Thursday, March 5, 2020

कविता : युद्धको नाट्यशाला

 - मातृका पोखरेल


तिमीलेझैँ युद्धको विरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जाने छैनौँ ।

पराधिनताको महाभारत चढेर
धेरै ग¥यौं हामीले
भविष्य बनाउने कुरा,
कहालीलाग्दा पहराहरू उक्लेर
हामी यतिबेला एउटा कुइनेटोमा निस्केका छौँ
र केही सोचिरहेका छौँ,
उहिल्यैदेखि तिमीले हामीसँग युद्धको विरोध ग¥यौ
र एउटा युद्ध लड्यौ
रोमकालीन दासहरू प्रजनन गर्ने
तिम्रा ती ईश्वरहरू
तिम्रै जुठोपुरो खाएर हुर्केका रहेछन्
ती ईश्वरहरू तिम्रै मात्र रहेछन्
ती ईश्वरहरू तिम्रै मात्र रहेछन्
भ्रमको कुहिरो फाटिसकेको टाउको बोकेर
हामी तिमीसँग
सर्वथा नौलो युद्धको घोषणा गरिरहेका छौँ
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौँ ।

तिमीले ईश्वरको आदेश भन्यौ
र तिम्रै लागि हामीले
हतियार कारखानाहरू बनायौँ
बम, अणुबम र विभिन्न क्षेप्यास्त्रहरू
हामी ज–जसले बनाएका थियौँ ती हतियारहरू
तिनै हतियारहरूबाट
हामीले गुमाएका थियौँ आफ्नै आफन्तहरू
परिवारहरू,
त्यसबेला तिमीसँगै सिरक ओढेर सुतेको थियो
तिम्रो ईश्वर,
भ्रमको जालो च्यातेको आँखा बोकेर
हामी हेरिरहेका छौँ यतिबेला
तिमीले तिम्रो ईश्वरसँग मिलेर बनाएको
एउटा नाट्यशाला
त्यहींभित्र तिमीसँगै गरिरहेको छ तिम्रो ईश्वर
एउटा थोत्रो र भद्दा अभिनय
अब हामी तिमीले कोरेको इतिहासको गल्लीबाट
आपँैंmले खनेको एउटा फराकिलो सडकमा आइपुगेका छौँ
तिमी तिम्रो ईश्वरसँगै
लड्नका लागि तयार भएर बसे हुन्छ
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौँ ।

तिमीले झैँ युद्धको विरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जाने छैनौँ ।


दिशाबोध पाक्षिक, वर्ष ११ अङ्क ६, २०६५ (असोज १५ –कार्तिक १५)

No comments:

Post a Comment