऔँ र आ–आफ्ना सम्पर्कका राजनेताहरूलाई वास्तविकता बोध गराई अनिष्ट हुनबाट जोगाऔँ ।’ सल्लाहअनुसार हामी घरतिर लाग्यौँ र आ–आफ्नो काम गरी एक–अर्कालाई खबर ग¥यौँ । यसबाट उनी राष्ट्र र समाजप्रति कति उत्तरदायित्व महसुस गर्थे र संवेदित हुन्थे भन्ने कुरा स्पष्ट हुन्छ । यसरी नै त्रि.वि. सेवा आयोगले प्राध्यापक र सहप्राध्यापक पदको पदोन्नतिमा केही वर्ष अगि गरेको बेथितिबाट उनको संवेदनशील हृदय रन्थनियो र त्यसका विरुद्ध भएको सङ्घर्षमा उनी एकाकार भए । त्यसैले उनी न्यायप्रेमी समुदायसँग जसरी शीतल व्यवहार गर्न जान्दथे नै त्यसरी नै अन्यायका विरुद्ध आगो हुन पनि सक्तथे भन्ने कुरा सिद्ध हुन्छ । 

व्यवहारकुशल व्यक्तिका रुपमा पनि रुद्र खरेल सम्झिन लायक व्यक्ति हुन् भन्ने म ठान्दछु । बसाइ खासै टाढा नभएकाले पनि होला, एक–अर्काका घरमा हाम्रो आउजाउ थियो । घर परिवारका अन्य व्यक्तिहरूले पनि सम्झिने गरी उनी बरव्यवहार गर्थे । अरूको दुःखमा पनि संवेदित भई आत्मीय व्यवहार गर्ने उनको बानीले गर्दा मेरा परिवारका अरू सदस्यहरू पनि आफ्नो दुःखमा साथ दिने व्यक्तिका रुपमा उनको सम्झना गरिहन्छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएपछि पटकपटक म र मेरी श्रीमती उनलाई भेट्न गयौँ । सुरुमा होस नै नभएको स्थितिमा हेर्ने र फर्किनेबाहेक अरू केही उपाय रहेन । पछि होस खुलेको अवस्थामा भेट हुँदा मुस्कुराउँदै उनले बिस्तारै हात तन्काए र मैले पनि ठूलो सन्तोषको अनुभव गर्दै हात मिलाएँ । उनको स्वास्थ्यमा आएको परिवर्तनप्रति ढुक्क हुँदै हामी घर फर्कियौँ । त्यसपछि पनि सुधारका खबर सुनिँदै थिए तर एकदिन एकाबिहानै फोनमा अप्रिय खबर आयो, ‘रुद्र सरको देहान्त भयो ।’ प्रकृतिका अगाडि हाम्रो केही लाग्दैनथ्यो । म निन्याउरो मुख लगाउँदै त्रि.वि. शिक्षण अस्पताल पुगेँ । उनी चिर निद्रामा थिए । श्रद्धाञ्जलिको फूल अर्पँदै शववाहनका पछिपछि हामी पशुपति पुग्यौँ । हाम्रै आँखाअगाडि उनको शव डढ्यो, प्रियजनको अन्त्य दुःखदायी थियो, असह्य थियो । घरमा आएँ, दराजबाट उनका किताब झिकेँ – ‘छोरीलाई’, ‘तपाईको नाम के हो ?’, ‘तोरीलाहुरे चोकमा एक छिन’, ‘बिर्सिस्यो कि ?’, ‘आषाढस्य प्रथम दिवसे’, ‘तेस्रो आँखा’ र ‘शब्दको भ्वाङ’ त्यहाँ थिए । किताबका सुरुका पाना फर्काएँ । त्यहाँ उनकै हस्ताक्षरमा लेखिएको थियो– मित्र जीवेन्द्र, साथी जीवेन्द्र । 

अब उनको अर्काे हस्ताक्षर प्रँप्त हुने छैन, तर जे प्राप्त छ त्यसको न्यानोबाट नै म उनको सान्निध्य पाइरहनेछु र जीवनसङ्घर्षका कठिनाइ पार गर्न सामल बटुलिरहनेछु । भौतिक शरीर डढे पनि मनभित्रका रुद्र खरेल सधैँ सँगै रहिरहने छन् ।



--------------------------------------------------------


बिर्सनेछैनौँ खरेलजी
–इस्माली

२०६५ जेठ ३२, शनिबार (बिहान ११ बजेतिर) अचानक मातृका पोखरेलको फोन आयो, ‘खरेल सरको अवस्था गम्भीर छ, बोली लटपट भो, राम्रो होस छैन ।’ म हतार–हतार बानेश्वर हानिएँ माइक्रो चढ्न । 

माइक्रोमा जोरपाटी अर्थाेपेडिक जाँदै थिएँ, गौशाला पुग्दानपुग्दै फेरि मातृकाकै फोन आयो, ‘हामी एम्बुलेन्समा टिचिङ जाँदै छौँ ।’ 

चाबेलमा आइपुगेर मैले टिचिङ (महाराजगञ्ज) को माइक्रो समातँे र त्यता लागँे, तर ‘चप्पल कारखाना’ पुग्दानपुग्दै ‘उता बन्द छ’ भनेर माइक्रोले यात्रुहरूलाई ओरालिदियो । (पेट्रोलियम पदार्थको भाउ बढेर भाडाव ृद्धिको अराजकता व्याप्त थियो र भाडा लेनदेनकै कुरोमा बालाजु रुटमा यात्रुसँग परेको खटपटको कारण माइक्रोवालाले आफ्नो शक्ति प्रदर्शन गर्न त्यो ‘बन्द’ गरेका रहेछन् । अनि त के थियो र ! सडकमा चालक, कन्डक्टर र खलासीको राम्राज्य कायम भयो । चोकचोकमा जथाभावी गाडी तेस्र्याएर तिनीहरूले नाकाबन्दी गरिदिए, बिचरा ट्राफिकहरू हे¥याहे¥यै । यात्रुहरूको दोहोरीलता सडकपेटीमा ! सङ्घे शक्ति कालियुगे ! तर सङ्घको शक्तिको दुरुपयोग ज्यास्ती भइरहेकोमा हाम्रो ध्यान गएको छैन शायद !) 
त्यहाँबाट हिँडेरै टिचिङ पुगँे । दुई बज्दै थियो दिउँसोको । मातृकाहरू पनि भर्खरै आइपुगेका रहेछन्, बन्दले प्रभावित भएर, लुकिँदै छलिँदै छल्दै । 

आकस्मिक कक्षको एउटा शøयामा लोटाइएका थिए खरेल सर र छटपटाइरहेका थिए । बर्बराइरहेका थिए । तर, बोली एउटा पनि बुझिँदैनथ्यो । (त्यसैले होला, म्याडम भन्नुहुन्थ्यो, संस्कृतमा बोल्नु हुन्छ, म त केही बुझ्दिनँ ।’) शøयाबाट जुरुक्क उठेर हिँड्न खोज्थे, शायद अतिशय पीडाका कारण, दुई तीनजनाले समातेर बलात् अँठ्याएर लोटाइराख्नुपथ्र्याे । 
आकस्मिक कक्षको स्थिति अस्तव्यस्त थियो, थोरै शøयाहरू, थोरै चिकित्सक र स्वास्थ्यकर्मीहरू तर धेरै बिरामीहरू, अझ धेरै बिरामीका स्वजनहरू । ड्युटीमा रहेका चिकित्सकहरू हेर्न भ्याइरहेका थिएनन्, बिरामीका स्वजनहरूले घरिघरि घेरिरहन्थे तिनलाई । म्याडम अतालिरहनुभएको थियो, ‘हेर्नाेस् न, के भो के भो सरलाई ! बिहानसम्म सद्दे हुनुहुन्थ्यो ! बोलाउनुस् न डाक्टरलाई ! वास्ताव्यास्ता गर्दैनन्, के हो यस्तो !’ स्थिति त्यस्तै थियो । त्यहाँको अस्तव्यस्तता र डाक्टरको कमपलब्धताबाट आत्तिएर ‘बेथिति हटाएर थिति बसाल्नुपर्छ’ भन्नपर्ने हामी पनि चिनजानका कोही डाक्टर भेटिन्छन् कि भनी यताउति हेर्न थाल्यौँ । 

हामी (मातृका र म) डा. रामप्रसाद उप्रेतीको खोजीमा लाग्यौँ । उहाँ क्याम्पसप्रमुख हुनुहुन्थ्यो । सोधखोज गर्दा बल्लतल्ल उहाँको मोबाइल नम्बर फेला पा¥यौँ । सम्पर्क गर्दा उहाँ त भैरहवा पो हुँनुहुदोरहेछ, कुनै गोष्ठी वा सेमिनारमा । तैपनि खरेल सरको स्थिति अवगत गराउँदै सहयोगको याचना ग¥यौँ । सुनेर पहिले त उहाँ छक्क पर्नुभयो, केही दिनअघि मात्र थापाथली क्याम्पसमा भएको प्रगतिशील प्राध्यापकहरूको भेलालाई प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्षको हैसियतले सम्बोधन गर्दै हुनुहुन्थ्यो, तर पत्याउन त कर लाग्थ्यो, ‘हुन्छ म बुझ्छु’ भनी आश्वासन दिनुभयो । त्यसपछि हामीले डा. शरद वन्तलाई सम्पर्क ग¥यौँ । डा. शरद वन्तले तुरुन्तै फोनबाटै गर्न सकिने कुराहरू गर्नुभयो र आउँदै छु पनि भन्नुभयो । हामी आश्वस्त र ढुक्क भयौँ । तर बन्दका कारण डा. वन्त आउन सक्ने स्थिति रहेन । 

आकस्मिक कक्षमा खरेल सरको छटपटी यथावत् नै थियो । त्यो छटपटी हेर्दा मलाई भित्रैबाट गाह्रो भइरहेको थियो । ‘हजुर अब चिन्ता नगर्नुस्, हामी अस्पतालमा आइपुगेका छौँ । डाक्टरले हेरेपछि बिस्तारै ठीक भइहाल्छ ।’ भन्दै आश्वस्त गराउन खोज्थ्यौँ । साथमा सरका भतिजा र छोरी थिए । प्राथमिक चरणमा सरलाई लठ्याउने औषधि दिए ड्युटीका डाक्टरले । हुन त आकस्मिक कक्षमा बिरामीको उपचार होइन, आकस्मिक उपचार अर्थात् तत्कालको (थामथुम) हुने हो, हाम्रो बिरामीको त भर्ना भई दीर्घ उपचार हुनुपर्ने अवस्थामा थियो । लठ्याउने औषधीले खरेल सरलाई सुताएपछि हामी तत्काल राहत पाएजस्ता भयौँ, अतिशय छटपटी त हेरिरहनुपरेन नि ।
एकछिनपछि डा. वन्तले फोन गर्नुभयो, ‘तपाईंहरू नआत्तिनुस्, मैले ड्युटी डाक्टरसँग कुरा गरेँ, टेस्टहरू सुरु गरेका छन् गाडीहरू सबै बन्द रहेछन् । त्यहाँ आउन पो अप्ठ्यारो प¥यो ! मैले धन्यवाद दिँदै आभार व्यक्त गरेँ डा.वन्तलाई । डा. झा हुनुहुँदो रहेछ ड्युटीमा । दुई बजे नै चेन्ज हुने ड्युटी भए तापनि उहाँ खरेल सरका लागि साँझसम्मै बसिदिनुभयो । आकस्मिक उपचारका क्रममा खरेललाई दुई–तीनपटक नै लठ्याउने औषधी दिनुप¥यो । अतिशय पीडाका कारण चल्ने, चटपटाउने यति तीव्र भयो कि सिटिस्क्यान गर्न पनि हम्मे–हम्मे प¥यो र फेरि लठ्याउनुप¥यो । 

