Thursday, March 5, 2020

कविता : टोप आतङ्क

- मातृका पोखरेल 

हावाहुन्डरी चलेको यो बेला
इतिहासमा जस्तै
फेरि एउटा पागल
पागलखानाको चोर ढोकाबाट
खिया लागेको पुरानो टोप भिरेर
हाम्रो बस्तीतिर छिर्‍यो
हामी वर्तमानका पृष्ठहरुमा
यतिबेला लेखिरहेछौँ
टोप आतङ्कको इतिहास ।

सुविधासम्पन्न छ पागलखाना
सवै चीजहरु छन् त्यहाँभित्र
पागलखानाको चारदिबार
युरोपभन्दा सम्पन्न छ
अमेरिकाभन्दा सम्पन्न छ
धेरै वर्षपछि
पागलहरुको एउटा नायक
खिया लागेको प्रिय आदिम टोप बोकेर
चोर ढोकाबाट लुसुक्क निस्कियो
चारदिबारबाट ऊ बाहिर आएपछि
यतिबेला गाउँ आतङ्कित छ
सहर आतङ्कित छ ।

उसको टोप आतङ्क !
यतिबेला सहर हुँदै गाउँ पसेको छ
सहर निरास छ टोप आतङ्कले
संसाँझै बन्द छन् क्लबहरु
पाँचतारे होटलहरु
सपिङ कम्प्लेक्सहरु
अचेल गाउँ
टोप आतङ्कले त्रस्त छ
र, सहर मध्याह्न नहुँदै
टोप आतङ्कको विरोधमा जुट्छ
हावाहुन्डरी चलेको यो बेला
पागलखानाबाट निस्केर
फेरि एउटा पागल
हावाका झोक्काहरुले
भुईँमा झार्न खोजिरहेको
र, रगत लत्पतिएको
एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीमा निस्केको छ ।

खिया परेको आदिम टोपबाट
चुहिरहेछन् रगतका थोपाहरु
विरूप छ बौलाहाको अनुहार
उसका शासनहरु
लासको सङ्ख्याले
सफलता नापिरहेछन्
तर विनासर्म टोप लगाइरहेछ ऊ
इतिहासमा धेरै पटक
हावाका झोक्काहरुले
भुइँमा खसाएर
कुच्चिइसकेको एउटा आदिम टोप भिरेर
हाम्रो बस्तीतिर छिरेको छ
फेरि अर्को एउटा पागल ।

हामी वर्तमानका पृष्ठहरुमा
यतिबेला लेखिरहेछौँ
टोप आतङ्कको इतिहास ।


नागार्जुन, पूर्णाङ्क–१३, २०६२ पुस ।

==================================


No comments:

Post a Comment