Thursday, March 5, 2020

कविता : कसको जमिन ?

- मातृका पोखरेल 

माटोमा नङ्ग्राहरु गाडेको पनि धेरै भयो
कान्लामाथि कहिल्यै उठेन स्वाभिमान्
हाम्रै पसिनाले आवाद बस्तीमा
एउटा भिजिलान्ते आदेश
चोर आवाज बोकेर
बस्तीहरुमा छिर्छ र भन्छ
मेरो बाजेले आर्जेको जमिन ।
लाग्छ कहिलेकाहीँ
हाम्रै पाइताला तिम्रो होइन भन्देला कि ?
हाम्रै हात तिम्रो होइन भन्देला कि ?
हाम्रै टाउको तिम्रै होइन भन्देला कि ?
कहिलेसम्म टेकिरहन्छौँ हामी ?
उसले मेरो भन्दै दागाधरेको जमिन,
बरु भन ! मङ्गलमान !
म सँगसँगै भन !
हाम्रो बाजेको कमाइ भन !
सप्रमाण भन !
अब हाम्रो धर्ती भन !

शताब्दीयौँ देखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा
ऊ वनमारा रोप्छ
म युगौँदेखि चुप छु
अचेलभरि छाम्न थालेको छु पाइताला
हो, म आफैं हुँ
तिमी पनि आफ्नो हात हेर मङ्गलमान्
तिमी आफैं हौ
धोका होइन
सुँघ जमिनको माटो
सजिलै चिन्छौ पुर्खाको पसिना
त्यहाँ बलभद्रहरु छन्
कालु पाँडेहरु छन्
हाम्रा जिजुहरु छन्
खै त १ उसको पसिना ?
तर उही भनिरहेछ मेरो जमिन,
खै त ! उसको पसिना !
बरु सोध, मङ्गलमान !
खै त ! उसको पसिना !
तिमी देखाऊ आफ्ना पुर्खाको आलो पसिना
र भन! मङ्गलमान
सप्रमाण भन !
अब यो धर्तीमा
हामीले आर्जेको हाम्रो जमिन भन !


अन्तर्बोध पूर्णाङ्क ३, ०६२ जेठ

No comments:

Post a Comment