बाहिर स्वजन र शुभेच्छुहरूलगायत पार्टीका साथीहरू पनि थपिँदै थिए । बेलुकी त्रिशूलीबाट फर्केपछि खरेलसरको डाक्टर भतिज डा. युवराज खरेलले आकस्मिक कक्षमा कार्यरत डाक्टरहरूसँग परामर्श गरी पेइङवार्डको आईसीयू कक्षमा भर्ना गराउनुभयो । भतिज नै डाक्टर भएकाले चिकित्सापक्षमा हामीहरू ढुक्क थियौँ ।

शनिबार बिहानसम्म खरेलसरको स्वास्थ्य सुधारोन्मुख नै थियो । जोरपाटी अर्थाेपेडिक अस्पतालबाटै आजै डिस्चार्ज भएर घरजाने कुरा थियो तर बिहान ९ बजेतिर अचानक स्वास्थ्यस्थिति बिग्रियो, बोली लर्बरियो, होस ठेगानमा रहेन र जोरपाटीले टिचिङमा रिफर गरिदियो, भन्नुहुन्थ्यो म्याडम । अर्थात् जोरपाटीको रायमा अब ढाडको दुखाइको उपचार गराउँदै थिए । फिजियोथेरापी आदि गर्दै गए पनि शायद स्थिति बिग्रँदै गएपछि जोरपाटीमा भर्ना भएका होलान् । 

टिचिङमा समस्या झन्झन् बिगँ्रदै गइरहेको थियो । प्रारम्भिक अनुमानमा मेनिन्जाइटिस अनुमान गरिएको रोग पछि इन्सेफलाइटिस ठहर भयो र त्यसको उपचार चल्यो । सँगसँगै छातीको सङ्क्रमण, न्यूमोनिया, श्वासप्रश्वासको समस्या पनि थपियो र जटिल बन्दै गयो । शायद पर्सिपल्टै आईसीयूमा सार्नुप¥यो र भेल्टिलेटरमा राख्नुपर्ने अवस्था आयो । भेन्टिलेटर खाली रहेनछ । भेन्टिलेटर नभेटिउञ्जेल पम्पिङ गरेर श्वासप्रश्वास क्रिया चलाइरहनुपथ्र्याे । 

तर, त्यो कठिन तर व्यर्थ थियो । बल्लतल्ल जनएकताका कमल गिरीको प्रयासबाट एउटा भेन्टिलेटर त भेटियो तर बिरामीलाई सार्नुपर्ने भो, त्यो विभिन्न कारणले एउटा समस्या भयो तर पछि टिचिङमै एउटा भेन्टिलेटर खाली भयो र त्यो समस्याको निदान भयो । पम्प गरेर श्वासप्रश्वास गराउनुपर्ने जोखिमपूर्ण तथा अल्पप्रभावकारी कामबाट स्वजनहरूले छुट्टी पाए । छापाहरूमा रुद्र खरेल बिरामी परेको खबर आइसकेकोले स्वास्थ्यलाभको कामना गर्दै भेट्न आउने शुभचिन्तक र स्वजनहरूको बाक्लै आवतजावत पनि चलिरहेकै थियो । साहित्यिक मित्रहरू, पार्टीका साथीहरू, प्राध्यापक साथीहरूलगायत विभिन्न साथीहरू आउनेजाने क्रम चलिरहेको थियो । 

रुद्र खरेलको अवस्था जटिल बन्दै गयो, उपचार महँगो हुँदै गयो । दिनहुँजसो १२/१३ हजारको त औषधी मात्र लाग्न थाल्यो । होस असामान्य नै छ, खुट्टामा पक्षघात भएको हो कि भन्ने शङ्का पनि थियो । वरिष्ठ न्यूरो फिजिसियनहरू जगदीश अग्रवाल, कृष्ण ओलीहरूले हेरिरहेका थिए । शरीर सुन्निएको थियो, ज्वरो ओर्लँदैन्थ्यो । उपचार खर्चिलो बन्दै गएकोले खर्चको फिटफिटी पर्नु स्वाभाविक थियो । केही साथीहरूले साथीहरूबाट सहयोग सङ्कल गर्ने कि भनेर राय मागेछन् म्याडमसँग । म्याडमले आम वा सार्वजनिक रूपमा उपचारका लागि सहयोग सङ्कलन गर्ने कुरा ठाडै इन्कार गर्नु भएछ तर संस्थागत सहयोगबारे चाहिँ उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । प्रलेसका अध्यक्ष निनु चापागाईं र सचिव मातृका पोखरेलको पहलमा प्रलेसको अनुरोधमा सरकारले स्थास्थ्य मन्त्रालयमार्फत उपलब्ध गराएको रु. एक लाखको सहयोग राशिले केही आड त दियो नै । पछि पाटन क्याम्पस प्राध्यापक सङ्घ एकाइ समितिमार्फत पनि रु. पचास हजारको सहयोग उपलब्ध भएछ । हुन त आर्थिक सहयोगका लागि उनी सम्बद्ध रहेको गुरुसंस्थाहरूमा पनि अनुरोध पुगेको हो तर उनको पार्टी पनि सानो, उनी मान्छे पनि साना कदका भएर हो कि हाँकडाँक नपुगेर हो कि सहयोग गरिदिन सक्नेहरू गम्भीर नभइदिएर हो कि अपेक्षित सहयोग मिलेन क्यारे तर पनि खरेलसरको उपचारमा धेरै सहयोगी शुभेच्छु मित्रहरूको विभिन्न सहयोग रहेको छ र यो सब जुट्न सक्नुमा कवि मातृका पोखरेलको सक्रिय योगदान कसैबाट लुकेको छैन । 

रुद्र खरेलसँग मेरो परिचय ०४५/०४६ तिर भयो, उनकै सिफलको घरमा । मुक्तिबन्धु अर्थात् शारदारमण नेपालसँग म उनको घरमा पुगेको थिएँ । मुक्तिबन्धुबाटै मैले खरेलसरबारे सामान्य जानकारी पाएँ । आस्था, विचार हाम्रो आ–आफ्नो ठाउँमा रहे पनि हामी राम्रो साथी बन्न सक्छौँको बोधसँगै हाम्रो सामीप्य बढ्दै गयो । झापा आन्दोलनसँग गाँसिएको भन्ने सुनेपछि उनीप्रति मेरो मनमा आदरभाव बढ्दै गयो । स्रष्टा प्रकाशनको गठन भएपछि प्रकाशन योजनामा परेको पहिलो थुँगा ‘प्रतिनिधि नेपाली कथाहरू’ नामक कथासङ्ग्रहको सम्पादन कार्यमा खटिने तीनजनामध्ये रुद्र खरेल (अन्य दुईजना निनु र रामहरि पौड्याल) पनि थिए । सम्पादनकै कामको सिलसिलामा घट्टेकुलो (रामहरि पौडेलकहाँ) आउँदा–जाँदा मेरोमा पनि आउने–जाने भयो । रहँदा बस्दा काम गर्दै जीवन भोग्दै उधिन्दै जाँदा उनी कालक्रममा वेदना परिवारसँग अर्थात् इन्द्रेणी सांस्कृतिक समाजतिरै नजिकिँदै गए । ‘पञ्चामृत’ साहित्यिक पत्रिकाबाट आफ्नो साहित्यिक पहिचान बनाउँदै झापा आन्दोलन अर्थात् कोअर्डिनेशन केन्द्रमार्फत सुरु भएको उनको राजनीतिक जीवन, साहित्यिक जीवन, चालीसको दशकमा आइपुग्दा त्यतिञ्जेलसम्मको पूर्वस्कुलको शिक्षादीक्षा, आचारविचार र व्यवहारले उक्त पाठशालाबाट उनको मोहभङ्ग भइसकेको थियो, तर उनको मोहभङ्ग क्रान्तिकारी विचारबाट नभएर वाम अतिवादजन्य विचलन र त्यसमा नायकहरूको विचार व्यवहारबाट भएको थियो । त्यसैले उनी आफ्नो गतिशील यात्रालाई सार्थक रूपले गतिमान राख्न उपयुक्त विकल्प रोजेर अघि बढे । प्रायशः के देखिन्छ भने दलबदलुहरू शक्ति धेरै भएको ठूलो पार्टीतिर ठूलो भाग खोज्दै लहसिन्छन् तर उनी शक्ति सत्तामा नभएको पार्टीतिर लागे, विचारको रक्षा गर्न । 

रुद्र खरेल पेसाले प्राध्यापक थिए, पाटन बहुमुखी क्याम्पसमा नेपाली विषयका सहप्राध्यापक । प्राध्यापनको दीर्घ जीवन उनले ‘नेपाल ल क्याम्पस’ प्रदर्शनी मार्गमा बिताए तर विगत शायद दुई वर्षदेखि पाटनमा थिए । कर्मले उनी साहित्यकार, संस्कृतिकर्मी र राजनीतिकर्मी थिए । अभियन्ता, समाजरूपान्तरण गर्ने अभियानमा लागेका अभियन्ता थिए उनी । साहित्यलाई माध्यम बनाएर समाजलाई फेर्ने अभियानमा लागेका अभियन्ता÷गरिराखेको लेखपढले नपुगेर होला, पछिल्लो समयमा उनी पेसाबाट स्वेच्छिक अवकाश लिएर गम्भीरतापूर्वक पूर्णकालीन लेखपढमा लाग्नुपर्छ कि भन्दै थिए । एउटा स्तरीय खालको साहित्यिक प्रकाशनको योजना पनि गर्दै गरेको छु भन्थे । कविता, समालोचना व्यङ्ग्य निबन्ध र पत्रिकाहरूमा स्तम्भलेखनमा विभाजित उनी निबन्धकारकै रूपमा चिनिन्छन् । एउटा कवितासङ्ग्रह प्रकाशित छ उनको । प्रलेसका लागि उनले राजेन्द्र सुवेदीसँगको सहसम्पादनमा ‘चालीसको दशकका केही प्रगतिशील कविताहरू’ नामक सङ्ग्रहको पनि सम्पादन गरेका थिए । जनआन्दोलन कालमा पछिल्लो समयमा ‘राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा थुनामा रहेका बेलाका त्यहाँका गतिविधिहरू समेटेर थुनामुक्त भएपछि प्रकाशन गरिएको ‘बन्दी शिविरका आवाजहरू’ प्रकाशनको सम्पादकहरूमध्येका सक्रीय सम्पादक पनि थिए उनी । व्यङ्ग्यकारका रूपमा आफ्नो छवि उजिल्याइसकेका उनका आधा दर्जन व्यङ्ग्यसङ्ग्रहहरू प्रकाशित छन् । आरम्भिक लेखन कवितामा केन्द्रित रहेको भए तापनि पछिल्लो चरणमा उनले व्यङ्ग्य निबन्धलाई एउटा उचाइमा पु¥याएका छन् । उनको व्यङ्ग्यमा भारतेली व्यङ्ग्यकार स्व. हरिशङ्कर परसाई र स्व. कृश्नचन्दरको छनक पाउन सकिन्छ । सामीक्षा, समालोचनामा पनि उनको कलम साधिकार चलेको देखिन्छ । स्नातक तहको कानुनका विद्यार्थीहरूका लागि विश्वविद्यालयीय पाठ्यपुस्तक ‘विशेष नेपाली’ पनि लेखेका थिए उनले । वेदना पत्रिका हुँदै उनको गन्तव्य एकताकेन्द्र बन्यो । नेकपा (एकताकेन्द्र) जुन पछि नेकपा (एकताकेन्द्र मसाल) बन्यो, को सांस्कृतिक सङ्गठन इसास र पछि प्रसास (प्रगतिशील सांस्कृतिक सङ्गठन) मा साहित्य विभागको संयोजकत्व पनि सम्हाले उनले । पछि पार्टीको राजनीतिक विभाजनपछि उनी नेकपा (एकीकृत) तिर आबद्ध भए र त्यस दलमा केन्द्रीय सदस्यदेखि सांस्कृतिक र बौद्धिक मञ्च सम्हाल्ने हर्ताकर्ता उनै थिए । यसपटक उनले आफ्नो विचारको रक्षाका लागि पार्टीका असन्तुष्ट व्यक्तिहरूको सानो समूहलाई रोजे । उनको असन्तुष्टि पार्टीको वैचारिक लाइनमा नभएर नेतृत्वका व्यक्ति र टोलीद्वारा एकताका प्रश्नमा अङ्गालिएको विधि प्रक्रियामा केन्द्रित भएछ । 

