Thursday, March 5, 2020

कविता : नागार्जुनको सर्प

 - मातृका पोखरेल


नागार्जुनबाट यात्रा थालेर
एउटा विषाक्त हरेउ सर्प
हरेक दिन बिहान 
जङ्गबहादुरको सालिकमा 
जब पूजा गरेर फर्कन्छ
मलाई प्रत्येक सपनामा ऐँठन हुन्छ । 

प्रेमपूर्वक गुँडमा बसेका परेवाहरू
ऊ पटक्कै मन पराउँदैन
रुखका पातहरू जस्तै भएर
गुँडभित्र पस्छ
र, उनीहरूलाई डस्छ,
चौरमा खुशी मानेर खेलिरहेका नानीहरू
ऊ ईष्र्याले भुतुक्कै हुन्छ
चौरको घाँसजस्तै नदेखिने भएर 
नानीहरूका खुट्टामा डस्छ,
धानका कलिला गाभाहरूमा लुक्छ
र, किसानहरूलाई टोक्छ,  
हाम्रा सपनाहरूको हत्या गर्ने 
कार्यसूची बोकेर 
ऊ अचेल प्रत्येक दिन
जङ्गबहादुरको शालिकलाई पूजा गर्छ । 

म आतङ्कित छु
सडकमा मानिसहरू आतङ्कित छन्
गाउँहरू आतङ्कित छन्
तर किन आतङ्कित छैनन् ?
सिंहदरबारका बैठकहरू,
किन त्रसित छैनन् ?
राष्ट्रिय पार्टीका भेलाहरू,
समाचार सुनेर पनि 
किन मौन छन् ?
तारे होटलमा गरिएका 
सहमतिका माइन्युटहरू ,

मेरो अघिल्तिर 
हरेउ सर्पबाट बारम्बार लखेटिएका 
त्रासद दिनहरू
चलचित्रका रिलहरूझैँ घुमिरहेछन्
हिजो आजको नयाँ बिहान 
एउटा खतर्नाक समाचार बोकेर 
हाम्रो आँगनमा झुल्किन्छ
र, ऊ हाम्रा मुहारका खुशीहरू बोकेर भाग्छ । 

आज बिहानै 
नागार्जुनबाट यात्रा थालेर 
एउटा विषाक्त हरेउ सर्प
अपाङ्ग चेतना भएको बस्तिको निर्माण गर्न
जङ्गबहादुरको सालिकलाई पूजा गरेर फक्र्यो
भोपाल ग्याँस दुर्घटनामा
चुहिएको ग्याँस जस्तै
खतरनाक बतास उडिरहेको छ 
मेरो वरिपरि
त्रासद् भविष्यलाई रोक्न
अब बुन्नुपर्ने छ मैले नयाँ योजना ।


नवप्रज्ञापन, पूर्णाङ्क –५०, २०६७ कार्तिक –पुस

No comments:

Post a Comment