Saturday, February 29, 2020

कविता : सपना

- मातृका पोखरेल

अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई स–गर्व सुनाइरहेछन्,
भ्रष्टाचारको आरोपमा
जागिर खुस्किएको भलाद्मी
गरिबी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरू सँगसँगै छु ।

अन्धाहरू अघि लागेर
बाटो देखाउने दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेंलो वस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

आन्दोलनको नाममा
घाम तापेर समय काट्ने
क्रान्तिकारीहरू
पार्टी अफिसको छतमा बसेर
भोलिको भविष्य सुँघिरहेछन्,
मन्दिरको यात्रामा पाइतो सरेर
एक राते मेला धाइरहेछन्
आस्थाको झोला बोकेका केही पाखण्डीहरू
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

मसँग एउटा सपना छ–
यी सबैसँग बाटोमा
भोलिदेखि
सँगसँगै हिँड्न नपरे हुन्थ्यो

यी सबै सबैसँग
त्यही यात्रामा सँगै हिँड्ने
केही निर्दोष अनुहारहरू छन्
भोलिको यात्रामा
म जस्तै, उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा
हो, म अचेल
धेरै धेरै रात रोएको छु
म उनीहरूसँग पनि सँगसँगै छु
अब मात्र एउटै सपना छ ।

Ο

No comments:

Post a Comment