- मातृका पोखरेल
साठी वर्षे बृद्ध बा र आमाको
चाउरी परेको गालाको मुस्कान ऊ
बीर अस्पतालको आँगनमागोलीले छिया छिया पारेको
रगत सुकेर कक्रिएको कमिज
धर्के आकृति मात्र देखिन्छ
यसलाई हेर्न भीड लाग्नेहरु भन्दै थिए
“पोस्टमार्टम् हुन सकेको छैन”
सायद यसका यहाँ कोही छैनन्
उसले चिनेका पनि कोही छैनन्
यसलाई चिन्नेपनि कोही छैनन्
बीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको साक्षी बनेर उभिएको छ ।
पच्चीस वर्षसम्म रातदिन
रगत र पसिनाले हुर्काएकी
आमालाई उसको मृत्यु थाहा छैन
छोराको अनुहार हेरेर
भोक टार्न बानी परिसकेको
बुढो बाउलाई उसको मृत्यु पछिका
रातहरु बितेकोथाहा छैन
साथीहरुले राम्रा घाँघर लाएको देख्दा
उमेरको मन, दाजु सम्झेर बुझाउने बहिनीहरुलाई
उसको मृत्युपछिका
जंगलमा बितेका दिनहरु थाहा छै्नन्
न त बाल्यकालमा थुम्की चौरमा,
सँगसँगै डण्डीवियो खेल्ने,
रामेलाई नै उसको मृत्यु थाहा छ ।
न त दुधकोशीका बगरहरु र
वरिपरिका ऐंसेलुका पोथ्राहरुलाई
मूल्यवान् उसको मृत्यु थाहा छ ।
ऊ आज ती कसैका माझमा छैन
यहाँ उसलाई चिन्ने फुर्सद पनि कसैलाई छैन
सडक जुलुस र नारामा व्यस्त छ
बीर अस्पतालबाट चिप्लिएको समय
उसको मृत्युको, साक्षी बनेर उभिएको छ ।
नेपाली साहित्य, वर्ष १६, अंक १, २०५४ वैशाख-असार
No comments:
Post a Comment