इन्सेफ्लाइटिसको उपचार प्रक्रिया सकिएर पनि खरेल सरको अवस्था खासै सुधार भएन, रोग पनि केही देखिएन पछिल्लो चरणमा रगतमा सेतो कणको सङ्ख्या निकै कम रहेको र रगत दिँदा पनि सङ्ख्या खासै बढ्न नसकेको अवस्था देखिन थाल्यो । भेन्टिलेटरमा राखिएका बिरामीमध्ये निकै कम मात्र सामान्य अवस्थामा आउँछन् भन्ने धेरैले भन्ने गरेको पाइन्छ र आइहाल्दा पनि सामान्य मानिससरहको स्वस्थता तिनले पाउन सक्दैनन् भनिन्छ । त्यसैले धेरैजसो साथीहरूमा आशावादिता कम थियो । तथापि म्याडमलाई ढाडस त दिइरहन्थे म पनि ठीक भइहाल्छ । अलि समय लाग्ला । सरको रोगको प्रकृति त्यस्तै भयो । ‘हजुरले मन दरो पार्नुस्’ चाहिँ भन्न चुक्दैनथे । 
एकदिन म्याडमले फोन गर्नुभयो, ‘इस्लामीसर, सरलाई त ताजा रगत चाहिने भयो । ५ पोका जति । ओ पोजिटिभ । रगत दिएपछि राम्रो हुन्छ रे । ज्वाइँ (भेषराज ओली) आउनुहुन्छ सरलाई भेट्न ।’ 

‘हुन्छ’ त भनँे तर पाँच–पाँचजना कहाँ खोज्नू । जनै पूर्णिमाको बिदा परेको दिन थियो । तैपनि छोरा विप्लव पौडेललाई लिएर ब्लड बैंक गएँ, उसको ग्रुप मिल्थ्यो । विद्यार्थी युनियनका भाइहरू पनि भेट भयो । भेषराजीको र डा. युवराज खरेलको ग्रुप पनि त्यही रहेछ । बल्लतल्ल पाँचजना पु¥याइयो, क्याम्पसका विद्यार्थी भाइ अमित ढकालले पनि रगत दिएर सहयोग गरे । भोलिपल्ट म्याडमले फोन गर्नुभयो, ‘सरको अवस्था सुधार भयो, सुन्निएको घट्यो, ज्वरो पनि ओल्र्याे । रोग केही पनि रहेनछ, शरीरमा रगतै नभएर तङ्ग्रिन नसक्नुभएको रहेछ । रोगीको अवस्थामा केही सुधार भयो वा बिग्रियो भने तुरुन्त खबर गरिहाल्नुहुन्थ्यो, ‘सरको यस्तो त्यस्तो भयो ।’ खुसी पनि बाँडिहाल्ने, दुःख पनि बाँडिहाल्ने । बहुतै सरल स्वभावको निस्कपट, छक्कापञ्जा नभएको लोलोपोतोरहित ।’ मलाई बेलाबेलामा डर लागिरहन्थ्यो किनकि म्याडम आफैँ पनि उच्चरक्तचापको बिरामी हुनुहुन्थ्यो, त्यसैले खरेल सरको अवस्था देखेर मनोवैज्ञानिक प्रभावमा परेर अत्तालिएर अप्ठ्यारो स्थिति पो सिर्जना भइहाल्छ कि भन्ने डर लागिरहन्थ्यो । तर उहाँले आफूलाई राम्ररी नै सम्हाल्नुभयो । (खरेलसरको बिरामी अवस्थामै जूठो पनि प¥यो, शायद कोही परिवाजन क्यान्सरग्रस्त हुनुहुन्थ्यो, बित्नुभयो ।) उहाँको त्यो साहसी गुण निकै सराहनीय पक्ष हो । हेरविचार गर्ने दुई छोरीहरूमा जेठी नूतन अलि परिपक्व थिइन्, भतिजाहरू थिए र अन्य परिवारजनहरू पनि थिए । एकाघरका सदस्यझैँ भइसकेका ‘स्कुल अफ ल, दधिकोट’ का नेपाली शिक्षक थिए– रामचन्द्र फुयाँल । अस्पतालमा रातबिरात कुर्नेदेखि आवश्यक परेका यावत् काममा रामचन्द्र कहिल्यै पछि हटेनन् । ककनीका रामचन्द्र खासमा ‘रुद्र खरेलको जीवनी, व्यक्तित्व र कृतित्व’ शोधप्रबन्ध तयार पार्ने क्रममा खरेलसरको सम्पर्कमा आएका शोधार्थी थिए र खरेलसर उनका शोध नायक थिए । भेटघाट कुराकानी हुँदै जाँदा आफ्नो शोध नायकको विचार व्यवहारबाट उनी यति प्रभावित भए कि सानिध्य बढ्दै गयो र निरन्तर बढिरह्यो । अरू अचिनारूका लागि त उनी खरेलसरको एकाघरको सदस्यझैँ लाग्दा होलान् । उनीसँग मेरो परिचय टिचिङको पेइङवार्डको आईसीयूमा भयो । सरलाई हेर्न जाँदा उनी शøयास्त खरेलसरको सेवा सुश्रृुाा प्रेमले गरिरहेका थिए । खरेलसरका परिवारजनहरूसँग उतिसाह्रो चिनजान नभएको हुनाले मैले तिनलाई सोधेँ, ‘तपार्इं को ?’ मेरो सोधाइले उनी अकमकिएर मतिर हेरे । आफ्नो अल्पज्ञताको निराकरण गर्न मैले फेरि सोधेँ, ‘तपाईं खरेल सरको को पर्नुहुन्छ ?’ 
‘म सरको विद्यार्थी ।’ उनले सहजता साथ भने र फेरि बिरामी खरेलसरको सेवा सुश्रुषामा लागेँ । 
मैले फेरि केही सोधिनँ, सोचँे, ‘विद्यार्थी पनि यति गुणग्राही हुन्छन् । यो पनि खरेलसरको विशेषता हो । नत्र त अचेल प्रायशः विद्यार्थी गुरुको सम्बन्ध सौहार्दताभन्दा कटुतामै कलवित हुने गरेको पाइन्छ । तर रामचन्द्र फुयाँल र रुद्र खरेलको बीचको सम्बन्ध अपवाद हो ।
रगत दिन थालेपछि खरेलसरको अवस्था तलमाथि भइरह्यो । कहिले दिनहुँ त, कहिले दिन बिराएर रगत दिनुपर्ने हुन थाल्यो । ताजा रगत, त्यसबाट मात्र पीपीआर बन्दोरहेछ । म्याडम फोन गर्नुहुन्थ्यो, ‘सरका लागि आज पनि चार पोका फ्रेस ब्लडको पीपीआर ल्याउनुभनेको छ । राम्रो भा’छ, रोग त केही छैन रे .. ।’ 

‘हुन्छ’ भन्थें तर रगत दिने मान्छे भेट्न गाह्रो पर्न थालेको थियो । भेटेजति साथीभाइलाई रगतको ग्रुप सोध्ने र खरेलसरको अवस्था गम्भीर छ, ओ पोजिटिभ ग्रुपको रगत भएका साथीहरू खोजिदिन अनुरोध गर्थें । सकेका साथीहरूले सहयोग गर्दै गए । क्याम्पसका स्ववियु उपसभापति सुरेन्द्र बस्नेतको सहयोग बिर्सिनसक्नु छ । उनले आफूले पनि रगत दिए र समीर पाण्डेसँग पनि चिनाइदिए । समीर पाण्डे (९८४१००३१३३) मेरै क्याम्पसका विद्यार्थी रहेछन् । उनले रक्तदाताहरूको एउटा संस्था चलाएका रहेछन्– ब्लड प्वाइन्ट । त्यस संस्थामार्फत उनी रक्तलेताहरूलाई सहयोग गर्दारहेछन् । रगत उपलब्ध गराइदिएर, रक्तदान गर्ने मान्छे खोजिदिएर । मान्छे यति सहयोगी छन् कि नाइँ कहिल्यै भन्दैनन् । समीर पाण्डेसँग सम्पर्क बनेपछि भने धेरै सजिलो भयो । भाष्कर ज्ञवाली (भगवानचन्द्र ज्ञवालीका छोरा) र उनका साथीलगायत धेरै शुभेच्छुले रक्तदान गर्ने÷गराउने कार्यमा सहयोगी भइदिएर रुद्र खरेललाई सहयोग गरेका छन् । पीपीआर बन्ने रगत खोज्नु पनि कठिन कार्य हो । दैनिकजसो चार–पाँचजना तम्तयार भइरहनुपर्ने, ६० केजी वा माथिको तौल समूहको हुनुपर्ने, ताजा रगत नै चाहिने, स्टोर गरिएको रगत नहुने र एकपटक रक्तदान गरिसकेको मान्छे चार–पाँच महिनासम्मका लागि पुनः रक्तदान गर्न योग्न नहुने, प्रेसर भएको नहुने, औषधि खाइरहेको नहुने आदि समस्याले सहज उपलब्ध हुन ‘ओ धन’ ग्रुप पनि दुर्लभ प्रायः बन्न जाने अवस्था हुन गयो । पछिल्लो चरणमा खरेलसरको रोग ‘मल्टिपल माइलोमा’ भन्ने ठहर भयो । मल्टिपल माइलोमा भएर पनि मान्छे बाँचिरहेकै छन्, हिँडडुल गरिरहेकै छन् । हुँदा र रोग पत्ता लागी ठाउँमा पुगेर उपचार गर्न सक्दा दस–बाह्र वर्षसम्म त मृत्यु पनि घचिटिँदोरहेछ नि । हुनु र नहुनुले मानिसको आयुको फरक । यस्तै र तमामखाले विभेदजन्य प्रणाली समाप्त पारी भेदभावहीन प्रणाली नहुनेहरूका हकभोगको प्रणाली बसाल्ने व्यवस्था बसाल्न हामी हाम्रो ऊर्जा खर्च गरिरहेका छौँ, खरेलसरको जीवनपर्यन्त त्यही कुरा गरँे । हुन त कतिपयले भन्लान्, ‘तिमीहरूको सिस्टममा पनि देखियो, सोल्जेनित्सनले ‘क्यान्सर बार्ड’ लेखेका होइनन् ? बोरिस पास्तारनाकले ‘डा. जिवागो’ लेखेका होइनन् ? केको फूर्ति लाउँछौ ।’ कुनै सत्ताभित्रको सुसङ्गतिको समर्थन र विकृतिविसङ्गतिको विरोध स्रष्टाले सधँै गरिआएका छन् । सोल्जेनिप्सनको मात्र किन, गोर्कीले पनि गरे । विवेकशील स्रष्टाहरू सधैँ निरपेक्ष होइन सापेक्ष रहन्छन् । त्यो धर्म रुद्र खरेलले सधैँ निर्वाह गरिआएका थिए । 

