Thursday, March 5, 2020

कविता : मित्रताको आकाश

 - मातृका पोखरेल



उसको र मेरो बीच
ओजोन तहझैँ ढाकिएको छ
अविश्वासको बादल ।

ऊ सडकमा बालिएका बत्तीहरू फुटाल्न
बोकिरहन्छ गोजीमा ढुङ्गाहरू
र, ऊ अँध्यारो रातझैँ
हुर्काउन चाहन्छ सहरलाई,
मैले सडकबत्तीको विरुद्धमा
ऊसँगसँगै धावा बोल्न सकिनँ,
मैले खोजेको थिएँ
सानासाना चुहुने खण्डहर झुप्राहरू मिलाऊँ
र एउटा नयाँ सुरक्षित घर बनाऊँ,
ऊ सँगसँगै मैले
राष्ट्रलाई एउटा घर बनाउने
सपना त्यागेको घोषणा गर्न सकिनँ,
क्रमशः आर्लिरहेको घामझैँ
हाम्रो मित्रता टुट्दै गयो
र, बिस्तारै हरायो
आकाशको नीलोपन ।

मैले बाल्न खोजेका
आकाङ्क्षाका मैनबत्तीहरू
ऊ निरन्तर कुल्चिरहन्थ्यो
रेशमी जुत्ताहरूले,
भर्खरै आयातीत कोब्रा सर्पहरू
मेरा सपनाहरूलाई
डस्ने योजना कोरिरहन्थे
र ऊ धाप मारिरहन्थ्यो
उनीहरूको पिठयुँ,
आकाशका ताराहरू टिप्ने
सपना देख्न पनि नपाइने,
भोकाएका आफन्तहरू
अघाएको आकाङ्क्षा पाल्न पनि नपाइने
उसको चाहनाझैँ
समान सपनाहरू बोक्ने
मनका पुलहरूमा
मैले बम फालेर ध्वस्त गर्न सकिनँ,
एकाथरीहरूसँग सपारे पछि
अर्कोसँग टुट्दो रहेछ
मनहरूको पुल ।

उसको र मेरो बीच
ओजोन तहझैँ ढाकिएको छ
अविश्वासको बादल ।


मधुपर्क मासिक, वर्ष–४०, अङ्क–८, पूर्णाङ्क–४६३,  २०६४ पुस



No comments:

Post a Comment