- मातृका पोखरेल
आकाश ! ओर्ल
कालो पोखिइरहेको यस धर्तीमाबनाउ सुन्दर क्षितिजका द्वारहरु
आकाश ! तिमीले त हेरेको छौ हगि
यस धर्तीमा काला बादल मडारिएर
देखाएका चरित्रहरु
कति देख्यौ पनि होला
ताराहरुका राता रगतका भलहरु
कोठाका सिसाबाट र पर्दाका प्वालहरुबाट
कुमारी हृदयका बलात्कृत पीडाहरु
र सुन्यौ पनि होला स्वरहरु
आकाश ! तिमीलाई ताराहरुको निम्ता छ ।
आकाश ! तिमीलाई इतिहासको पनि निम्ता छ
आकाश ! तिमीले त देखिसकेका छौ
राक्षसहरुका दृष्टिदोषमा
कति आलोकित ध्रुवताराहरु भिमानका जङ्गलमा निभे
क्षितिजपारिका
काला गाउँहरुमा निभे
तर, उनीहरु झन् झन् चम्किरहे
आकाश ! तिमीलाई ताराहरुको निम्ता छ
आकाश ! तिमीलाई इतिहासको पनि निम्ता छ ।
वेदना, पूर्णाङ्क ४५—४७, २०४६
No comments:
Post a Comment