संयोगले भनौँ वा सल्लाहले, प्रतिगमनकालमा प्राध्यापक सङ्घको आह्वानमा भएका प्रतिगमनविरुद्धको आन्दोलनमा हामी दुवैचोटि लामो थुनामा र पटक–पटक थुनामा प¥यौँ र सँगै रह्यौँ । पहिलोचोटि २०६२ साल पुसमा, ललितपुर जाउलाखेलको महिला प्रशिक्षण केन्द्रको अँध्यारो बुइँगलमा र दोस्रोचोटि २०६२ चैतमा, काठमाडौँ महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा । दुवै बसाइमा मैले देखेँ उनी हरबखत विभिन्न थरीका मानिसहरूसँग घुलमिल हुन, अन्तरक्रिया गर्न सक्रिय रहन्थे, इतर विचारकासँग पनि र नितर विचारकासँग पनि । प्रतिगमनका विरोधमा रहेका सबैसँगको सान्निध्य मन पराउँथे उनी । सबैसँग मिल्न खोज्ने उनको विशिष्ट गुण नै हो तर मिल्ने नाउँमा आफ्नो कुरोलाई विचारलाई पछि पारेर वा थाती राखेर उनी बस्दैनथे । आफ्नो कुरो माथि पार्न उनी हरसम्भव प्रयास गर्दथे । बेमेलबेथितिका कुरामा उनी आफ्नै साथीको पनि आलोचना गर्दथे । एकपटक के भएछ भने उनको कोही प्राध्यापक साथीले विद्यावारिधिको डिग्री हासिल गरेपछि ढोकामा पित्तले पाताको नामपट झुन्ड्याएछन् । उनको नजर त्यसमा परेपछि आफूले ठानेको राम्रो मान्छेभित्र नराम्रो प्रवृत्तिले फणा उठाउन लागेको माने उनले र त्यस प्रवृत्तिका विरुद्ध कटाक्ष गर्दै लेखे– ‘पित्तले डाक्टरहरू ।’
 डाक्टर साहेवलाई खरेलजीको कुरा मनासिव लागेछ क्यारे, उनले तत्काल पित्तल पाताको नामपट झिकेछन् अरे ।
गलत प्रवृत्तिका विरुद्धको सङ्घर्षमा रुद्र खरेल अग्रिम मोर्चामै रहे, ०४६ चैत ३ को कालोपट्टि पर्वदेखि लोकतान्त्रिक गणतान्त्रिक स्रष्टा मञ्चसम्म । इन्द्रेणी सांस्कृतिक समाजद्वारा आयोजित सुन्दरी प्रतियोगिताका विरुद्धको धर्ना कार्यक्रममा लाठीचार्जमा परी खुट्टा भाँचिएर तीन–चार महिनासम्मै कष्टसास्ती कुरा गर्ने कतिपय साथीहरू ऐनमौकामा कुनै न कुनै निहुँ पारी उम्किन खोज्छन्, वा जेल पर्दा बिरामी पर्दा वा अप्ठ्यारो पर्दा कसैले नहेरेको, सहयोग नगरेको बात लाउँदै १८० डिग्रीको फन्को मार्दै नानथरी फत्तुर थापर्दै कित्ता फेर्दछन् वा निष्क्रिय बन्दछन् तर रुद्र खरेल यस्तोमा सधैँ अपवाद रहे । 

खरेलजी मेरा आख्यानीय विमर्शका मित्र पनि थिए । ‘जिरोमाइल’का पहिलो पाठक उनै थिए । उनको पठनमा परेको मेरा कथाहरूबारे सकारात्मक र नकारात्मक प्रश्नहरूबारे टिप्पणी गर्दै मलाई ऊर्जा दिइरहनेमध्येका उनी महत्वपूर्ण साथी थिए । यस्तो विमर्श उनी अरू सर्जकहरूसँग पनि गरिरहन्थे । पारिजात स्मृति केन्द्रबाट दिइने पुरस्कार तथा कृष्णमणि पुरस्कार छनोट समितिहरूमा पनि उनी पटक–पटक रहेका थिए । उनी सङ्लग्न रहेको छनोट समितिहरूबाट चयन गरिएका पुरस्कृत स्रष्टाहरू सबैका साझा स्रष्टा र पर्नुपर्ने स्रष्टाहरू नै पुरस्कृत भएको पाइयो । 

रुद्र खरेलको गुण भनौँ वा अवगुण, उनी प्रायशः आत्मकेन्द्रित पनि हुने गर्दथे । सामूहिक कुराकानी प्रयास पहलमा पनि मैले यसो गरेँ, उसो गरँे, मलाई राम्रो मान्या छन्, भनेजस्ता आफू केन्द्रित कुरा गर्न रुचाउनेमध्येका थिए । महाराजगञ्ज प्रशिक्षण शिविरमा बन्दी रहँदा मैले उनलाई उनको यो प्रवृत्ति सुधार्नुपर्दछ भनी सुझाव दिएँ र मेरो सुझावले काम गरेजस्तो भने मैले पाइनँ । वामपन्थीहरू (हुन त यस्तो प्रवृत्ति अरूमा पनि बाक्लै पाइन्छ) मा एउटा आमप्रवृत्ति के देखिन्छ भने पार्टी फुटेपछि फुटेर गएको पार्टीको कमरेडलाई परस्परले प्रतिक्रियावादी वा वर्ग शत्रुभन्दा पनि महाशत्रु ठान्ने गरिन्छ । रुद्र खरेल पनि यसका अपवाद थिएनन् । तर, खगेन्द्र सङ्ग्रौलाले वक्तव्यबाजी गर्दै इसास छोडेपछि पनि उनको सद्गुणको बखान गर्न खरेलजी कहिल्यै पछि परेनन् मात्र होइन इसास र वेदना परिवारसँग बढिसकेको उनको दूरी छोट्याउन खरेलजीले पछिसम्मै पनि प्रयास गरिनै रहे र त्यसको परिणाम पनि सुखद नै रहेको छ । 

रुद्र खरेलको अन्तिमपटकको मेरो एकतर्फी संवाद शायद भदौ ५ गते साँझ आईसीयू बाट न्यूरोवार्डमा सार्दाको क्रममा भयो । त्यसबेला उनलाई होस त थियो, तर घाँटीमा श्वासनलीमा प्वाल पारेर अक्सिजनको पाइप छिराइएकोले होला उनको बोली आवाजमा परिणत हुन सक्दैनथ्यो । त्यसदिन उनको अनुहारमा कान्ति थियो, अनुहारमा खुसी बढी नै झल्कन्थ्यो । ‘पीर नगर्नूस्, अब ठीक हुइन्छ । साता दिनमा त घरै गइन्छ’ भनी आश्वास्त पार्न खोजेँ तर ‘होइन सर, चल्छ, खुट्टा चल्छ । म हिँडाइछाड्छु सरलाई ।’ भन्नुहुन्थ्यो म्याडम, उहाँको साहस र दृढता देखेर म कायल भएँ । 
भोलिपल्ट राति आठ नौ बजेतिर मातृकाजीको फोन आयो, ‘सरको अवस्था गम्भीर छ’ तर फेरि अवस्थामा सुधार आयो । 
शनिबार राति खाना खाँदै थियौँ ‘म्याडमको फोन आयो, ‘सरको अवस्था धेरै सुधार भएजस्तो छ । अब त हप्ता दिनमा डिस्चार्ज गर्छ होला । सरलाई धेरै–धेरै धन्यवाद छ । सरहरूको सहयोगले सरलाई राम्रोे भयो ...।’ म्याडमको कुराले घरका हामी सबै खुसी भयौँ । हाम्रा आँखामा औसत कदका मृदुभाषी खरेलसर झुल्किए पहिले झैँ, उही खरेलसर । बैंठकको मेचमा बसेर घन्टौँ बात मारिरहने खरेलसर । राति तीन बजेतिर फोन आयो, झस्केँ, राति आउने फोनले प्रायशः झस्काउँछ नै । मातृकाजीको फोन रहेछ, ‘सर २ः३० मा बित्नुभयो ।’
‘तपाईं कहाँ ?’
‘घरैमा । छोरीहरूलाई लिएर त्यतै जाँदै छु ।’
एकछिनपछि भतिजीको फोन आयो, ‘बुबा बित्नुभयो । साथीहरूलाई खबर गरिदिनुस् अङ्कल ।’
एकछिनपछि भतिजा डा. युवराज खरेलको फोन आयो, ‘अङ्कल बित्नुभयो । प्राध्यापक साथीहरू र पार्टीका साथीहरूलाई खबर गरिदिनुहोला ।’ त्यसपछि बाँकी रात छटपटीमै बित्यो । राति त्यसबेला कसैलाई खबर गरिनँ । 
बिहान सखारै उठेर प्रातः कर्मबाट निवृत्त भई सम्झेका र सम्पर्क भएका साथीहरूलाई फोन गरेँ, कतिपयले थाहा पाइसक्नुभएको रहेछ भने कतिपयलाई पहिलो सन्देश नै भएछ ।
क्याम्पस पुगेर टिचिङ पुग्दा त धेरै साथीहरू जम्मा भइसक्नुभएको रहेछ । नेटीभीका टङ्क उप्रेतीलाई त्यहीँबाट फोन गरेँ, ‘रुद्र सर बित्नुभयो, सानो न्युज हालिदिनुहोला ।’

आर्यघाटमा पार्टीका साथीहरू श्रद्धाञ्जलीको कार्यक्रम बनाउँदै थिए । डा. ओम गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयोे । त्रिविका उपकुलपतिदेखि त्रिविप्रासं.का सभापति शिवमुनकर्मी, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका डा. कुलप्रसाद कोइराला, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन अध्यक्ष विजय सिलवाल, प्रलेसका तथा पुसासका अध्यक्ष निनु चापागाईं, हरिगोविन्द लुइँटेल पार्टीका तर्फबाट सीताराम तामाङलगायतका साथीहरूले अन्तिम श्रद्धाञ्जली दिनुभयो । अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पुराना मित्रहरू साधाकृष्ण मैनाली र सी.पी. मैनालीदेखि नेकपा एकताकेन्द्रका महासचिव प्रकाशलगायत माओवादीका किरणहरूको पनि उपस्थित थियो उनको शवलाई पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरियो । कान्छी छोरी दीक्षा र भतिज (साहित्यकार) पुन्यप्रसाद खरेलले दागबत्ती दिए । २५० भन्दा बढी साथीहरू शुभेच्छुकहरू जसमा वरिष्ठ प्राध्यापकहरू, वरिष्ठ साहित्यकारहरू, वरिष्ठ राजनीतिज्ञहरू पनि समाविष्ट थिए, ले उनलाई आर्यघाटमा अन्तिम बिदाइ गरे । 

रुद्र खरेल अब रहेनन् । २०६५ भदौ ८ आइतबार २ः३० बजे बिहान त्रिवि शिक्षण अस्पतालको न्यूरोवार्डमा अस्पतालस्थ भएको ७२औँ दिनमा देहत्याग गरे । बित्नुपूर्वको अघिल्लो हप्तामा उनको रोग ‘मल्टिपल माइलोमा’ (एक किसिमको रक्त क्यान्सर) ठहर गरेका थिए चिकित्सकहरूले । रीढको हाड खिइनु र मल्टिपल माइलोमाको अन्तरसम्बन्धबारे हाम्रा चिकित्सक शोधार्थीहरूको ध्यान पुगेनपुगेको के हो कुन्नि तर साहित्यकार समाजसेवी जगदीश घिमिरेको रोगाक्रमण पनि रीढकै हाड खिइएकोबाट अनुसान्धान हुँदै ‘माइलोमा’को ठहरमा पुगेको हो क्यारे ! जे होस्, हाम्रा साथी कलम बोकेका जोधाहा व्यङ्ग्यकार रुद्र खरेल हामी माझ रहेनन् तर उनका धारिला घोचिला व्यङ्ग्य कृतिहरू ‘तपाईको नाम के हो ? (२०४९), तोरीलाहुरे चोकमा एकछिन (२०५२), बिर्सिस्यो कि ? (२०५७), आषाढस्य प्रथम दिवसे (२०५९), तेस्रो आँखा (२०६१) र शब्दको भ्वाङ (२०६४) आदि मार्फत हामीमाझ रहिरहनेछन् । ‘मान्छे त एकछिन मर्दछ आखिर, विचार मर्दैन... ’ गीतको पङ्क्ति मेरो मानसमा झङ्कृत भइरहेछ । विचारप्रतिको हाम्रो अविचल निष्ठा र निरन्तर सक्रियता नै रुद्र खरेलप्रतिको साँचो श्रद्धा हुनेछ । अस्तु ।

