- मातृका पोखरेल
महलको एउटा गमलामा रोप्यो
र मलाई भन्यो
कवितालाई यसरी फुलाउनुपर्छ
मैले बाटाका किनारहरुतिर
छाप्राका आँगनहरुतिर
उसलाई रंगिबिरंगी कविताहरु देखाएँ
र भनें
यी पनि राम्रा कविताहरु हुन्
यिनीहरुलाई हुर्काउनुपर्छ
ऊ मसँग रिसायो
मुन्टो बटार्यो
र पछिल्तिर फर्क्यो ।
भोलिपल्ट मैले
मेरो कविताको बस्तीबाट
ऊतिर फर्केर हेरें
गमलामा उसले एकदिन पानी हाल्न बिर्सेछ
उसको कविता मतिर फर्केर रोयो ।
पर्सिपल्ट
मरेको कविता बोकेर
ऊ फेरि सडक किनारमा
मेरा कविताहरु हेर्दै हेर्दै आयो
र मसँग मात्र एउटा जिउँदो कविता माग्यो
मैले उसलाई
खेतहरुतिर आफ्ना कविता देखाएँ
निरुत्तर उसले मेरा कविताहरु हेरिरह्यो ।
त्यसैले यो बस्तीमा
म सगौरब घोषणा गर्छु
कुनै छाप्राको भट्खारोमा भए पनि
गल्लीका कुनाकाप्चाहरुमा
हुनेखाने भुँडिवालहरुले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।
मेरा कविता अजम्बरी हुन् ।
जनएकता, वर्ष ४, अंक ४८, २०५६ असार ७ गते
================================
No comments:
Post a Comment