Thursday, March 5, 2020

कविता : उदयपुर

- मातृका पोखरेल 


बूढो लौरो टेकेर
भौँतारिने एउटा पुरानो जमिनदारजस्तो
शान छ, मान छैन
इतिहास छ, भरोसा छैन
जब बिहानैको मिर्मिरेमा
हलगोरुसँगै गुन्टा कसेर
चुरे कट्छन् मान्छेहरु
ऊ बाँझो महाभारतको
बनमारा घारीतिर लुक्छ
बूढो ! उदयपुर ।

कुहिरोको सिरक ओढेर
स्वर्ग पुग्ने सपना देखेका
केही बुढा पहाडहरु छन्
सम्पत्तिको गफ लडाएर
गरिबी बाँचिरहेका
निन्याउरा नदीहरु छन्
ब्रिटिस लाहुरेलाई
बैँशको सम्झना दिलाउने
पुराना कोट र टोपहरुझैँ
उदयपुरगढी र चौदण्डीहरु छन्
छन् केही छन्
राजनीतिको नाममा
शक्तिको नयाँ हुन्डरीसँगै
पातझैँ उड्न सक्ने नेताहरु छन्
छन् अझै छन्
पञ्चायतलाई जिताएर वाँकी रहेका
अलिकति छत्तीससाले रूखहरु छन्
भोट दिँदादिँदा छिया परिसकेका
असँख्य हातहरु छन्
छन् अलिअलि बाँकी नै छन्
द्वापरयुग पर्खिएका
केही मान्छेहरु छन्
देखिएका केही छन्
नदेखिएका धेरै छन्
उसको नागरिकतामा
काठमाडौँ बाँचिरहेछन् मान्छेहरु
तर ऊ नागरिकतामा
काठमाडौँ भएर कहिल्यै बाँचेन
भन्छ ! म स्वाभिमानको शिर हुँ
र, ङिच्च हाँस्छ
पायरियाले थोत्रिएका पुराना दाँतहरु ।

युगौँदेखि पर्खिरहेको छ ऊ
एउटा न्यानो सूर्य
थकित आँखाहरु बोकेर
अझै पर्खिन छाडेको छैन
कुहिरो बोक्ने डाँडाबाट
आस्थाको एउटा नयाँ सूर्योदय
ऊ पर्खिरहेको छ
अहिलेसम्म नउदाएको सूर्योदय ।


गरिमा वर्ष –२५, पूर्णाङ्क –२९०, २०६३ माघ

No comments:

Post a Comment