000 

---------------------------------------------------------------

शनिश्चरेदेखि आर्यघाटसम्म
-राम विनय

टेलिफोनको घन्टी

अँध्यारो रातलाई चिरेर उज्यालो बिहान चलमलाउँदै गर्दा घोर निद्रामा परेका मानिसहरू बिउँझन् थालेछन् । म पनि भरखरै बिउँझेर उठ्न के लागेको थिएँ । टेलिफोनको घन्टी बज्यो । यति बिहान बजेको फोनको घन्टी अवश्य पनि सुखद नहुन सक्छ । त्रासदीपूर्ण हुन सक्छ । यस्तो बिहानको फोनले यस्तै महसुस गराएको छ । बिस्तारै फोन समाएर उठाएँ । दुःखद् खबरको फोन नै रहेछ । मातृका पोखरेलजीको स्वर चिने । ‘आज बिहान २ः३५ बजे साहित्यकार रुद्र खरेलको निधन भयो ।’ ‘उहाँ मलाई खबर गर्दै हुनुहुन्थ्यो । यो खबर थियो– ०६५ भदौ ८ गते आइतबार बिहानको । हिजो मात्रै अर्थात् भदौ ७ गते साहित्य सन्ध्याको वार्षिक कार्यक्रम भएको थियो । जनगायक रामकृष्ण दुलाललाई पुरस्कार तथा सम्मानपत्र अपर्ण कार्यक्रम । सधैं साहित्य सन्ध्यामा उपस्थित हुने रुद्र खरेल त्यतिवेला बिरामीको कारणले उपस्थित हुन सक्नुभएन । त्यसैले हामीले त्यस कार्यक्रममा उहाँको चर्चा गरेका थियौँ । यति छिट्टै उहाँ जानुहोलाजस्तो लाग्दैनथ्यो । र जानुभयो । ‘मातृकाजी हुन्छ म पनि आउँछु’ भनेर मैले फोन राखें ।

मृत्युको क्यु 
केही समयपछि अरू साथीहरू साथ टिचिङ हस्पिटल पुग्यौँ । त्यहाँबाट धेरै साथीहरू आर्यघाट लाग्ने क्रम सुरु भयो । साथी वासु गिरीसित आर्यघाट पुगेर शोक कार्यक्रममा सामेल भयौँ । रुद्र खरेलाई अन्तिम बिदाइ गर्न । यो त्यही आर्यघाट हो, जहाँबाट कतिपय साथीहरूलाई, नातेदारहरूलाई बिदाइ गरियो । हामीमध्ये कतिपय ढिला वा चाँडो त्यही बाटो जानैपर्छ, जाँदै छौँ । त्यसैले लाग्छ– ‘मानांै हामी सबै त्यही अन्तिम दिन मृत्युको बाटोमा क्यु (लाइन) मा उभिरहेका छौं । आज रुद्रको पालो परेछ ।’ यो म किन पनि भनिरहेको छु भने कलाकार साहित्यकार कुलमान सिंहलाई अन्तिम बिदाइ गर्ने समय रुद्रजी हामी माझ हुनुहुन्थ्यो । त्यतिवेला उहाँले केही साथीहरूलाई नयाँ साथीहरूसित परिचय गराउँदै हुनुहुन्थ्यो । त्यतिवेला उहाँले मेरो नाम पनि लिएको सम्झन्छु।  लाग्छ– ती परिचयका नामहरू क्युमा लाग्नेहरूका नाम हुन् । 

शोक श्रद्धाञ्जली सभा
रुद्र खरेलको अन्तिम बिदाइको बेलामा समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम पनि आर्यघाटमा भयो । त्यस कार्यक्रममा उहाँ सम्बद्ध पार्टीका नेताहरू, अन्य वामपार्टीका नेताहरू, उहाँ सम्बद्ध प्राध्यापक सङ्घका व्यक्तित्वहरूबाट र साहित्यिक संस्थाहरू–प्रगतिशील लेखक सङ्घ, साहित्य सन्ध्या, नागार्जुन साहित्य प्रतिष्ठान, प्रतिभा प्रवाह, अभ्युस्थान महिला साहित्य प्रतिष्ठान आदिबाट शोक श्रद्धाञ्जलीका शब्दसहित उहाँलाई भावपूर्ण बिदाइ गरियो । बागमती नदी एकनासले बगिरह्यो । हामी उहाँको मृत्युशोकमा डुबिरहेका थियौँ । उहाँकै चर्चा गरिरहेका थियौँ । उहाँलाई अन्तिम बिदाईको तयारी गरिरहेका थियौँ । 

फर्केर हेर्दा
मानिस बाँचुञ्जेल सायद उसको महत्व थाहा हुन्न । जब उसको अवसान हुन्छ– त्यतिवेला उसको विगतका क्रियाकलापहरूका स्मरण हुन थाल्छ । जब म आर्यघाटबाट फर्किदै थिएँ– मेरो मानसपटलमा स्मरणका लहरहरू छचल्किन थाले । सम्पूर्ण कुराहरू ताजा भएर मेरो अगाडि उभिए । 

निमन्त्रणा
०२५ सालताका तनहुँको साभुङ भगवतीपुरको व्यक्ति आफ्नो कामको सिलसिलामा विराटनगर मोरङमा पुगेको थिएँ । विराटनगर पोखरियामा नवीन साहित्यिक समितिले साहित्यिक कार्यक्रम सञ्चालन निकै सक्रियता देखाएको थियो– त्यसवेला । त्यहाँको कार्यक्रममा म पनि नियमित सामेल हुने गर्थें । साथीहरूसितको नियमित सम्पर्क र सम्बन्धले हामी निकै घनिष्ट बनेका थियौँ । दामोदर घिमिरे, राधेश्याम वली, मोहनचन्द्र अधिकारी, बलराम पोखरेल, नारायणप्रसाद आचार्य, कृष्ण पोखरेल, एकराज भट्टराईलगायत निकै साथीहरूसित त्यस समितिको कार्यक्रममा भेटघाट भइरहन्थ्यो । त्यसैको सम्पर्कले हुनुपर्छ– साथीहरूले मलाई साहित्य सम्मेलनमा पठाउने निर्णय गर्नुभयो । मलाई छनोट गर्नुभयो । निमन्त्रणापत्र उपलब्ध भयो । ०२५ साल फागुन ८ देखि १० सम्म झापाको शनिश्चरेमा हुने मेची अञ्चलस्तरीय साहित्य सम्मेलनमा कोसी अञ्चलको पर्यवेक्षक प्रतिनिधिको रूपमा भाग लिन जान मलाई छानिएको रहेछ । निमन्त्रणा सहर्ष स्वीकार गरी त्यसतर्फ जाने तयारी गर्न थालें । अन्य सहभागीहरू थिए– ज्ञान उदास, भीम उदास, विश्वमान राजभण्डारी पनि । त्यसवेला पूर्वपश्चिम राजमार्ग भर्खर–भर्खर निर्माण सुरु भइरहेको थियो । चलिसकेको थिएन । भारतको जोगबनी, कटिहार, नकलबन्दा भएर हामी भद्रपुर प्रवेश गरेका थियौँ– मेची पार गरेर । त्यसपछि हामी शनिश्चरे पुग्यौँ । तीन दिनसम्म भएको त्यस सम्मेलनमा प्रगतिशील साहित्यमा महŒवपूर्ण र गौरवमय क्षणको रूपमा मलाई अहिले पनि सम्झना रहन्छ । वास्तवमा यो सम्मेलन प्रगतिशील साहित्यमा महŒवपूर्ण योगदान दिन सफल रहेको विश्वास गरिन्छ पनि । 

आयोजक
त्यस सम्मेलनको आयोजकहरूमा रुद्र खरेल, गंगा उप्रेती, सूर्य कन्दङ्वा, द्रोणाचार्य क्षेत्री, रामनाथ दाहाल र सचिवमा हुनुहन्थ्यो जयप्रकाश ढकाल । रुद्र खरेलसित मेरो पहिलो भेट त्यसै सम्मेलनमा भयो । त्यो भेटबाट भएको हाम्रो मित्रता अन्तसम्म कायम रह्यो । 

कविगोष्ठी
०२५ साल फागुन ९ गते साँझ ७ः०० बजे प्रा. रामेश्वर अधिकारीको सभापतित्वमा कवि गोष्ठी प्रारम्भ भयो । त्यस गोष्ठीमा व्यापक जनपक्षीय प्रगतिशील कविताहरू पाठ गरिएका थिए । त्यतिबेला होचो–होचो कदको दौरा सुरुवाल र ढाका टोपी लगाएका रुद्र खरेल कविता पाठ गरिरहेको क्षण सम्झनाको घेराभित्र मात्र सीमित भएको छ अहिले । 
उहाँसित पछि काठमाडौँमा बेला–बेलामा भेट हुँदा उहाँको त्यसवेलाको क्षण सम्झेर म उहाँसित कुरा गर्थें । उहाँ मुस्कानका साथ भन्नुहुन्थ्यो, ‘तपाईंलाई त्यसबेलाको कुरा ताजै रहेछ ।’
त्यस कवि गोष्ठीमा महानन्द सापकोटा, गोविन्द भट्ट, नरेश शाक्य, (तेराख) तेजराज खतिवडालगायत धेरै कविले कविता पाठ गरेका थिए । त्यस अवसरमा मैले पनि मेरो कविता ‘सङ्घर्षमा व्यस्त बूढो भियतनामीको व्यथा : एक अभिव्यक्ति’ सुनाएको थिएँ । 

चुरोटको धुवाँ
गोविन्द भट्ट र महानन्द सापकोटा एउटै कोठामा बस्नुभएको थियो । हामीहरू उहाँहरूलाई भेट्न उहाँहरूको कोठामा गयौँ । त्यतिवेला भट्टजी खुब चुरोट पिउनुहुन्थ्यो । उहाँले कोठामा चुरोटको धुवाँ उडाउनुभयो । चुरोट नपिउने महानन्द सापकोटालाई खपिनसक्नु भएछ । महानन्द धुवाँ उडेकोमा विरोध गर्दै कराउनुभयो– ‘ल, ल, गुरु ! मैले चुरोट निभाएँ’ भने चुरोट बन्द गर्नुहुन्थ्यो । त्यसपछि हामीले कुरा गर्न थालेका थियौँ । धुम्रपान नगर्नका लागि महानन्द सापकोटाको कडा अनुशासनको व्यवहार म अझ पनि झल्झली सम्झन्छु । 

संस्मरण सन्दर्भ
मलाई केही वर्ष अगाडिदेखि संस्मरण लेख्न मन लाग्यो । लेख्न थालें । साथीहरूले थप उत्साह प्रदान गरेपछि म झन् उत्साहित भएँ । प्रकाशन हुन थाले– संस्मरणहरू । एकपटक रुद्र खरेलसित भेट भयो । यसबारे कुरा भयो । उहाँले भन्नुभयो– ‘होइन, यो संस्मरण भन्ने कुरा जीवनको उत्तराद्र्धमा लेख्ने होइन र भन्या । तपाईंले त अहिले नै लेख्न थाल्नुभयो । पहिले अरू विधामा हात हालेर पछि यसमा हात हालेको भए कस्तो हुन्थ्यो होला ?’

