Thursday, March 5, 2020

कविता : मैले उतिबेलै भनेको थिऍ

 - मातृका पोखरेल


यतिबेला मेरा साथीहरू
आफैँले भरखर घोषणा गरेको
नयाँ देवता फुटाइरहेका छन् ।

मैले उनीहरूलाई त्यसबेला
यात्राको एउटा मोडमा भेटेको थिएँ
मैले भेट्दा उनीहरू
सँगसँगै हिँडेको एउटा यात्रीलाई देखाएर
“ऊ देवता भयो” भनिरहेका थिए
उसलाई पूजा गर्न
पूजा सामग्रीहरूको जोहो गरिरहेका थिए
मैले उतिबेलै भनेको थिएँ
मान्छे देवता हुनै सक्दैन
मान्छेलाई देवता बनाउनु पनि हुँदैन
कहिलेकाहीँ मान्छे देवता भएपछि
उहिलेको रुसको जारजस्तो पनि हुनसक्छ
हाम्रै देशको राणा र शाहजस्तै पनि हुनसक्छ
कहिलेकाहीँ हामीलाई खेलौनाजस्तै ठानिदिन सक्छ 
हाम्रो आत्मसम्मानलाई ठाउँ कुठाउँमा डस्छ
मैले उनीहरूलाई आफन्त ठानेरै भनेको थिएँ
मान्छेलाई देवता बनाउनु
कहिलेकाहीँ आफ्नै खुट्टोमा बन्चरो हान्नु हो
मेरो कुरा सुनेर
उनीहरू रिसले चुरचुर भएका थिए
मलाई सराप्दै आफ्नो बाटो लागेका थिए ।

फेरि मैले उनीहरूलाई
यात्राको अर्कै कुइनेटोमा भेटेको थिएँ
मैले भेट्दा उनीहरू
आफैले भरखरै घोषणा गरेको 
नयाँ देवता फुटाइरहेको थिए
उसको शरीरका सबै बस्त्रहरू फुकालेर
मानौ कुनै अद्भूत जनावर
आविष्कार गर्न खोजेझैँ
उनीहरू देवतालाई कुरूप बनाइरहेका थिए
देवता नाङ्गिएको खुसियालीमा 
नजिकै बसेर भोज खाइरहेको थिए
मैले फेरि उनीहरूलाई अनुरोध गरेँ
उसलाई नङ्ग्याउनु भन्दा 
देवता बनाउनु भन्दा पहिलेको 
मान्छे नै रहन दिनू
मैले फेरि भनेको थिए
फेरि ऊसँग गर्नै पर्ने छ लामो यात्रा
उनीहरू फेरि मसँग रिसले चुरचुर भए
मलाई राताराता आँखा पारेर हेरे ।

मेरा साथीहरूलाई 
देवता बनाउन पनि हतार
देवता फुटाउन पनि हतार
यात्रा गर्न पनि हतार 
पछुताउन पनि हतार
मैले त उतिबेलै भनेको थिएँ
सबै कामहरू साचेर गर्नु
उनीहरू रिसाएका थिए त्यसबेला ।

यतिबेला मेरा साथीहरू
आफैले भरखर घोषणा गरेको
नयाँ देवता फुटाइरहेका छन् ।


प्रतिभा प्रवाह, पूर्णाङ्क –१७, माघ, २०६८

No comments:

Post a Comment