Thursday, March 5, 2020

कविता : सपना र टर्चलाइट

 - मातृका पोखरेल


हिजोआज गाउँमा
एउटा खबर बरोबर आइरहेछ
कमरेड कञ्चनको टर्चलाइट हराएको खबर
हामी यतिबेला
चिन्तामग्न भएर 
कमरेड कञ्चनको 
हराएको टर्चलाइटको कुरा गरिरहेका छौँ ।
हाम्रो गाउँ
उही तिमीले देखेजस्तै,
उही तिमीले भोगेजस्तै,
उस्तै पुरानो छ,
हामी गाउँका मान्छेहरू
यो ढल्किंदै गएको रातमा
अलिकति झिक्रा बटुलेर
चिसो रात काट्ने बहानामा
हामी सबैले माया गरेको
कमरेड कञ्चनको
उही पुरानो हराएको टर्चलाइटको कुरा गर्छौँ
चिन्तामग्न भएर कुरा गछौँ ।
कहिले अगेनाको डिलमा बसेर
कहिले सिकुवामा बसेर
कहिले बारीको कान्लातिरै बसेर
हामी त्यही पुरानो टर्चलाइटको कुरा गर्छौँ
हामी अझै माया गर्दै छौँ त्यो टर्चलाइटलाई
जब कमरेड कञ्चन ! त्यो टर्चलाइट बाल्थे
र, मध्यराततिर
हाम्रो जस्केलो ढक्ढक्याउँथे,
हामी गरिबी पोतिएको मझेरीमा
जून उदाएको देख्थ्यौँ,
कसले चो¥यो होला ?
कमरेड कञ्चनको टर्चलाइट !
कसले चो¥यो होला ?
हाम्रो मझेरको प्यारो जून !
हामीले हाम्रो गाउँबाट
एउटा खबर पठाएका छौँ सहरमा,
कमरेड कञ्चनलाई,
हामी हाम्रा थैलीहरू निचोरेर
चन्दा बटुल्न तयार छौँ,
कमरेड कञ्चन !
तपाईं फेरि एउटा टर्च किन्नुस्,
अझै खतरनाक छ अँध्यारो रात
हामी फेरि हाम्रा टपरीहरूको
निम्तो गाँस काट्न तयार छौँ,
आततायी बन्न तयार छ अँध्यारो रात,
त्यही टर्चलाइटको उज्यालोमा
हामी सगरमाथा चढ्न आतुर छौँ
हामी यतिबेला झनै चिन्तामग्न छौँ
कमरेड कञ्चन !
तपाईंले उज्यालोको सपना
देख्न छाडेको खबर आइरहेछ गाउँमा
हराएको टर्चलाइट सम्झेर,
कमरेड कञ्चन !
तपाईको अनुहारमा कुनै कालो बादल देखिएन,
यस्तै खबर आइरहेछ गाउँमा
आज हामी झनै चिन्तामग्न छौँ ।
सपनाहरू हराएपछि
बेग्लै हुँदोरहेछ मान्छेहरूको अनुहार ।


मूल्याङ्कन मासिक, वर्ष २७ पूर्णाङ्क १६८, २०६५ माघ–फागुन

No comments:

Post a Comment