मैले भनेको थिएँ– ‘मलाई आफूलाई लागेको कुरा पछि पर्खनुभन्दा अहिले नै व्यक्त गर्न मन लाग्यो । संस्मरणलाई रोक्न सकिनँ ।’ उहाँको सुझाव अन्य विधामा कलम चलाउने थियो । यसबारेमा हामी बेला–बेलामा चर्चा गरिरहन्थ्यौँ । उहाँले व्यग्य निबन्धमा आफूलाई जसरी स्थापित गर्नुभयो, त्यस्तो सहभागीको रूपमा सायद उहाँले त्यस्तो रूपमा देख्न चाहनुहुन्थ्यो । मैले उहाँको आशयअनुरूप आफूलाई प्रस्तुत गर्न सकेको छैन । दुःखको कुरा– उहाँको आग्रह पूरा गर्न नसकेकोमा मलाई दुःख लागिरहन्छ । र पनि म उहाँको निबन्ध विधाको पाठकसम्म हुन खोज्छु । 

रचना शृङ्खला
रुद्र खरेल व्यङ्ग्यात्मक निबन्ध लेखनमा एक स्थापित लेखक हुन सफल हुनुभएको छ । निबन्ध सङ्ग्रहहरू प्रकाशन भएकाहरू पठनीय छन् । तपाईंको नाम के हो ? (२०४९), तोरीलाहुरे चोकमा एकदिन (२०५२), बिर्सियो कि (२०६१) र शब्दको भ्वाङ (२०६४) ले उहाँ प्रतिभाको परिचयका लागि सशक्त प्रमाण बनेको छ । त्यसैमा उहाँ बाँच्नुभएको छ । 
‘खरेल आफैं प्रगतिवादी लेखक हुनुहुन्छ र आफूलाई निबन्धभित्रै केन्द्रित गर्नुभएको हो । यस दृष्टिले हेर्दा जीवनमा, देशमा, राजनीतिक सबै क्षेत्रमा जुन विकृति र विचलनहरूलाई त्यति मात्र नभईकन हामी जुन किसिमले सङ्कट भोगिरहेका छौँ, ती असह्य पीडा र दुर्घटनाहरूलाई उहाँले जुन किसिमले आफ्नो निबन्धमा राख्नुभएको छ, त्यो प्रस्तुति मलाई लाग्छ रुद्र खरेल हो’ भन्ने कृष्णचन्द्र सिंहको विश्लेषण यथार्थपरक हो र यसमा सहमति जनाउन सकिन्छ भन्ने लाग्छ । उहाँले जति निबन्ध लेख्नुभयो– सफलताका साथ अग्रसर हुनुभयो । जीवनको उत्तराद्र्धमा संस्मरण लेख्न उहाँको आसय÷सोचले समय पाउन सकेन । दुःखको कुरा भन्नुपर्छ । 

विचार/विमर्श
कुनै कुनै पत्रपत्रिकामा मेरो रचना प्रकाशन भएको थाहा पाएर उहाँले पढ्नुहुँदोरहेछ । पढेपछि प्रतिक्रिया र सुझाव दिनुहुन्थ्यो । मेरो रचनालाई ध्यानमा राखेर पढिदिनुभएकोमा धन्यवाद दिन्थें– उहाँको सल्लाह र सुझावप्रति । आफंैलाई पुनरावलोकन गर्न उहाँको सल्लाह, सुझावले मलाई सघाउँथ्यो । मैले पनि उहाँको रचना चासो राखेर पढी प्रतिक्रिया दिँदा उहाँ खुसी हुनुहुन्थ्यो– हस्ताक्षरसहित– उपहार । आज ती पुस्तकहरूमा उहाँको हस्ताक्षर इतिहास भएर रहेको छ । 

साहित्य सन्ध्यामा
प्रगतिशील साहित्यको अभियानमा लागेको साहित्यसन्ध्याको प्रत्येक महिनाको पहिलो शनिबार हुने प्रायःजसो कार्यक्रममा रुद्र खरेलको गरिमामय उपस्थिति हुने गर्दथ्यो । साहित्य सन्ध्यामा पाठ गरिएका रचनाहरू उहाँले बेला–बेलामा समीक्षा, टिप्पणी गर्ने गर्नुहुन्थ्यो । यस प्रकारको समीक्षा÷टिपप्णीबाट प्रगतिशील बाटोमा लागिनसकेका नवयुवा स्रष्टाहरूलाई मार्गदर्शन गर्ने गर्दथ्यो । कवितामा वा अन्य कुनै रचनामा प्रयोग गरिने मिथकहरूको बारेमा त्यसको इतिहास, पृष्ठभूमिको बारेमा स्पष्ट नभईकन प्रयोग नगर्नका लागि उहाँको आग्रह हुन्थ्यो । त्यसैगरी लेखन शैली, अन्तर्वस्तु, रूप पक्ष, कला र विचार पक्षको संयोजन ठीक ढङ्गले गर्नुपर्ने उहाँको जोड रहने गर्दथ्यो । 

यस अर्थमा साहित्य सन्ध्यालाई साह्रै माया गरेर यसलाई निरन्तर प्रगतितिर अग्रसर गराउन प्रेरणा दिने धेरै स्रष्टाहरू हुनुहुन्छ । त्यसमा पनि दिवङ्गत भइसकेका स्रष्टाहरू खास गरेर युद्धप्रसाद मिश्र, पारितजात र पछिल्लो चरणमा ऋषिराज नेउपाने, जनकप्रसाद हुमागाई र रुद्र खरेलको योगदानलाई साहित्य सन्ध्याले सधंै सम्झिरहने छ । प्रेरणाको स्रोत बनिरहने छन्– उहाँहरूको दृष्टिकोण र विचारहरू । 

बिर्सन नसकिने क्षणहरू
साहित्य सन्ध्याको नियमित कार्यक्रमहरूमा कहिलेकाहीँ खबर गर्न नसकिएको भए तापनि जनकप्रसाद हुमागार्इं र रुद्र खरेल त्यस्ता व्यक्तित्वहरू हुनुहुन्थ्यो, जसले साहित्य सन्ध्याको कार्यक्रमलाई भरसक छुटाउन नचाहनेमा पर्नुहुन्थ्यो । उहाँहरू दुवैजना अन्यत्र कतै कार्यक्रममा जानुभएको हुनुहुन्थ्यो होला, हतार–हतार गरेर भए पनि साहित्य सन्ध्याको कार्यक्रममा आइपुग्नुहुन्थ्यो । हामी उहाँहरूलाई स्वागत गथ्यौँ । कार्यक्रम सञ्चालन गथ्र्यौं हामी गौरव महसुुस गथ्र्यौं । 

ऋषिराज नेउपाने स्वास्थ्यको कारणले पछिल्लो चरणमा कार्यक्रममा उपस्थित हुन सक्नुहुन्नथ्यो र पनि वेलावेलामा फोन गरेर साहित्य सन्ध्याको कार्यक्रमको बारेमा चासो राख्नुहुन्थ्यो । सोधखोज गर्नुहुन्थ्यो । सल्लाह–सुझाव दिनुहुन्थ्यो । उहाँको पुष्पाञ्जली–महाकाव्यको चर्चा एकपटक साहित्य सन्ध्यामा भएको थियो । सो अवसरमा उहाँ उपस्थित हुन नसक्नु भए पनि शुभकामना सन्देश दिनुभएको थियो– साहित्य सन्ध्यालाई । उहाँको एउटा कविता– ‘प्रतिगमनविरोधी कविता’

कालो हात उठाएर 
चुँड्न इन्साफका कला 
खोजेको उसले होला 
गिँड्न गर्धन औ गला 
चिमोटी चेतनालाई 
ऊ मात्रै चल्मलाउन 
चाहेको उसले होला 
झ्याप्प बत्ती निभाउन 
तर, 
कसैले पनि सक्तैन 
अन्धकार टिकाउन 
उज्यालो रोक्न खोज्नेले
पर्छ मुन्टो झुकाउन 
न्यायको मुटु कोपर्ने 
जो भए पनि ढल्दछ 
घाम जून रहुञ्जेल 
मान्छे, मुलुक अड्दछ । 

निकै चर्चित थियो । वाचन गरेर साहित्य सन्ध्याको उपाध्यक्ष रमेश पोखरेलले कार्यक्रमको प्रारम्भ गर्नुहुन्थ्यो । यसले कार्यक्रमको ओजस्विपन बढाउन मद्दत गर्दथ्यो । त्यसैगरी रुद्र खरेलले हमेसा साहित्य सन्ध्यालाई के–कसरी बलियो बनाएर अगाडि बढाउन सकिन्छ, के–कस्तो सहयोग आवश्यक छ भनेर सोधखोज र चासो राख्नुहुन्थ्यो । असाद्धे माया गरेर साहित्य सन्ध्यासित घनिष्टता राख्नुहुन्थ्यो । यी बिर्सन नसकिने क्षणहरू साहित्य सन्ध्याको इतिहासमा प्रेरणाको रूपमा रहिरहनेछन् । 

ज्येष्ठ स्रष्टा सम्मान
०६४ साल जेठ ५ गते शनिबार साहित्य सन्ध्याले आफ्नो २५ वर्ष पुगेको (रजतजयन्ती) को उपलक्ष्यमा ६० वर्ष उमेर नाघेका जेष्ठ स्रष्टा÷कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमका लागि सांस्कृतिक संस्थानबाट सहयोग प्राप्त भएको थियो । त्यसमा खासगरी अध्यक्ष जे.बी. टुहुरे र कार्यकारी प्रमुख लक्ष्मण रायमाझीको सक्रियता र सौजन्यतामा नेपाल सांस्कृतिक संस्थानको योगदान रहेको थियो । त्यस कार्यक्रममा सामेल हुनका लागि हामीले करिब ५० जना लेखक÷कलाकारलाई आमन्त्रण गरेका थियौँ । सो मध्ये ३२ जना उपस्थित हुनुभयो । उपस्थित हुनेमा रुद्र खरेल पनि पर्नुहुन्छ । साठी वर्ष नाघ्नेमा सायद रुद्र खरेल सबभन्दा कान्छो स्रष्टाजस्तो लाग्छ । अहिले लाग्छ– हामीले उहाँलाई समयमा नै सम्मान गरेका रहेछौँ । 

गजब गर्नुभयो
प्रगतिशील लेखक सङ्घको उपाध्यक्ष हुँदा रुद्र खरेल निकै सक्रिय भएर कार्यक्षेत्रमा उत्रनुहुन्थ्यो । ०६१ साल मंसिर महिनाको पहिलो शनिबार ल क्याम्पस प्रदर्शनी मार्गमा प्रगतिशील लेखक सङ्घ र साहित्य सन्ध्याको संयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय भयो । त्यस कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र अमेरिकी साहित्यकार हावर्ड फास्टको योगदानको बारेमा चर्चा गरिएको थियो । प्रलेस अध्यक्ष आनन्ददेव भट्टको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा स्रष्टाहरूले आ–आफ्नो धारणा राख्नुको साथै कविहरूले कविता पाठ गर्नुभएको थियो । 

यस कार्यक्रमलाई सफल पार्नका लागि प्रलेस र साहित्य सन्ध्याको तर्फबाट कामको जिम्मेबारी बाँडफाँड गरिएको थियो । कार्यक्रम सञ्चालन हुने दिन कार्यक्रम सञ्चालन हुन एक घन्टा बाँकी थियो । रुद्र खरेलले मलाई बोलाउनुभयो र भन्नुभयो– ‘राम विनयजी मलाई तपाईंसित एकछिन बसेर कुरा गर्न मन लागेको छ । एकछिन सँगै बसौँ न कतै बाहिर गएर ।’ हामी दुवै चिया पसलमा गएर बस्यौँ । उहाँले चिया मगाउनुभयो । मैले भने– ‘रुद्रजी, कार्यक्रम सुरु हुनेवेला भयो हामी यहाँ किन ! तपाईंले के भन्न लाग्नुभएको हो, लौ सुरु गरौँ ।’

चिया पिउँदै हामीले कुरा सुरु ग¥यौँ । उहाँले मुख खोल्नुभयो– ‘कार्यक्रम त समयमा नै भइहाल्छ नि । एकछिन मलाई तपाईंसित, किन हो किन, सँगै बसेर कुरा गर्न मन लाग्यो ।’

