Thursday, March 5, 2020

कविता : अनुहारहरू

- मातृका पोखरेल 

मेरो अघिल्तिर
एउटा अनुहार छ -
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ,
त्यो अनुहार -
संविधानमा सजिलै पोत्न सक्छ
कालो रङ्ग,
र, आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरुको पर्वत,
आफ्ना कुकुरहरुलाई लगाइदिन सक्छ
विदेशबाट आयातित
महँगा रेसमी कपडाहरु,
वेश्याहरुलाई उपहार बाँड्न सक्छ
सुनका हीराजडित घडीहरु,
उसको घरमा
कहिल्यै लगाउँदैन माकुरोले जाल,
जुत्तामा टाँसिएर पुग्दैन कहिल्यै पनि
हिलो, माटो र गोबर
सयन कक्षको सँघारमा,
थरीथरीका अत्तरहरु छरेर
सुगन्धित छ वातावरण
तर म,
संसारका अनुहारहरुमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।

म नजिकै छ,
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार–
भारी बोकेर
साहूकी छोरी पु¥याउन गएको मधेस
अलकत्रे सडकमा हिँडेको दिन
कति खुसी थियो मन,
अघाएर सुस्ताएको साँझ
कति रमाइलो हुन्छ वातावरण,
ऊ भाग्यमानी सम्झन्छ आफूलाई
थकान मार्न सकेको एक क्षण,
दलानको छेवैमा
दुर्गन्धित छ जुठेल्नो,
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर,
तर म,
संसारका अनुहारहरुमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु ।

अचेलभरि,
फुट्नै लागेका चेतनाका बाँधहरु बोकेर
दौडिरहेका छन्
बग्रेल्ती अनुहारहरु सडकमा,
यतिबेला
केही अनुहारहरुका विरुद्ध
थुप्रै अनुहारहरु कसिरहेछन् मोर्चा,
नयाँ भोलिको खोजीमा,
यिनीहरुले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो,
यतिवेला रिठ्ठे घर्तीले बोकेको यो अनुहार
र, यस्तैयस्तै थुप्रैथुप्रै अनुहारहरुलाई
हो, म भित्रैदेखि माया गर्छु ।


नेपाल साप्ताहिक, वर्ष ५, अङ्क १०, २०६१ असोज

No comments:

Post a Comment