‘हुन्छ नि त हामी कुरा गरौँ’ – मैले उहाँको मनको कुरा बुझ्न खोजें । – तपार्इंले त गजब गर्नुभयो । आजको कार्यक्रमको लागि मैले जहाँ–जहाँ स्रष्टाहरू सहभागीहरूलाई फोन गरेर कार्यक्रममा उपस्थित हुन आमन्त्रणको फोन गरें । ती सबैले भने– ‘खबर पाइसकियो । राम विनयले खबर गरिसक्यो ।’ मैले ढिलो खबर गरेकोले पनि होला यस्तो भएको । तपाईंको अग्रसरताले मलाई तपाईंप्रति एक प्रकारको धारणा बनेको छ, आत्मीयताको धारणा ।’ उहाँको उक्त कुरा सुन्दा मलाई त्यसवेला सामान्यजस्तो लागेको थियो । अहिले लाग्छ– त्यो त महŒवपूर्ण क्षण रहेछ । उहाँको मनको कुरा सुन्ने । एउटै बाटोमा हिँड्ने यात्रीहरूको बीचमा आत्मीयता, ममता भएपछि त्यो सम्बन्ध वर्गीय सम्बन्धको रूपमा गहकिलो हुने रहेछ । यो नातावाद, कृपावादको सम्बन्ध नभएर निस्वार्थ र इमान्दारीपनको आत्मीय सम्बन्ध हुने रहेछ । 

आस्थाको वृद्धि हुने रहेछ । भेटेर मनको कुरा व्यक्त गरूँजस्तो लाग्दोरहेछ– खासगरी इमानदारीपूर्ण तरिकाले निरन्तर यात्रामा लाग्ने आस्थावान्हरूका बीचमा । 

स्रष्टा चयन कार्य
समान दृष्टिकोण, समान सोच र समान व्यवहार भयो भने मानसिक रूपमा एकताबद्धता हुने रहेछ र कार्य फत्ते गर्न सुगम हुने रहेछ । युद्धप्रसाद मिश्र प्रतिष्ठानले पुरस्कार सम्मान प्रदान गर्नका लागि समिति चयन गरेको थियो– सिफारिसका लागि रुद्र खरेल, हेमनाथ पौडेल र राम विनय रहेको समिति । हाम्रो समितिको बैठक बस्यो । हाम्रो समान दृष्टिकोण र सोचको कारणले निर्णयमा पुग्न हामीलाई समय लागेन । पुरस्कृत व्यक्तित्व सिफारिस गर्नका लागि हामीले सजिलै निर्णय ग¥यौं । 

समय टक्क अडिएकोजस्तो
रुद्र खरेलको सक्रिय जीवनमा रोगको आक्रमणले आक्रान्त पा¥यो । हस्पिटलबाट अब म ठीक भएँ भनेर घर फर्केका रुद्र फेरि हस्पिटलमा पुग्नुपरेछ– रोगको भीषण आक्रमणमा परी । अमर गिरीको खबर पाएर ०६५ जेठ ४ गते बुधबार सल्लाहअनुसार घनघोर वर्षालाई छिचोलेर टिचिङ हस्पिटलको मूलद्वारमा पुगियो । अमरजीसित भेट भयो । त्यसपछि त्यहाँ आइपुग्नुभयो– निनु चापागाईंजी र मातृका पोखरेलजी । हामी रुद्रलाई राखिएको ठाउँमा पुग्यौँ । बेहोस अवस्थामा रहेको रुद्र खरेललाई देख्दा असाद्धे चिन्ता लाग्यो । ‘गत वर्ष जेठ ५ मा उहाँलाई साहित्य सन्ध्याले ज्येष्ठ स्रष्टा भनेर सम्मान गरेको थियो । आज यो के आवस्था आइप¥यो ?’ मनमनै प्रश्न गरें आफैँलाई । बोलिचाली छैन, केवल बेहोस अनुहार– अक्सिजन मास्क रुद्र खरेलसित मौन वार्ता मात्र भयो । त्यतिबेलासम्ममा रोगको पहिचान हुन नसक्नु दुःखदायी कुरा थियो । 

हामी हस्पिटलबाट फर्कियौँ । निनुजी र म एउटै बसमा फर्केका थियौँ । मैले त्यस बसमा÷वर्षौं अगाडिदेखि जोगाएर राखिएको प्रयोग गरिएको छाता हराउनु निश्चय पनि राम्रो लक्षण थिएन । कताकता लागिरह्यो– कतै हाम्रा साथी पनि हामीबाट हराउने हुन् कि ? समय रोकिने हो कि ? त्यो समय रोकिएको अर्थात् रुद्र खरेल सक्रिय जीवन समय टक्क अड्किएको जस्तो लाग्यो– जब उहाँको निधनको खबर प्राप्त भयो । रुद्र खरेल आफ्नो ज्यानको वास्तै नराखी जुन सक्रियताका साथ जनताको सेवामा खास गरेर साहित्यिक सेवामा लाग्नुभएको थियो– त्यो क्रम रोकिएजस्तो लाग्यो । 

मानिस बाँचुञ्जेल उसका सकारात्मक र नकारात्मक कुराहरू हुन्छन् । यो प्राकृतिक नियम हो । उहाँमा पनि यो नियम अवश्य लागू हुन्छ । तर जब मानिसको निधन हुन्छ । उसका सकारात्मक कुरा मात्र स्मरणमा हुन्छ । त्यसैले कति प्रतिशत सकारात्मक र कति प्रतिशत नकारात्मक थिए भन्ने कुरा अलग विश्लेषणका विषय हुन् । 

अन्तमा
मलाई भने उहाँको खबरदारी गर्दै सचेत पार्ने तरिकाको सम्झना भइरहन्छ । आफ्नो बाटोबाट विचलित हुन नहुने खबरदारी एकजना विद्वान्को भनाइ स्मरणीय छ– ‘मानिस आफ्नो जीवनमा कत्तिको सफल छ वा जनताको मन जित्न सकेको छ भन्ने कुरा उसको मृत्युपछिको मलामीको सङ्ख्या र आकारले प्रभावित गर्दछ ।’ रुद्रको हकमा पनि यो लागू भयो । जनताको मन जित्ने मानिस नै सफल÷विजयी मानिस हो भन्ने भनाइ उपयुक्त लाग्छ । यो सत्य र न्यायको कुरा पनि हो । रुद्र खरेलमा यो लागू हुन्छ र भयो पनि । मलाई यस्तै लाग्यो । शनिश्चरे झापादेखि अर्यघाटसम्मको रुद्र खरेलसितको सामीप्यले महसुस गराएको कुराले यस्तै लाग्यो । चिरशान्ति वा चिरनिद्रामा गइसकेका रुद्र खरेलप्रतिको मेरो हार्दिक श्रद्धाञ्जली ।

000 

-------------------------------------------------------------------------------------

बिलम्ब भयो पत्र लेख्न
–नर्मदेश्वरी सत्याल

श्रद्धेय पथप्रदर्शक
रुद्र खरेलज्यू,
गणतान्त्रिक अभिवादन !

तपाईं पक्कै पनि शारीरिक रूपमा स्वस्थ हुनुहुन्न तर पनि वैचारिक र व्यवहारिक शुद्धताका कारण स्वस्थ हुनुहुन्छ भन्ने विश्वासका साथ यो पत्र लेखिरहेछु । यहाँ मलगायत मेरा साथीहरू पनि त्यति स्वस्थ छैनौँ । कारण दिनपरदिन बढ्दै गएको नेतृत्व तहको वैचारिक द्वन्द्वका कारण हामीमा मानसिक तनाव बढ्दो छ । हिजो तपाईंले भोगेको समय पनि तनावमुक्त त कहाँ थियो र । जीवन हो, जति टाढा उति गाढा भनेभैmँ हिजो तपाईंसँग उत्साह र उमङ्गका साथ बिताएका ती उद्देश्यमूलक क्षणहरू म आज पलपल सम्झिरहेछु । मैले तपाईंसँग भन्नैपर्दा एकदशक पनि बिताउन पाइनँ । बल्ल पचासको दशकतिर तपाईंको नाम र कामबारे केही सुन्ने अवसर पाएकी हुँ । त्यसपछि मैले तपाईंका विचार र व्यवहारको अवलोकन गर्न थालेँ । तपाईं सरल, स्वभाव र वैचारिकताका प्रतिमूर्ति हुनुहुँदोरहेछ भन्ने कुरा पत्ता लगाएँ । जब म तपाईंप्रति विश्वस्त भएँ, तबमात्र नजिकिन थालेकी हुँ । म तपाईंलाई अन्य कार्यक्रमलगायत साहित्य–सन्ध्याका कार्यक्रमहरूमा खुब नियाल्ने गर्थेँ । तपाईंसँगको भेटघाटको थोरै समय पनि ऊर्जावान् हुन्छ भन्ने कुरामा म यति विश्वस्त भएँ कि कहीँ कतै जम्काभेट भयो भने पर्खिएर भए पनि कुरा गर्दै बाटो काट्न उत्साही हुन्थेँ । मैले तपाईंसँगको भेटघाटको समय नयाँ अनुभव बटुल्ने माध्यम बनेको महसुस गर्न थालेँ । तपाईंको अन्य क्षेत्रमा खै कस्तो प्रभाव रहेको छ, त्यति विचार्न भ्याएकी छैन तर लैङ्गिक समताका क्षेत्रमा र गणतान्त्रिक रूपान्तरणमा उल्लेखनीय भूमिकाको नतिजा कहिल्यै भुल्न सक्तिनँ ।

तपाईंसँगको छोटो सामान्य भेटघाटले पनि मेरो जीवनमा प्रशस्त ऊर्जा थपियो । ‘नर्मदेश्वरीजी † अहिले तपाईं के पढ्दै हुनुहुन्छ ? लेखन कहाँ पुग्यो ? समय मिलाएर कहिलेकाहीँ आउनुहोस् न हाम्रा घरतिर पनि ? यसो लेखनबारे कुराकानी गरौँला । साहित्य क्षेत्रकै पनि कतिपय हाम्रा साथीहरू एकै भावनाको हुनुहुन्न । प्रगतिवादी साहित्य लेखनका लागि यथार्थता अपरिहार्य हुन्छ’ भन्दै मिजासिला पारामा कुराकानी गरेको देखेर मलाई तपाईंका कृतिहरू पढ्ने अभिलाषा पलाएको हो । मलाई विशेष निबन्ध मनपर्ने हुँदा तपाईंका हाँस्यव्यङ्ग्य केही निबन्धहरू पढेँ पनि । सूक्ष्मताभित्रको गहनाले मलाई आकर्षण त ग¥यो तर म वैदेशिक प्रसङ्ग उति मेसो पाउँदिन थिएँ ।

म स्वदेशी प्रसङ्ग उठाउँदै संस्मरणात्मक निबन्ध लेख्न सिक्दै गरेकी पछौटे महिला र तपाईं बौद्धिक परिपाक भएको पुरुषबीचको पठन र लेखनमा भिन्नता हुनु स्वाभाविक मान्नुपर्छ र मैले पनि मानेँ । म तपाईंसँग वैचारिक नाता लगाएर नजिकिँदै थिएँ । संयोगवश शुभचिन्तक साहित्यकार जीवेन्द्रदेव गिरीसँग मैले आफ्नो खस्राङखुस्रुङ निबन्ध लेखनबारे सुनाउने अवसर पाएँ । उहाँले ‘प्रकाशन गर्नुभए हुन्छ नि’ भन्नासाथ म पनि प्रकाशनतिर मोडिएँ । भूमिका लेखनबारे चर्चा हुँदा उहाँले दुई÷चार जनाको नाम दिनुभएथ्यो । जसमध्ये सरल स्वभाव, मिजासिलो पना र जिम्मेवारीबोधलाई आधार मानेर तपाईंको नाम चयन गरियो । म अघिपछि लोसे भए पनि त्यतिखेर भने निबन्ध प्रकाशन गर्ने हतारोमा उत्रिएँ । नभन्दै तपाईंसँग भूमिका लेखनका लागि आग्रह गरेँ । तपाईंले पनि मेरो इच्छा र आग्रहको कदर गर्दै एक साताभित्रमा लेखिसक्ने प्रतिबद्धता जाहेर गर्नुभएको देखेर म फुरुङ्ग भएकी थिएँ । तपाईंले उत्साह भर्दै घरमा बोलाउनुभएको हुँदा म पनि भोलिपल्टै श्रीमान् साथी लिएर तपाईंको बासस्थान पुगी निबन्धको पाण्डुलिपि थमाएँथेँ ।

हामी तपाईं र मातृकाजीसँग भेटघाट गरी साँझपख फर्कियौँ । फर्किँदा मैले जीवनसाथी डा. मदनप्रसाद सत्यालसमक्ष तपाईंबारे जाने–बुझेका कुरा सुनाउँदै बाटो काट्ने जमर्को गरेँ । उहाँ पनि तपाईंप्रति प्रभावित हुनुभएछ । कति व्यवहारिक हुनुहुँदोरहेछ भनी खुसी व्यक्त गरेको देखेर ममा उमङ्गको जालो फिँजियो । कस्तो अचम्म † मैले भूमिकाका लागि खैखबर गर्नुपर्नेमा स्वयम् तपाईंले विवेक सिर्जनशील प्रकाशन दाहालको दैलोमा पुगी टाइप गराइवरि प्रुफ हेरिसकेपछि जानकारी दिनुभएको गुण म बैगुनी बनेर बिर्सन सकुँला र † यो घटना तपाईंका लागि साधारण हुन सक्छ तर मेरा लागि असाधारण नमूना बनेर बसेको छ ।

खरेलजी † यो थर तपाईंको वंशजको परिचय हगि † म त झन् घिमिरेबाट सत्याल हुन पुगेकी बिना घरकी दोधारे । नेपाली समाजमा तपाईं हामीले मान्छे, थर होइन वंशाणुगत रहर हो या कर बोकेर गम्किनुपर्ने गजबको परिस्थिति पाएका छौँ । हैन त ?

ए † म त तपाईंसँगको वैचारिक घनिष्टतामा समानार्थी पो हुन पुगेँछु । स्वतःस्पूmर्त रूपमा लेखिन गएका ‘जी’लाई ‘ज्यू’ बनाउन खोजिन मैले । गुरुवर † म अरूलाई त भन्न सक्छु÷सक्तिनँ तर तपाईंको मन जितेर होला समानार्थी हुने रहर उब्जिएको । क्षमाप्रार्थी छु है ।

ममा तपाईंसँग निबन्ध लेखन र समीक्षा लेखनबारे चर्चा चलाउने रहर जागेको हो तर रहर कुण्ठा बनेर थुप्रियो । कारण उही न हो, नेपाली नारी । मैले मलाई नै भन्नुपर्छ, ‘म रहर लाग्दालाग्दै र क्षमता हुँदाहुँदै पनि काम र समयको ठहर गर्न नसक्ने लाचारी रहेछु । जीवन धान्ने व्यस्तताभित्र हराइरहेकी अधवैँसे पहाडी म, समयमै खुट्टा चाल्न सकेकी भए साहित्य फाँटमा केही गर्न सक्थेँ कि †’ समय निकालेर पछि भेटौँला र सिकौँला भन्दाभन्दै तपाईंलाई उम्काइयो । अहिले त म नतमस्तक बनेर टोलाइरहेछु ।

गुरुवर ! अकस्मात् तपाईं मृत्युशैøयामा पुग्नुभएछ । पछि पो मैले पत्रपत्रिकाका माध्यमबाट थाहा पाएँ । राजधानीजस्तो ठाउँमा पनि रोगको पहिचान हुन नसकी मूढो ढलेभैmँ ढलिरहनुपर्ने साहित्यकारहरूले गुहार मागिरहनुपर्ने । अचम्मित हुँदै म शिक्षण अस्पतालमा पुग्दा तपाईं मृत्युशैøयामा छट्पटाइरहनुभएको थियो । जब मैले तपाईंको शारीरिक व्यवस्था देखेँ तब सरकार, समाज र उपचारको जिम्मेवारी र पद्धतिबारे ध्यानाकर्षण हुँदा ममा दिक्दारीको भुँवरी उब्जियो । मसँग साथी चन्द्रा थानी हुनुहुन्थ्यो । तपाईंले हामी देख्नासाथ दर्द लुकाएभैmँ गरी हामीतिर ध्यान केन्द्रित गर्नुभएथ्यो । तपाईंमा बोली नभए पनि आँखा र मस्तिष्कले खुशी व्यक्त गरिरहेका थिए । त्यो उत्ताउलो चेहरा र हातखुट्टाको सुकाइले यो व्यक्त गरिरहेका थिए कि, यदि रोग निदान भयो र औषधी जुटाउन सकियो भने पुनः पथप्रदर्शक नियुक्त गर्न सकिनेछ ।

आशा निराशामा बदलियो । २०६५ भदौ ८ गते आइतबार जुन चिकित्साक्षेत्रमा चुनौती दिँदै नेपाली साहित्य क्षेत्रमा निर्दयी बनेर रह्यो । जीवनको अन्तिम घडीमा पत्ता लगाइएको रोगले मृत्यु शिवाय के नै निम्त्याउन सक्थ्यो र † तपाईंको हालत त्यस्तै भयो । अकस्मात् मृत्युको घटनापछि मेरो विचारले अर्कै मोड लियो । एउटा मिहिनेती प्रगतिवादी स्रष्टाले भोग्नुपरेको विवशताप्रति न चिकित्सक न सरकार नै जिम्मेवार रहे । भन्नैपर्ने हुन्छ– यदि साहित्यकारको ठाउँमा नेताजी हुनुहुन्थ्यो भने सरकार पनि जुर्मुराउँथ्यो अनि उपचार पद्धतिको टुङ्गो विदेशमा लाग्ने थियो ।

म तपाईंको जीवनी सम्झिएर अत्यन्त भावुक भएँ । ‘होनाहार एक निर्भिक जोसिलो, होसिलो साहित्यकार अकालमा फुत्कनु भनेको दुःखी जनताका लागि अपूरणीय क्षति हो ।’ फुत्केको माछो ठूलो भन्छन् नि † त्यस्तै भएको छ प्रगतिवादी साहित्यफाँटका साथीहरूलाई । जीवन पनि अनौठो रहेछ । खुट्टा दरिलो पार्नुपर्दोरहेछ । त्यो मृत्युको दिन मैले तपाईंको जीवित अवस्थाको आँट र दूरदर्शिता सम्झँदै आर्यघाटबाट तपाईंको भौतिक शरीर निर्दिष्ट समयभन्दा चाँडै उठाइएछ । म महाराजगन्जबाट फर्कने सोच गर्दै थिएँ तर साहित्यकार रामविनयको फोन सम्पर्कमा लास जल्न लागिसकेको खबरले विद्यालयतिर लाग्न बाध्य भएँ ।

त्यसपछि त झन् मलाई विगतले तान्यो । तपाईंद्वारा श्रद्धापूर्वक सुनिएका आफ्नै छोरीहरूका पढाइ र व्यवहारिकता, साहित्यले तान्न नसक्नुको विचित्रता र तपाईंको भित्री इच्छाले म वैयक्तिकताको भिन्नताबारे स्पष्ट भएकी थिएँ । तपाईंको विचारले घरैदेखि फक्रन पाएको भए नाताकुटुम्ब हुँदै नेपाली समाजको ढाँचा कस्तो हुन्थ्यो होला भन्ने लाग्यो । जीवित अवस्थाको तपाईंको अनुभव सम्झँदै मृत्युको पाँचौँ दिन प्रलेस र साहित्य सन्ध्याका केही साथीहरू तपाईंको बासस्थान पुगेका थियौँ । क्रियास्थलको प्रकृति र तपाईंकी जीवनसङ्गिनीका साथ दुई छोरीहरूको हविगत हेर्दा तपाईंको विचारमाथि कुठाराघात भएको देख्यौँ । मैले झलझल्ती तपाईंका विचार सम्झिएँ अनि कोराभित्रकी नीरालाई नियालेँ । बिचरा † उहाँ पनि तपाईंका भावनाको कदर गर्दै चाहेर पनि रूपान्तरण गर्न नसकिएकोमा खिन्न देखिनुहुन्थ्यो । हामी सुधा, गीता, चन्द्रा, सुशीलालगायतका साथीहरू क्रियासंस्कारका निम्ति छेरो उभ्याएको देखेर भावुक बन्यौँ र साङ्केतिक भाषामा पितृसत्ताको इतिहास केलाउने प्रयत्नमा जुट्यौँ पनि ।

श्रद्धेय गुरुवर † तपाईंका प्रतिक्षामा जीवनसँगिनी नीरा अनि दुई छोरीको चिन्ताजनक स्इिथतिले म मृतभन्दा जीवित जीवन केलाउन पुगेछ । फर्कँदा अरू साथीहरू पनि तपाईंकै पारिवारिक वृत्तचित्रमा केन्द्रित देखिनुहुन्थ्यो । म ती तीन जीवित अंश जुन नारी भएका कारण एकातिर गुडुल्किरहेका थिए । अर्कापट्टि पुरुषत्वको बोलवालाभित्र क्रियासंस्कार पाण्डित्याइँको हुँकार छोड्दै थियो । म त्यतैतिर मोडिएँ ।

तपाईंकै परिवारको यो द्विविधात्मक विचित्रताले म भित्रभित्रै कुँदिएकी छु । के समाज सत्यतायुक्त असल विचारलाई व्यक्तिसँगै मार्न तयार हुनुहुन्छ ? हुँदैन भने काल्पनिकतामा किन फसाइन्छ त अमूल्य जीवनलाई ? म अचम्मित छु । हर व्यक्तिले विचार र व्यवहारको तारतम्य मिलाउने सङ्कल्प गर्दैनौँ भने यो वैज्ञानिक युगमा सामाजिक रूपान्तरा भनी भट्याउँदै लिखित दस्तावेज देखाउन उत्कण्ठा पलाउनु बेकार हो । म त बुझाइ कम भए पनि सोचाई र गराई एकै होस् भन्ने ठान्छु । तर कहाँ पाइएला † मेरो भावनाअनुरूप काम हुने ठाउँ ।

मान्छेमा विचार एकै नहुनु स्वाभाविक हो । तर पनि समानताको पाठ सिकाउने मानवतावादी विचारहरू चाहिँ सर्वमान्य हुनुपर्छ भन्ने लाग्छ । जेहोस्, व्यवहारमा रूपान्तरण जीवित अवस्थामै गर्न सकेमात्र हुने रहेछ । मलाई पनि कतिपय सामन्ती संस्कार मन पर्दैन । मरेपछि तिनै संस्कारसँग मेरो नाम जोडिने हो कि के बेर । समाज यही हो । आडम्बर पन्छाउन सकिएन भने सिद्धान्तले मात्र काम गर्न सत्तैmन । कतिपयका हातमा त असल विचारहरू सुम्पियौँ भने पनि विपरित भएर उत्रिन्छन् ।

पवित्र मानिसका लागि पवित्र विचारहरू उत्तम ठानिन्छन् । तपाईंका पनि कतिपय विचारहरू असल मानिसका लागि अजेय बनेर रहलान् । म तपाईंका वैयक्तिक स्वभावबाट प्रभावित हुनाको कारण लैङ्गिक समानता नै हो । तपाईँ मृत, म जीवित † हामीबीच यही भिन्नता देखियो अहिले । पछि यो भिन्नता पनि निमिट्यान्न हुनेछ । खरेल सर † मात्र भौतिक शरीरको भिन्नता हो यो । वैचारिकतामा समानता छ हामीबीच । तपाईंको मिलनसारिता प्रेरणादायी बनेर रहला मेरा साथीहरूमा पनि ।

000

काभ्रेपलाञ्चोक, दाप्चा, हाल : काठमाडौँ

No comments: